प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनै पूर्णिमालाई श्रावणी भनिन्छ र ऋषिहरूको तर्पन गरिने दिन भएको हँुदा ऋषितर्पणी पनि भनिन्छ । हरेक चाडवाडको आ-आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ । कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । जुन धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन पनि हो । यसमा ब्राहृमण र क्षत्रीय पुरुषहरूले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रही आएको छ ।
मूलतः बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरु-पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरु पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ । फलतः जनै फेर्ने दिन भएकाले जनैपूर्णिमा नाम रहन गएको स्पष्ट छ । यस दिनलाई रक्षाबन्धनको नामले पनि चिनिन्छ । जुन शास्त्रको विधि बमोजिम ब्राहृमणहरूद्वारा स्त्रोत वा मन्त्र पढाउन लगाई हातमा रुक्षाबन्धन बाँध्न लगाउने चलन छ । फलतः हातमा बाधिने रक्षाबन्धनबाट रोगव्याधि, अनिष्ट र संकट नाश गरी स्वास्थ्यको रक्षा गर्दछ भन्ने विश्वास गरिन्छ ।
जनैपूर्णिमा पनि एक महत्वपूर्णको चाड हो । कुनै पनि धार्मिक सांस्कृति पर्वलाई सनातनदेखि चल्दै आएको परम्परा मान्यता र रीतिरिवाज अनुसार नै ठ्याम्मै अनुसरण गर्न हामी सक्छौ वा सक्दैनौं ? एउटा महत्वपूर्ण प्रश्न हामीसामु छ ।
कुनै पनि देशले आफ्ना पारम्परिक धार्मिक वा सांस्कृतिक निधिहरूलाई जीवन्तता प्रदान गरिरहेका हुन्छन् । यसलाई पनि संक्षेपमा भन्नुपर्दा त्यो नै त्यस देशको सांस्कृतिक गतिविधि त्यहाँको सामाजिक प्रतिबिम्ब हो । यसरी पूर्वजहरूले सामाजिक धरोहरको रूपमा छोडेर गएका विभिन्न पर्वमध्ये जनैपूर्णिमा पनि एक हो । एक पक्षबाट हेर्दा यो केबल तागाधारीको मात्र पर्व हो कि भन्ने लाग्छ, परन्तु त्यसो होइन । जसमा तागाधारीले पनि यस दिन रक्षासूत्र बाँध्ने प्रचलन छ । अतः गैरतागाधारीले वैदिक मन्त्ररहित भई स्नान, दान, ऋषिपूजन आदि गर्नु हुन्छ भन्ने वर्णन भविष्यपुराणमा उल्लेख भएको कुरा हेमाद्रिमा उल्लेख भएको पाइन्छ । यसमा जनै फेर्ने कुरा के छ भने जनै कहिले र कति समयसम्म लगाउनुपर्छ ? भन्ने शास्त्रीय विधानको श्लोकलाई प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ ।
‘सूतके मृतके चैव गते मांसचतुष्टये । नवयज्ञोपवीतानि धृत्थजीर्णानिसंत्यजेत् ।’ यसको अर्थ हो जूठोसूतक परेमा वा चार महिना बितेपछि नयाँ जनै फेरेर पुरानोलाई फाल्नुपर्दछ । जनैपूर्णिमाका दिन प्रातःकालमा उठी नदी, कुवा, इनार, धारा आदि गएर दतिवन लगाई सेतोमाटो, गोवर र खरानी अंगमा दलेर स्नान गर्नुपर्ने विधान छ । त्यसपछि अरुणघर्तिसहित कश्यप, भरद्वाज, गौतम, अत्रि, जमदग्नि, वसिष्ठ र विश्वामित्र यी सप्तर्षिहरूको पहिले पूजा गर्ने र पछाडि सबैलाई तर्पण गर्ने शास्त्रीय विधान रहेको पाइन्छ । जनैपूर्णिमा भगवान् शिवलाई आराधाना गरिने दिनको रुपमा र शुद्ध जनै बदल्ने दिनको रूपमा समेत लिइन्छ ।
श्रावणी पूर्णिमा नेपालमा प्राचीन कालदेखि नै प्रचलित हँुदै आइरहेको एक पावनतम पर्व मानिन्छ । जुन रक्षा अर्थात ‘राखी’ यो पर्वमा मित्रहरू एक–दोस्रोलाई बाँध्छन्, बहिनीहरू प्रेमले आफ्ना भाइहरूलाई बाँधिन्छ र ब्राहृमणहरू अन्य वर्गका मानिसहरूलाई बाँध्दछन् । त्यो यथार्थमा सर्प अर्थात दुष्टजनबाट त्राण पाउनका लागि, तिनीहरूको प्रेम एवं स्नेहमा आबद्ध आपसी एकताको प्रतीकस्वरूप प्रण थियो । जसलाई पुराणअनुसार रक्षाबन्धन पर्वको पृष्ठभूमि पनि त्यहि नै छ ।
हाम्रो देशमा विभिन्न किसिमका समुदाय, जातजाति, भाषाभाषी, बस्ने भएको हुनाले हरेक दिन एउटा न एउटा चाडपर्वहरू पर्ने गरेको पाइन्छ । त्यस्तैगरी जनैपूर्णिमा पनि एक महत्वपूर्णको चाड हो । कुनै पनि धार्मिक सांस्कृति पर्वलाई सनातनदेखि चल्दै आएको परम्परा मान्यता र रीतिरिवाज अनुसार नै ठ्याम्मै अनुसरण गर्न हामी सक्छौ वा सक्दैनौं ? एउटा महत्वपूर्ण प्रश्न हामीसामु छ । विज्ञान र प्रविधिको विकास सञ्जालले घेरिएको आजका व्यस्त मानिससहरूलाई धार्मिक परम्परामा पूरै बाँधिएर बस्न सीमा र व्यावहारिक कठिनाइहरू छ्यापछ्याप्ती छन् ।
अतः साँच्चै बोझ, बन्धन कर्सैलाई पनि मन पर्दैन किनकि यसमा मानिसलाई सुख, शान्ति र खुशीको अमनचयन प्राप्त हुँदैन तर रक्षाबन्धन मर्यादाको मीठो बन्धन हो जसले हामीलाई पवित्रता, स्वअनुशासन र संयमको लक्ष्मण रेखाभित्र राख्ने काम गर्दछ । जुन नियम, मर्यादाको सीमारेखाभित्र रहँदा मानिस सुखी हुनुका साथै जीवनमा सफलता पनि हासिल गर्न पुग्दछ । त्यस्तैगरी रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने चलन सत्ययुगदेखि नै चलेको देखिन्छ ।
अघि दानवबाट पीडित देवगणहरूले अभिमानी असुरहरूको हातबाट कसरी त्राण पाउन सकिएला भनी गुरु बृहस्पतिसामु हारगुहार मागेपछि गुरु बृहस्पतिले विशेष रक्षाकवचको रूपमा तयार पारेको रक्षाबन्धनको धागो देवी इन्द्रायणीमार्फत देवराज इन्द्रलाई बाँधिदिएको र यसो गर्दा गुरु बृहस्पतिले विशेष मन्त्रजप गरेको जसको प्रभावले दानवहरू पराजित भई देवताहरू सुरक्षित रहेको प्रसंग र संस्मरणस्वरुप रक्षा धागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो । यो पर्र्व सर्वश्रेष्ठ धर्मको रूपमा संसारभरि परिचित छ जसले गर्दा हाम्रो धर्ममा पनि केही त्रुटिहरू छन् भने आध्यात्मिक जागरणको नाममा गलत संस्कार, छुवाछूत र रुढिवाढीलाई निर्मूल गरिनुपर्दछ भन्ने पनि हो ।
अन्त्यमा भन्नुपर्दा यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छवटा घागो डोरामध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रहृमा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच