काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हतियार बिसाउन लगाउन आफूहरूले जानेको जवाफ दिनुभएको छ । प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै माटामुनि लुकाइएका खिया लागेका हतियारले अब काम नगर्ने चेतावनीसमेत दिनुभयो । शनिबार काठमाडौंमा माओवादी केन्द्रले सरकारविरुद्ध आयोजना गरेको खबरदारी सभामा पूर्व-प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हतियार बिसाए पनि आफूहरूले चलाउन नबिर्सेको भन्दै सरकारलाई चेतावनी दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्तिको आइतबार जवाफ फर्काउनुभएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिजो एकजना उफ्रीउफ्री भाषण गर्दै थिए, हिजो मात्रै देखेको थिएँ, हतियार बिसाएको मात्रै हो, चलाउन बिर्सिएको छैन । त्यस्तै त्यस्तै त हामी हुनुभएन नि, धम्क्याएका भरमा खाने ? माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको छ । म त त्यसलाई फेरि... हतियार कसरी बिसाउन लगाउने हामीलाई थाहा छ पनि नभनौँ । हामी चलाउन त चलाउँदैनौँ । हामी बिसाउन लगाउन जानेका छौँ ।’ नेपाली समाजलाई झुटो प्रचार गरेर धम्की नदिन चेतावनी दिँदै ओलीले भन्नुभयो, ‘लोकतन्त्र भनेको छाडातन्त्र होइन । नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र भएकाले सिंहदरबार वा बालुवाटार कब्जा गर्छौं, चुट्छौँ, मार्छौं, काट्छौँ भन्नु छाडातन्त्र हो । त्यस्ता क्रियाकलाप सहृय हुँदैन ।’ केपी ओलीको शाख घट्यो, अलोकप्रिय भयो भन्ने प्रायोजित प्रचार भएको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भाडामा खटाइएकाहरूले केपी ओलीको शाख घट्यो भन्न सक्छन्, सचेत जनतालाई थाहा छ कि हामी कति लोकप्रिय हौँ भन्ने । ओलीको शाख घटेको भन्नेहरूले २०८४ को निर्वाचनमा हेरून् ।’
सत्ता टिकाउन राष्ट्रियताका विषयमा सौदाबाजी गर्दिनँ : प्रधानमन्त्री
नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने बताउनुभएको छ । आइतबार नेकपा एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेको सरकार राष्ट्रिय एकताको रक्षा र देशको हितका लागि प्रतिबद्ध रहेको जिकिर गर्दै भन्नुभयो, ‘हामी अरूको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने संकल्पका साथ अघि बढेका छौँ । सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन । नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौँ होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउछौँ भनेको थियौँ र आयौँ पनि ।’
एनआरएनएमा राजनीति नगर्न आग्रह
प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र राजनीतिक टग अफ वार नगर्न आग्रह गर्नुभएको छ । सरकारको तर्फबाट संघमा कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म अहिले प्रधानमन्त्री छु । म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो । राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो । सरकारको तर्फबाट गैरआवासीय नेपाली संघमा कुनै हस्तक्षेप हुँदैन, गर्दैन । तपाईँहरूले राजनीतिक दलको राजनीति संघमा नगरिदिनू ।’ प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली नागरिकताको कुनै प्रयोग नभएको बताउँदै उपयोगी बनाउन के-के गर्नुपर्ने हो, प्रस्ताव ल्याउन आग्रहसमेत गर्नुभयो ।
नागरिकलाई सम्भावना र अवसरको वितरण गरिरहेको छ : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रूपमा बुझ्न आग्रह गर्नुभएको छ । आइतबार काठमाडौंमा गैरआवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रलाई अराजकताको प्रणालीका रूपमा बुझ्दा लोकतन्त्र कमजोर हुने बताउनुभएको हो । वर्तमान सरकार कसैका लागि मन्त्री बन्न र सरकार बनाउनकै लागि बनेको सरकार नभएको जिकिर गर्दै लेखकले भन्नुभयो, ‘अहिलेको सरकार विशिष्ट उद्देश्यका साथ बनेको हो । सरकार बनाउनका लागि बनेको सरकार होइन । केही मानिसहरू मन्त्री हुनका लागि मात्रै बनेको सरकार होइन । जनतामा भएको निराशा, चिन्ता चिर्न र आशामा बदल्नका लागि बनेको हो ।’ गृहमन्त्री लेखकले गैरआवासीय नेपाली अवैतानिक दूतको रूपमा विश्वभर पुगेर राष्ट्रलाई योगदान गरेको दाबी गर्दै भन्नुभयो, ‘गैरआवासीय नेपाली विश्वभर अवैतानिक दूतको रूपमा हुनुहुन्छ । नेपाललाई कसरी देखाउनुहुन्छ, नेपालको इमेज त्यस्तै बन्छ । अहिले नागरिकता बोकेर कुनै सरकारी कार्यालयमा पुग्दा कुनै अधिकार पाएको छैन । संविधानमै भएको व्यवस्था कार्यान्वयन गर्न आगामी अधिवेशनमा संशोधन प्रस्ताव लैजान सक्छौँ ।’
‘जीवन सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवन सहज र सरल बनाउने काममा उपयोग गराउन सरकार लागि पर्ने बताउनुभएको छ । एमालेनिकट युवा संघ नेपालले आइतबार काठमाडौँमा आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ अन्तर्गत विज्ञसँगको संवादमा प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विकासको तिर्खाबाट हामी ग्रस्त छौँ । त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔँ । हामीले आर्टिफिसियल इन्टेलिजेन्सको सकारात्मक उपयोग गर्नुपर्छ । यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानुनी प्रबन्धमा पनि जानुपर्छ । एसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनु छ । यस्ता क्षेत्रमा एआईको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआई एजुकेसनको हब कसरी बनाउन भन्नेमा हाम्रो ध्यान रहेको छ ।’ उहाँले आटिर्फिसियल इन्टेलिजेन्ससम्बन्धी नीति र योजना ल्याउने सरकारको तयारी रहेको भन्दै त्यसका लागि निजी क्षेत्रको समेत सहयोग आवश्यक रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच