जुम्लामा धुवाँले निस्सासिएर दिदीबहिनीको मृत्यु

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लामा धुवाँले निस्सासिएर दिदीबहिनीको मृत्यु भएको छ । जिल्लाको पातारासी गाउँपालिका-४ निवासी ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया रोकायाको धुवाँले निस्सासिएर मृत्यु भएकाे  हाे ।

धुवाँले निस्सासिएका दिदीबहिनीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका कार्यालय प्रमुख छेदीलाल कामतीले जानकारी दिनुभयो । उनीहरू चन्दन्दननाथ नगरपालिकाको कालेखोलीमा बस्दै आएका थिए ।

सुत्केरी भएको ११ दिन पुगेकी मायालक्ष्मीको अस्पतालमा उपचारको क्रममा सोमबार नै मृत्यु भएको थियो । उनकी बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका कार्यालय प्रमुख कामतीले बताउनुभयो ।

सुत्केरी सेक्न बालेको आगोको कोइलाको धुवाँमा उनीहरू निस्सासिएका हुन् । निस्सासिएर ११ दिनको बच्चा समेत बिरामी छन् । बच्चाको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तीनै जनालाई सोमबार बिहान सवा सात बजे उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?