
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।
प्रत्येक राजनीतिक दलले देश र जनताका लागि काम गर्नुपर्छ । विगत केही वर्षदेखि नेपाली राजनीतिले पहिलो सत्ता, दोस्रो शक्ति र तेस्रो कमाउ धन्दालाई प्राथमिकता दिएको देखिन्छ । साउने वर्षाका बेला पाखामा च्याउ उम्रेजसरी दल उम्रेका छन् । ती सबैको जसरी हुन्छ सत्तामा पुग्ने र शक्तिको प्रयोग गरेर आफ्ना पहिलेका काला कर्तुत लुकाउने, आफन्तका गल्तीलाई पुरपार पार्ने अनि दसौं पुस्तालाई पुग्ने गरी धन कमाउने के हाकिम, के नेता भनाउँदा, के उपकुलपति, के बडे हाकिम, सबै गोरख धन्दामा नै लागेका लाग्यै छन् । देशको उपप्रधानमन्त्री नक्कली शरणार्थी बनाएर कुम्ल्याउने धन्दा गर्दोरहेछ । देशका गृहमन्त्रीको पनि कमाउने धन्दा त्यही देखियो । प्रधानमन्त्रीहरू सरकारी जग्गा बेचेर अकुत धन कमाउने धन्दामा नै लागेका भेटिए ।
यस्तो कहाली लाग्दो बेलामा पनि “यो देशका सम्बन्धमा चिन्ता गर्ने मूल्य र पद्धतिको चाहना राख्ने तपाईंहरूजस्ता साधारण देशका असली मालिकसँग भेटघाट, छलफल आदि गरेर तपाईंहरूकै सल्लाह अनुसार अहिले म देश बचाउने अभियानमा लागेको छु” भन्दै डा. शेखर कोइराला देश दौडाहामा निक्लेका छन् । उनले २/३ वटा आमसभालाई सम्बोधन गर्दै ‘हामी सबैको भलो देश रहे र समृद्ध भएमात्रै हुन्छ तर हाम्रा देशमा देश र जनताको सेवालाई आजका राजनीतिक दलका नेताले प्राथमिकतामा होइन तेस्रा तहमा राखेका छन् । पहिलो जे जसरी भए पनि आफू पदमा पुग्ने र धन कमाउने कुरामा मात्र ध्यान दिएको तपाईंहरूले पनि बुझ्नु भएको छ ।
आजको यस परिस्थितिका लागि प्रथमतः शेरबहादुर देउवा र केपी शर्मा ओली नै जिम्मेवार छन् । उदार मनले यी दुईले आ–आफ्नो गल्ती स्वीकार गर्नैपर्छ । देश यी दुईजानाको घुरेनबारी होइन न त उथलपुथलविद्को खोर्सानीबारी नै हो ।
मान कमाउने नाममा भ्रष्टाचार, अनैतिक क्रियाकलाप र ढाँटछलको काम मात्र गर्नेगरेको देखेर मलाई चिन्ता लागेको छ भनेर कोइरालाले चिन्ता व्यक्त गरे । अब पार्टीहरू टुटफुट भएर, नयाँ दल खोलेर होइन संविधानमा भएका कमी कमजोरी सुधारेर, संशोधन गरेर देश बचाए मात्रै हामी सबै बाँच्छौं’ भनेर उपाय पनि सुझाए । अन्यथा भाषण र नयाँ नयाँ दलले केही पनि हुनेवाला छैन । अतः यो देशका सबैभन्दा ठूला पार्टी भनेका नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएर देश बचाउन प्रथमतः निर्वाचनपद्धति बदल्ने र संवैधानिक प्रावधानलाई देश र जनताका लागि सजिलोगरी काम गर्न सकिने बनाएर संशोधन नगर्ने हो भने हरेक दुई या तीन महिनामा सरकार परिवर्तन गरेर विकास निर्माण कसरी गर्ने ? भनेर प्रश्न गर्दै हिँड्न लागेका छन् ।
माओवादी आतंकले देश रक्तकुण्डमा परिणत भएका बेला डा कोइरालाका काका गिरिजाप्रसादले हिम्मत गरेर माओवादीसँग वार्ता गरेर देशमा अमनचयन गराएका थिए । आज फेरि एकपल्ट यो देशले कोइरालाको राष्ट्रभक्ति र जनताप्रतिको जिम्मेवारी खोजेको सर्वत्र महसुस गर्न लागिएको छ । यस्तै बेलामा कोइरालाले चलाएको अभियानमा गम्भीर भएर नेकपा एमाले र नेपाली कांग्रेसका जिम्मेवार नेता कार्यकर्ताले कोइरालाको सोच र चिन्तनलाई साथ र समर्थन गरेर सदाका लागि उथलपुथल पर्वको पूर्णाहुति गर्नुपर्छ र पोखरीका छेउमा बसेर माछा ढुके झैँ सत्ता शक्ति र आफन्तलाई पोषण गर्ने नियतलाई बेलैमा चिनेर निस्तेज गर्नसक्नुपर्दछ । यस पुनीत काममा जोजो जहाँजहाँबाट लागे पनि हुन्छ ।
बौद्धिक वर्ग जमदग्नि बन्नुपर्छ
देश सबैको आधारभूमि हो । बौद्धिक वर्गको स्वार्थरक्षाका लागि पनि देश नै सक्षम हुनुपर्दछ । व्यापारमा लक्ष्मीको वास हुन्छ भनिए पनि यदि देशमा स्थिर सरकार भएन, राज्यका निकायले निःशंक भएर देश र जनताको काम गर्न नपाउने राजनीतिक परिस्थति सधैँ हावी हुने, सधैं एउटा व्यक्ति विशेष र भारेभुरे राजनीतिक दलका सत्तास्वार्थमा राजनीति बतासिने हो भने देश निश्चय नै अधोगतिमा लाग्छ भन्ने कुरो यो देशका सबैभन्दा ठूला राजनीतिक दलका वर्तमान सभापति नेपाली कांग्रेस र नेकपा एमालेका अध्यक्षले सोच्नुपर्दछ । देश बलियो भएमात्रै त्यही बलिया देशको सरकारको नेतृत्व गर्दा मात्रै देशदेशावरले आदर सम्मान गर्दछ । हेपिएको दरिद्र देशको नेतालाई विश्वका कमजोरभन्दा कमजोर देशले पनि हेप्छन् भन्ने कुरो यिनै दुईजनाले हेक्का राख्न नसक्दा आजको परिस्थिति आएको हो ।
आजको यस परिस्थितिका लागि प्रथमतः शेरबहादुर देउवा र केपी शर्मा ओली नै जिम्मेवार छन् । उदार मनले यी दुईले आआफ्नो गल्ती स्वीकार गर्नैपर्छ । देश यी दुईजानाको घुरेनबारी होइन न त उथलपुथलविद्को खोर्सानीबारी नै हो । राजा सहस्रार्जुन (कार्तवीर्य) ले यसै प्रकारको स्वार्थी राज गरेका बेला हिम्मतका साथ जमदग्नि ऋषिले विरोध गरेको खप्न नसकेर कार्तवीर्यले जमदग्निलाई मारेको थियो । जमदग्निका कान्छा छोरा परशुरामले गुरुवर्गमाथि राजाको अकारण कोप देखेर वनमा (गुरुकुल) मा नै सैन्य संगठन गरी रूखका हाँगा छिमले झैँ परशुरामले सहस्रार्जुनका हजारै हात सबै काटेर मारिदिएका थिए ।
राजा वेनले पनि साधुसन्तमाथि जुन प्रकारको चक्रचाल चलाएर दुःख दिएको थियो राज्यका तमाम बौद्धिक वर्गले विरोध गरेर सच्चिन सुध्रिन अनुरोध गर्दा पनि केही नलागेपछि त्यस बेलाका ऋषि भनेका आजका (प्राध्यापक, वकिल, पत्रकार, स्वतन्त्र बौद्धिक वर्ग) जस्ताले सामान्य जनतालाई पनि साथ लिएर वेनलाई मारेर प्रभावशाली उद्योगी, लोकप्रिय राजा पृथुको निर्माण गरेका थिए । आज पनि यो देशका बौद्धिक समुदायका अघिल्तिर त्यसै बेलाको जस्तै परिस्थिति आएको सर्वत्र महसुस गरिएको छ । त्यस बेलाको राजनीतिक व्यवस्था असल थिएन । अतः पद्धति नै परिवर्तन गर्नुपरेको थियो भने आजको नेपाली राजनीतिक पद्धति मानव मस्तिष्कले उत्पादन गरेको दुनियाँको सबैभन्दा उम्दो राजनीतिक पद्धति छ ।
अतः हाम्रो व्यवस्था ठीक छ । यो पद्धति सञ्चालन गर्ने व्यक्ति या पात्र खराब छन् । पात्र अयोग्य भए भने व्यवस्थाले दोष पाउँछ । कोपारामा राखेको गंगाजल अपवित्र हुँदैन र ? खानेपानी यदि डोकामा थापियो भने पानी खान पाइन्छ र ? गंगाजल ताँबे भाँडामा थापे कति राम्रो हुन्छ ? डालामा या डोकामा पानी थापेजस्तै अयोग्य शासकका कारणले बहुदलीय गणतान्त्रिक प्रजातन्त्र बद्नाम भएको आवस्था हो आजको । आफ्ना दलको र आफ्नो स्वर्थलाई हेरेर ओलीले राजनीति बिगारे भने आफ्नो सत्तासयरका कुरालाई प्राथमिकता दिएर शेरबहादुरले पनि यो व्यवस्थाको धज्जी उडाएका छन् ।
शेरबहादुर देउवा, खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहालले जित्नु भनेको जनताले घोडा र खच्चड छुट्याउन नसकेकै हो या लोभलाभमा पारेकै हो भन्नुपर्ने हुन्छ । हलो तान्न नसक्ने गोरु घँस्याएर गैरी खेत बाँझै राख्ने काम नगरौँ ।
विगत १७ अठार वर्षका अनुभवले हामीलाई सिकाएका तीन कुरामा ध्यान दिऊँ (क) प्रदेश हटाऊँ (ख) निर्वाचन पद्धति बदलौं (ग) सत्ताका खेलमा लागेर देश र जनतालाई दुःख नदिऊँ । यति कुरा सबैले बुझेर सदनमा सहमति गरेर संविधान संशोधन गरी प्रदेश खारेज गरेर सङ्घ र स्थानीय तहमात्र राखौं । सत्ता कामले पाइने हो ज्योतिषीका आदेश र छलकपटबाट पाए पनि त्यसले आनन्द दिँदैन भन्ने बुझौँ । यसरी हेर्दा बोकाले दाईं हुँदैन भन्ने बुझेर कांग्रेसले अब पार्टीको १५औं महाधिवेशनको तयारी थाल्ने र एमालेमा पनि केपीलाई ससम्मान दलीय क्रियाकलापबाट बिदा गर्ने काम नगरे देश र जनताले अझै धेरै दुःख पाउँन सक्छन् । असारमा मेलामा सुत्ने गोरुलाई चैतमा नारे पनि त्यो मेलामा सुत्छ नै । नियत, संस्कार र प्रवृत्ति चिनेर नेता छानौँ ।
बुढा गोरु पालेर खेत नबँझ्याऊँ
पूर्वपञ्चको नाभो पलाएको पार्टीले व्यक्तिभक्ति प्रदर्शन गर्न लागेको देखेर मैदानमा नाच्न नजान्ने नटुवाहरूमध्येका एक जनाले संविधान मान्न आग्रह गरेको सुन्दा मलाई पनि ताजुब लाग्यो । संविधान लेख्दा दुई वर्ष संसद् विघटन गर्न नपाईने लेखेर सही गरेको मसी नसुक्दै दुई दुई पटक संसद्का गर्धनमा तरबार चलाउने अधिकार कुन संविधान मानेर प्रयोग गरेका हुन् ? कसले सोध्ने यिनलाई ? अतः लिङ्देन र ओली दुवै संविधान मिचुवा नै हुन् । बहुदलीय प्रजातन्त्रका लागि पचास वर्षभन्दा बढी संघर्ष गरेका शेरबहादुरले यो संविधान र बहुदलीय सङ्घात्मक गणतान्त्रिक व्यवस्थाकै हुर्मत काडे निर्वाचनमै गठबन्धन गरेर । यसको दण्ड यिनलाई जनताले दिनुपर्दथ्यो तर जनता मुसो र छुचुन्द्रो नचिन्ने रहेछन् ।
प्रजातान्त्रिक व्यवस्थाका लागि नेपाली जनता आज पनि तयार भएका रहेनछन् । शेरबहादुर देउवा, खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहालले जित्नु भनेको जनताले घोडा र खच्चड छुट्याउन नसकेकै हो या लोभलाभमा पारेकै हो भन्नुपर्ने हुन्छ । हलो तान्न नसक्ने गोरु घँस्याएर गैरी खेत बाँझै राख्ने काम नगरौँ । यस पटक पनि डा. शेखरले सोचेछन् त्यो गाई पालेर के गर्नु जसले न ब्याएर दूध दिन्छ सधैँ थारो बस्ने गाई किन पाल्नु । यो संविधान पनि यस्तै दोषयुक्त रहेछ/बनेछ भनेर अब नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएर देशलाई सानातिना समस्याबाट पार लाउन कम्मर कस्नैपर्दछ ।
हिजो पनि यिनै दुई दल मिलेपछि बहुदलीय प्रजातन्त्रमा हिंसा हत्या मच्चाएर वन पसेका पनि आएका थिए । २४० वर्षको प्रगल्भतन्त्र पनि फाल्न हामी सफल भएका थियौं । घण्टी, शंख र दुन्दुभि बजाउँदै कमाउन र वानर नचाउने मनशायले आएका मदारीजस्ता दललाई ठेगान लाउन पनि यिनै दुई दल मिले सक्छन् । देश पनि बन्छ र जनताले पनि आसको सास फेर्ने अवसर पाउनेछन् । सत्ता र शक्तिको मात्रै दाउ हेर्ने यी दुई दलका मदारी परिवर्तन गरेरै भए पनि अब समय बरवाद गर्न छाडौं ।
अहिले उथलपुथल नायिके र दम्भाधीशको जोडा बाँधिएको छ । सत्ताको बकुल्लो अहिले ट्वाँ परेर बसेको अवस्था छ । अब पनि उनको दाउ नेपाली कांग्रेसको विधान अनुसार एक वर्ष थप्ने र ८४ सालको आमनिर्वाचनमा समेत आफैँ टिकट बाँड्ने र नेपाली कांग्रेसलाई झिल्केमिल्के दलका दाँजामा पु¥याएर छाड्ने । यिनको सोच किन पनि यस्तो हुन सक्छ भने उनलाई अरूभन्दा पनि बढी श्रीमतीलाई राजनीतिमा स्थापित गर्नुछ । भनिन्छ नि ! ‘नामी मरए नामक लेल, आ पेटु मरए पेटक लेल ।’
आजको यस परिस्थितिका लागि प्रथमतः शेरबहादुर देउवा र केपी शर्मा ओली नै जिम्मेवार छन् । उदार मनले यी दुईले आ–आफ्नो गल्ती स्वीकार गर्नैपर्छ । देश यी दुईजानाको घुरेनबारी होइन न त उथलपुथलविद्को खोर्सानीबारी ? ।