कविता : गिद्दहरु

हिमालय टाइम्स
Read Time = 2 mins

शीतका थोपाहरुसँग
लट्पटिएर एउटा बिहान
तिमीसँगै खस्छ
साँझ पर्न नपाउँदै
तिम्रो अस्मिता लुटिन्छ
र, रद्दी बनाइन्छ ।

सगरमाथाको पारिबाट
अर्को रातले
सूर्यलाई निल्छ
र, बेसरम सोधिन्छ
चन्द्रमामा कालो
कसले पोतेको ?

सूर्य  तेजस्वी बनेर
उदाउन नपाउँदै
निकम्मा र पत्रु
एक हुल हुच्चिलहरु
कराउँछन्न् , काहालिन्छन्
कर्कस आवाजमा
दिउँसो मस्त सुत्ने
लाटकोसेरालाई के मतलब ?

घाम लागोस् कि पानी परोस्
झ्याउँकिरीहरुलाई
झ्याउँझ्याउँ गर्न
साँझ पर्नै पर्दैन
मध्य दिउँसै
खोला किनारतिर कराउँछन् ।

कागको निद्रा ब्युउँझाएर
गिद्दहरु सिनो लुस्छन्
तर सगरमाथा फैलिएर
अर्को क्षितिजसम्म पुग्छ
पानी परोस् कि चट्याङ
तुसारो होस् कि उखुम ।

भौमानहरु
कुकुरलाई नै बिर्सिएर खान्छन्
सुललित मेरो देश
हिउँदमा होस् या बर्खा
जतिबेलै सामुहिक
बलात्कार सहन विवश छ ।

हिजो लुकेर बलात्कार गर्‍यो
आज बीच सडकमा उभिएर
तर पनि त्यही नाङ्गो
बलात्कारीको वरपर
समाजमा मस्त छ
उसकै हाइहाइ गर्नमा ।

गिद्दहरु न हुन्
सिनो लुस्न पाएपछि
किन सम्झन्थे
सगरमाथाको उचाईलाई
सूर्यको तेज होस् कि
चन्द्रमाको सितल
बाघको छाला ओडेर
स्यालको रजाइँ र
हुँइयामै चलेको छ मेरो देश।

कहिले आमा
बलात्कृत हुन्छिन्
त कहिले छोरी
पशुहरुलाई के थाहा
उसकै सामुहिक बलात्कारले
अस्तित्व र अस्मिता लुटियो
रैपनि उनीहरू छाड्दैनन्
बेपर्वाह देशलाई बलात्कार गर्न ।

-धुलाबारी, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?