नेपालमा कोदोको अवस्था के छ ?
विगतमा पनि कोदो सबैभन्दा अपहेलित अवस्थामा थियो । अहिले पनि त्यसमा खासै सुधार आउन सकेको छैन । न सरकारको प्राथमिकतामा छ, न किसान, न त उपभोक्ताकै प्राथमिकतामा छ । सोही कारण पनि नेपालमा कोदोखेती राम्रो सम्भावना हुँदाहुँदै उत्पादन बढ्न सकेको छैन । अन्य खाद्यान्न बाली जस्तो कोदोमा पनि परनिर्भरता छ । बार्षिक रूपमा करोडौंको कोदो आयात भइरहेको अवस्था छ ।
कोदोजन्य बालीमा नार्कले चाहिँ के गरेको छ ?
सरकारकै प्राथमिकतामा नपरेपछि नार्कले पनि खासै केही गर्न सकेको छैन । दोलखाको काब्रेमा पहाडी बाली अनुसन्धान केन्द्र छ । स्रोत साधनको अभावका कारण अपेक्षाअनुसार काम हुन सकेको छैन । हालसम्म नार्कले विकास गरेको कोदोका छवटा जात रहेका छन् । पाँचवटा सिफारिस जात हुन् भने एउटा पञ्जीकृत जात रहेको छ । तराई र तल्लो पहाडका लागि डल्ले कोदो १, मध्य पहाडी क्षेत्रका लागि कोख्ले कोदो १, काब्रे कोदो १, काब्रे कोदो २ रहेका छन् भने उच्च पहाडी क्षेत्रका लागि सैलुङ कोदो १, हिमाली क्षेत्रका लागि रातो कोदो रहेको छ तर रातो कोदो भने अहिले पञ्जीकृत अवस्थामै छ ।
नार्कले विकास गरेका जात किसानसम्म पुगेका छन् र ?
सबै किसानसम्म पुग्न सकेको छैन । तत्काीलन समयमा किसानलाई बिउ वितरण गर्ने कार्यक्रम थियो । त्यतिबेला कति किसानले पाए, उनीहरूले प्रयोग गरेका होलान् । तर, धेरैजसो किसानले आफ्नै रैथाने जात प्रयोग गरिरहेको अवस्था छ । धेरै किसानलाई नार्कले कोदोका जात विकास गरेको छ भन्ने पनि थाहा छैन ।
पछिल्लो समय कोदोेप्रति आकर्षण बढेको छ नि ?
हो, खासगरी राष्ट्रसंघले नै कोदो वर्ष घोषणा गरेर प्रवद्र्धनात्मक कार्यक्रम सुरु गरेपछि कोदोप्रति आकर्षण बढ्दै गएको हो । विगतमा गरिब र विपन्नको खाद्यान्न बालीका रूपमा रहेको कोदो अहिले हुनेखाने वर्गको खाद्यान्नमा परिणत भएको छ । खासगरी स्वास्थ्य सचेतनाका कारण चामलभन्दा कोदोको परिकार खोज्न थालिएको छ । कोदो सम्मानित परिकारका परिणत हुँदै छ । होटल रेष्टुरेन्टमा कोदोको ढिँडो खान जाने, ढिँडो खाएको फोटो सामाजिक सञ्जालमा हालेर प्रचारप्रसार गर्ने क्रम सुरु भएको छ ।
कोदोको विकास, विस्तार र प्रवर्द्धनका लागि के गर्नुपर्ला ?
सबैभन्दा पहिले त राज्यले नै यसलाई प्राथमिकतामा राख्नुपर्यो । अहिले पनि राज्यले धान, मकै, गहुँलगायतका बालीलाई जति महŒव दिएको छ, कोदोलाई छैन । धेरै धान फलाउने किसानलाई पुरस्कृत गरिन्छ तर धेरै कोदो फलाउने किसानलाई खोई ? स्वास्थ्य र पौष्टिकताको हिसाबले कोदोलाई धान, मकै, गहुँसँग तुलना नै गर्न सकिँदैन । क्याल्सियम, आइरन चामलमा भन्दा बढी पाइन्छ । क्याल्सियम चामलभन्दा ३५ गुणा बढी र आइरन पनि चामलभन्दा १५ गुणा बढी पाइन्छ ।
युके, जापान, कोरियाले कोदोको रक्सी, छ्याङ ब्राण्डिङ गरेर विश्व बजारमा बेचिरहेका छन् । तर, हाम्रोमा भने गाउँघरतिर गरिबले बनाएको त्यही कोदोको रक्सी प्रहरीले नष्ट गर्दै हिँडेको छ । अनि कसरी कोदोको प्रवद्र्धन हुन्छ ? कोदोको रक्सीलाई ब्राण्डिङ गर्नुपर्छ । कोदोलाई एग्रो टुरिजमसँग जोड्नुपर्छ । कोदोखेतीतर्फ किसानमा आकर्षण बढाउन बिउ, मल प्रविधिहरूमा अनुदानको व्यवस्था गर्नुपर्छ । कोदोलाई केही वर्षसम्म विशेष आरक्षणकै व्यवस्था हुनुपर्छ । दलित, जनजाति, पिछडिएको समुदायलाई सरकारले आरक्षणको व्यवस्था गरेको छ । कोदो बाली पनि त्यस्तै पिछडिएको र अपेहित बाली हो ।
तपाईंले कोदो बालीमै विद्यावारिधि गर्नुभयो हैन ?
विद्यावारिधिका क्रममा मैले चाहिँ नेपालमा पाइने कोदोमा विविधिता के छ भन्ने हेरेको हो । नेपालमा ५५ वटा जिल्लाबाट कलेक्स गरिएका तीन सयवटा कोदो जात संकलन गरेर ती जातमा रहेका गुणहरू पहिचान गरिएको हो । कोदोमा धेरैजसो मरुवा रोग लाग्ने गर्छ । त्यही मरुवा नलाग्ने, सुक्खा सहने जातको पहिचान गर्न खोजिएको थियो । तीन सयवटै जातका कोदोमा ९० प्रतिशत डाइभर्सिटी छ । अर्थात् तीन सयवटै जातको आ-आफ्नै विशेषता छ । यसको अर्थ एउटा जातको कोदो खाएर सबै जातको गुण पाइँदैन । तीन सय जातका कोदोमा ४८ हजार विविध गुण पाइएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच