बझाङमा उपनिर्वाचनको तयारी अन्तिम चरणमा

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 3 mins

बझाङ । बझाङमा उपनिर्वाचनका लागि खटाइएका कर्मचारीलाई नियुक्तीपत्र र मतदान सामग्री बुझाएर मतदान स्थलतर्फ खटाइएको छ । निर्वाचन आयोगले मतदानका लागि मतदान अधिकृत,सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीले नियुक्तीपत्र सँगै निर्वाचन खर्च र सामग्री बुझाएर सुरक्षाकर्मीसहित मतदान केन्द्र र मतदान स्थलमा पठाएको छ ।

आगामी वैशाख १५ गते बझाङमा हुने प्रदेशसभाको उपनिर्वाचनका लागि १२ सयको संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी उक्त संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकोले दुई सङ्गठनका प्रहरी निर्वाचनमा प्रयोग हुने कुइँकेलले बताउनु भयो ।

उपनिर्वाचनलाई शान्त र भय रहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कुईकेलको भनाई छ । बझाङ जिल्ला भरमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल रहेका छन् । जिल्ला निर्वाचन कार्यलयले मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाएर आज नै प्रहरीहरु समेत परिचालन गरिएको जनाइएको छ । जिल्ला निर्वाचन कार्यालयले भने आज कर्मचारीहरुलाई सम्बन्धित मतदान केन्द्रमा खटाएको छ ।

जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीकाअनुसार सोमबार नै साइपाल गाउँपालिकाअन्तर्गतका ५ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पठाई सकिएको भए पनि अन्य पालिकाका लागि आज अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पठाएको बतानुभयो । आयोगकाअनुसार प्रत्येक मतदान केन्द्रमा सातजना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाएको छ ।

मतदान केन्द्र अनुसार बझाङमा ६५१ जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक केन्द्रमा एक-एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँचजना सहयोगी कर्मचारी खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?