बृटिश साम्राज्यवादको पञ्जाबाट १५ अगस्टका दिन भारत स्वतन्त्र भएको थियो । त्यसदिन मध्यरातमा स्वतन्त्र भारतका पहिला प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूले भनेका थिए-‘धेरै वर्ष पहिला हामीले भाग्यसँग साक्षात्कार गर्यौं र अब समय आएको छ कि हामीले आफ्नो प्रतिज्ञा पूरा गर्नुछ । आधारातको समयमा जब सारा संसार सुतिरहेको होला त्यतिबेला भारत आफ्नो जीवन र स्वतन्त्रताका लागि जाग्नेछ’ । यो उद्गार १४ अगस्ट १९४७ को दिन समाप्त हुनै लाग्दा भारत र संविधानसभालाई संबोधन गर्दै नेहरूले व्यक्त गरेका हुन् ।
भारतको स्वतन्त्रताका लागि धेरै स्वाधीनताप्रेमी जनताका प्रतिनिधहरूले आफ्नो जीवनको आहुती दिएका छन् । कठोर संघर्ष र बलिदान गरेका छन् । असैहृय पीडा र दण्ड सजायको भागी बनेका छन् । भारतीय स्वतन्त्रता दिवसको स्मरण गरिरहँदा ती मानिसहरूलाई श्रद्धाञ्जलि दिनै पर्दछ जसले आफ्नो सुन्दर जीवनको कुर्वानी दिएर बृटिश साम्राज्यवादको २०० वर्षको दासताबाट स्वतन्त्रता र मुक्तिको श्वास फेर्ने एउटा मिर्मिरे उज्यालो ल्याउन सफल भएका थिए ।
१८८५ देखि १९०५ का बीच भारतमा राष्ट्रवादको बिउ रोपिएको मानिन्छ । एकजना सेवानिबृत्त बृटिश स्वयंसेवक एओ हृयुमको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेसको गठन भएको थियो । १९०५ मा बढ्दो राष्ट्रवादको भावनालाई नियन्त्रणमा लिनका लागि भाइसराय कर्जनले बंगाल विभाजनको आरम्भ गरेका थिए ।
वास्तवमा भारतको स्वतन्त्रता संग्राम अनेक विद्रोह र सशस्त्र संघर्षका समेत अनेक साना ठूला चरणहरूबाट गुज्रिएको थियो । बृटिश दासताको पहिलो एक सय वर्षमा पूरै भारतभरि यस्ता कैयौं विद्रोह भएका थिए । त्यस पारम्परिक विद्रोहको अन्त्य १८५७ को सिपाही विद्रोको साथ भएको यसको इतिहास छ । जुन विद्रोहमा स्थानीय शासक, सैनिक र किसानहरूको संयुक्त विरोध थियो । त्यो विद्रोह वास्तवमा बृटिश साम्राज्यका प्रति ती मानिसहरूमा उत्पन्न भएको असन्तोष, घृणा र विद्रोहको भावना तथा बृटिश शासनप्रतिको विरोधको परिणाम थियो ।
बृटिश साम्राज्यवाद विरोधी त्यस्ता आन्दोलन विफल भएका भए पनि ती आन्दोलनहरूले परिवर्तनका नायकहरू पैदा गरिदिएको थियो र त्यसले भारतीय जनताका बीच एकताको दृढ भावना उत्पन्न गरिदिएको थियो । त्यस्ता विद्रोही नायकहरूमध्ये मंगल पाण्डेलाई भारतमा विद्रोहका एक महान् नायक मानिने गरिन्छ । त्यस्तै गरेर अन्य बृटिशविरोधी स्वतन्त्रताका योद्धाहरूमा रानी लक्ष्मी बाई, तात्या टोपे र नाना शाहेबसमेत रहेका छन् । तिनले नेतृत्व गरेका विद्रोहहरूले जनस्तरको बृटिश शासनको जग हल्लाइदिएको थियो । जनताको त्यो विद्रोहको आँचले गर्दा नै अन्त्यतः भारतको सत्ता बृटिश इष्ट इण्डिया कम्पनीसँगबाट हटाएर बृटिश क्राउन अर्थात् बेलायती राजतन्त्रमा सारिएको थियो ।
१८८५ देखि १९०५ का बीचको समयमा भारतमा राष्ट्रवादको बिउ रोपिएको मानिन्छ । एकजना सेवा निवृत्त बृटिश स्वयंसेवक एओ हृयुमको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेसको गठन भएको थियो । १९०५ मा भारतमा बढ्दो राष्ट्रवादको भावनालाई नियन्त्रणमा लिनका लागि भाइसराय कर्जनले बंगाल विभाजनको आरम्भ गरे । त्यसबाट त्यहाँ स्वेदशी आन्दोलनको सुरुवात भयो र बृटिश सामानहरूको बहिष्कार भयो । यसरी लर्ड कर्जनको त्यो योजनाका विपरीत सारा भारतवासी एक जुट भएर अघि बढे ।
त्यसको एक वर्षपछि गंगाधर तिलक, बिपिनचन्द पाल र अरबिन्द घोषहरूले स्वराजको वकालत गरे । १९१९ मा रोलोट अधिनियमका विरुद्ध लाला लाजपत रायको नेतृत्वमा व्यापक राष्ट्रिय अभियान सुरु भयो जसमा उनी गम्भीर रूपले घाइते हुन पुगे । काकोरी षड्यन्त्रको मामिलामा रामप्रसाद बिस्मिल र अस्फाखउल्ला खानलाई फाँसी दिइयो । चन्द्रशेखर आजाद र खुदीराम बोस त्यस समयका चर्चित क्रान्तिकारी थिए । मार्च १९३१ म एकपछि अर्को बृटिश षड्यन्त्रको शृंखलापछि भगत सिंह, राजगुरु र सुखदेवलाई पनि फाँसी दिइसकिएको थियो । कतिपय अन्य क्रान्तिकारी समूहहरू पनि थिए । त्यस्ता समूहमध्ये एक थियो सूर्य सेनको नेतृत्वको बंगालको चटगाउँको समूह ।
यो त्यतिबेलाको कुरा थियो जतिबेला भारतीय आन्दोलनको राजनीतिक परिदृष्यमा महात्मा गान्धी आइसकेका थिए । उनको मुख्य योगदान उनको अहिंस्रक आन्दोलन र सत्याग्रहलाई मानिन्छ । उनको मुख्य विश्वास सत्य, अहिंसा र मानिसमाथिको प्रेम मानिएको थियो । उनको आफ्नो आश्रम–सावरमती आश्रमदेखि दण्डीसम्म मार्च गरेर गान्धीले नमक (नून) आन्दोनलको आरम्भ गरेका थिए । दोस्रो विश्वयुद्धका बेला सुभाषचन्द्र बोस आफ्नो समयको एक शक्तिशाली नेता बनेर देखापरे । उनले आजाद हिन्द फौजकै गठन र त्यसको नेतृत्व गरिरहेका थिए । त्यस बेला कयौं महिला नेताहरूले पनि साम्राज्यवाद विरोधी स्वतन्त्रताको आन्दोलनमा सक्रिय भाग लिएका थिए । तीमध्ये अरुणा आसफ अली, सरोजिनी नायडु, भिकाजी कामना, सुचेता कृपलानी, झासीकी रानीहरूको नाम भारतको स्वतन्त्रता संग्राममा अग्रपंक्तिमा आउँदछ ।
सन् १९४२ देखि ‘भारत छोडो’ आन्दोलन त्यहाँ सुरु गरियो । त्यसमा बृटिश साम्राज्यबादलाई चाँडोभन्दा चाँडो भारत छोड्न माग गरिएको थियो । आन्दोलन चर्किँदै गएपछि जुन १९४७ मा लर्ड माउन्टबेटनले भारतको विभाजन गर्ने योजनाको घोषणा गरे । अगस्ट १९४७ मा भारतलाई दुई देशका रूपमा बाँडियो । त्यस विभाजनबाट धर्मनिरपेक्ष भारत र मुस्लिम पाकिस्तान बन्न गए । यसरी यो स्वतन्त्रता संग्रामको अन्तिम निष्कर्ष भारतको विभाजन बन्न पुग्यो । त्यो वास्तबमा स्वतन्त्रता संग्रामको उद्देश्य र लक्षविपरीतको अस्वीकार्य कार्य थियो । भारतलाई दुई भागमा विभक्त गरेर बेलायतीहरू फर्किए । त्यो भारतको विभाजन धार्मिक आधारमा गरिएको थियो । फलतः पाकिस्तान इस्लामी राष्ट्र बन्यो र भारतलाई धर्म निरपेक्ष देश भनियो ।
आज भारतले स्वतन्त्रता पाएको आठ दशक पुग्न लाग्दा पनि यो प्रश्न बारम्बार उठिरहेको छ र उठिरहन्छ कि त्यो विभाजन सही थियो कि थिएन ? त्यसलाई टार्न सकिन्थ्यो कि सकिँदैनथ्यो ? त्यो विभाजनले भारत र पाकिस्तान दुवैलाई वर्वाद तुल्यायो । विभाजनपछि भएको पलायनले मानिसहरूलाई अन्त्यहीन पीडा र दुःख कष्ट दियो । त्यो देशको विभाजन त भयो नै पञ्जाव र पश्चिम बंगाल राज्यहरूको पनि विभाजन भयो । त्यसो गरिँदा कयौं दंगाफसादहरू भए, कयौं मानिसहरूको ज्यान पनि गयो । हिन्दु र मुसलमानहरूले यसमा शासनयन्त्रको एउटा औजारको रूपमा महिला शक्तिलाई उपयोग गरे । त्यस क्रममा कैयौं महिलाहरूको इज्जतसँग खेलबाडमात्र गरिएन, उनीहरूमाथि बलात्कार जस्तो घृणित हर्कतको शिकार पनि बनाइयो ।
वास्तवमा आज पनि भारत र पाकिस्तानको त्यो विभाजनको घाउ पुरिएको र खाटा बसेको छैन । बरु उल्टै सीमा विवादका कारण दुई देशका बीच परस्परमा कयौंपटक युद्ध पनि भएको छ । आधिकारिक सीमा निर्धारित भएको भनिए पनि यो विवाद अहिलेसम्म सुल्झिएर समाप्त भएको छैन । कश्मिरमाथिको अधिकारको मुद्दालाई लिएर आज पनि त्यहाँ गतिरोध कायमै छ । खास गरेर कश्मिर मामिला वर्षौं वर्षदेखि सुल्झिएको छैन । यो गतिरोधपूर्ण अवस्थाकै रूपमा रहेको छ ।
त्यत्रो स्वतन्त्रताका लागि लडेको भारतको आफ्ना वरिपरिका कुनै पनि छिमेकी मुलुकहरूसँग सम्बन्ध राम्रो छैन । सीमाना जोडिएका निकट देशहरूसँग भारतको किचोला छ । नेपालको त कालापानी, लिपुलेक, लिम्पियाधुरामा वर्षौंदेखि फौजी अखडा नै बनाएर इण्डिया बसेको छ भने सुस्तालगायत देशका ७१ स्थानमा सीमा मिचिएको छ ।
त्यहीँ सीमारेखाको समस्यालाई लिएर पछिल्लोपटक कारगिल युद्ध पनि भएको हो । दुवै देशका बीच अहिले पनि खिचातानी र दुश्मनी रहेकै छ । भारतले कश्मिलाई दिएको विशेष संवैधानिक हैसियतलाई पनि मोदी सरकारले समाप्त पारेपछि पनि यो मुद्दा नसुल्झिएकै अवस्थामा रहिरहेको छ । कारगिल युद्ध त्यही सीमारेखाको समस्यालाई लिएर भएको हो । यो समस्या अहिले पनि जारी नै छ ।
सर्सरी हेर्दा स्वतन्त्रता संग्राम र त्यसपछि यता भारतले लामो यात्रा गरिसकेको छ । भारतका कतिपय क्षेत्रमा बिकास यात्रा निक्कै अगाडि पनि बढेको छ । खाशगरी बिज्ञान र प्रविधि तथा सूचना र सञ्चारको क्षेत्रलाई यस सम्वन्धमा औंल्याउन सकिन्छ । यसका अतिरिक्त स्वास्थ्य, शिक्षा, परमाणु ऊर्जामा पनि निक्कै प्रगति हासिल गरेको देखिन्छ र भारत पनि परमाणु शक्तिमा दरिएको छ । भारतले अन्तरिक्षमा उपग्रह पनि छोडिसकेको र चन्द्रमामा पनि टेकिसके छ । तर अझै भारतले उन्नत देशको दाँजोमा पुग्न धेरै कुरा गर्न बाँकी छ ।
आज पनि भारतलाई त्यहाँको प्रगतिको फाइदा उठाउने २० करोडको ‘इण्डिया’ भनिन्छ । त्यहाँका १ अर्ब १० करोड मानिसलाई भारतबासी भनिन्छ । यसको प्रष्ट अर्थ हो कि असमानताको खाडल त्यहाँ अत्यन्तै ठूलो छ । त्यहाँका किसानले आत्महत्या गर्नुपरिरहेको छ । मदजुरहरूको कामको सुरक्षा छैन । महिलाहरूको सबभन्दा बढी बलात्कार र हत्या गरिने देशको रूपमा इण्डिया परिचित छ ।
त्यत्रो स्वतन्त्रताका लागि लडेको भारतको आफ्ना वरिपरिका कुनै पनि छिमेकी मुलुकहरूसँग सम्बन्ध राम्रो छैन । पाकिस्तानको कुरा त माथि नै पनि आइनै सक्यो । चीन, नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश कुनै पनि सीमाना जोडिएका निकट देशहरूसँग भारतको किचोला छ । नेपालको त कालापानी, लिपुलेक, लिम्पियाधुरामा वर्षौंदेखि फौजी अखडा नै बनाएर इण्डिया बसेको छ भने सुस्ता लगायत देशका ७१ स्थानमा सीमा मिचिएको छ । अनेक असमान सन्धिहरू गरेर नेपाललाई आफ्नो प्रभाव क्षेत्रमा राखिराख्ने हिसाब किताबले भारतीय शासक वर्ग चलेको छ ।
यी सबै हाम्रो स्वाधीनता, अखण्डता र स्वाभीमानविरोधी अतिक्रमणकारी गतिविधिले समेत भारतीय सत्ता प्रतिष्ठान बृटिशकालीन साम्राज्यवादी मानसिकता बोकेरै छिमेकीहरूसँग प्रस्तुत हुने गर्दै आएको देखिन्छ । यो भारतीय स्वतन्त्रता संग्रामको पनि मर्म र भावनाविपरीत कुरा हो । यस्तो मानसिकता त्यागेर पञ्चशील, संयक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय संहिता र कानुनहरूका आधारमा परस्पारिक साझा हित र सम्मान तथा समानताको बाटोमा चल्ने नगरेसम्म भारतको अभिजात वर्गीय साशनसत्तासँग कुनै पनि छिमेकी देशहरूको सम्बन्ध सुध्रिने देखिँदैन ।
अनि भारतीय जनताले स्वतन्त्रताका लागि त्यत्रो त्याग, बलिदान र रोमहर्षकारी संघर्ष गरेको सार्थकता पनि रहँदैन । नेपाल र भारतका जनताले यस कुरालाई गम्भीरताका साथ लिएर पारस्परिक साझा हितलाई अघि बढाउन सिक्नु र सक्नुपर्दछ । किनभने दुवै देशका जनताको साझा स्वार्थ र हित साम्राज्यवाद विरोधी तथा सामन्तवाद विरोधी रहेको छ । दुई देशबीचको यो जनमैत्री अमर रहोस् !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच