विराटनगर । उद्योग संगठन मोरङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विद्यमान गुणस्तर प्रमाणीकरण मापदण्डलाई आधार बनाई स्थानीय उद्योग व्यवसाय सुहाउँदो क्युसेफ (क्युसेफ) गुणस्तर प्रणाली सञ्चालनमा ल्याएको छ । गत साता सम्पन्न उद्योग संगठनको ५१औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले क्युसेफको लोगो पनि अनावरण गर्नुभएको थियो ।
क्युसेफलाई स्वतन्त्र मानक प्रमाणीकरणका रूपमा स्थापित गर्न तथा प्राविधिक रूपमा कार्यान्वयनमा ल्याउन संगठनले राष्ट्रिय प्रमाणीकरण तथा व्यवस्थापन प्रालिसँग सहकार्य गरेको छ । सोही अवसरमा संगठनका अध्यक्ष राकेश सुराना र नेसनल सर्टिफिकेसन एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष जनार्दन घिमिरेले उक्त प्रणाली कार्यान्वयनका लागि एक सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
गुणस्तर मापदण्डका असल अभ्यास प्रवद्र्धन गर्न स्थानीय उद्योग व्यवसायको स्थानीय परिवेशमा असल उत्पादनको बेञ्चमार्क तयार गर्ने र सो अनुरूप पालनाका लागि क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संगठनले क्युसेफ गुणस्तर मापदण्ड प्रणालीको सुरुवात गरेको अध्यक्ष राकेश सुरानाले बताउनुभएको छ । क्युसेफ एक स्वेच्छिक र स्वतन्त्र गुणस्तर प्रमाणीकरण प्रणालीको मानक भएको उहाँको भनाइ छ ।
संगठनको असल उत्पादनका अभ्यास प्रवद्र्धन समिति संयोजक वीरेन्द्र राठीले उक्त प्रणालीले स्थानीय उद्योगले अपनाएको कार्यप्रणाली, सामाजिक, वातावरणीय, कामदारको कल्याण, स्वास्थ्य, सुरक्षासम्बन्धी स्थापित मान्यताका आधारमा स्वतन्त्र एवं प्रमाणित अडिटरहरूले अडिटपछि प्रमाणीकरण गरी प्रमाणपत्र प्रदान गर्ने बताउनुभयो । नेसनल सर्टिफिकेसन एण्ड म्यानेजमेन्ट प्रालिका अध्यक्ष घिमिरेले क्युसेफ मापदण्ड आइएसओ ९००१, १४००१, ४५००१, २२००० र हृयास्यापलगायतका चार छुट्टाछुट्टै गुणस्तर मानक मापदण्ड प्रणालीको आधार तयार गर्ने एउटा समग्र गुणस्तरको प्याकेज भन्दै क्युसेफ प्रमाणीकरण भएका जुनसुकै उद्योग प्रतिष्ठानले उक्त चार अन्तर्राष्ट्रिय मापदण्डका लागि तत्काल आवेदन दिई प्राप्त गर्न सक्ने बताउनुभएको छ ।
क्युसेफ मापदण्ड प्रणाली साना, मझौला, ठूला सबै प्रकारका उद्योग प्रतिष्ठानले प्रयोग गर्न सक्ने र प्रणालीले उत्पादन प्रक्रिया, वस्तुको गुणस्तरमा सुधार, कार्यस्थल व्यवस्थापन, मानव संसाधन व्यवस्थापन, वातावरण तथा सामाजिक प्रतिष्ठामा अभिवृद्धिका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले निर्धारण गरेका मापदण्ड, अनुपालनालगायतका विषयमा जानकारी प्रदान गरी सोहीअनुरूपको मापदण्ड तयार गरी अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने उद्योगलाई विश्वव्यापी भ्यालुचेनमा प्रतिस्पर्धी बनाउन मद्दत पुर्याउने संगठनले जनाएको छ ।
साथै सरकारले निर्धारण गरेका अनुपालना, उद्योग व्यवसायको प्रकृतिअनुसारका कानुनी प्रावधानबारे सुसूचित गरी जरिवाना, जोखिमबाट बचाउनुका साथै राज्यले निर्धारण गरेका कानुन परिपालन गरी बजारमा प्रतिस्पर्धी, उपभोक्ताको विश्वास जित्न सक्ने, सामाजिक प्रतिष्ठा अभिवृद्धिका साथै व्यवसाय सञ्चालनमा सहजता ल्याउने जनाइएको छ । सशुल्क व्यावसायिक विकासको सेवाका रूपमा संगठनले प्रारम्भ गरेको व्यवस्थापन मापदण्ड प्रणाली नेपालमा निजी क्षेत्रबाट सञ्चालनमा ल्याउन लागिएको पहिलो मापदण्ड भएको संगठनले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच