काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल सडक निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी काममा फर्किएको छ । सरकारले ठेक्का तोड्ने चेतावनी दिएपछि सडक विस्तारको काम ठप्प पारेर ‘बेपत्ता’ भएको निर्माण कम्पनी काममा फर्किएको हो । नारायणगढ-बुटवल सडक विस्तारको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पाेरेसन लिमिटेडले लिएको छ । चाइना स्टेट कन्स्ट्रक्सन चीनको सरकारी निर्माण कम्पनी हो ।
यसअघि मनसुन सुरु भएसँगै तीन महिना काम गर्न नसक्ने भन्दै निर्माण कम्पनी सम्पर्कविहीन भएको थियो । निर्माण कम्पनीले असार लागेदेखि नै सडक विस्तारको काम स्थगित गरेर खाल्डाखुल्डी पुर्ने र मनसुनका कारण अवरुद्ध हुने सडक खुलाउने काम मात्रै गर्दै आएको थियो । ठेकेदार कम्पनी बेपत्ता भएपछि सरकारले तत्काल काम सुरु नगरे ठेक्का तोड्ने चेतावनी दिएको थियो ।
मनसुनका कारण स्थगित भएको सडक कालोपत्र गर्ने काम मौसममा सुधार भएपछि पुनः सुरु गरेको नारायणगढ बुटवल सडक योजना पूर्वी खण्ड प्रमुख आशिष थापा मगरले जानकारी दिनुभयो । निर्माण कम्पनीलाई अब चाँडो काम सक्न निर्देशन दिएको सडक विभाग आयोजना निर्देशनालय (एडिबी) का निर्देशक इञ्जिनियर चुडाराज ढकालले जानकारी दिनुभयो । अहिले थपिएको म्याद नै अन्तिम भएको भन्दै अब पनि काम पूरा नगरे ठेक्का तोड्ने प्रक्रियामा जाने ढकालले बताउनुभयो ।
दुईपटक समय थप गर्दा पनि निर्माण सम्पन्न नभएको बुटवल-नारायणगढ सडकखण्डको सम्झौता गत साउनमा पुनः एक वर्ष थप गरिएको थियो । सरकारले अन्तिमपटक भन्दै एक वर्ष काम गर्ने समय थप गरिदिएको थियो । कम्पनीको म्याद तेस्रोपटक ८ साउनदेखि लागू हुनेगरी १० साउनमा एक वर्ष थप गरेको थियो ।
२०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्नेगरी २०७५ चैतमा सडक विस्तारको शिलान्यास गरिएको थियो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओेलीले २०७५ सालको चैतमा आफू प्रधानमन्त्री भएकै बखत बुटवल पुगेर राष्ट्रिय गौरव सडक निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो ।
दशैँ-तिहारमा यात्रा निकै कष्टकर हुने निश्चित
पानी पर्दा हिलो, घाम लाग्दा धुलो महिनौँदेखि यो सडकको पहिचान बनिरहेको छ । सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा यात्रा निकै कष्टकर हुने गरेको छ । सडक यही अवस्थामा रहे ठूलो चाड दशैँँ–तिहारमा पनि यात्रा निकै कष्टकर हुने निश्चित देखिएको छ । सरकारले पटक-पटक निर्माण कम्पनीलाई म्याद थपे पनि सडक यात्रु तथा सवारी चालकहरू कम्पनीको कार्यशैली र कामको गतिले आजित परेको बताउँछन् । निर्माणकै क्रममा वर्षा नलाग्दै चाइनिज कम्पनीले काम छाडेकोप्रति उनीहरू आक्रोशित भएका थिए । निर्माण कम्पनी काममा फर्किए पनि अझै समयमै काम सम्पन्न हुनेमा भने उनीहरू विश्वस्त छैनन् । यो सडकले रुपन्देही, नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट-सुस्तापूर्व) गरी तीन जिल्लालाई छुन्छ ।
सडकमा नेपालमै पहिलोपटक वन्यजन्तु वारपार गर्न ओभर पास निर्माण गर्ने योजना छ । सडक खण्डमा वन्यजन्तुको अत्यधिक आवतजावत हुने क्षेत्रमा ओभर पास निर्माण गर्ने तयारी गरिएको हो । सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका-१ मा पर्ने होङ्सी जङ्सनमा वन्यजन्तु क्रस गर्नेगरी ओभर पास निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको छ । नारायणगढ-बुटवल सडक योजनाको पूर्वी खण्डका विभिन्न आठ स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेका छन् । यो सडकको केही दक्षिणी क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको नजिकैबाट समानान्तर भएर अघि बढेको छ ।
साढे पाँच वर्षमा भौतिक प्रगति आधा मात्रै
निर्माण सकिनुपर्ने समयसमेत घर्किसक्दा आयोजनाको भौतिक प्रगति भने आधा मात्रै छ । यसअघि नै सकिसक्नुपर्ने आयोजनाले साढे पाँच वर्षमा आधा मात्रै काम सम्पन्न गरेको छ । सडकको भौतिक प्रगति पूर्वी खण्डमा ५२ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।
११३ किमी सडकमध्ये ७० किमी चार लेन, २९ किमी चार लेनसहित दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी तीन लेन, ६४ पुल, ४६२ कल्भर्टलगायत संरचना निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो । तर, आयोजनामा हालसम्म २६ दशमलव पाँच किमी चार लेन र २२ किमी दुई लेन सडक कालोपत्रे, ४२ पुल र ३८० कल्भर्ट निर्माण गरिएको छ ।
कम्पनीले ६ वर्षअघि अनुमानित लागतको २४ प्रतिशत कम रकममा सम्झौता गरेको थियो । बीचमा कोभिडलाई देखाएर काम हुन सकेन । रूख काट्ने विषयमा पनि लामो समय विवाद भएको थियो । अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति जम्मा ४२ प्रतिशत थियो । अहिले पूर्वी खण्डको भौतिक प्रगति ५२ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।
काम सक्नुपर्ने समयसम्म सडकखण्डको प्रगति जम्मा १८ प्रतिशत थियो । २०७९ असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिइएको थियो । ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । काममा प्रगति नभए पनि दोस्रोपटक २०८१ असार सम्मका लागि म्याद थप गरिएको थियो ।
बस्ती क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा विस्तार भइरहेको हो । लागतको ८५ प्रतिशत रकम एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी हो । एडिबीले १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्नेगरी ऋण उपलब्ध गराएको हो ।
रकम अभाव भएको भन्दै थप दुई अर्ब माग
चिनियाँ ठेकेदार कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालि’ले अतिरिक्त पैसा माग्दै नारायणगढ–बुटवल सडक खण्डको काम ठप्प पारेको थियो । थप दुई अर्ब रकम दाबी गर्दै काम ठप्प पारेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ । कम्पनीले आफूलाई सात अर्ब घाटा भइसकेको र थप काम गर्न आफूसँग पैसा नभएको बताउने गरेको मन्त्रालय स्रोतले जनाएको छ । अहिले भने कम्पनी काममा फर्किएको छ ।
निर्माण कम्पनीले गत वैशाखको अन्तिम सातादेखि नै रकम अभावको कारण देखाउँदै निर्माण रोकेको थियो । काम रोकेर ठेकेदार फरार भएपछि सडक विभागका आयोजना निर्देशक चुडाराज ढकाल गत अगष्ट ९ गते कम्पनीका उच्च अधिकारी भेट्न चीन जानुभएको थियो । उहाँले चीनमै पुगेर काम सुरु नगरे ठेक्का तोड्ने चेतावनी दिनुभएको थियो । पैसा नभएको भन्दै गत सात/आठ महिनादेखि निकै धिमा गतिमा काम भइरहेको थियो । सम्झौतामा ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच