काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी आधाभन्दा बढी विद्यार्थी ‘फेल’ अर्थात् ननग्रेडिङ (एनजी) भएका छन् । परीक्षामा सहभागी आधा बढी विद्यार्थी कक्षा ११ मा भर्ना हुन अयोग्य भएका हुन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्र ११ कक्षामा भर्ना हुन योग्य भएका हुन् । अर्थात् ५२.१४ प्रतिशत विद्यार्थी तत्काल कक्षा ११ मा भर्ना हुन अयोग्य भएका हुन् । परीक्षामा सहभागी चार लाख ६४ हजार ७६५ विद्यार्थीमध्ये दुई लाख २२ हजार ४७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।
उहाँका अनुसार ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको संख्या दुई लाख ४२ हजार ३१३ रहेको छ । तीमध्ये दुई विषयमा एनजी हुने विद्यार्थी संख्या एक लाख १५ हजार ८३४ छ । उनीहरू आगामी साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले बताउनुभयो । ग्रेडवृद्धि हुने विद्यार्थी भने कक्षा ११ मा पढ्न पाउनेछन् । त्यस्तै, दुईभन्दा बढी विषयमा ननग्रेडिङमा पर्ने एक लाख २६ हजार ४७९ विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हुनुपर्ने छ ।
प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलोपटक एसइर्ईको नतिजा सार्वजनिक गरिएको हो । सबै विषयमा सैद्धान्तिकतर्फ लिखित परीक्षामै न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थाले ननग्रेडिङ विद्यार्थीको संख्या बढेको बोर्डले जनाएको छ ।
२०७१ सालपछि पहिलोपटक पास/फेल सहितको नतिजा निकालिएको हो । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्न थालिएपछि पास÷फेल अंकित नगरी ग्रेड मात्र सार्वजनिक गरिन्थ्यो । कम अंक ल्याउने विद्यार्थीहरूको हकमा समेत माथिल्लो कक्षा पढ्न पाउने अवस्था थियो । तर, योपटक भने ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू भएसँगै नतिजामा पास÷फेलको विवरण देखिन थालेको हो । २०८० सालको एसइर्ईको नतिजा २०७१ साल अघिकै अवस्थामा फर्किएको छ । लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक गर्नुअघि २०७१ सालमा ४७.४३ प्रतिशत थियो । २०७२ साल देखिको नतिजा लेटर ग्रेडिङअनुसार हुँदै आएको थियो ।
नयाँ पाठ्यक्रमअनुसार पहिलोपटक एसइर्ई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका-२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ । व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने छ । हरेक विषयमा ७५ पूर्णांकको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनैपर्छ । उक्त अंक अर्थात् १.६ जिपिएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा परेका हुन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन । ग्रेडिङमा परेका विद्यार्थी मात्रै माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिन्छन् । यसअघि सैद्धान्तिक र प्रयोगात्मक तर्फको प्राप्तांक जोडेर ३५ अंक ल्याए पनि विद्यार्थी ग्रेडसिट प्राप्त गर्थे । अबदेखि सैद्धान्तिक र प्रयोगात्मकको छुट्टाछुट्टै ग्रेडिङ हुने व्यवस्था गरिएको हो । विद्यालय तहमा २०७२ देखि लेटर ग्रेडिङ पद्धति सुरु भएको हो । २०७८ मा पाठ्यक्रम विकास केन्द्रले निर्देशिका संशोधन गरेर ग्रेडिङ हुन न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरेको थियो । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए । तीमध्ये चार लाख ४९ हजार साधारण धारतर्फका विद्यार्थी हुन् । १५ हजार प्राविधिक धारतर्फका विद्यार्थी छन् । करिब आठ हजार विद्यार्थी परीक्षामा अनुपस्थित रहेको बोर्डले जनाएको छ ।
२.८० देखि ३.२० जिपिए ल्याउने विद्यार्थी सबैभन्दा धेरै
बोर्डका अनुसार ६ जना विद्यार्थीले जिपिए १.६० देखि २ सम्म नतिजा ल्याएका छन् । त्यस्तै, जिपिए २ देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या २९५० रहेको छ । ४१ हजार १७७ विद्यार्थीले २.४० देखि २.८० सम्म जिपिए ल्याएका छन् । जिपिए २.८० देखि ३.२० सम्म ल्याउने विद्यार्थीको संख्या ७८ हजार ८७४ रहेको छ । त्यस्तै, ३.२० देखि ३.६० सम्म जिपिए ल्याउने विद्यार्थीको ६८ हजार २५६ छ भने जिपिए ३.६० देखि ४ सम्म ल्याउने ३१ हजार २०९ जना छन् ।
सबैभन्दा धेरै एनजी गणितमा
एसइर्ईमा सबैभन्दा धेरै विद्यार्थीको गणितमा एनजी आएको छ । गणितमा एनजी आउने विद्यार्थीको संख्या एक लाख ७७ हजार ९८५ छ । यस्तै, सबैभन्दा धेरै एनजी आउने दोस्रो विषय विज्ञान हो । विज्ञानमा एक लाख २६ हजार ९३३ विद्यार्थीको एनजी आएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसैगरी, अंग्रेजीमा एनजी आउने विद्यार्थीको संख्या एक लाख एक हजार ३८३ रहेको छ । सामाजिकमा ७३ हजार ८७७ विद्यार्थीको एनजी आएको छ । नेपालीमा एनजी आउने विद्यार्थीको संख्या ६९ हजार ५३२ रहेको छ । अर्थशास्त्रमा एनजी आउने विद्यार्थीको संख्या ६९ हजार ४१६ छ । ऐच्छिक गणितमा २० हजार ३५२ विद्यार्थीको एनजी आएको छ ।
उत्कृष्ट जिपिए ल्याउनेमा बागमती अगाडि, कर्णालीमा सबैभन्दा कम
एसइई परीक्षामा सुदूरपश्चिम प्रदेशका सबैभन्दा धेरै विद्यार्थी फेल (ननग्रेडिङ) भएका छन् । सुदूरपश्चिमबाट ५३ हजार ४४६ विद्यार्थीले एसइई दिएकोमा ३६ हजार ४१० अर्थात् ६८ दशमलव १२ प्रतिशत ननग्रेडिङ भएका हुन् । तीमध्ये १६ हजार ३७२ छात्र र २० हजार ३८ छात्रा छन् । सुदूरका ७९० विद्यार्थीले उत्कृष्ट नतिजा ३.६० देखि ४ जीपीए ल्याएका छन् । सुदूरपछि धेरै विद्यार्थी असफल हुने प्रदेशमा लुम्बिनी छ । लुम्बिनीका ८० हजार ३२७ विद्यार्थीले परीक्षा दिएकोमा ६१.२७ प्रतिशत अर्थात् ४९ हजार २२४ ननग्रेडिङ भए । तीमध्ये २३ हजार १३५ छात्र र २६ हजार ८४ छात्रा छन् । त्यस्तै, लुम्बिनीमा तीन हजार २९० विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । सुदूर र लुम्बिनीपछि कर्णालीबाट धेरै विद्यार्थी ननग्रेडिङ भएका छन् । कर्णालीका ३५ हजार ३४ विद्यार्थीले एसइर्ई दिएकोमा २० हजार ३८० अर्थात् ५८.१७ प्रतिशत ननग्रेडिङ भए । तीमध्ये नौ हजार ६४५ छात्र र १० हजार ७३४ छात्रा छन् । कर्णालीबाट सबैभन्दा कम विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । त्यहाँका ४४१ विद्यार्थीले ३.६० देखि ४ जिपिए ल्याएका हुन् । बागमती प्रदेशको समग्र नतिजा अरू प्रदेशको तुलनामा राम्रो देखिएको छ । ९९ हजार ८७२ विद्यार्थीले एसइर्ई दिएकोमा ३३ हजार ८४३ अर्थात्, ३३ दशमलव ८८ प्रतिशत ननग्रेडिङ भएका छन् । तीमध्ये १६ हजार १४६ छात्र र १७ हजार ६९७ छात्रा छन् । उत्कृष्ट जिपिए (३.६० देखि ४) ल्याउनेमा पनि बागमती सबैभन्दा अगाडि छ । यो प्रदेशका १५ हजार ७६६ विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । पूर्वी नेपालका कोशी र मधेश प्रदेशको ननग्रेडिङ स्थिति राष्ट्रिय नतिजा आसपास नै देखिएको छ । कोशी प्रदेशमा ५२.५० प्रतिशत ननग्रेडिङ भएका छन् । ७५ हजार ९८८ परीक्षार्थीमध्ये ३९ हजार ८९५ एनजी भएका छन् । तीमध्ये छात्रा २० हजार ६१३ र छात्र १९ हजार २८२ छन् । मधेशबाट ७९ हजार ५९२ विद्यार्थीले एसइर्ई दिएकोमा ५३.१२ प्रतिशत अर्थात् ४२ हजार २८६ विद्यार्थी ननग्रेडिङ भएका छन् । तीमध्ये २२ हजार ७४७ छात्रा र १९ हजार ५३७ छात्र छन् । मधेशमा ३ हजार ९५७ विद्यार्थीले ३.६० देखि ४ जिपिएको उत्कृष्ट नतिजा ल्याएका छन् । बागमतीपछि कम विद्यार्थी ननग्रेडिङ भएको प्रदेश गण्डकी हो । गण्डकीबाट ४० हजार ५२६ विद्यार्थी सहभागी भएकोमा ५० दशमलव ०२ प्रतिशत अर्थात् २० हजार २७५ ननग्रेडिङ भए । गण्डकीका दुई हजार ९६९ विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् ।
नतिजा चित्त नबुझे अनलाइनबाटै निवेदन दिन सकिने
एसइईको नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ) गर्न पाउने व्यवस्था ल्याइएको जानकारी दिनुभयो । ‘हामीले अनलाइनबाटै पुनर्योग गर्ने व्यवस्था यसपटकदेखि गरेका छौँ । यसपटकबाट पुनर्योग गर्न विद्यार्थीहरू लाइन लाग्नुपर्ने अवस्था हटाएका छौँ’, उहाँले भन्नुभयो । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नु पर्नेछ । त्यस्तै, नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।
नीति, प्रणाली, योग्यता र दक्षतामाथि नै प्रश्न : शिक्षाविद्
एसइई परीक्षामा सहभागी भएकामध्ये ५२.१३ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुले शिक्षा नीति, प्रणाली र शिक्षकहरूको योग्यता र दक्षतामाथि नै प्रश्न उठेको शिक्षाविद्हरूले बताएका छन् । एसइईको कमजोर नतिजाका विषयमा काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक डा. विष्णुप्रसाद पोखरेलले २०७० सालमा भर्ना भएको १०/११ लाख विद्यार्थीमध्ये ०८० सालमा साढे चार लाखले परीक्षा दिएर ४७ प्रतिशत पास हुनुलाई देशको शिक्षा राम्रो छ भन्न नसकिने जिकिर गर्नुभयो । सरकारले सामुदायिक विद्यालयमा शिक्षण सिकाइ प्रक्रियामा लगानी नै नगरेको उहाँको आरोप छ । प्राडा.नन्दबहादुर सिंहले राजनीतिक दलहरूले विद्यालय र विश्वविद्यालयलाई भर्तीकेन्द्र बनाउने कार्य जारी रहेसम्म शिक्षा क्षेत्रमा सुधार नहुने ठोकुवा गर्नुभयो ।
प्राडा. सुरेन्द्र केसीले शिक्षामा २० प्रतिशत र स्वास्थ्यमा सात प्रतिशत बजेट विनियोजन हुनुपर्छ भन्ने विश्वव्यापी नियम रहेको बताउँदै नेपालले शिक्षातर्फ अहिलेसम्म सबैभन्दा बढी १७ प्रतिशत रकम विनियोजन भएको बताउनुभयो । अहिले शिक्षा क्षेत्रतर्फ खासै राम्रो बजेट विनियोजन नभएको उहाँको भनाइ थियो । शिक्षकहरूले राम्रो तलब नपाएसम्म रिजल्टमा सुधार नआउने उहाँको धारणा थियो ।
उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले ५२.१३ प्रतिशत विद्यार्थी फेल भएको अवस्थामा देशको शिक्षा प्रणाली र नतिजालाई राम्रो मान्न नसकिने बताउनुभयो । उहाँले अघिल्लो वर्षको एसइई नतिजालाई पनि आफूले नराम्रो नै भनेको सुनाउनुभयो ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले संविधानले माध्यमिक तह सम्मको शिक्षा निःशुल्क हुने भने पनि कार्यान्वयन नभएको बताउनुभयो । उहाँले अहिलेको रिजल्ट ठीकै रहेको धारणा राख्नुभयो । नेपालमा २० वर्षको शिक्षाको ट्रेण्ड पटक-पटक परिवर्तन भइरहेको उहाँको भनाइ थियो । कतिपय विद्यालयमा विषयगत शिक्षक नभएको, घरमा पढ्ने वातावरण नभएको कारण पनि राम्रो रिजल्ट नआएको उहाँको भनाइ थियो ।
एनप्याब्सनका सचिव विष्णु पराजुलीले रिजल्ट राम्रो नआउनुको पछाडि विद्यालयमा विषयत शिक्षक नहुनु, व्यवस्थापन राम्रो नहुनु, राज्यले राम्रो लगानी गर्न नसक्नु लगायतका रहेको बताउनुभयो । सबैभन्दा पहिला शिक्षामा लगानी बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच