
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सूचना प्रविधि विकासका लागि उपयुक्त गन्तव्य भएको भन्दै लगानी भित्र्याउन आहृवान गर्नुभएको छ । एसिया प्रशान्त क्षेत्रका १७ राष्ट्रका सूचना प्रविधि उद्योग सञ्चालकहरूको संस्था एसिया प्यासिफिक आइसिटी अलाइन्स (एपिक्टा) का पदाधिकारीसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो आहृवान गर्नुभएको हो ।
वैशाख १६ र १७ गते काठमाडौंमा सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्न लागेको र लगानी सम्मेलनमा विदेशी लगानीका साथै नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने गरी तयार अघि बढाइनुका साथै सोका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारसमेत भइरहेको मन्त्री शर्माले जानकारी गराउनुभयो ।
नेपाल सरकार लगानीका लागि विश्वासको वातावरण निर्माण गर्न तयार रहेको जानकारी गराउँदै उहाँले सूचना प्रविधिको विकास, विस्तार, प्रयोग र लगानीका सम्बन्धमा विभिन्न देशका प्रतिनिधिहरूको अनुभव आदानप्रदानले नेपाल सरकार र निजी क्षेत्रलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्कलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ परिमार्जन कार्य अघि बढाएको र डिजिटल फाउण्डेसनका डिजिटल सार्वजनिक पूर्वाधारलाई सुरक्षित र अन्तरक्रियात्मक बनाउँदै समग्र प्रणालीप्रतिको विश्वासलाई वृद्धि गरी सुशासन र विकासमा टेवा पुर्याउने सरकारको लक्ष्य रहेको पनि उहाँले बताउनुभयो ।
प्रविधि र प्रणालीको सुरक्षित र जवाफदेही प्रयोग तथा डिजिटल इकोसिष्टम निर्माणका लागि आवश्यक कानुन सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक निर्माणलाई तीव्रता दिइएको जानकारी दिँदै मन्त्री शर्माले विश्व अर्थतन्त्र नै शिथिल भएको अवस्थामा सञ्चार तथा सूचना प्रविधिको प्रयोग गर्दै सूचना प्रविधिमैत्री संरचना र सोहीअनुसार दक्ष जनशक्ति व्यवस्थापन गर्न सके सुशासन र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।
प्रत्येक वर्ष १० हजारभन्दा बढी नेपाली युवा सूचना प्रविधिको क्षेत्रमा थपिने गरेकाले युवा पलायन रोक्न देशभित्रै रोजगारी सिर्जना गर्ने र बिनाअवरोध स्वतन्त्ररूपमा सफ्टवेयर निर्यात गर्न सक्ने भएकाले सरकारले आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधिलाई प्राथमिकता दिने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच