काठमाडौं । अंगदान गरिएको साहसपूर्ण, भावुक, मानवतावादी कथावस्तुमा आधारित शान्ता उपन्यासमाथि रिलायन्स पब्लिक एजुकेशन नेटवर्कअन्तर्गतको रिलायन्स पब्लिक हाइस्कुल कपनका विद्यार्थीहरूले सूक्ष्म समीक्षात्मक कार्यक्रम सम्पन्न गरेका छन् । कक्षा नौ र दशका छात्रछात्राहरूले शान्ता उपन्यासको मनोवैज्ञानिक पक्षको जटिलतालाई राम्ररी चिरफार गरेका थिए ।
शान्ता उपन्यासमा अंगदान गर्दाको आत्मविश्वास, पारिवारिक, सामाजिक मनोविज्ञान, अंग लिने-दिनेको मनोविज्ञान र सामना गर्नुपर्ने चुनौती तथा समस्याहरूको प्रस्तुति अत्यन्त सरलशैलीमा रहेको निष्कर्ष सहभागी विद्यार्थीहरूको रहेको छ । समीक्षा प्रस्तुत गर्नेहरूमा अनूपराज सेंजुवाल, दृष्टि भण्डारी, वर्षा कडायत र हेलिना खड्का हुनुहुन्थ्यो । उहाँहरूले शान्ता उपन्यासको नेपाली संस्करण र अंग्रेजी संस्करण दुवैको समीक्षा गर्नुभएको थियो ।
प्रतिभाशाली विद्यार्थी जेसिका भण्डारीको सञ्चालन र मन्तव्यमा समेत शान्ता उपन्यासका विशेषताहरूको विवेचना गरिएको थियो । विद्यालयका प्रिन्सिपल वसन्त लामिछानेले विद्यार्थीहरूलाई पठन संस्कृति के हो भनेर पठनपाठनमा पुस्तकको महत्व बुझाउन महिनाको एकपटक विभिन्न पुस्तकहरू पढ्न लगाउने र समीक्षा गर्न आरम्भ गरिएको बताउनु हुँदै यो क्रम विगत केही वर्षयता निरन्तर रहेको जानकारी दिनुभएको थियो ।
सो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो शान्ता उपन्यासका लेखक तथा हिमालय टाइम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहाल । दाहालले उपन्यासको पृष्टभूमि, त्यसभित्रका पात्रहरू र प्रवृत्तिका विषयमा संक्षेपमा चर्चा गर्दै रिलायन्स एजुकेशन नेटवर्कअन्तर्गतका विद्यालयहरूले आफूलाई लेखनमा उत्प्रेरणा दिने गरेकोमा आभार प्रकट गर्नुभएको थियो ।
सभापतिको आशनबाट बोल्दै वरिष्ट चार्टर एकाउन्टेन्ट तथा बोर्ड डाइरेक्टर राजुकुमार शिवाकोटीले शान्ता उपन्यासले सेवा र मानवतालाई शीर्षमा राखेको हुनाले यसबाट विद्यार्थीहरूलाई सेवाप्रति समर्पित हुन प्रेरित गर्ने विचार प्रकट गर्नुभएको थियो । कार्यक्रममा कलेजो दान गरी अर्काको जीवन बचाउने पहिलो नेपाली महिला तथा उपन्यासकी मूल नायिका शान्तालाई विद्यालयका तर्फबाट सम्मानसमेत गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच