
शासक आफैँमा सबै वा पूर्ण हो शासनका आधारमा । ऊ आफैँ केही पनि होइन । शासक सबै हो कुनै पनि मुलुकका लागि । त्यसैले शासकलाई युगको धर्म निर्वाहकर्ता मानिएको छ । शासकबाट नै देशको वा राज्यको काँचुली फेरिने हुनाले उसलाई युगको द्रष्टा पनि मानिएको पाइन्छ । शासक तथा शासकले गर्ने कर्म र उसले चलाउने शासनका आधारमा युगले पनि आफूलाई समर्पित गरेको हुन्छ । शासक र उसका कर्मको लेखाजोखा नै देशका लागि युगीन अपेक्षा हुने कुरालाई नकार्न सकिँदैन । शासकले अपनाउने शासकीय पद्यतिका आधारमा राष्ट्र र उक्त राष्ट्रका मानिसको जीवनस्तरमा आउने परिवर्तन केन्द्र बनेर आएको हुन्छ आजको सन्दर्भमा ।
राज्यका सबै अङ्ग शासकको राज्य सञ्चालनमा निर्भर रहेका हुन्छन् । शासकको व्यवहार र उसले निर्वाह गर्ने भूमिकाका कारण युग नै परिवर्तन हुने सन्दर्भलाई महाभारतमा भीष्मले युधिष्ठिरलाई बताएका छन् । युगलाई अघि बढाउने शासक सामान्य होइन भन्ने तर्कलाई महाभारतले प्रमाणित गरिदिएको छ ।
राजाकृतयुगस्रष्टा त्रेतायाद्वापरस्य च
युगस्य च चतुर्थस्य राजाभवतिकारणम् ।।
शासक नै सत्ययुगको सृष्टि गर्ने हुन्छ । शासक नै त्रेता, द्वापर र चौथो कलियुगको पनि सृष्टिको कारक बनेर आएको हुन्छ । शासक नै युगस्रष्टा र युगद्रष्टा हो । शासकले चलाउने सत्ताका आधारमा नै देशको अवस्थाका बारे जानकारी हुने तथ्य महाभारतले बताएको छ । शासकका आधारमा नै युगको शासकीय व्यवहार बाहिर आउने हुनाले शासक नै राज्यको वाव्यवस्थाको मूल कारण हो भन्ने तथ्यलाई नकार्न सकिँदैन ।
कारण शासक
शासनमा बसेको शासकलाई दण्डनीतिले सफल बनाउने हो । अन्यायमा परेकालाई न्याय दिनु शासकको धर्म मात्र होइन कर्तव्य पनि हो । यस कर्तव्यबाट च्यूत भए राज्यको व्यवस्थापकीय पक्ष नै कमजोर हुने कुरालाई कसैले पनि नकार्न सक्दैन । कलियुगको शासकका बारेमा भनिएको छ
दण्डनीतिं परित्यज्ययदाकात्स्न्र्येन भूमिपः
प्रजाःक्लिश्नात्ययोगेन प्रवर्तेत तदाकलिः ।।
शासकले दण्डनीतिलाई परित्याग गरेर अयोग्य उपायबाट जनतालाई कष्ट दिन्छ । त्यो समय नै कलियुगको आरम्भ हो । यस पद्यले युगद्रष्टा शासक हो र युगको पहिचान गराउने आधार पनि शासकलाई नै मानेको देखिन्छ । शासक केही होइन र सत्ता पनि केही होइन भन्ने आधारलाई यो भनाइले समाप्त पारिदिएको छ । शासकको भूमिकाबाट राज्य समृद्ध र दरिद्र हुने तर्कलाई मूल रूपमा बाहिर ल्याएको छ । राज्यको व्यवस्थामा सबैभन्दा महत्त्वको अवस्थामा शासकलाई महाभारतले लिएको छ ।
कलियुगलाई महाभारतले धर्मको शासन मानेको छैन । कलियुगको शासकीय व्यवस्था अधर्ममा टिक्ने हुनाले शासन नै कमजोर हुने तर्कलाई उल्लेख गरिएको छ । न्याय व्यवस्था कमजोर हुने, न्याय पैसामा बिक्ने र शासक सदाचारयुक्त नहुने हुनाले कलियुगलाई शासकीय व्यवस्थामा चार युगमा कमजोर मानिएको छ ।
कलियुगलाई महाभारतले धर्मको शासन मानेको छैन । कलियुगको शासकीय व्यवस्था अधर्ममा टिक्ने हुनाले शासन नै कमजोर हुने तर्कलाई उल्लेख गरिएको छ । न्याय व्यवस्था कमजोर हुने, न्याय पैसामा बिक्ने र शासक सदाचारयुक्त नहुने हुनाले कलियुगलाई शासकीय व्यवस्थामा चार युगमा कमजोर मानिएको छ । कलियुगको शासकीय पद्यति कमजोर हुने र शासक पनि कमजोर हुने तर्कलाई यसरी बाहिर ल्याइएको छ-
कलावधर्मो भूयिष्ठं धर्मो भवति न क्वचित्
सर्वेषामेव वर्णानां स्वधर्माच्च्यवते मनः ।।
कलियुगमा अधर्मले जरा गाडेर बस्नेछ । धर्मको पालन हुने छैन । सबै वर्णको मन आफ्नो धर्मबाट च्यूत हुनेछ । यो महाभारतको उक्तिले कलियुगलाई चिनाएको छ । कलियुग मूल रूपमा मानवीय कर्म र धर्मरहित हुने तर्कलाई उल्लेख गरिएको छ । शासकका आधारमा नै युग र युगको धर्म निर्वाह हुने हुनाले शासकले गर्ने शासकीय स्वरूप कलियुगको निर्णयको आधार बन्नेछ ।
शासकले निर्बाह गरेको भूमिकाका आधारमा देशको व्यवस्थालाई गति दिने अवस्था आउने हुँदा शासक गतिलो हुनुपर्दछ भन्ने मान्यता हो । शासकका सबै काम देशका लागि हुनुपर्दछ । राष्ट्रका लागि गरिने कार्यले नै शासकको शासकीय व्यवहार जीवन्त बनेर आउने हुनाले शासक सचेत र कर्तव्यनिष्ठ हुनु अनिवार्य मानिएको हुन्छ । शासनमा बसेका व्यक्ति इमान्दार भएनन् भने शासकीय व्यवहारमात्र होइन प्रकृति नै गतिशील नहुने तर्कलाई उल्लेख गर्दै भनिएको छ :
क्वचित् वर्षतिपर्जन्यःक्वचित् सस्यं प्ररोहति ।
कलियुगमा कतैकतै मात्र वर्षा हुने र कतैकतै मात्र अन्न उब्जने छ । यही कलियुग होइन र ? पृथ्वीले दिने सबै वस्तु वनस्पति र अन्नलाई शासकको शासकीय पद्यतिबाट जोडेर हेरिएको छ । शासकले चलाउने राज्यव्यवस्थाका माध्यमबाट नै पृथ्वीले समेत आफ्नो व्यवस्था गर्ने हुनाले शासक नै कलियुगको व्यवस्थापकीय माध्यम हो भन्ने तर्कलाई यहाँ उल्लेख गरिएको छ । शासक गतिलो र न्याययुक्त भए कलियुग पनि सत्य सावित हुने कुरा महाभारतमा उल्लेख गरिएको छ ।
पृथ्वीको आधार
न्यायको ग्रन्थ तर्कसङ्ग्रहमा पृथ्वीको लक्षण तत्रगन्धवती पृथ्वी भनिएको छ । पृथ्वीको एउटा धर्म सुगन्ध हो । पृथ्वीले दिने सबै वस्तुबाट मानिसको जीवन निर्वाह हुने गरेको हुन्छ । यदि पृथ्वीबाट पाइने वस्तु समयमा पाइएन भने मानिसलाई जीवन निवार्ह गर्न कठिन हुने कुरालाई कसैले पनि नकार्न सक्दैन । शासकले शासकीय पद्यतिलाई ठीक तरिकाले सञ्चालन गर्न सकेन भने पृथ्वीबाट पाइने वस्तु पनि पृथ्वीले आफूभित्र लुकाएर राख्ने प्रमाणलाई भनिएको छ
रसाः सर्वे क्षयं यान्तियदा नेच्छति भूमिपः
प्रजाः संरक्षितुं सम्यग् दण्डनीतिसमाहितः।।
शसकले दण्डनीतिलाई न अपनाई शासन चलाए पृथ्वीमा रहेका सबै रस तथा पृथ्वीले दिने सबै वस्तु र वनस्पति नष्ट हुनेछन् । यही हो पृथ्वीको धर्म पनि । पृथ्वीले शासन गर्ने व्यक्तिमा निर्णय र देशको व्यवस्थापकीय पक्ष कमजोर भए आफूभित्र रहेका सबै वस्तुलाई लुकाउने धारणा अघि सारेको देखियो महाभारतमा । शासकको व्यवहारका कारण र उसले सञ्चालन गर्ने राज्यनीतिका आधारमा पृथ्वीले आफ्नो गुणलाई समाहित गर्ने हुनाले पृथ्वीको आवश्यक तत्त्वमा परिवर्तन आउने सन्दर्भलाई हाम्रो शास्त्रमा उल्लेख गरिएको छ । यो सत्य हो । पृथ्वीको गुण र धर्मका आधारमा आजको मानिस संसारमा जीवित छ । संसारमा पृथ्वीले आफूले धर्म निर्बाह गरेको पाइन्छ ।
पृथ्वीले धर्म निर्वाह गरेको भए पनि शासकले आफूले निर्बाह गर्नुपर्ने धर्मलाई निर्वाह गर्न नसकेको अवस्था पक्कै पनि सत्य हो । आजको विश्व विज्ञानले भरिएको छ । आजको युवा संसार घुम्ने मन लिएर बाँचेको छ । आजको शासक आफू, आफ्ना र आफन्तलाई पोस्न बाध्य बनेको छ । विज्ञानका भरमा अध्यात्म, परम्परा र प्राच्य धरोहरलाई समाप्त पार्ने आजको युग र शासकलाई पृथ्वीले केही नदिएकी होइनन् तर मानिसले ती वस्तुको संरक्षण गर्न सकेन । आजको पृथ्वीमा सबै गुण नभएका होइनन् । ती गुणलाई आज पृथ्वीले आफूमा सुरक्षित राखेकी हुन् ।
पृथ्वी, प्रकृति अन्य प्राणीले आफ्नो धर्म निर्वाह गरेका छन् । मानिसले मानवीय धर्मलाई निर्वाह गर्न सकेको छैन । मानिसमात्र आजको संसारमा त्यस्तो प्राणी भयो जसले सबैमा विजय पाउने अभिलाषा राखेर अघि बढेको छ । मानिसको कर्म मानवीय हुनु अनिवार्य हुन्छ । अरू प्राणीका कर्म प्रकृतिले निर्धारण गरे अनुसार नै चलेका छन् तर मानिसका कर्म भने उसले निर्धारण गरे अनुसार हुन सकेको पाइँदैन । आजको विश्वले बाटो बिराएको छ । आजको मानिसले आफ्नो आधार गुमाएको छ । आजको संसार गतिशील छ ।
आजको राजनीति स्थिर किसिमको छैन । अस्थिर राजनीति र युद्धको धम्कीले संसार त्रासमा बाँचेको छ । यो त्रास विश्वभरि फैलिएको छ । त्रासमा बाँचेको मानिस सदा आसमा फक्रिरहेको छ । आसले मानिसमा लोभानी र पापानी भरिदिएको छ । यी मानिसको पतनका मूल कारण हुन् । आजको विश्वमा देखिएको शासकीय पद्यति र त्यस राजनीतिले मानिसलाई सुखी बनाउन सकेको छैन । सुखी बन्ने आशामा ऊ दुःखको भुँवरीमा फसेको छ ।
शासकले गर्ने कर्मका आधारमा पृथ्वीमा देखिने गुणले जनतालाई सुखी बनाउँछ । शासक सबैभन्दा पहिले सुधारिनुपर्ने आवश्यकता देखिन्छ । शासकमात्र होइन शासकीय पद्यति पनि सुधारिएको खण्डमा पृथ्वीका सबै क्रियाहरू सुधारिने तर्क महाभारतले गरेको छ । महाभारतका जस्ता शासक नहुन सकिएला ? इमान्दारीपूर्वक शासन चलाए संसारका सबै प्रक्रिया र पद्यतिमा सुधार आउने पक्ष भने निश्चित नै छ । शासकको मूल आधार शासन हुनुहुँदैन । शासनमा टिकिरहने औचित्य पनि हुनुहुँदैन । शासनको मूल आधार जनता हुन् । जनताको सुखदुःखमा एकाकार भएर व्यवस्थालाई जीवन्तता दिनु पनि शासकको पहिचान हो ।
शासकको कर्म र उसले निर्वाह गरेको भूमिकाका आधारमा जनताको जीवन पद्यतिमा सुधार आउने हुनाले ऊ सुधारिनु पहिलो शर्त मानिएको छ । विकास र जनताको जीवनस्तर सुधारका लागि सदा निरन्तर जुटिरहनु नै शासकको गुण मानिएको छ । शासकले नै आफूले गर्ने व्यवहार र नीतिका कारण युगमा परिवर्तन आउने हो । शासक देशको मात्र होइन, ऊ राष्ट्रको पहिचानमात्र पनि होइन, शासक कलियुगलाई सत्य, त्रेता र द्वापर युगमा परिवर्तन गर्ने शक्ति हो । ऊ सत्य, त्रेता र द्वापरलाई कलियुगमा परिवर्तन गर्ने शक्ति हो । यही शक्ति शासकमा रहेको हुन्छ । संसारका शासक हो ! आफूलाई बुझ, चिन र शासन चलाओ । जनतलाई शासक भएको र शासन अनुसार देश चलेको अवस्थाको जानकारी दिन सक ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच