काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई तोक्नुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासबाट जारी सूचनाअनुसार, प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे पदावधि आउँदो भदौ २४ गते समाप्त भई अनिवार्य अवकाश पाउने र साउनको २५ गतेदेखि घर बिदामा बस्ने भएकाले ज्येष्ठता क्रममा रहनुभएका बलाधिकृत रथी अशोकराज सिग्देललाई कामयमुकायम प्रधानसेनापति तोकिएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले साउन २५ गतेदेखि लागू हुनेगरी सिग्देललाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोक्न सिफारिश गरेको थियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिनुभएको हो । अवकाश हुन लागेका प्रधानसेनापति शर्माले सिग्देललाई साउन २४ गते कमाण्ड हस्तान्तरण गर्ने तयारी जंगी अड्डाले गरिरहेको छ । नेपाली सेनामा प्रधानसेनापतिले अवकाश हुनु एक महिनापहिले बिदामा बस्ने र बलाधिकृत रथीलाई कमाण्ड बरबुझारथ गर्ने चलन छ ।
अहिलेका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिँदै छ । नेपाली सेनामा अवकाश हुनु एक महिनापहिले बिदामा बस्ने र बलाधिकृत रथीलाई कमाण्ड बरबुजारथ गर्ने चलन छ । नेपाली सेनामा बलाधिकृत रथीलाई नै प्रधानसेनापति बनाउने चलन छ । सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमाण्ड गर्नुहुने छ । प्रधानसेनापतिको लाइनमा रहनुभएका ताराध्वज पाण्डेले राजीनामा दिएपछि उहाँ गएको मंसिरमा रथीमा बढुवा हुुनुभएको थियो । सिग्देलले आफ्नो व्यावसायिक सैन्य शिक्षा नेपाल र विदेशमा लिनुभएको थियो । उहाँले आर्मी कमाण्ड एण्ड स्टाफ कलेज, शिवपुरी र चीनको नेनिल डिफेन्स युनिभर्सिटीबाट स्नातक गर्नुभएको छ ।
यसका साथै उहाँले नेपालको आर्मी वार कलेजमा हायर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्स र भारतमा डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर सिग्देलले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट पनि रणनीतिक अध्ययनमा स्नातकोत्तर गर्नुभएको छ । ३७ वर्षे सैनिक सेवामा सिग्देलसँग स्वदेश तथा विदेशमा विभिन्न युनिटको नेतृत्व गरेको अनुभव छ । उहाँले काउण्टर इन्सर्जेन्सी र जंगल वारफेयर स्कुलको कमाण्डेन्टको रूपमा काम गर्नुभएको छ । त्यस्तै, बाहिनी र पृतनापतिको रूपमा काम गरिसक्नु भएको छ । यसका अतिरिक्त, उनले सैन्य सञ्चालन निर्देशनालयको निर्देशक र कर्मचारी कर्तव्य, नीति र योजना विभागको महानिर्देशकको रूपमा काम गर्नुभयो । यसबाहेक उहाँ प्रधानसेनापतिको सैनिक सहायकको पदमा पनि हुनुहुन्थ्यो ।
सिग्देलले २०२२ मा अमेरिका–नेपाल तेस्रो ‘ल्याण्ड फोर्स टक’का लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गर्नुभएको थियो । यस्तै, कोभिड–१९ महामारीमा कोभिड क्राइसिस म्यानेजमेण्ट सेन्टर (सिसिएमसी) को सचिवको रूपमा काम गर्नुभयो । कोभिड–१९ महामारी नियन्त्रणमा अतुलनीय योगदान पुर्याएको भन्दै उहाँलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको थियो । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा शान्ति सेनाको रूपमा पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता देशमा काम गरेको अनुभव उहाँसँग छ ।
‘मन्त्रिपरिषद्का निर्णय पहिले नै सार्वजनिक हुन रोक्छौँ’
त्यस्तै, मन्त्रिपरिषद् बैठकले महिला बालबालिका मन्त्रालयअन्तर्गत विभिन्न कार्यक्रमका लागि ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ भने चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयअन्तर्गत ५९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताउनुभयो । गुरुङले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक हुनुअगावै सूचना दिने कुराको अन्त्य गर्ने बताउनुभएको छ । सरकारले असार ३१ गते मन्त्रिपरिषद् बैठक बसेको २४ घण्टापछि मात्रै निर्णय सार्वजनिक गर्ने बताएको थियो । तर, सरकारले लागू गर्न नसकेपछि सञ्चारकर्मीहरूले जिज्ञासा राखेका थिए । सञ्चारकर्मीहरूको जिज्ञासामा मन्त्री गुरुङले नियममा, ओहदामा बस्नेहरूले सरकारको निर्णय चुहाउन नहुने र सरकारको प्रवक्ताले नै २४ घण्टापछि सार्वजनिक गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा सूचना चुहाउन नदिन सरकार लाग्ने बताउनुभयो । मन्त्रीहरू, मुख्यसचिव, सहसचिव जसको माध्यमबाट भए पनि सूचना चुहुन नदिन उहाँले आग्रह गर्नुभयो । मन्त्री गुरुङले सुरुका दिनमा केही समस्या भए पनि आगामी दिनमा समाधान गर्दै जाने उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच