
काठमाडौं । निर्माण थालेको ५३ महिनापछि नागढुंगा-सिस्ने खोला सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा विस्फोटक पदार्थमार्फत दुई मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो । जापानी संस्कृति र नेपाली पक्षले हिन्दू परम्पराअनुसार सोमबार विशेष पूजा गरेर मुख्य सुरुङको ‘ब्रेक थु्र’ गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युतीय स्विच थिचेर ब्लास्टिङ गरी सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । दुई हजार ६८८ लम्बाइको सुरुङ गत वर्ष फागुनमै सुरुङ खनिसक्ने योजना थियो । तर, स्थानीय बासिन्दाले विभिन्न माग राखेर अवरोध गरेपछि केही समय धकेलिएको थियो । यो सुरुङले काठमाडौंतर्फ बलम्बु र धादिङ सिस्ने खोलास्थित पृथ्वी राजमार्गलाई जोड्छ । सिस्ने खोलादेखि काठमाडौं बलम्बुसम्म अहिले सडकको दूरी आठ किमी छ । सुरुङमार्ग बनेपछि सिस्ने खोला-बलम्बु दूरी पाँच किमी हुन्छ । सिस्नेखोला-बलम्बु जोड्ने सुरुङ तयार गरेर २.८ किमी दूरी घटाउन लागिएको हो ।
दूरीका हिसाबले सुरुङमार्ग र अहिलेकै सडकबीच त्यति धेरै फरक नदेखिए पनि सुरुङमार्गको प्रयोगबाट समयसँगै पेट्रोलियम पदार्थको पनि बचत हुने अपेक्षा छ । सिस्ने खोलादेखि नागढुंगासम्म दिनहुँ सवारीसाधन जाम हुने समस्या छ । सुरुङमार्ग सञ्चालनपछि यो समस्या हट्ने विश्वास छ । सुरुङमार्ग हुँदै काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुनेछ ।
यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुईटा सुरुङ छ । रेस्क्यु सुरुङको लम्बाइ २,५,५७ मिटर छ । यो इभ्याकुएसन सुरुङ ‘ब्रेक-थु्र’ भइसकेको छ । मुख्य सुरुङको दुवैतर्फ सवारीसाधन हुन्छन् । दुर्घटना भइहाल्यो भने तुरुन्तै उद्धार गरिन्छ । रेस्क्यु सुरुङ मुख्य सुरुङबाट ३० मिटर फरकमा छ । रेस्क्यु सुरुङमा सवारी गुड्ने सडक साढे चार मिटर चौडा हुनेछ । यो सुरुङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ । आकस्मिक अवस्थामा प्रयोग हुने यो सुरुङमा दमकल, एम्बुलेन्स जस्ता साधन गुड्न पाउँछन् ।
मुख्य सुरुङ र रेस्क्यु सुरुङमा विभिन्न सात ठाउँमा क्रस प्यासेज राखिएको छ । सुरुङभित्र दुर्घटना भएको अवस्थामा वा अन्य आपतकालीन अवस्थामा ती क्रस प्यासेजबाट एम्बुलेन्स तथा दमकल जस्ता साधन आवतजावत गर्न सक्छन् । आयोजनाको मुख्य सुरुङमा सवारी गुड्ने सडक साढे नौ मिटर चौडा हुन्छ । जसमा दायाँबायाँ साढे तीन/तीन मिटर र बीचमा तीन मिटर सडक छुट्टाछुट्टै रेखांकन गरिएको हुन्छ । बीचको तीन मिटर दुवै तर्फका सवारी साधनले प्रयोग गर्न सक्छन् । कुनै सवारी बिग्रियो भने पनि छेउमा अड्याएर राख्ने ठाउँ होस् र अन्य सवारी सजिलै आवतजावत गर्न सकून् भनेर बीचमा तीन मिटर खाली राखिएको आयोजनाले बताएको छ । सुरुङको दायाँबायाँ पैदलयात्रीका लागि पेटी रहन्छ । पेटी दुवैतर्फ एक/एक मिटर उल्लेख गरिएको छ ।
आयोजनामा तीनवटा अण्डरपास हुनेछन् । हाल तीनवटै पूरा भइसकेको आयोजनाले बताएको छ । त्यस्तै, बक्स कल्भर्ट चारवटै निर्माण सकिएको छ । एउटा ओभरपास पनि निर्माण भइसकेको छ । तीन वटै पुल निर्माण सकिएका छन् । फ्लाइओभर निर्माणको काम पनि अन्तिम चरणमा छ । योजनाअनुसार खत्रीपौवामा ‘रोड साइड सर्भिस स्टेसन’ रहन्छ । काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुका लागि कनेक्सन पोइन्ट हुनेगरी स्टेसन बनाइने योजना छ । यो स्टेसन एउटा पार्कजस्तै डिजाइन गरिएको छ । यात्रुहरूको विश्राम स्थलका रूपमा डिजाइन गरिएको यो स्टेसनमा रेष्टुरेण्ट, पार्किङ स्थल, शौचालय रहन्छन् । त्यहाँका स्थानीयले आफ्नो उत्पादन पनि बिक्री गर्न सक्छन् । स्टेसन डिजाइन गरिएको स्थानमा जग्गा विवाद छ । जसले गर्दा यस्तो स्टेसन बनाउनका लागि स्थानीयको सहयोगको खाँचो देखिएको छ ।
सुरुङ छेडिएपछि थप एक वर्षपछि मात्रै सवारीसाधन गुड्न पाउनेगरी निर्माण सकिने आयोजनाले बताएको छ । यो आयोजना विकासका लागि जापान सहयोग नियोग (जाइका)को सहयोगमा २०६९ देखि २०७२ सालसम्म सर्वेक्षण गरिएको थियो । आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ गतेदेखि थालिएको हो । सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल, २०२३ (४२ महिना)भित्र आयोजना निर्माण सक्नेगरी सम्झौता भएको थियो । कोभिड महामारीका कारण पनि आयोजना निर्माण काम पछाडि धकेलिएको भन्दै ठेकेदार कम्पनी हाज्मा आन्दो जेभीले ४१६ दिन म्याद थप प्रस्ताव गरेको थियो । आयोजना कार्यालयले ८६ दिन म्याद थप गरेको थियो । म्याद थपपछि आयोजना थपिएको समयअनुसार जुलाई, २०२३ भित्र उक्त आयोजना बनिसक्नुपर्ने थियो । उक्त अवधिमा पनि काम नसकिएपछि २५ अप्रिल २०२४ सम्मका लागि म्याद थपिएको छ । पछिल्लो म्याद सकिन पनि अब १० दिन मात्रै बाँकी छ । आयोजनाले अझै एक वर्ष म्याद थप गर्न माग गर्ने बताएको छ ।
मालबाहक सवारीसाधन र मोटरसाइकल गुड्न नपाउने
सुरुङमार्ग बनिसकेपछि सबै किसिमका सवारी साधनले यहाँबाट गुड्न पाउने छैनन् । दुई पांग्रे (मोटरसाइकल स्कुटर)लाई सुरुङ मार्गबाट आवतजावत गर्न दिइने छैन । आयोजनाका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरू, ग्यास बोकेका सवारी सुरक्षाका हिसाबले सुरुङबाट जान पाउँदैनन् । यस्ता सवारीसाधन अहिलेकै सडक प्रयोग गरेर गुड्नुपर्छ । त्यस्तै, मापदण्डभन्दा बढी ठूलो आकार बनाएर सामग्री बोकेका मालबाहक ट्रकहरू पनि सुरुङमार्ग प्रयोग गर्न पाउँदैनन् । सुरुङबाट मापदण्डअनुसार सामग्री बोकेका मालबाहक ट्रक, एम्बुलेन्स, दमकललगायत खतरारहित सवारी साधनहरू गुड्न पाउनेछन् ।
नागढुुंगा सुरुङले नेपाललाई सुरुङको नयाँ युगमा पुर्याउनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरुङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । नागढुंगा सरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । ‘सडक सञ्जालको माध्यमबाट अन्तर-आबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसांख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरुङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ,’ प्रधानमन्त्रीले भन्नुभयो ।
उहाँले सुरुङ निर्माणपश्चात् सुरुङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त गर्नुभयो । ‘यस सुरुङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरुङसम्बन्धी दस्तावेज निर्माण हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयोे, ‘यसले नेपाललाई सुरुङ युगमा पुर्याउन महत्वपूर्ण योगदान गर्नेछ ।’ उहाँले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरुङमार्ग, फ्लाइओभर तथा अण्डरपास सहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने सरकारको नीति रहने बताउनुभयो । नयाँ वर्षको सुरुवातसँगै नेपालकै पहिलो सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक-थु्र’ गर्ने ऐतिहासिक अवसर प्राप्त भएको प्रति खुसी व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम साथै वर्षायाममा हुने पहिरोको उच्च जोखिम लगायतका समस्याहरू समाधान गर्न सुरुङमार्गको कल्पना गरिएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच