
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र सहितको सत्ता गठबन्धनमा अविश्वास बढ्दै गएको छ । गत फागुन २१ गतेदेखि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस)सहित पाँच राजनीतिक दल सत्ता गठबन्धनमा आबद्ध छन् । नेपाली कांग्रेस सँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले सहितको पाँच दलीय गठबन्धन बनाए पनि सहयात्रा ठीकठाक ढंगले चलेको देखिँदैन । नेपाली कांगेसलाई केन्द्रसहित प्रदेशमा प्रतिपक्षको कित्तामा पुर्याउनुबाहेक नयाँ गठबन्धनको उपयोगिता देखिएको छैन ।
गठबन्धन बनेको दुई महिना पूरा नहुँदै सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच भारी मात्रामा असन्तुष्टि छताछुल्ल बनेको छ । कर्णाली प्रदेशमा नयाँ समीकरणअनुसार सरकार बने पनि गठबन्धनबीच आन्तरिक विवाद चुलिँदै गएको छ । सत्ता गठबन्धनको घटक नेकपा एसका तर्फबाट सुदूरपश्चिमको मुख्यमन्त्री बन्नुभएका दीर्घराज सोडारीले गठबन्धन भित्रको आन्तरिक विवादकै कारण प्रदेश सभामा विश्वासको मत लिने विषय अनिश्चित बनेको छ ।
मुख्यमन्त्री सोडारीले आज (शुक्रबार) विश्वासको मत लिने तय भएको थियो । गण्डकी प्रदेशमा पनि मन्त्रालयको संख्या बढाउने विषयमा गठबन्धनका दलहरूबीच विवाद छ । गठबन्धन भित्रको आन्तरिक विवादकै कारण बागमती प्रदेशमा नेकपा एसको तर्फबाट मन्त्री बनेकालाई मन्त्रालयको जिम्मेवारी नदिई बिनाविभागीय मन्त्री बनाइएको छ । गठबन्धनका दलहरू बीचमा अविश्वासको खाडल गहिरिँदै जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहीबार दुई घण्टा लामो छलफल भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्नुभएको थियो । भेटपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको जानकारी दिँदै भन्नुभयो, ‘संसद्को बजेट अधिवेशन बोलाउने र संसद् सञ्चालन गर्ने भन्ने विषयमा छलफल भएको छ । संसद्को अधिवेशन बोलाउने सरकारको मामिला हो । संसद्को मामिला हो । प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयहरूमा छलफल भयो ।’
गठबन्धनका दलहरूबीच अविश्वासको खाडल बढ्दै जाँदा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले सरकारलाई घेराबन्दीको रणनीति लिएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गत फागुन २४ गतेदेखि संसद्मा सहकारी ठगी प्रकरणमा मुछिनुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दै आएको छ । कांग्रेसको मागमा विपक्षी दल राप्रपा र लोसपाले पनि समर्थन जनाएका छन् । तर, सरकार संसदीय छानविन समिति गठन गर्ने पक्षमा छैन । सरकार आफ्ना मागप्रति सकारात्मक नभएपछि कांग्रेसले आसन्न बजेट अधिवेशनमा पनि संसदीय छानविन समिति गठनको मागलाई थप सशक्त ढंगले उठाउने तयारी गरेको छ । आन्तरिक मनमुटावमा रुमल्लिएको गठबन्धन सरकारलाई विपक्षीको दबाबले थप समस्या पार्ने देखिन्छ ।
प्रधानमन्त्री बन्न नेपालको चलखेल
सत्तारूढ दलको घटक नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धनमा सन्तुष्ट देखिनुभएको छैन । गठबन्धन लामो समय नटिक्ने उहाँले निरन्तर अभिव्यक्ति दिँदै आउनुभएको छ । विशेषगरी प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारप्रति नेपाल आक्रोश पोखिरहनु भएको छ । नेताहरूले नमिलाए राजनीति दुर्घटनामा जानसक्ने उहाँले चेतावनीसमेत दिँदै आउनुभएको छ । नेकपा एसले सरकारमा सामेल हुने बेला पनि सर्त राखेको थियो । सुरुमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डले नेकपा एसलाई गठबन्धन र सरकारमा सहभागी गराएका थिएनन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एसका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बन्न अफर गरेपछि मात्र ओली र प्रचण्ड नेकपा एसलाई गठबन्धन र सरकारमा सहभागी गराउन बाध्य भएका थिए । सरकारमा सामेलयता एकीकृत समाजवादीका नेताहरू सन्तुष्ट छैनन् । त्यस्तै, प्रदेशका मन्त्री र मुख्यमन्त्री नियुक्तिमा पनि एकीकृत समाजवादीको विमति छ । एकीकृत समाजवादी प्रदेशको भागबण्डामा असन्तुष्ट थियो । अब यतिखेर प्रदेशको भागबण्डाको विवाद सतहमा छैन । तथापि, अध्यक्ष नेपालको असन्तुष्टिको अभिव्यक्ति आउनु पछाडिका कारणबारे उहाँकै दलका नेताहरू पनि अनभिज्ञता प्रकट गरिरहेका छन् ।
नेकपा एमाले सहितको सत्ता समीकरण बनेको दिनदेखि नै उत्पन्न आशंका, अविश्वास र गठबन्धनको घटक नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिले नयाँ कोर्स लिने संकेत देखिएको छ । एमाले-कांग्रेस सत्ता समीकरण बन्न खोजेको चर्चाबीच नेकपा एस रणनीतिक रूपमा ‘मुभ’ हुन खोजेको छ । अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने परिस्थिति निर्माणको प्रयासमा जुटेको स्रोतको दाबी छ । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति अझै विश्वस्त हुन नसकिरहेका प्रधानमन्त्री प्रचण्डले पनि अध्यक्ष नेपाललाई प्रधानमन्त्रीको लागि अगाडि बढ्न ‘ग्रिन सिग्नल’ दिएको नेकपा एसका एक नेताको दाबी छ । गठबन्धनकै मुख्य घटक एमाले कांग्रेससँग संवादमा रहेको सूचना पाएपछि प्रचण्ड झस्किनुभएको छ । प्रचण्डले पुरानै गठबन्धन (कांग्रेस-माओवादी)मा फर्किने मनस्थिति बनाइसकेको नाम नखुलाउने सर्तमा माओवादी केन्द्रका एक नेताले दाबी गरेका छन् ।
यता, सत्ता गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी (जसपा)का एक नेताले गठबन्धनको विषयमा प्रचण्ड र माधवबीच गम्भीर छलफल भइरहेको, नेकपा एस, जसपा र कांग्रेसका नेताहरूबीच नियमितजसो संवाद भइरहेको दाबी गरेका छन् । सत्ता राजनीति सेफ ल्याण्डिङको लागि प्रधानमन्त्री प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाएर कांग्रेस सहितको गठबन्धन बनाउन लचक देखिएको ती नेताको दाबी छ । आफूहरूसँग गरिएका सहमति र वाचा कार्यान्वयनमा एमाले अध्यक्ष ओली अनुदार बनेको निष्कर्षसहित आफ्नो पार्टी कोर्स करेक्सनको रणनीतिमा लागेको एकीकृत समाजवादीका दोस्रो तहका एक नेताको दाबी छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालको चासोमा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भेटवार्तालाई तीव्रता दिनुभएको छ । राष्ट्रियसभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला पनि माओवादी सहितको पुरानो गठबन्धन ब्युताउन भरमजदुर प्रयत्न गरिरहनु भएको नेताहरूको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच