रुपन्देही व्यापार संघको रजत महोत्सव साताव्यापी कार्यक्रम गरी मनाईने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । रुपन्देही व्यापार संघको रजत महोत्सव साताव्यापी कार्यक्रम गरी मनाईँदै छ । संघको स्थापना भएको २५ वर्ष प्रवेशको अवसरमा विहिबारदेखि साताव्यापी कार्यक्रम गर्न लागिएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

२०५७ साल कात्तिक २८ गते रुपन्देही व्यापार संघको स्थापना भएको थियो । यहि कात्तिक २८ गते संस्था स्थापना भएको २४ वर्ष पुरा भई २५ वर्षमा प्रवेश गर्दैछ । त्यसको अवसरमा संघले यहि कात्तिक २२ देखि २८ गतेसम्म विभिन्न कार्यक्रम गरी रजत महोत्सव मनाउन लागिएको संघका अध्यक्ष दीपकप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।

रजत जयन्तीको अवसरमा आयोजना गरिएको साताव्यापी कार्यक्रमको पहिलो दिन २२ गते विहिबार मानवसेवा आश्रम बुटवलको सुख्खानगर र तिलोत्तमाको पश्चिम पहुनीमा आश्रीत २ सय जनालाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिने छ । त्यसैगरी २३ गते शुक्रबार रुपन्देहीमा व्यापारको ईतिहास र वर्तमान, सम्भावना र चुनौती विषयमा अन्तरमाध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

२४ गते शनिबार संघसंस्थाविच मैत्रीपूर्ण फूटसल प्रतियोगिता तथा २५ गते आईतबार संघमा गठित बस्तुगत उपसमितिबिच मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । २६ गते रक्तदान कार्यक्रम, २७ गते लुम्बिनी प्रादेशिक अस्पतालका विरामीलाई फलफूल वितरण गरिने छ ।

त्यसैगरी २७ गते नै प्रभातफेरी कार्यक्रम गरिने छ भने सोही दिन रुपन्देहीमा स्थानीय प्रदेश तथा संघीय सरकारका योजना, लक्ष्य तथा यसले पार्ने प्रभाव विषयक गोष्ठी आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी गराउनु भयो । २८ गते मंगलबार रजत महोत्सवको मुल समारोह आयोजना गरिएको छ । सोही समारोहमा संघले प्रकाशन गरेको स्मारिका विमोचन, रजत महोत्सव स्तम्भ निर्माण तथा उद्घाटनको समेत कार्यक्रम तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?