
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठसहित ६ जना र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । सुरक्षण मुद्रण केन्द्र, काठमाडौंले सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदको लागि बोलपत्र आहृवान गर्दा सार्वजनिक खरिद कानुन उल्लंघन गरी केही सीमित व्यक्ति विशेषसँग मिलेमतो गरी सरकारी सम्पत्ति हिनामिना गरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । पौडेल र श्रेष्ठसहित वन तथा वातावरण मन्त्रालयका तत्कालीन सिडिई (मेकानिकल) नवीनकुमार पोखरेल, सुरक्षण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिबल्लभ घिमिरे र म्याक्स इन्टरनेसनल तथा कम्पनीका सिइओ अकबर हुसेनविरुद्ध आरोपपत्र दायर भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ४० करोड बढी बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
सुरक्षण प्रेसको सफ्टवेयर र अन्य उपकरण खरिदको लागि बोलपत्र आहृवान गरेको थियो । त्यसमा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनबमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्नेगरी तथा स्वस्थ प्रतिस्पर्धा नहुनेगरी भएकाले सरकारी रकम हानि नोक्सानी र दुरुपयोग गरेको भन्ने उजुरी परेको थियो । त्यसमा अख्तियारले अनुसन्धान गर्दा विकल, सफल र नवीन कुमारको मिलेमतोमा भ्रष्टाचार भएको पाइएको भन्दै आरोपपत्र दायर गरेको हो । आयोगले उनलाई तेस्रो मुद्दा दायर गरेको हो । सुरक्षण मुद्रण केन्द्रको भवन र संरचना निर्माणमा अनियमितता भएको भनी गत वर्ष दायर भएको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
सार्वजनिक खरिद ऐनको उल्लंघन
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ५ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७३ को दफा ९ (३) अनुसार खरिद प्रक्रिया अघि बढाउनुपर्ने प्रावधान छ । त्यसअनुसार खरिद इकाइको गठन, खरिद माग संकलन, सम्भाव्अध्ययन, विस्तृत अध्ययन, नम्र्स, ड्रइंग तथा डिजाइन, स्वीकृत खरिद गुरुयोजना तथा वार्षिक खरिद योजना तयारलगायत कार्यहरू र सुरक्षण मुद्रण विकास समिति (गठन) आदेश, २०७३ को दफा ५ को उपदफा (क) बमोजिम सुरक्षण मुद्रणसम्बन्धी नीति, योजना, बजेट तथा कार्यक्रम सुरक्षण मुद्रण विकास समितिबाट स्वीकृत गराउनुपर्ने थियो ।
दुईवटा कार्यक्रमका लागि छुट्याइएको बजेट आफूखुसी एउटै कार्यक्रम ‘पेपर बेस्ड प्रेस मेसिनरी’को लागि खर्च गरेको देखिएको अख्तियारले जनाएको छ । खरिद गर्न खरिद इकाइ स्थापना नगरी सफल र नवीन कुमारले आफ्नै संयोजकत्वमा समिति बनाएर ठेक्का प्रदान गर्न पूर्वपरिचित म्याक्स इन्टरनेसनल तथा कम्पनीका सिइओ अकबर हुसेनसँग मिलेमतो गरेको देखिएको हो । विकल पौडेलको एकल निर्णयले हुसेनका कम्पनीहरूसँग एकै दिनमा दरभाउ लिएर लागत अनुमान तयार गरेको देखिएको हो ।
विदेशी बैंक खातामा कमिसन रकम
सामान आपूर्ति गर्ने विदेशी कम्पनी बान्कोटेक पिटिई लिमिटेड सिंगापुरले कमिसनबापत पौडेलको सिंगापुरमा रहेको युनाइटेड ओभरसिज बैंकमा एकल खाता र बैंक अफ अमेरिका, न्युयोर्कमा रहेको उनी र उनकी श्रीमतीको संयुक्त खातामा जम्मा गरेको देखिएको अख्तियारले जनाएको छ । उनीहरूले कार्ड बेस्ड प्रेस मेसिनरी सफ्टवेयर एण्ड हार्डवेयर रिलेटेड इक्विपमेन्ट खरिद गर्नुपर्नेमा पेपर बेस्ड प्रेस मेसिनरी किनेका थिए । जसअन्तर्गत एउटा मात्रै प्रिन्टिङ प्रेस खरिद गर्नुपर्नेमा आवश्यकताभन्दा बढी दुईवटा खरिद गरेको पाइएको हो ।
प्रिन्टिङ प्रेसमा अनलाइन हुने कम क्षमताको डाई कटिङ मेसिन खरिद गर्दा पर्याप्त हुनेमा मनाशिव कारणबिना २० गुणा बढी क्षमताको आवश्यक नै नदेखिएको मेसिन खरिद गरेको हो । यसरी उनीहरूले सरकारलाई ४० करोड ८५ लाख ७५ हजार ७४० रुपैयाँ क्षति गर्ने बदनियत देखिएको अख्तियारको दाबी छ । त्यस्तै, उनीहरूले भुक्तानी गरेको ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ असुल गर्न भन्दै मुद्दा दायर गरेको हो ।
उनीहरूलाई अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ अनुसार तीन महिनादेखि तीन वर्षसम्म कैद माग गरिएको छ । पौडेललाई दफा २४ अनुसार थप सजाय पनि माग गरेको छ । उनलाई थप तीन वर्षसम्म कैद सजाय माग गरेको हो । अमेरिकाको स्थायी आवास अनुमति पत्र (पिआर) लिएर त्यस बारेको विवरण लुकाई नेपालमा नियुक्ति लिएको भनी विकल पौडेलविरुद्ध केही साताअघि मात्रै दोस्रो मुद्दा दायर भएको थियो । आइतबार मात्रै विशेष अदालतले अख्तियारको हिरासतमा रहेका पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । पौडेलमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच