आउँदो भदौ २४ गते बीपी कोइरालाको १११औँ जन्मजयन्ती हो । बीपीको साहित्यलाई पौरस्त्य दर्शनका दृष्टिले अध्ययन गर्ने अध्येताका नाताले यस विषयमा आफ्ना धारणाहरू राख्दै जानुपर्ने दायित्वको अधिनमा रहेर यसपटक बीपी, पौरस्त्य दर्शन र आध्यात्मिकताका बीचको सम्बन्ध कस्तो हो ? भन्ने षियमा केही धरणाहरू राख्नु आफ्नो कर्तव्य ठानेको छु । नेपाली साहित्य र राजनीतिमा स्थापित भई यो भौतिक संसारबाट बिदा, लिएपछि कोइरालाको योगदानका बारेमा बढी चर्चाहरू भइरहेका छन् । साहित्यकार बीपीका साहित्यिक आयामहरूमा केन्द्रमा बसेको वैचारिकता नै साहित्यिक बीपीलाई अनेक तरहले चिनाउने प्रयत्नहरूको आधार हो । वैचारिक विविधताभित्रका बीपी भिन्नभिन्न रूपमा देखिएका छन् । यसो भनेर हामी बीपीलाई प्रशंसा गर्दै वा आलोचना गर्दै हिँडिरहेका छैनौँ अपितु बीपीको विचारको व्याख्या र विश्लेषणबाट उनलाई वास्तविक रूपमा उभ्याउने प्रयत्न गरिरहेका छौँ ।
बीपीको व्यक्तिगत जीवन र साहित्यमा पौरस्त्य दर्शनको के कस्तो प्रभाव परेको छ ? भन्ने विषयमा गम्भीर बहस हुन थालेको छ । बीपीमा पौरस्त्य दर्शनको प्रभाव भनेर के कस्तो प्रभावको कुरा गरिएको हो ? भन्ने बारेमा स्पष्ट भएपछि मात्र बीपी र पौरस्त्य दर्शन बारेका कुराहरू छर्लंग हुनेछन् । नेपाली साहित्यमा कोइरालाको साहित्यिक योगदानका विषयमा लामो विमर्श भइसकेको छ । अब हामी बीपीलाई महान् थिए मात्र भन्दै छैनौं । महान् थिए भनेँ के कति कुराले महान् थिए वा उनमा के कस्ता कृतिगत सीमाहरू थिए त ? भनेरसमेत हे¥यौं भनेँमात्र बीपी र उनको साहित्यमाथि न्याय हुन्छ भन्ने लाग्दछ । बीपीको पुनःपाठले बीपीको व्यक्तित्वलाई थप उजिल्याओस् भन्ने हाम्रो चाहना छ ।
अतिवादी दृष्टिले कतै ज्यादै राम्रा साहित्यकार भनेर त कतै काम नलाग्ने लेखक भनेर गरिएका प्रशंसा र आलोचनाबाट अब बीपीलाई मुक्त गर्नुपर्दछ । हामीभित्रको अतिशय आस्थाभावले बीपीको वैचारिक मनोयोग र साहित्यमा प्रकट भएको त्यसको प्रतिच्छायामा रहेका त्रुटिहरूलाई हेर्न दिइरहेको छैन भने त्यसले पनि बीपीलाई हानि गर्नेछ । हुन त बीपी नभएको यो भौतिक संसारमा लाभहानिको प्रत्यक्ष असर बीपीलाई पर्ने छैन तर सदीयौं बीपी साहित्याकाशमा जगमगाइ रहून् भन्ने चाहने हामीहरूका लागि त्यसको असर पर्नेछ । कोइरालाका साहित्यका धेरै तहहरूमा परिचर्चा भइसकेको यस परिप्रेक्ष्यमा कोइराला र उनको आध्यात्मिक मनोयोगका बारेमा यस प्रसंगमा चर्चा गरिएको छ ।
बीपीले सबैले मानेजस्तो मानिसले उपाधि दिएर राखेको मन्दिरको पत्थरको मूर्तिमा ईश्वर देखेनन् र कुनै मानिसको सहयोगी हात वा प्रकृतिको अनुपम सौन्दर्यमा ईश्वरीय रूपको दर्शन गरे भनेँ बीपीको दर्शनलाई नास्तिक भन्न मिल्दैन ।
पौरस्त्य दर्शनलाई जसरी दर्शनकै मान्यताअनुरूप चिन्ने चिनाउने प्रयत्न दर्शन ग्रन्थहरूमा भएको छ त्यसरी नै वा त्यही अनुकूलको निष्कर्ष आउनुमात्र दर्शनको प्रभाव देखा पर्नु होइन । प्रथमतः दर्शनमा कुनै गणितीय उत्तरको अपेक्षा गरिनु हुन्न । दर्शन भनेको चिन्तन र विचारको मन्थन पनि भएकाले कहिलेकाहीँ भिन्न किसिमको नौनीलाई पनि दर्शनले स्वीकार गर्नुपर्दछ । दोस्रो दर्शनशास्त्रका विचारहरू साहित्यमा प्रक्षेपण हुँदा साहित्यिक रंगरोगनमा आउने हुनाले केही कलात्मक पनि हुन्छन् । अनि ती दार्शनिक विचारहरू नवीन तथ्यको उद्घाटन र परम्परित मान्यताका विपक्षी बनेर आए भने पनि तिनलाई दार्शनिक कित्ताबाट अलग्याउन मिल्दैन ।
अध्ययनले कुनै निष्कर्ष निकाल्दा आफ्नो तार्किक आधार प्रस्तुत गरेपछि वा तार्किक जिद्दी प्रकट गरेर नयाँ तथ्यलाई स्थापना गर्न प्रेरित गर्न सक्छ र त्यस्तो अध्ययन परम्परालाई भत्काउने मानक बन्न पनि सक्छ भन्ने उद्देश्यले बीपी कोइरालाका उपन्यासमा पौरस्त्य दर्शनको परम्परागत रूपको प्रभाव के कति छ ? पौरस्त्य दर्शनका प्राप्ति र सीमाहरूमा बीपीको दृष्टि के कति परेको छ र बीपीले कस्तो दार्शनिक सन्देश प्रवाह गर्न चाहेका छन् भन्ने निक्र्योल भएपछि मात्र त्यसरी अटेसमटेस भएर व्यक्त भएका बीपीका दार्शनिक विचारहरूप्रति वास्तविक न्याय हुनेछ ।
निश्चय नै बीपीका पौरस्त्य दर्शनप्रतिका विचारहरू परम्परित छैनन् तर त्यसो भनेर पौरस्त्य दर्शनकै पृष्ठभूमिमा निर्मित बीपीका विचारहरूलाई भिन्न कित्तामा लैजान मिल्दै मिल्दैन । बीपीका विचारहरू र उनका दार्शनिक धारणाहरू पौरस्त्य होइनन् भने के हुन् त ? भन्ने प्रश्नको गहकिलो अर्को उत्तर छँदै छैन । बीपीले सुम्निमा, मोदिआइन, हिटलर र यहुदी जस्ता उपन्यासमा व्यक्त गरेका ईश्वर, आत्मा, शरीर, मोक्ष, मानव कर्म र कर्तव्य, मानव धर्म आदिका विषयमा उठाएका कुरा र थालनी गरेको बहसको पृष्ठभूमि के पाश्चात्य दर्शन हो त ? किमार्थ होइन । त्यसैगरी तीन घुम्ती, नरेन्द्र दाइ र बाबु, आमा र छोरा उपन्यासमा उठाएका नियति वा प्रारब्धसम्बन्धी विचारहरू पनि पौरस्त्य हुन् ।
बीपीले पौरस्त्य पृष्ठभूमिमा, पौरस्त्य धर्मग्रन्थ, दर्शनग्रन्थ, पुराण, उपनिषद्हरू नीतिशास्त्र र चरित्रशास्त्रका विषयहरू लिएर तिनकै सेरोफेरोमा, तिनकै अध्ययनबाट निर्मित विचारलाई विषयको केन्द्र र समस्या समेत बनाएर उठाएका दार्शनिक तर्कहरू पौरस्त्य दर्शनका गहन विचार हुन् र यदि तिनका विषयमा बीपीको कहीँ कतै असहमति छ भने पनि त्यो कुनै भिन्न कित्ताको दर्शन र भिन्न भूगोल र सीमाको नौलो आयातीत विचार त हुँदै होइन । त्यसैले बीपीले सबैले मानेजस्तो मानिसले उपाधि दिएर राखेको मन्दिरको पत्थरको मूर्तिमा ईश्वर देखेनन् र कुनै मानिसको सहयोगी हात वा प्रकृतिको अनुपम सौन्दर्यमा ईश्वरीय रूपको दर्शन गरे भनेँ बीपीको दर्शनलाई नास्तिक भन्न मिल्दैन ।
बीपीले आफू आस्तिक पनि हुँ अध्यात्मवादी पनि हुँ भनेका छन् । ईश्वर के हो ? के हुन सक्छ ? मूर्ति नै ईश्वर हो कि होइन ? मूर्ति ईश्वर हुँदा र नहुँदा के अन्तर छ ? के अन्धभक्ति देखाउँदैमा ईश्वरवादी भइन्छ वा ईश्वरलाई मानिसको हित चिताउने, मानिसकै निम्ति सहयोग गर्ने, मानिसलाई नै असल बन्न प्रेरित गर्ने र मानवलाई राम्रो कर्ममा प्रवृत्त गराउने तत्त्व जो मानिसकै विचारले उच्च बन्न सक्छ र सहयोगी हुन सक्छ त्यस्तो विश्वासलाई ईश्वर मान्न र आफूलाई त्यस्तै ईश्वरको पक्षपाती बनाउन पाइँदैन ? भन्ने चिन्तनमा बीपीको विचार केन्द्रित भएको पाइन्छ ।
त्यस्तै आत्मिक ईश्वरप्रति बीपीको विश्वास छ जुन कुरालाई देखाउन बीपीले सुम्निमा उपन्यासमा सुम्निमाले मान्ने ईश्वर र सोमदत्त र पुलोमाले मान्ने ईश्वरका रूपहरूलाई देखाएर ईश्वरलाई कुनै भय, त्रास उत्पन्न गराउने, दण्ड सजायँ दिलाउने वा मानिसलाई असहयोग गर्ने तत्त्व नमान्न बरु मानिसकै सहयोगी, मानिसकै सुखदुःखमा सहभागी हुने र मानिसको खुशीको निम्ति लाग्ने स्वाभाविक धर्म भएको तत्त्व नै ईश्वर हुन सक्छ भनेका छन् । सुम्निमाले सुन्दर यौवनले पूर्ण शरीरको सुखमा खुसी हुने अनि पुलोमाले पनि भिल्ल युवकसँगको मानसिक सहवासबाट तृप्त बनेर खुसी प्रकट गरेका बेला खुसी हुने मानिसको खुसीका साथीलाई ईश्वर मान्न सकिने तर्क राखेका छन् ।
देहवादी र आत्मवादी आ-आफ्ना दृष्टिकोणले सुखी नभएपछिको विकल्प के हो त ? भन्ने नैतिक प्रश्न उठाएर समन्वयमा जीवनको सफलता सम्भव छ, अतिवादको निषेध र देहात्म समन्वय आवश्यक छ भन्ने दर्शन अघि सारेर देहवादी र आत्मवादी दुबै दर्शनको सम्मान गर्ने काम बीपीबाट भएको छ ।
ईश्वरका विषयमा सोमदत्त र पुलोमाका बिच बहस हुँदा ‘ईश्वरले तिमीलाई छाडिसकेका छन्’ । ‘हाम्रा आर्य ईश्वरले तिमीसँग विदा लिइसके’ (पृ.८६) किनकि तिमीले शरीर सुख लिने अपराध ग¥यौ भनी सोमदत्तले आरोप लगाउँदा ‘ईश्वर हाम्रो शत्रु होइनन्’ (पृ.८७) भनी पुलोमाले सुखमा साथ दिने साथी नै ईश्वर भएको तर्क गरेकी छ । मोदिआइनमा नारी, मछुवारिन वा मोदिआइनकै खुसी बन्न सक्ने प्रियजनसँगको सान्निध्य, शान्ति, अहिंसा र मानवहितको पक्षमा बोल्न र सहयोग पुर्याउन सकेका भए श्रीकृष्णको ईश्वरीयता मान्य हुन सक्थ्यो भनेर अर्जुनलाई ईश्वर तुल्याउन खोज्ने ईश्वर स्वरूपका कृष्ण र उनको उपदेशले सुरिने अर्जुनप्रति असहमति राखेर ईश्वरीयता प्रकट गर्ने काम बीपीले गरेका छन् ।
ईश्वरसम्बन्धी बहसलाई हिटलर र यहुदीमा लगेर ईश्वर र हिटलरको संवादमा अन्यायको पक्षपोषण गर्ने, लाखौँ निर्दोष यहुदीलाई मार्ने हिटलरले स्वर्गको अधिकारको दाबी गर्दा स्वर्ग जाने अनुमति नदिएर गलत कर्म गर्नेलाई प्रश्रय नदिनु, असल कर्मको पक्षमा लाग्नु र त्यस्तै कर्मलाई प्रश्रय दिनुमा ईश्वरीयता प्रकट हुने कुरा गरेर परम्पराले आफ्नो अनुकूल व्याख्या गर्ने ईश्वरको स्वरूप र चरित्रभन्दा भिन्न आफ्नो आस्थाको ईश्वर पनि हुनुपर्ने नयाँ तर्कसहित उपन्यासकार बीपी कोइराला ईश्वरवादी बनेका छन् । त्यस्तै नियतिको पक्षमा गहन दृष्टि राख्ने बीपीले नियतिको सर्वोच्चता स्वीकार गर्दा नियतिको निर्धारक ईश्वर नै हो भन्ने भक्तिवादी विचारलाई नमाने पनि मानिसको अधिनभन्दा परको तत्त्वलाई मान्न विवश भएका छन् । यो उनको विवशता, कमजोरी होइन बरू मानिसलाई श्रेष्ठ मान्दामान्दै पनि मानिसमाथिको श्रेष्ठत्वलाई सम्मान गर्ने तार्किक प्रयत्न हो ।
आत्माबारेको चिन्तनमा बीपी अझ बढी गहिरिएका छन् । सुम्निमा उपन्यास देहवाद र आत्मवादकै केन्द्रबिन्दुमा तयार भएको छ । शरीरवादकी पक्षधर सुम्निमा र आत्मवादको पक्षधर सोमदत्त र पुलोमालाई दुई धु्रवका विचारका प्रतिनिधि खडा गराएर लामो बहस अनि ती दुबै विचारको व्यावहारिक अवस्थाको दिग्दर्शन गराएका छन् । आत्मा, परमात्मा, शरीर र मोक्षका विषयमा बुझ्न सोमदत्त र पुलोमाका बीच भएको यो एउटा संवाद पनि पर्याप्त छ-सोमदत्तले भन्यो ‘जीवन र आत्माको द्वैतभाव केवल परमात्मामा गएर लुप्त हुन्छ’ । कन्याले मधुर स्वरमा समर्थन गरी ‘भेद दृष्टि अज्ञान दृष्टि हो’ । उता सोमदत्त भनिरहेको थियो ‘शरीर स्वल्पजीवी तुच्छ मांसपिण्ड हो’ ।
कन्या पनि सदृश विचार व्यक्त गर्थी ‘श्वासले फुलेको एउटा पानीको फोका मात्र’ । दुबैको सहमति थियो- ‘शरीरको विकारबाट आत्मा जति असंलग्न तथा शुद्ध रहन सक्छ उति नै परमात्मामा त्यो आफूलाई आत्मसात गर्न समर्थ हुन्छ । मोक्ष त्यही त हो नि; आत्मा र परमात्मामा एकाकार हुन सकेको स्थिति’ (पृ.३७) । आत्म साक्षात्कारबाट ब्रहृमलीन हुन चाहने सोमदत्तले उक्त मार्गको अवरोधक तत्त्व भनेकै शरीरसँग जोडिएको सांसारिक काम वासना भएकाले शरीरसहितको कामवासनाबाट सर्वथा मुक्त हुनको निम्ति शरीर नाम गरेको तुच्छ वस्तुलाई अतिशय कष्ट दिएर नाश गर्ने मनमा वासना जन्माउने शरीरको क्षयबाट मनलाई निर्मल पार्ने र आत्मसाक्षात्कारको मार्ग सहज पार्ने भनी सुम्निमाको सुन्दर देहले उब्जाएको बासनाको आगो शान्त पार्न कष्टसाध्य प्रयत्न गरेको छ ।
आपूm जस्तै स्वभाव र कर्मकी पत्नी पुलोमासँग कर्तव्य कर्मले प्रेरित भएर विवाह गरे पनि शरीरलाई पूर्ण उपेक्षा गरेर पुत्रेष्टि सम्पन्न गरी वानप्रस्थबाट महापर्याण गर्ने उद्देश्य लिएको सोमदत्तका सबै कर्महरू विफल भएका छन् र सोमदत्त र पुलोमा निराश भएका छन् । यहाँ एकोहोरो आत्मिक अनुष्ठानको विफल देखाइएको छ भने शरीरलाई सर्वस्व ठानेर क्षणक्षण शरीर सुखबाट आत्मिक सुख लिने लालसा बोकेकी सुम्निमाले पतिबाट शरीर सुख लिए पनि त्यसले आत्मिक सुख दिन नसकेर सधैँ आफूलाई अपूरै र अधुरै ठानेर जीवन बिताएको अवस्थाको चित्रण गरेर बीपीले देहवाद र आत्मवादको गम्भीर दृष्टान्त प्रस्तुत गरेका छन् ।
देहवादी र आत्मवादी आ-आफ्ना दृष्टिकोणले सुखी नभएपछिको विकल्प के हो त ? भन्ने नैतिक प्रश्न उठाएर समन्वयमा जीवनको सफलता सम्भव छ, अतिवादको निषेध र देहात्म समन्वय आवश्यक छ भन्ने दर्शन अघि सारेर देहवादी र आत्मवादी दुबै दर्शनको सम्मान गर्ने काम बीपीबाट भएको छ । मोदिआइन उपन्यासमा तिन जन्ममा एउटै आत्माले काम गरेको देखाएको छ । मोदिआइन उपन्यासमा एउटै नारीको कम्तिमा पनि तिन जन्मको कथा समेटिएको छ । महाभारतकालको समयकी एउटी नारी नामकी युवती अर्को कुनै जन्ममा मछुवारिन बनेकी छ र पछिल्लो पटक मोदिआइन बनेर सानोबाबुलाई महाभारतको कथा भनेकी छ ।
यहाँ आत्माको पुनर्जन्म र पूर्वजन्म भएको र उसले देह परिवर्तन गरेको घटना जोडिएर आत्मा अजर र अमर हुन्छ भन्ने आत्मवादी मान्यता चरितार्थ भएको छ । महाभारतको कालमा मानिसहरू त्यति पछिसम्म बाँच्छन् र ? मछुवारिन थिई र साँच्चै ? (पृ.२३) भन्ने सानो बाबुको प्रश्नमा किन बाँच्दैनन् । प्रेतात्मा भएर जुगजुगान्तरसम्म बाँचिरहन्छन् । आफ्ना प्रियजनको भइरहन खोज्छन् । कुनै न कुनै वाञ्छाले, कुनै न कुनै पूर्ति नभएको कामनाले उनीहरूलाई अमर पारेर मृत्युलोकमा दृश्य अदृश्य आवरणमा घुमाइरहन्छ (पृ.२३) भनी मोदिआइनले आत्मालाई अमर भनी बताएकी छ भने कुन्नि कहिलेदेखि हो मोदिआइनले आफ्नै वृत्तान्त जस्तो गरेर भन्न थाली (पृ.३२) भन्ने सानो बाबुको भनाइले मोदी आइन नै उक्त मृतात्माको पछिल्लो रूप भएको बुझ्न सकिन्छ ।
त्यस्तै कृष्णले विजयी भयौ भने पृथ्वीको भोग गरौला कथंकदाचित मारियौ भने स्वर्ग भोग गर्न पुगौला (पृ.५२), यो शरीर त एउटा थोत्रो टालो हो, जसलाई मरेँ भन्दा तिमी त्याग्छौमात्र न तिमी मर्छौ न मार्छौ कसैलाई । यो सबै तिमीले देखेका सबै कुरा मिथ्या हुन् (पृ.५४) जस्ता अभिव्यक्तिले आत्माको पूर्वजन्म र अमरताको सूचना गरेका छन् ।
यद्यपि बीपीले यी अभिव्यक्ति दिँदा उनी पूर्ण आत्मवादी भएर आत्माको अमरताकै सन्देश प्रवाह गर्न भन्दा बढी शरीरको सम्मान गर्न र शरीरजीवी आत्माको पक्षमा मानवीय धारणा प्रकट गर्न यो कुरा भनेका छन् तर यसको आशय उनी आत्मविरोधी वा पूर्व र पुनर्जन्मका विपक्षी हुन् भन्न पनि मिल्दैन । बीपीले पुनर्जन्म हुने भए मानिस नै हुन पाउँ पनि भनेका छन् । आत्माको सम्मान गर्दा गर्दै पनि शरीरलाई उपेक्षा गरेर मत्र्यजन्मको कत्ति ख्यालै नगरी गरिएको आत्मचिन्तन व्यावहारिक छैन भन्ने बीपीको आत्मचिन्तन हो । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच