लासहरू धमाधम जन्मिदै छन्
लासहरूको कुनै बन्ध्याकरण हुँदैन ।
लासहरू सडकभरि सडक जुलुस नारामा छन्
कसैले सिट्ठी बजाएर रोक्ने सामथ्र्य राख्दैन ।
सास भए पो मर्नुपर्छ
लास कहिल्यै मदैनन्
अमृतपान गरेका
अजरअमर छन् तिनीहरू ।
भूइँ छेड्ने गरी कम्पन छ लास खुट्टाहरूको
आकाश फुट्ला जस्तो छ
लास नाराहरूको आवाजले
आँखा तरेर हेर्ने साहस कसैमा छैन
लास अन्धकारमा विलुप्त छन्
उज्यालो छर्ने उज्याला किरणहरू ।
फूलमाला, अवीर जात्रा छ
लास विजयको ।
छरपष्ट छ दिग्दिगन्त ध्वनि ।
लास पाउ मोल्दैछ लासहरूको
कमारो लासलाई नियुक्ति गरिरहेको छ लास ।
यसरी नै बाँचिरहेको छ
मुर्दाहरूको शहर,
यसरी नै डिच्च हाँसिरहेको छ
मूर्दाहरूको गाउँ ।
रुने त जमिन मात्रै हो, जो बाँझै छ गरागरा
रुने त पहाड पर्वत मात्रै हो
जो परिरहेछ चिराचिरा ।
रिसले आगो ओकल्छ पानी
गडगडाएर बग्छ भेल
हाहाकारमा छोपिरहेछ समथल
लासहरूलाई बगे पनि के हुन्छ ?
पुरिएर पनि के हुन्छ ?
कुहे पनि के हुन्छ ?
खरानी भएर उडे पनि के हुन्छ ?
अँध्यारो उज्यालो समान भएपछि
लास क्रीडा अजर अमर हुने नै भयो
मर्नुपर्ने त जीवनले मात्रै त हो नि ?
बु.न.पा.१०, कपन
दाहालनिवास, नारायणचोक ।
चोटिलो कविता दाजु
koiralamin58@gmail.com