
गत बुधबारबाट क्रमशः
निद्रा खुलेको निकै बेरसम्म पनि आँखा खोल्न मन लागिरहेको छैन निरूलाई आज । शरीर आलस्यले भरिएको छ । सोच्दछिन्-यो घरधन्दाबाट एक दिनमात्र पनि छुट्टी पाएर कतै घुमफिर गर्न र विश्राम गर्न पाए पनि कति आनन्द हुन्थ्यो होला ! तर के गर्नु, बिहान उठेदेखि राति नसुतेसम्म क्षणभर सुस्ताउने मौकासम्म पनि मिल्दैन ।
कोल्टे फर्किएर आफूसँग आफैँ दोहोरो वार्तालाप गर्दै गरेकी उनले उत्तानु परेर आफ्ना दुवै खुट्टा तनक्क तन्काइन् । एकाएक देब्रे घुँडा च्वास्स गरेर चस्कियो । घुँडाको चस्काइले उनको टाउको रिंगाउन थाल्यो । उठेर बस्न गाह्रो होला जस्तो भयो ।
आँखा खोलेर छेवैको दृश्य हेर्न थालिन् । पलङ्गछेउको स्टुलमाथि बाइ-फोकल चश्मा । निधारमा छरपस्ट छरिएको तिलचामले कपाल । रातो-पीरो अनुहार, लामो तीखो नाक, पुष्ट शरीर, झट्ट हेर्दा विवाह हुँदाको बेलाजस्तै अझै पनि स्वस्थ देखिन्छन् गाला मुनि हात राखेर चैनको निद्रामा मस्त निदाएका धनीराम ।
उड्दै गरेको निरूको मन अनायास आफ्नो विवाहपूर्व पुगेर अडियो । प्राविधिक शिक्षामा स्नातक गरेका धनीराम सरकारी अड्डामा अधिकृत थिए । संयुक्त परिवार भएका धनीरामको त्यो बेला पनि कुनै विशेष आर्थिक स्थिति भने थिएन । तर पनि, आफ्नी छोरी-बहिनीको वैवाहिक सम्बन्ध जोड्न चाहने संभ्रान्त परिवारका अभिभावकको एउटा लामो लर्को उनको अघिपछि लागेको हुन्थ्यो । त्यो वैवाहिक दौडमा धनीरामसंँग सम्बन्ध जोड्न सफल भएकोमा प्रशन्न भएका आफ्ना बुबाले एक दिन भनेको कुरा सम्झिइन् निरूले-‘भनेजस्तो श्रीमान् पाएकी छ्यौ छोरी ! हेरिराख, ठूलो मानिस बन्नेछन् ज्वाइँ एक दिन ।’
स्त्रीको मनको कुनै गुप्त कुरा हठपूर्वक भन्न लगाउनु दुष्कर हुन्छ । संसारमा सबभन्दा गहिरो र कहिल्यै कसैलाई थाहा नहुने यदि कुनै कुरा छ भने त्यो हो स्त्रीको मन । उसको मनको रहस्य उजागर गर्ने एउटामात्र उपाय हो, त्यो रहस्यप्रति कुनै चासो नभएजस्तो गर्नु । यसो गर्दा जुन कुरा जान्न र सुन्न चाहेको हुन्छ त्यो कुरा स्वतस्फूर्त रूपमा उसकै मुखबाट बाहिर निस्किन्छ । कहिलेकाहीँ त मूल घटनामा नुन, तेल र मसलामा मोलेर ।
छेउको पलङ्गमा सुतेको बुबाले भनेको त्यो ठूलो मानिस, उनको पति जसले आफ्नो जीवन अरूप्रति समर्पित ग¥यो, उसले अरूबाट के पायो ? तर पनि कसैप्रति कुनै गुनासो छैन । आज आएर न यौवनको जोश र जाँगर बाँकी छ न त पर्याप्त साधन र सम्पन्नता नै । चाहेको भए साधन सम्पन्न जिन्दगी हुने थियो होला ! तर, आफ्नो आदर्श र कर्तव्यबाट टस्को मस् नहुने ऊसँग बत्तीस वर्षे जागिर अवधिमा कमाएको अनुभवको टिठलाग्दो भारीबाहेक केही पनि छैन । त्यति हुँदाहुँदै पनि कुनै कुराको मतलब छैन । जवानीमा जसरी उर्लिएर आउने उही अल्लारे हाँसोको फोहोरा, उस्तै ख्यालठट्टा, संसारभरीको सुखको सबै खजाना आफैँसँंग भए जसरी यो उमेरमा पनि कसरी यति आनन्दित भएर चैनको निद्रा सुतेको छ ! जबसम्म तातो चियाको कप हातमा पर्दैन, त्यो बेलासम्म उठनेवाला पनि छैन । सुतिनै रहनेछ । छोरी, बुहारी आठ नबजी उठ्ने होइनन् क्यारे ! काम गर्ने केटाको कुनै भर छैन । कसले दिन्छ चिया पकाएर ? नसकि, नसकि बिस्तारै उठेकी निरू ढिकीच्याउँ...ढिकीच्याउँ गर्दै खुट्टा खोच्याउँदै बाथरूमतिर लागिन ।
केही बेरपश्चात् पलङ्गको छेउमा आएर उभिएकी निरूले झकझक्याएर उठाउँदै चियाको कप हातमा दिँदा प्रसन्न भएका धनीरामले लामो हाई.. काड्दै ‘आहा ! आफ्नो घरमा पुगेर सुत्नुको आनन्दको कुरै अर्कै ! हेर त निरू कस्तो मीठो निद्रा लागेछ, रातभरिमा एकपटक पनि ब्युँझिनु परेन’ भन्दै चियाको चुस्की लिन सुरु गरे ।
यतिका वर्षपछि परिवारजनसँग बस्ने सुअवसर प्राप्त भएकोमा रमाएका धनीरामको खुशी छचल्कि रहेको थियो । मनै मनमा दङ्गदास परेर जीवन यापन गरिरहेका उनलाई दिन कसरी बिताउने भन्ने समस्या थिएन । दिउँसो घरका सानातिना काममा व्यस्त हुनुको अलावा बाँकी बाँचेको समय परिवारसँगको गफगाफ र किताब अध्ययन गर्नमा बित्ने गथ्र्यो ।
यसरी आनन्द पूर्वक दिन व्यतीत गरिरहेका धनीरामलाई महिना दिन पनि नबित्दै आफ्नो घर एकाएक रहस्यमय लाग्न थाल्यो । अफिसबाट फर्किएर आएको अजय कोठामा पसेर ल्यापटप खोलेपछि खाने बेलामा मात्र बाहिर निस्किन्थ्यो । बसन्ती र मोनिका आ-आफ्ना मोबाइल फोनमा मुन्टो घुसारौंलाजस्तो गरी यसरी मग्न भएर बसेका हुन्थे कि लाग्थ्यो घर-व्यवहारमा गर्नुपर्ने नामको कुनै काम बाँकी छैन । मोबाइल फोनबाट फुर्सद भए टिभी स्क्रिनमा झुन्डिन पुगेका हुन्थे । कोही कसैसँग बोल्दैनथ्यो । यस्तो लाग्थ्यो जस्तो कि सबैले मौन ब्रत धारण गरेका होउन् ।
सम्वादहीनताको त्यो परिवेशमा घरमा निरूको एकोहोरो बोलीमात्र सुनिन्थ्यो । काम गर्ने केटालाई यो गर त्यो नगर भनेर अह्राउने जिम्मेवारी निरूको । भान्सामा पसेर तरकारी काट्ने काम निरूको । सकी नसकी बिहान बेलुकीको खाना बनाउने कामको जिम्मा निरूको । चिया खाजा बनाएर छोरी र बुहारीको कोठा-कोठामा पुर्याउने कामसम्म पनि निरूको । घरको चालामाला देख्दा धैर्यको बाँध फुटेका धनीरामले एकदिन वसन्तीलाई बोलाए ।
मोबाइलमा कसैसँग च्याट गर्दै कोठाबाट निस्किएकी वसन्ती बाबुको अगाडि गएर उभिई । धनीरामले आफूलाई सम्यमित बनाउँदै प्रेमपूर्वक भने ‘आजबाट बेलुकाको खाना तिमीले बनाउनु है छोरी । बिहानको खाना भाउजूले बनाउँछिन् ।’
बाबुको कुरा सुनेकी बसन्तीले भनी, ‘बुबा मैले पढ्नु पनि त पर्छ !’ ‘बिहान चाँडो उठेर पढ्नु छोरी । आमा बुढी भइन् । घर–धन्दाको काम गर्न सक्दिनन् उनी अब । हेर त, उनको स्वास्थ स्थिति कस्तो भइसक्यो ? अब उप्रान्त घरभित्रको सबै काम तिमीहरू नन्द–भाउजुले मिलेर गर्नु ।’
अँध्यारो अनुहार पार्दै वसन्ती गएपछि धनीरामको छेउमा उभिएकी निरूले भनिन्, ‘पढ्ने त बहानामात्रै हो यसको । पल्लो घरका ठिटीहरूसँग साँझ-बिहान हा..हा..ही..ही..कसले गरिदेओस र यसलाई फुर्सद हुनु !’
बेलुकाको खाना वसन्तीले यसरी बनाई कि धनीरामलाई गाँस निल्न पनि गाह्रो प¥यो । छोरीले खाना बनाउन जानेकी रहिनछ भन्ने ठानेका धनीराम केही नबोली जे जति रुच्यो खाएर उठे । तर, थाल पन्साएर उठेको अजयले भन्यो, ‘म यस्तो खाना खान सक्दिन ।’
मोबाइल फोन निचोर्दै बसेकी बसन्तीले आँखा तर्दै भनी, ‘नखाए नखाउ, कसले खुसामद गर्छ र !’
‘मन नलागि-नलागि तँलाई कसले खाना बनाउनु भन्यो ?’ अजयले सोध्यो ।
‘बुबाले ।’
बाबुपट्टि फर्किएको अजयले ‘बुबालाई थाहा छैन होला ! यसलाई काम गर्न मन लागेन भने जहिल्यै यस्तै गर्छे’ भन्दै डाईनिंग टेबलबाट उठ्यो ।
छोराको कुरा सुनेर डाइनिंग–हलमा पसेकी निरूले भनिन्, ‘खाली पेट कता जान्छस् ! बहिनीले बनाएको खाना मीठो लागेन भने म बनाइदिन्छु !’ बसन्तीलाई ‘खै छोड्’ भन्दै भान्सामा पसेकी निरूले पुनः खाना बनाएर ख्वाइन ।
चुपचाप त्यो तमासा हेरेका धनीरामले सुत्ने बेलामा श्रीमतीसँग भने, ‘यत्ती ठूली भइसकेकी छोरीलाई खाना बनाउन पनि आउँदैन ?’
‘किन नआउनु, सब कुरा आउँछ । नाटक गर्न कम सिपालु छ त्यो ! मन नलागेको दिन भान्सामा पसी भने अनेक कुरा सोधेर हैरान पार्छे । एक जना सहायक उसको छेउमा उभिइरहनुपर्छ । दाल झान्नु पर्यो भने घ्यू कति हाल्ने ? घ्यू तात्यो कि तातेन । लसुनले झान्ने कि जिराले ? लसुन कति राख्ने ? जिरा कति हाल्ने । तरकारीमा नुन कति चम्चा ? बेसार कति हाल्ने ? के के कुराको मात्र जवाफ दिएर सक्नु ! त्यसैले उसलाई अह्राउँ नै छोडिदिएँ, आफैँ पकाउँछु । आज केही पनि नसोधी खाना बनाएकी थिई, राम्रै पकाउली भनेको त बर्बाद गरिछ । नमीठो पकाएर ख्वायो भने अर्को पटकदेखि पकाउनु पर्दैन भनेर नाटक गरेकी हो त्यसले !’
अर्को दिन साँझमा श्रीमतीलाई भान्सामा पसेको देखेका धनीरामले मोबाइल निचोर्दै घरबाहिर निस्किन लागेकी बसन्तीलाई भने ‘खाना बनाउन छोडेर यो साँझ पर्ने बेलामा कहाँ जान लागेकी छोरी ?’
‘पल्लो घर शिलाकोमा होमवर्क गर्न ?’
‘पर्दैन जानु । भान्सामा गएर आमालाई सघाउ !’ भन्दा भुइँमा खुट्टा बजार्दै कोठाभित्र पसेर ढोका बन्द गरी ।
केही बेरपछि आएकी निरूले भनिन्, ‘के भन्दिनु भयो बसन्तीलाई ? सिरकले मुख छोपेर सुतेकी छ ।’
छोरीको व्यवहारले खिन्न भई टोलाएर बसेका धनीरामले कुनै जवाफ दिएनन् ।
त्यो दिनदेखि बसन्ती बाबुको अगाडि पर्न छोडी ।
घरको प्रेमपूर्ण वातावरणमा जिन्दगीका बाँकी दिन चैनसंग बिताउने सोच राख्ने धनीरामलाई घरको व्यवस्था देख्दा पहिलो गाँसमा नै ढुङ्गा लागेजस्तो भयो ।
तत्काल आफूले आफूलाई सम्झाउदै भने, ‘अधिकांश समय आमाको लाड-प्यारमा बिताएका छोराछोरी यस्तै हुन्छन् । अब म आएँ, क्रमसः अनुशासित हुँदै जानेछन् ...।’
चरा उडे जसरी समय उड्दै गयो । धनीराम घर फर्किएर आएको पनि छ महिना बित्यो । तर, लागेको बानी कसले छोड्ने । न छोरीको स्वभावमा कुनै परिवर्तन देखियो न त बुहारीको आनीबानी नै सुध्रियो ।
छ महिना बित्दा नबित्दै निरूको व्यवहारमा क्रमसः देखिन थालेको परिवर्तनले धनीरामलाई उकुसमुकुस हुन थाल्यो । निरू कुनै कुरा भन्न चाहन्छिन् भन्ने आभाष हुन्थ्यो धनीरामलाई तर उनले प्रस्टरूपमा केही भनिरहेकी थीइनन् ।
धनीरामको मनको एक हिस्साले त हठपूर्वक सोध्ने प्रयास पनि गर्यो । तर, मनको अर्को हिस्साले भन्यो, स्त्रीको मनको कुनै गुप्त कुरा हठपूर्वक भन्न लगाउनु दुष्कर हुन्छ । संसारमा सबभन्दा गहिरो र कहिल्यै कसैलाई थाहा नहुने यदि कुनै कुरा छ भने त्यो हो स्त्रीको मन । उसको मनको रहस्य उजागर गर्ने एउटामात्र उपाय हो, त्यो रहस्यप्रति कुनै चासो नभएजस्तो गर्नु । यसो गर्दा जुन कुरा जान्न र सुन्न चाहेको हुन्छ त्यो कुरा स्वतस्फूर्त रूपमा उसकै मुखबाट बाहिर निस्किन्छ । कहिलेकाहीँ त मूल घटनामा नुन, तेल र मसलामा मोलेर ।
अरु केही दिन उकुसमुकुसमा नै बिते । एक रात सुत्नका लागि धनीराम कोठामा पस्दा मलिन अनुहार पारेर पलंगमा बसेकी निरू सोचमग्न मुद्रामा थिईन् । दुई हत्केलाको बीचमा चिउँडो अड्याएकी उनका दुवै कुहिना घुंडामा टिकेका थिए । उनका निस्तेज आँखा उदास थिए ।
धनीरामले सोधे, ‘के भयो ?’
‘केही होइन !’ भन्दै यथास्थितिमा बसिरहिन् निरू ।
केही बेरपश्चात् सुत्न लागेका धनीरामले पत्नीलाई भने, ‘पहिलेजस्तो कमाई छैन निरू । अब आउने भनेको पुख्र्यौली खेतको केही आयस्ता र मासिक पेन्सन मात्र हो । घरखर्चमा केही कटौती गर्नुपर्छ कि !’
आक्रोस् पोख्ने उचित अवसर पर्खेर बसेकी श्रीमतीले उत्तेजित हुँदै भनिन्, ‘सबै खर्च ठीक छ । यही जोडजाममा जिन्दगी बित्यो । भन्नुस् कसको पेट काटौं ? तपाईं सरहका अरूहरूलाई हेर्नुभएको छ ? कस्तो सानसँग बसेका छन् । महलजस्ता घर ठड्याएका छन् । आँगनमा गाडी उभिएका छन् । छोराछोरीलाई पढ्नका लागी अमेरिका र जापान पठाएका छन् । तपाईंलाई भने, आफ्नो भविष्यको ख्याल नगरी ‘आफूले आकाश थामेको भ्रम पाल्ने हुटिट्याउँ’ जसरी बाबुआमा, दाजुभाइ, दिदीबहिनीको दैनिकी चलाउँन र उनीहरूका छोराछोरीको भविष्य सुरक्षित गर्नबाट फुर्सद भएन । आज आएर पेन्सन र छोराको कमाइमा सीमित हुनुपरेकाछ आफूले । न त कुनै दिन धक फुकाएर खर्च गर्न पाइयो न त कतै घुमफिर र रामरहुस गर्न नै पाइयो ! साँझ-बिहानको जोहो गर्दैमा जिन्दगी त्यत्तिकै खेर गयो ।’
‘सबै खर्च ठीक छ । यही जोडजाममा जिन्दगी बित्यो । भन्नुस् कसको पेट काटौं ? तपाईं सरहका अरूहरूलाई हेर्नुभएको छ ? कस्तो सानसँग बसेका छन् । महलजस्ता घर ठड्याएका छन् । आँगनमा गाडी उभिएका छन् । छोराछोरीलाई पढ्नका लागि अमेरिका र जापान पठाएका छन् । तपाईंलाई भने, आफ्नो भविष्यको ख्याल नगरी ‘आफूले आकाश थामेको भ्रम पाल्ने हुटिट्याउँ’ जसरी बाबुआमा, दाजुभाइ, दिदीबहिनीको दैनिकी चलाउँन र उनीहरूका छोराछोरीको भविष्य सुरक्षित गर्नबाट फुर्सद भएन । आज आएर पेन्सन र छोराको कमाईमा सीमित हुनुपरेको छ आफूले । न त कुनै दिन धक फुकाएर खर्च गर्न पाइयो न त कतै घुमफिर र रामरहुस गर्न नै पाइयो ! साँझ-बिहानको जोहो गर्दैमा जिन्दगी त्यत्तिकै खेर गयो ।’
पत्नीको कुरा सुनेर स्तब्ध भए धनीराम । उनले बिस्तारै भने, ‘तिमीलाई के कुराको कमी छ र निरू ? घरमा छोराछोरी छन् । बुहारी छन् । बस्नलाई व्यवस्थित बास छ । खानलाई गाँसको कमी पनि छैन । अरुले हात्ती चडे भनेर आफू धुरीमा चड्न जानु हुँदैन त ! आफूसँग जे जति छ त्यसैमा शन्तोष गर्नु पर्छ ।’
धनीरामको कुरा सुनेर झन् उत्तेजित भएकी निरूले आफ्नो तिक्तता पोख्दै भनिन्, ‘अर्काको बाच्छो चाटी मुखभरी रौँ’ भन्छन् ! तपाईंले त्यही गर्नुभयो । पहिले आफ्नु व्यवस्था गर्नुपर्छ अनिमात्र अरूलाई हेर्ने हो भनेर कति पटक सम्झाएँ । सुनेको भए पो ! मैले भनेको कुरा मानेको भए अहिले यो हालत हुन्थ्यो ? जागिरको अवधिभरी कमाएको सम्पति खर्चिएर परिबारका सबैलाई हुर्काउनुभयो, पढाउनु भयो, सबैलाई गरिखाने बनाउनुभयो । अहिले ठुल्ठूला घर बनाएर बसेका छन् उनीहरू । छोराछोरीलाई उच्चशिक्षाको लागि विदेश पठाएका छन् । अब आएर, दशैंको टिका थाप्ने दिनबाहेक कुनै दिन तपाईंको हालखबर सोध्ने फुर्सदसम्म पनि छैन उनीहरूलाई । यस्ता बैगुनी परिवार त हुनुभन्दा नहुनु बेस् ! भन्नुस् त, के पाउनुभयो तपाईंले ?’
धनीरामले शान्त स्वरमा भने, ‘हेर निरू, मैले उनीहरूलाई ऋण लगानी गरेको होइन । न त कुनै दिन प्रतिफलको आश नै गरें । मैले जे जति गरें आफ्नो कर्तव्यको निर्वहन मात्र गरेको हुँ । परिवारमा भोको-नांगो र अशिक्षित कोही नरहोस् भन्ने चाहना हो मेरो । आज आएर उनीहरू साधन सम्पन्न भए भन्ने कुरा सुन्न र देख्न पाउनु नै सबभन्दा ठूलो खुशीको कुरा हो । हालखबर सोध्ने नसोध्ने, भेट्न आउने नआउने भन्ने कुरा उनीहरूको अनुकुलता र स्वविवेकमा निर्भर रहने कुरा हो । तिमीलाई थाहा छ ? उनीहरूलाई सुखी र सम्पन्न भएको देख्न पाउँदा मेरो छाती गर्वले कति चौडा भएको हुन्छ भन्ने कुरा ? त्यसबाट मलाई जुन सुख शान्ति र आनन्द प्राप्त हुन्छ त्यो कुराको अन्दाज गर्नसम्म पनि सक्दिनौ तिमी !’
‘भयो भयो अतिभयो ! ती कुरा मलाई सुनाउनु पर्दैन । त्यस्ता भावुक लाग्ने वाहियात कुरा गरेर यो निरूलाई बहकाउन सक्नु हुन्न तपार्इंले । तपाईंलाई पो आफूले गरेको काममा गौरव लाग्ला ! तपाईं रमाए जसरी म त्यो फोस्रो सुखमा रमाउँन सक्दिन । मलाई त हात खोलेर खर्च गर्ने साधन र सम्पन्नता चाहिन्छ !’ भन्दै गर्दन फुलाएर सुत्ने तरखरमा लागिन् ।
श्रीमतीलाई हेर्दै गरेका धनीरामले सोचे, के यही थिईन उनकी पत्नी जसको कोमल हातको स्पर्श र उनको मुस्कानको सम्झनामा जीवन बिताए ? उनलाई लाग्यो आफ्नी सुन्दर पत्नी जीवनको गोरेटोमा कतै हराई सकेकी छन् । छोराछोरी, दाल, चामल र घ्यू, चिनीको डिब्बामा सिमित, प्रत्येक कुरामा केवल गुनासो मात्र गर्ने आफ्नु छेउमा सुतेकी स्त्री कुनै नितान्त अपरिचिता हुन् । उनी न निरूलाई चिन्दछन् न निरूले उनलाई चिन्दछिन् । उनलाई एकाएक लाग्न थाल्यो, आफू धनोपार्जनको एउटा साधनबाहेक केही पनि होइन । यस्तै कुरा सोच्दा–सोच्दै मन खिन्न भएका धनीराम त्यत्तिकै निदाए ।
अर्को दिन बिहान ब्युँझीदासम्म पनि राति खिन्न भएको धनीरामको मन शान्त हुन सकेको थिएन । उनलाई ओछ्यानबाट उठ्न मन लागेन । उदासी र एक्लोपनले घेरिएका उनी निकै बेरसम्म ओच्छ्यानमा नै छट्पटाई रहे । नचाहँदा नचाहँदै पनि आफ्नो प्रवाहमा बगाउँदै लिएर जाने कस्तो शक्तिशाली हुन्छ मानिसको अतीत । त्यस्तैमा उनले व्यतीत भएको आफ्नो जागिरे जीवन सम्झिए । विगतको स्मृतिका भेल अनेक धारामा बग्न थाले । के-के मात्र घटित भएनन् यो बत्तीस बर्षमा ! हिजोको त्यो जीवन अब आएर हराएको निधिजस्तो लाग्यो । जीन्दगीमा चाहेको कुरा नपाएको अनुभूति भएका धनीरामलाई अनायास आफूलाई जिन्दगीले ठगेजस्तो लाग्न थाल्यो ।
ओछ्यानमा छट्पट गर्दै गरेका उनले भान्साबाट निस्किँदै गरेका विभिन्न स्वरलाई सुनिरहे । सासु बुहारीबीचको बिबाद, आमा छोरीबीचको किच–किच अनि भाँडाको खटपट । अचानक उनलाई लाग्यो, अब घरको कुनै पनि काम कुरामा हस्तक्षेप गर्दिन ।
त्यो दिनदेखि केही बोलेनन् धनीराम । श्रीमती र छोरीले रुपैयाँ माग्दा कारण नसोधी निकालेर दिए । राति अबेरसम्म अर्काको घरमा बसेर फर्किएकी छोरीलाई पनि केही भनेनन् । धनीराममा आएको यो परिवर्तनलाई उपेक्षा गर्दै केही नबुझे जसरी, के भयो भन्नेसम्म पनि नसोधी बाहिरभित्र गर्ने श्रीमतीलाई देख्दा उनी छक्क पर्नेगर्थे । अवकाश पाएर घर फर्किएका धनीरामको एक वर्ष यस्तैमा बित्यो ।
एक दिन निरूले भनिन्, ‘बच्चाबच्ची ठूला भइसके । छोरो आफ्नो कमाई गर्दैछ । छोरीको विवाह गरेर पठाउने बेला भइसकेको छ । सबैजना बुझ्ने उमेरका भइसकेका छन् । खासगरी बुहारीलाई यो भएन, त्यो भएन, यस्तो गर, त्यस्तो नगर केही नभन्नुस् । कसैको कुरा पनि नकाट्नुस् । बीचमा नबोल्नुस् पनि ।’
आहत दृष्टिले पत्नीलाई हेरेका धनीरामलाई अग्लो डाँडाबाट कसैले गहिरो खोल्सामा हुत्याईदिएको भान भयो । उनले अनुभव गरे कि पत्नी र बच्चाबच्चीका लागि अब उनी असैहृय हुँदै जाँदैछन् । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच