✍️ विमल भौकाजी
‘आइमाई भनेकै आगो हो, जसले दन्केर घरलाई न्यानो पार्न पनि सक्छे, घरलाई खरानी नै पार्न पनि बेर लाग्दैन ।...’ यति बलियो वाक्य प्रयोग गरेर लेखिएको कथाको शीर्षक हो ‘मोहभङ्ग’ । कथाकार हरिश कल्पितद्वारा लिखित यो कथासमेत १३ वटा शीर्षकका कथाहरू सङ्गृहीत पुस्तक ‘ग्याब्रियले’ नेपाली कथासाहित्यको भण्डारमा निकै बलियो सम्भावना बोकेर उपस्थित भएको छ । उपयुक्त मोहभङ्ग शीर्षकको कथा केवल लेखिने-पढिने खालको मात्रै नभई संयुक्त परिवारभित्रको एउटा व्यथा हो । हिजोको समयमा गुरुप्रसाद मैनालीले लेखेका यथार्थपरक कथामा पाइने रस यो कथामा पाइन्छ ।
कतिपय परिवारले आज पनि संयुक्त परिवारको प्रणालीलाई अनुसरण गरिरहेको पाइन्छ र तिनीहरू खुशी लिएर बाँचिरहेका छन् । तर, मानवीय प्रवृत्ति हो, परिवारसँग अलग्गिएर निजी परिवारमा बाँच्नेहरूचाहिँ सन्तुष्टिको जीवन बाँचिरहेका छैनन् । यो कदम अझ अगाडि बढेर केसम्म देखिन्छ भने अलग्गै बसेको ‘दाम्पत्य’ मा पनि विखण्डन आइरहेको छ । स्पष्टै देख्न सकिन्छ, ‘डिभोर्स’को प्रचलनले एउटा कलङ्कित परम्परा नै बनाइसकेको छ ।
यस्तै पारिवारिक विघटनको कथानकलाई उच्च प्राथमिकता दिएर लेख्न रुचाउने कथाकार हरिशले वास्तवमै यो सङ्ग्रहभित्रका कथाहरूमा काल्पनिक लागे पनि यथार्थपरकताको उद्घाटन गरेका छन् । पुस्तकको शीर्षक-कथा ‘ग्याब्रियाले’ मा त्यस्तै एउटा कथानक बुनिएको छ । यसमा एउटा प्रेमिल दाम्पत्य भिन्न-भिन्न दुई महादेशको सामाजिक-सांस्कृतिक असमानताका कारण छिन्नभिन्न भएको छ । कथा-भूमि जापानको छ, पात्र दुई छन्-बेलायत र जापानी स्त्री-पुरुषको । कथाकारको अन्तिम वाक्यले पाठकलाई भावशून्य बनाइरहन बाध्य बनाइदिन्छ– ‘अब त बानी परिसकेको छ । जापानको भुइँचालोको खासै डर लाग्दैन । खासै ठूलो रहेनछ । योभन्दा ठूलो त थोमसको दाम्पत्य जीवनमा आएको भुइँचालोले मलाई विस्मित बनाइरहृयो र टिभीमा एकनासले हेरिरहेँ । हेरिरहेँ ।’
लेखकको लेखन-क्षमताको कसी विधागत रूपमा अन्य विधाभन्दा कथा-लेखनमा नै बढी देखिन्छ । यस दृष्टिकोणले, हरिश कल्पित कथाकारका रूपमा निपुण देखिन्छन् । यहाँ दोहोर्याइरहनै परेन, मूलतः समाज स्थापित भएको धेरै प्रकारका विकृति-विसङ्गतिलाई बाना मिलाएर लेख्नु उनको विशेषता हो ।
अभिव्यक्ति र कला-शैलीको हिसाबले कथा–लेखनमा खोट लगाउनुपर्ने ठाउँ देखिन्न । यद्यपि, कथानक आकर्षक हुँदाहुँदै पनि विषय-प्रस्तुतिमा भएका केही कमजोरीका कारण कथालाई केही फितलो बनाएको देखिन्छ । उदाहरणको लागि-‘बिहे’ शीर्षकको कथा पढ्दै जाँदा पाठकहरू रनभुल्लमा पर्छन् । कुन विगत हो, कुन वर्तमान हो, साङ्केतिक रूपमा सम्म फरक देखिने किसिमले नछुट्ट्याइएर यहाँ लेखककोे आलस्यता देखापरेको छ, कथामा पूर्वस्मृतिहरूलाई वर्तमानसँग जोड्दा ‘कन्फ्युज्ड’ हुने किसिमको अवस्था देखापर्छ । यसको अलावा खास गरेर कथाका पात्रहरूको नाम दिँदा पाठकहरू झुक्किने गरेर प्रगोग गर्नु राम्रो होइन । यो कथामा पाठकहरू बारम्बार झुक्किने सम्भावना छ ।
‘पुष्पलता’ शीर्षकको कथामा पनि विषय-प्रस्तुतिको समस्या छ । लेखकले यसमा ध्यान दिन जरुरी छ । तथापि, कथावस्तुको मुख्यपात्र अनुरागमाथि देखाइएको ‘ब्लडक्यान्सर’को नाटकीयताले कथालाई रोमाञ्चक बनाएको छ । त्यसो त, ‘बिहे’मा सहायक तर महत्वपूर्ण पात्रसँग लेखकले जोडिदिएको ‘एड्स’-पार्टले कथालाई नाटकीय नै भए पनि यथार्थको अनुभूति दिलाउँछ । लेखक हरिश स्वयम् अभिनय-कलामा चाख राख्ने भएकाले पनि सिनेमामा पाइने पूर्वस्मृतिका दृश्यहरू एवम् अनेक प्रकारका आकस्मिकताका परिकल्पनालाई उनले यी कथाहरूमा प्रयोग गर्नु स्वाभाविक मान्न सकिन्छ ।
‘मोहजाल’ अर्को घरायसी कथा हो । वर्तमानमा हाम्रो समाजमा जकडिएर रहेको विदेश–मोहबाट उत्पन्न पारिवारिक समस्याको तस्वीर यो कथामा छर्लङ्ग देखिन्छ । जन्मनुअघि नै आफ्ना सन्तानलाई विदेश पठाएपछि ठूलो मान्छे बनाउन सकिन्छ भन्ने मान्यताको सपना देख्ने मुख्य पात्र छन्-ईशान । उनीमार्फत आजका नेपाली अभिभावकको वास्तविकतालाई कथामा बडो मार्मिक तरिकाले प्रस्तुत गरिएको छ । वास्तवमा समाजमा देखिएको समस्याको समाधानका लागि लेखकले विशेष शब्द/वाक्यहरू लेखिरहन जरुरत नै पर्दैन । समस्यालाई बुझिने गरेर स्पष्टसँग प्रस्तुत गरिदिने हो भने त्यसैबाट सन्देश पाउन सकिन्छ । यो तथ्यको पुष्टि हरिशका यी प्रत्येक कथाहरूले गरेका छन् ।
‘मेरी प्यारी छोरी’मा आजको समाजको अभिभावकको मनोविश्लेषण गरिएको छ । विकृतिको रूपमा फस्टाउँदै गएको-गर्भमा यदि छोरी छ भने त्यसलाई ‘एबोर्सन’ गर्ने कुकृत्यमाथि यहाँ रोमाञ्चककथा बुनिएको छ । एबोर्सन गर्नलाई पैसा खोजिरहेको अवस्थामा कथाका आमा-पात्र उष्माको कल्पनामा जन्मिएकी छोरी बोल्छिन्- ‘मलाई चिन्नु भो, म तपाईंकी छोरी । मेरो हत्या गर्न आउनुभएको होइन ?’ ‘बधाई छ देवयानी’ कथा आजको ठिट्यौले प्रेमको कथा हो । कथाको शुरूवातमा अङ्कित शब्दरू ‘प्रेमप्राप्तिमा मात्र होइन त्यागमा पनि हुन्छ भन्थे’ भन्ने तथ्यलाई कथाको अन्त्यमा देवयानीको आर्यनसँग हुन लागेको बिहेका लागि राजनले गरेको त्यागले पुष्टि गरेको छ ।
सङ्ग्रहका अन्य कथाहरू ‘अनिमा’, ‘भ्रमजाल’लगायतका सबैले नै संवेदनशील पाठकका हृदयमा हलचल नमच्चाईकन रहन सक्दैन । एउटामात्रै अलिक फरक परिवेशको कथा छ, अन्तिमको-‘एडमको प्रेम’ । तेस्रो लिङ्गीलाई पात्र बनाएर लेखिएको यो पश्चिमी सभ्यताको समस्यामूलक विषयवस्तुलाई कथामा ढालिएको छ । कथा लेख्नु स्वयम्मा लेखकीय कौशल प्रदर्शन गर्नु हो । लेखकको लेखन-क्षमताको कसी विधागत रूपमा अन्य विधाभन्दा कथा-लेखनमा नै बढी देखिन्छ । यस दृष्टिकोणले, हरिश कल्पित कथाकारका रूपमा निपुण देखिन्छन् । यहाँ दोहोर्याइरहनै परेन, मूलतः समाज स्थापित भएको धेरै प्रकारका विकृति-विसङ्गतिलाई बाना मिलाएर लेख्नु उनको विशेषता हो ।
अन्त्यमा, सुन्दर-आकर्षक तवरले लेखिएका ‘ग्याब्रियले’ सङ्ग्रहभित्रका कथाहरूलाई पाठकहरूले सम्भवतः गहन रूपले अध्ययन नगरेका कारण यी कथाहरूमाथि विशेष चर्चा-परिचर्चा भएको खासै सुनिएको÷लेखिएको पाइन्न । यो भनाइको एउटै तात्पर्य यो हो कि, आजका पाठकहरू ‘असली माल’बाट वञ्चित रहेर हल्लाको भरमा माथि पु¥याइएका कथित साहित्य पढ्नबाट मुक्त हुन जरुरी छ ।
गजब प्रतिकृया