मानिसहरूको बहुआयामिक योग्यता देख्दा कहिलेकाहीँ बडो असजिलो पर्छ । खासगरी दाइ र बा संस्कृतिको आडमा धेरै उहाँहरूको जन्म भएको हुन्छ । उहाँहरू अर्थात् समाजका हरेक क्षेत्रमा म नै योग्य हुँ भनेर मान्छ अनि बुझक्कीको अभिनयमा जसले हामीलाई लल्लु बनाइरहेको छ । हामी अर्थात् समाजका जिम्मेवार नागरिक तर जसले फुइँ गर्न जानेको छैन । आदर गर्नुपर्नेलाई आदर गर्न र स्नेह गर्नुपर्नेलाई स्नेह गर्न जानेको छ । भूमिका आआफ्नैमा समाज संगठित छ र विभाजित पनि छ । योग्यताले, आदरले र भयले समाजमा उहाँ संस्कृति मौलाउँदै गएको पाइन्छ । कमी कुनै कुराको पनि छैन समाजमा जे खोजे पनि पाइन्छ ।
उहाँ आदरसूचक सार्वनामिक सम्बोधन हो । उहाँ सबैलाई भनिँदैन । जसलाई उहाँ भनिन्छ केही न केही विशेषताले नै भनिन्छ । उहाँ हुनु सम्मानको परिसूचक हो भन्ने जानेका हामी समाजका उहाँभित्रका अनगिन्ती विकृतिहरूका मारमा परेका कुरा भनिएका त होलान् तर उहाँहरूले त्यसको गम्भीरतालाई बुझेको जस्तो लाग्दैन । आज केही कठोर भाषामा भन्न मन लागेको छ मान्य उहाँ ! तपाईँको योग्यता हामीलाई पनि थाहा छ महाशय । यो वाक्य यस निबन्धको शीर्ष एवं निष्कर्ष वाक्य हो । धेरैजना त्यस्ता स्वनामधन्यहरू जसलाई यस निबन्धमा उहाँहरू भनिएको छ । उहाँहरू यस अर्थमा भनिएको छ कि उहाँहरू एट्टिट्टयुड (मनोवृत्ति)मा बाँच्न मन पराउनुहुन्छ ।
उहाँहरू राजनीतिलाई आफ्नो जन्मसिद्ध अधिकार सम्झिनुहुन्छ । उहाँहरू चोला फेरेर जे पनि बन्न सक्नुहुन्छ । समाजसेवी, चिन्तक, विश्लेषक, बुद्धिजीवी, स्रष्टा र द्रष्टा पनि बन्न सक्ने क्षमता राख्नुहुन्छ उहाँहरू । अवतार जन्म लिएर उहाँहरूले समाजका हरेक क्षेत्रमा आफ्नो उपस्थिति जनाउन सक्नुहुन्छ ।
आफूभन्दा अग्लो चुलिएको अहङ्कारले उहाँहरूलाई परिचालन गरिरहेको हुन्छ । त्यस्तो बेला उहाँहरूले आफूलाई पनि धेरैजसो देख्न सक्नुहुन्न उहाँहरूले देख्ने भनेको आफूभन्दा अग्लो अहङ्कारको चुचुरो हो । तल कतै उभिएका मनुवाहरू उहाँहरूलाई कमिला जस्ता देखिँदा हुन् । धेरैजसोलाई कुल्चेरै आउनुभएको हुन्छ उहाँहरू । केही बाँकीहरू पनि त्यति अग्ला छँदैछैनन् । त्यसैले त उहाँहरू उहाँहरू हुन सक्नुभएको छ ।
उहाँ एउटा योग्यता हो । उहाँ एउटा उपाधि हो । उहाँ एउटा जिम्मेवारी हो । उहाँ एउटा अहङ्कार हो । यसभित्र केही उहाँहरूलाई समेटिएका छन् जसले आफूलाई स्वघोषित विशिष्ट ठान्नुहुन्छ । यो रोग राजनीतिमा छ । साहित्यमा छ । समाजसेवामा छ । विद्वान्हरूमा छ । कर्मचारीहरूमा छ । प्राध्यापकहरूमा छ । यत्रतत्र छ । यस्तो योग्यता हुनेहरू सर्वज्ञ हुनसक्ने सम्भावना बढी हुन्छ । त्यसैले त उहाँहरूले नजानेको केही हुँदैन । नबुझेको केही हुँदैन । उहाँहरूका दृष्टिमा उहाँहरू जत्तिको जानेबुझेको अरू हुँदैन । उहाँ जत्तिको इमान्दार अरू हुँदैन । उहाँहरू जत्तिको निष्ठावान् पनि अरू हुँदैन । राजनीतिमा उहाँहरूले आफूलाई सिकन्दर सम्झिनुहुन्छ ।
राजनीतिलाई आफ्नो जन्मसिद्ध अधिकार सम्झिनुहुन्छ । उहाँहरू चोला फेरेर जे पनि बन्न सक्नुहुन्छ । समाजसेवी, चिन्तक, विश्लेषक, बुद्धिजीवी, स्रष्टा र द्रष्टा पनि बन्न सक्ने क्षमता राख्नुहुन्छ उहाँहरू । अवतार जन्म लिएर उहाँहरूले समाजका हरेक क्षेत्रमा आफ्नो उपस्थिति जनाउन सक्नुहुन्छ । उहाँहरू हुनु भनेको बुद्धिजीवी हुनु पनि हो । प्रशासक हुनु हो । नियामक हुनु हो । निर्णायक हुनु हो । यस्तो बेला उहाँहरूले अरूलाई असाध्यै साना, असाध्यै अज्ञानी मान्न सक्नुहुन्छ । त्यस्तो परिस्थिति आउँदा उहाँहरूले अरूलाई नराम्ररी हेप्न सक्नुहुन्छ । अपमान गर्न सक्नुहुन्छ । अनदेखा गर्न र इग्नोर गर्न पनि सक्नुहुन्छ ।
उहाँ डाक्टर बनेको बेला चिकित्सा विज्ञानमा नयाँ आयाम थपेको घोषणा गर्न सक्नुहुन्छ । उहाँ इन्जिनियर बनेको बेला प्रविधिविज्ञानको नयाँ अध्यायको थालनी उहाँले नै गर्न सकेको ठान्न सक्नुहुन्छ । उहाँ निजामती हुँदा उहाँ स्थायी सरकारको धरोहर आफैँ भएको मानेर नियम र कानुन बनाउन सक्नुहुन्छ । देश बिग्रिएको छ भने अरू कसैबाट बिग्रिएको छ आफू त सधैँ दिलोज्यानले देश बनाउनै लागेको भनेर विश्वास दिलाउन सक्नुहुन्छ ।
उहाँहरू साहित्यकार हुनसक्नुहुन्छ । त्यस्तो बेला उहाँहरू नै सर्वश्रेष्ठ सष्टा र द्रष्टा बन्ने योग्यता राख्नुहुन्छ । आफू अब्बल दर्जाको सम्मानित साहित्यकार भएको र कुनै मान, सम्मान र पुरस्कार आदि छन् भने आफ्नै निम्ति हुनुपर्छ भन्ने मान्नुहुन्छ । उहाँहरू प्रोफेसर पनि हुन सक्नुहुन्छ । त्यस बेला उहाँ जत्तिको विद्वान् अरू कोही हुँदैन र हुन सक्दैन भन्ने मान्नुहुन्छ । उहाँको प्रोफेसरी रूप अचम्म लाग्दोमात्रै होइन उदेक लाग्दो पनि हुन्छ । उहाँ कुनै संस्थामा कार्यकारी शासक हुन सक्नुहुन्छ त्यस बेला उहाँले आफूलाई निरो ठान्नुहुन्छ र बाँसुरी बजाएर आनन्द लिन थाल्नुहुन्छ । उहाँ कुनै पदमा आसीन हुनुहुन्छ त्यो बेला पदको दुरुपयोगमा गर्नमा उहाँ अग्रणी बन्न सक्नुहुन्छ । उहाँ कुनै निर्णायक ओहदामा हुनुहुन्छ त्यो बेला उहाँले लोकलाई नै लज्जाबोध हुने निर्णय गरेर लोकलाई हँसाउनुहुन्छ ।
उहाँ विश्लेषक भएको बेला उहाँको योग्यताले विश्वचेतना यहीँ उठेर आए छ कि भन्ने भान पार्नुहुन्छ । यतिका विशिष्ट क्षमता भएका नागरिक भएको देश कसरी विचारहीन, उद्देश्यहीन, लक्ष्यहीन, गतिहीन हुन सक्ला र भन्ने तहको भरोसा दिलाउन सक्षम हुनुहुन्छ । उहाँ द्रष्टा बनेको बेला उहाँले समीक्षाको नयाँ भाष्य तयार गरिदिनुहुन्छ । नयाँ मानक स्थापना गरिदिनुहुन्छ । लेखक केही होइन समीक्षकले लेखकलाई लेखक बनाएको हो भनिदिने क्षमता राख्नुहुन्छ । त्यतिमात्रै पनि होइन लेखकलाई खुइल्याएर भोलिदेखि सार्वजनिक जीवन बाँच्न सङ्कोच लाग्नेगरी पछारिदिनुहुन्छ ।
उहाँको समीक्षा पाएको लेखक फेरि उठेर धुलो टक्टक्याउने साहस जुटाउन सक्दैन । उहाँ देशको चौथो अङ्गको नायक वरिष्ठ पत्रकार पनि बन्न सक्नुहुन्छ । उहाँ पत्रकार भएको बेला पीत पत्रकारिताले नयाँ रेकर्ड कायम गर्छ । आइन्दा पत्रकारिता गर्दिन भन्ने गराएर पत्रकारको हुर्मत लिन र पत्रकारिताको खिल्ली उडाउन उहाँ जत्तिको अरू कोही बन्न सक्दैन । उहाँ न्यायमूर्ति बन्न सक्नुहुन्छ र न्यायिक जगत्को सबैभन्दा विवादास्पद निर्णयमा हस्ताक्षर गरेर धेरैका नजरमा दिगमिग लाग्ने पात्र बनेको हुन सक्नुहन्छ । यस्ता अनगिन्ती नियम र निर्णयका नायक उहाँ सामाजका असाधारण नागरिक भएकैले सायद उहाँ, उहाँ बन्न सक्नुभएको हुनसक्छ ।
यसरी हरेक विषयको विज्ञ बनेर उहाँहरूले समाजमा राष्ट्रमा आफ्नो प्रभुत्व कायम गरिरहनुभएको छ । योग्यता प्रदर्शन गरिरहेका कतिपय उहाँहरू हाम्रै चिनजानको दायरामा हुनुहुन्छ । उहाँहरू के हुनुहुन्छ ? के हुनुहुन्न ? भन्ने विषयमा धेरै कुरा जान्दाजान्दै पनि उहाँहरूले हामीलाई धेरैजनाले चिनेका छन् म यति कुरा गर्न योग्य छु यति कुरा मेरो योग्यताको विषय होइन भन्ने हेक्का राख्न नसक्दा उहाँहरूलाई चिन्नेहरूलाई असजिलो लागिरहेको हुन्छ तर उहाँहरूलाई कुनै असर परिरहेको हुँदैन । खासमा भन्दा आत्मान्धताको यो गहिरो खाडलमा फसेको मानिसबाट आत्मश्लाघा नै बढी हुन्छ ।
हामीलाई यस्तो भ्रम उत्पन्न हुन्छ कि साँच्चै उहाँ हो के ? उहाँले सबै कुरा जान्नुभएको हो कि ? हामीले केही कुरा पनि नजानेका हौँ ? उहाँले सबै कुरा भोग्नुभएको हो कि ? हामीले केही पनि कुरा नभोगेका हौँ ?
ससानो अवसर कतै मिल्यो भने त्यसलाई उहाँहरूले विश्वब्रहृमाण्डको सबैभन्दा ठूलो ठाउँ हो जस्तो गरेर प्रस्तुत हुन थाल्नुहुन्छ । र, जहाँ जाँदा पनि एकै किसिमका कुरा गरिरहनुभएको हुन्छ । उहाँका कुरा सुन्दा लाग्छ उहाँले जानेकै यत्ति हो अनि उनै कुरालाई हरेक ठाउँ भन्दैरहनुहुन्छ । सुन्ने मानिस फरक-फरक भइदिँदा त तिनै कुरा पनि धाँसु विद्वान्का जस्ता लाग्छन् तर जब सुन्ने मानिसहरू दोहोरिन्छन् उहाँको योग्यताको धोती खुस्किसकेको हुन्छ तर उहाँलाई हेक्का हुँदैन । सुन्नेलाई लाग्छ यिनै कुरामात्र उहाँले जान्नुभएको हो कि अरू पनि कुरा जान्नुभएको छ ? उहाँ नपुगेको ठाउँ छैन ।
उहाँले नपढेको कुनै शास्त्र छैन । उहाँले नदेखेको कुनै ठाउँ छैन । उहाँले नचिनेको कुनै व्यक्ति छैन । उहाँले संवाद नगरेको कुनै व्यक्ति छैन । उहाँले नलेखेको कुनै विषय छैन । उहाँले जान्न कुनै ज्ञान बाँकी छैन । उहाँसँग जति ज्ञान अरू कसैसँग छैन । यस्तो अद्भूत क्षमता भएको उहाँ असाधारण व्यक्तित्व हो । लाग्छ उहाँ यति सानो देशमा कसरी अटाउनु भएको छ ? कसरी उहाँलाई यो देशले थाम्न सकेको छ ? उहाँकै भारले देश अलिकति गह्रौँ भएको हो कि ? उहाँका कारणले देश ओजनदार भएको हो ?
हाम्रो दृष्टिमा हो जस्ता लाग्ने उहाँ साँच्चै बोझिलो हुनुहुन्छ । बोझिलो हुनु र गह्रौँ हुनु पनि फरक कुरा हो सायद । उहाँ बोझिलो हो कि गह्रौँ हो ? छुट्याउन पनि असजिलो छ । उहाँका कुरा सुन्दा लाग्छ उहाँ गह्रौँ व्यक्ति हो अपरिहार्य व्यक्ति हो तर उहाँको योगदान के हो ? भन्ने त्यति थाहा छैन । स्वघोषित अपरिहार्य उहाँ आत्मरतिमा यति मग्न हुनुहुन्छ कि उहाँले बेलाबेला आफूलाई पनि चिन्न बिर्सिनुहुन्छ ।
उहाँको अर्को विशेषता भनेको उहाँले आफूबाहेक अरूलाई जानकार ठान्नुहुन्न । आफूभन्दा बाहेक अरूलाई सङ्घर्षशील ठान्नुहुन्न ।
आफूबाहेक अरूलाई विज्ञ मान्नुहुन्न । सबै ज्ञान बटुल्नुभएको छ । सबै अनुभव सँगाल्नुभएको छ । र, अन्त्यमा हामीलाई यस्तो भ्रम उत्पन्न हुन्छ कि साँच्चै उहाँ हो के ? उहाँले सबै कुरा जान्नुभएको हो कि ? हामीले केही कुरा पनि नजानेका हौँ ? उहाँले सबै कुरा भोग्नुभएको हो कि ? हामीले केही पनि कुरा नभोगेका हौँ ? उहाँले सबैलाई चिन्नुभएको हो कि ? हामीले कसैलाई पनि नचिनेका हौँ ? उहाँले सबै शास्त्र पढ्नुभएको हो कि हामी कुनै पनि शास्त्र नपढेका हौँ ? उहाँ सबै ठाउँ पुग्नुभएको हो कि ? हामी पुग्न नसकेका ठाउँमा पुग्नुभएको हो ?
उहाँले सबै मानिसलाई भेट्नुभएको हो कि ? हामीले भेट्न नसकेका वा नपाएका वा नचाहेका मानिसलाई मात्र भेट्नुभएको हो ? एवं क्रमले उहाँहरू हामीलाई यति धेरै अन्योलमा पार्नुहुन्छ कि मानौँ हाम्रो कुनै पहिचान नै छैन । हाम्रो कुनै अस्तित्व नै छैन । हाम्रो कुनै योग्यता नै छैन र सारमा हामी नै छैनौँ । सबैतिर उहाँहरू नै हुनुहुन्छ र हुनुपर्छ । दुनियाँमा केही कुरा अनावश्यक छ भने त्यो हामी हौँ । तर हामीलाई जे लाग्छ त्यो उहाँहरूलाई लागेको भन्दा फरक छ ।
त्यस विषयमा उहाँहरूले केही सोच्नुभएको होला जस्तो लाग्दैन । सायद उहाँहरूलाई यतातिर फर्केर हेर्ने फुर्सद हुँदैन । यसरी उहाँहरूको छत्रछायाँमा हामी बिलाउँदै गएर सायद हामी, हामी रहँदैनौँ उहाँहरूकै हुन्छौँ । जसरी हामीभित्रको कमजोरीको फाइदा उठाएर उहाँहरूले आजसम्म भ्रमको संसारमा शासन गरिरहनुभएको छ । प्रिय सञ्चेतना, अँ साँच्ची ! हामीले हामी हौँ भन्ने थाहा पाएको दिन उहाँहरूको हविगत के होला ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच