
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते राति भएको भनिएको सात बुँदे सहमति सार्वजनिक नहुँदा संशय उत्पन्न भएको छ । मध्यराति भएको सहमतिअनुसार नयाँ सरकार गठन भइसक्दा पनि सहमति सार्वजनिक नहुँदा आशंका बढेको हो ।
असार १७ गते मध्यराति कांग्रेस र एमालेबीच सत्ता सहकार्यसँगै संविधान संशोधनलगायत सात बुँदे सहमति भएको बताइएको छ । सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीले हस्ताक्षर गर्नुभएको थियो । सहमतिअनुसार ओली प्रधानमन्त्री नियुक्त भएको पनि एकसाता पुग्नै लागेको छ । तर, अझै आधिकारिक रूपमा दुई ठूला दलबीच भएको सहमति सार्वजनिक गरिएको छैन । दुई दलबीच संघदेखि प्रदेशसम्म सरकारमा शक्ति बाँडफाँट, संविधान संशोधन, अर्थतन्त्रलाई चलायमान बनाएर अघि बढ्नेलगायत सहमति भएको नेताहरूले गोल-मटोल जवाफ दिए पनि ठोस सहमति अझै गोप्य राखिएको हो ।
सरकार कांग्रेस-एमालेसहित चार दल सहभागी छन् । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी कांग्रेस–एमाले सरकारमा सहभागी छन् । तर, उनीहरूलाई सात बुँदे सहमतिबारे कुनै जानकारी छैन । उनीहरू मात्रै होइन कांग्रेस–एमालेकै केही प्रमुख नेता बाहेकलाई सहमतिबारे स्पष्ट जानकारी छैन ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विस्थापित गरेर राजनीतिक स्थायित्व दिन भन्दै दुई दलले सत्ता सहकार्य गर्ने सहमति गरेका थिए । सहमतिमा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने कुरा पनि उल्लेख रहेको नेताहरूको दाबी छ । जसमा पहिलोपटक एमाले अध्यक्ष ओली र दोस्रोपटक कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने विषय रहेको कांग्रेसले उल्लेख गरेको छ ।
सात बुँदे सहमतिप्रति आमचासो र आशंका उब्जिए पनि कांग्रेस र एमालेले भने अझै सार्वजनिक गर्न आलटाल गरिरहेका छन् । सहमति सार्वजनिक नहुँदा सत्ता पक्षकै नेताहरूले समेत आशंका गर्न थालेका छन् । सहमतिबारे एमालेभन्दा कांग्रेस नेताहरू बढी सशंकित देखिएका छन् । कांग्रेस महामन्त्री गगन थापाले नै सहमति सार्वजनिक नुहँदा आशंका उब्जिएको बताउनुभएको छ । ‘मनमा सबैको आशंका छ, भोलि भनेको बेलामा छोड्छ त ठ्याक्कै ? भन्ने सबैको मनमा छ । दुवैतिर एउटा तहको अविश्वास छ, हस्ताक्षर गर्नेदेखि निर्णय गर्नेसम्ममा अविश्वास छ,’ उहाँले भन्नुभयो । आशंका उब्जिएकोले सहमति सार्वजिक गर्नुपर्ने उहाँको भनाइ छ ।
कांग्रेसले कार्यसम्पादन समिति बैठकबाट समेत सहमति अनुमोदन गरेको थियो । एमालेसँग सहमति भएको पर्सिपल्ट कांग्रेसको कार्यसम्पादन समिति बैठकले राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गर्दै यसका केही विषयवस्तु सार्वजनिक गरेको थियो ।
दुई ठूला दलबीच भएको सहमति अझै सार्वजनिक नगर्दा विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले भने गहिरो आशंका व्यक्त गर्दै आएका छन् । कांग्रेस र एमालेले देशलाई पश्चगमनतिर फर्काउने सहमति गरेको आरोप उनीहरूले लगाउँदै आएका छन् । सत्ताबाट बहिर्गमित माओवादीले समाजवादी मोर्चाको बैठक राख्दै संविधान संशोधनको नाममा कांग्रेस-एमाले पश्चगमनको यात्रामा लागेको आरोप लगाएको थियो । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल सहमति गोप्य राखिनुले नियतमाथि गम्भीर प्रश्न उठेको बताउनुहुन्छ । जस्तो पृष्ठभूमिमा सहमति गरिएको छ, त्यसले परिवर्तन उल्ट्याउनेतर्फ साँठगाँठ गरिएको त होइन भन्ने आशंका जन्माएको बताउनुभयो ।
आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा नयाँ गठबन्धन : पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को साथ नलिने सर्तमा नयाँ समीकरण बनेको खुलासा गर्नुभएको छ । कतारको दोहामा भएको प्रवासी मञ्चको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई नबोक्ने सर्तमा कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेको खुलासा गर्नुभएको हो । पोखरेलले राजनीति स्थायित्वका लागि कांग्रेस–एमाले सरकार बनेको बताउनुभयो । देशमा २० सिटे पनि प्रधानमन्त्री बन्ने अवस्था आएपछि जनताको अभिमत प्राप्त दलहरूले नयाँ सरकार गठन गरेको उहाँको भनाइ थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुलबुल गर्दा हुँदा खाँदाको वामपन्थी सरकार ढलेको उहाँले टिप्पणी गर्नुभयो । प्रचण्डकै बेइमानीले वामपन्थी सरकार ढलेको उहाँको दाबी थियो ।
प्रधानमन्त्रीले सदनमा सहमति पढेर सुनाउनुपर्छ : थापा
कांग्रेस महामन्त्री गगन थापाले एमालेसँग भएको सात बुँदे सहमति प्रधानमन्त्री ओलीले पनि सदनमा पढेर सुनाउनुपर्ने बताउनुभएको छ । ४२औँ बिपी स्मृति दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले दुई दलले गरेको सहमति संसद्मै पढेर सुनाउनुपर्ने बताउनुभएको हो । आफूहरूले सहमति पढेरै पार्टीबाट निर्णय गरेको उहाँले बताउनुभयो । ‘सहमतिको एउटा बुँदामा हामीले स्थिरता दिन्छौँ भनेका छौँ । दुई पार्टी मिलेपछि ०८४ सालसम्म हामी तलमाथि गर्दैनौँ भनेका छौँ,’ उहाँले भन्नुभयो, ‘एउटा चरणमा एमालेको अध्यक्षको नेतृत्वको सरकार रहन्छ त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार रहन्छ । हामीले पढेकै आधारमा पार्टीभित्र निर्णय गरेका हौँ ।
आइतबार प्रधानमन्त्रीले देशको नाममा सम्बोधन गर्दै हुनुहुन्छ । उहाँले नै भन्नुहोला । उहाँले संसद्मा यतिवटा बुँदामा नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा समझदारी भयो । सात बुँदाको बीचमा भनिरहेको छ । अब यो सात बुँदा के हो भन्नेबारे त्यहाँ पढेर सुनाउनुपर्छ भन्ने म ठान्दछु । प्रधानमन्त्रीले सदनमा पढेर सुनाउनुहुन्छ भन्ने विश्वास छ ।’
महामन्त्री थापाले कांग्रेसले समझदारी कार्यान्वयन गरेर अघि बढ्ने विश्वास दिलाउँदै एमालेले पनि विश्वास दिलाउनुपर्ने बताउनुभयो । दुई ठूला दलहरूको विश्वास जनतामा गुम्न नदिन पनि दुवै दलबीच भएको सहमति कार्यान्वयनमा आशंका गर्ने अवस्था आउन दिन नहुनेमा जोड दिनुभयो ।
भ्रष्टाचारको मुद्दामा पनि कांग्रेस र एमाले भएको भन्दैमा छुट दिन नहुने उहाँले बताउनुभयो । संविधान संशोधनको विषयलाई लिएर गलत भाष्य चित्रण गर्न खोजिएको उहाँको भनाइ थियो । प्रतिनिधिसभा २७५ सांसद नचाहिने भन्दै प्रदेशमा पाँचजना मन्त्री राखेर प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीमा जानुपर्ने उहाँले बताउनुभयो । अहिले सरकारले सुशासन स्थापना गरेर जनताको आक्रोशलाई कम भएपछि आवश्यक ठाउँमा संविधान पुनरावलोकन गर्न माओवादीसँग संवाद गर्नुपर्ने उहाँको भनाइ थियो ।
थापाले एमालेसँग मिल्नुको औचित्य कांग्रेसले पुष्टि गर्न सक्नुपर्ने बताउनुभयो । सहकार्यको औचित्य कामबाट पुष्टि गर्नुपर्ने उहाँको भनाइ थियो । प्रचण्डकै चकचकले नयाँ समीकरण बनेको उहाँले बताउनुभयो । ‘म सबैलाई सधैँभरि झुक्याउन सक्छु भन्ने भ्रम प्रचण्डले नपालेको भए अहिलेको यो सरकार बन्दैनथ्यो । उहाँको चकचककै कारणले यो परिस्थिति निर्माण भएको हो । त्यसैले एमालेसँग साझेदारीको परिस्थिति निर्माण भयो,’ उहाँले भन्नुभयो ।
सरकारका कमजोरीमा मौन बस्दैनौँ : शर्मा
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफूहरूले उठाएको मुद्दामा सहकार्य गरे पनि मौन नबस्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले ओलीको विषयमा आफूहरूले उठाएको मुद्दा कांग्रेसले नथन्काउने बताउनुभयो । ‘ओली सरकारलाई सफल बनाउन हामी साथ दिन्छौँ । हामी उभिएर विश्वासको मत दिन्छौँ । तर, हामीले उठाएका सबै मुद्दा थान्को लगाउँछौँ भन्ने विल्कुल होइन,’ उहाँले भन्नुभयो, ‘उहाँहरूको सन्दर्भमा सरकारले गर्ने कमजोरीमा मौन बस्छौँ त्यो पनि होइन ।’ नेपाललाई नवीन सम्भावनातिर लैजान दुई ठूला दल मिलेको उहाँले बताउनुभयो । ‘दुई ठूला दल मिलेर सरकार बनाएको बेलामा कतै प्रतिपक्ष स्वर कमजोर हुन्छ कि भन्ने आम बौद्धिक वर्गमा चिन्ता छ । मैले यहाँ भन्नुपर्छ माओवादी खरो ढंगले नै प्रतिपक्षको रूपमा प्रस्तुत हुन्छ । रास्वपाले पनि बन्नुपर्छ,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच