काठमाडौं । नेपालीहरूको ठूला चाडपर्व दशैँ र तिहार सकिएसँगै राजनीतिक दलहरू आगामी मंसिर १६ गते तय गरिएको स्थानीय तह उपनिर्वाचनको तयारीमा होमिएका छन् । स्थानीय तह निर्वाचनपछिको आधा कार्यकाल अर्थात् साढे दुई वर्षपछि हुन लागेको उपनिर्वाचनमा आफ्नो शक्ति परीक्षणसमेत हुने भएकाले दलहरू उपनिर्वाचनको लागि सम्पूर्ण शक्ति लगाएर तयारीमा जुटेका हुन् । स्थानीय तहको ४४ पदका लागि उपनिर्वाचन हुँदै छ । स्थानीय तहका रिक्त ४४ पदमध्ये आधाभन्दा बढीमा २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस विजयी भएको थियो । नेपाली कांग्रेसले जितेका २५ पद विभिन्न कारणले रिक्त रहेका थिए । आसन्न उपनिर्वाचनमा कांग्रेसलाई ती २५ स्थानको विरासत जोगाउनु नै मुख्य चुनौती हुने देखिएको छ । त्यसकारण आसन्न स्थानीय तह उपनिर्वाचन कांग्रेसका लागि सर्वाधिक जोखिम देखिएको छ । स्थानीय तहको गत निर्वाचनमा नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रसहितका दलहरूसँगको चुनावी तालमेलमा थियो ।
तर, मंसिर १६ गते हुने उपनिर्वाचनमा भने कांग्रेसले एक्लै चुनाव लड्ने नीति लिएको छ । हाल सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले पनि एक्लै चुनाव लड्ने नीति लिएकाले कांग्रेस र एमालेबीच चुनावी तालमेल हुने सम्भावना हालसम्म देखिएको छैन । यसअघि कांग्रेसले जितेका ओखलढुंगा र कैलाली जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । ताप्लेजुङको सिरिजंङ्घा गाउँपालिका-३, तेह्रथुमको लालीगुराँस नगरपालिका-८, उदयपुरको त्रियुगा नगरपालिका-१२, उदयपुरको बेलका नगरपालिका-९, सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ र डाक्नेश्वरी नगरपालिका-४ का वडाध्यक्ष यसअघि कांग्रेसले जितेको थियो । हाल रिक्त रहेका यी वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुँदै छ । यसअघि कांग्रेसले जितेका तर विभिन्न कारणले रिक्त बन्न पुगेका रौतहटको राजपुर नगरपालिका-६, कीर्तिपुर नगरपालिका-१, काठमाडौं महानगरपालिका-१६, नुवाकोटको ककनी गाउँपालिका-२, गुल्मीको मुसीकोट नगरपालिका-१, रोल्पाको रुन्टीगढी गाउँपालिका-४, बर्दियाको ठाकुरबाबा नगरपालिका-४, कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१, रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका-५, डोटीको पूर्वीचौकी गाउँपालिका-६, कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्ष पदमा पनि उपनिर्वाचन हुँदै छ ।
यसैगरी, केन्द्र सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले जितेका नौ स्थानमा पनि उपनिर्वाचन हुँदै छ । एमालेले अघिल्लो निर्वाचनमा जितेका नौ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । जसअनुसार झापाको कन्काई नगरपालिका-६, सुनसरीको गढी गाउँपालिका-६, ओखलढुंगाको मोलुङ गाउँपालिका-३, धनुषाको धनुषाधाम नगरपालिका-१ मा उपनिर्वाचन हुँदै छ । यस्तै, एमालेले जितेको रौतहटको ईशनाथ नगरपालिका-७, गोरखाको गोरखा नगरपालिका-५, दैलेखको दुल्लु नगरपालिका-१३, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ र बझाङको सूर्मा गाउँपालिका-४ मा पनि उपनिर्वाचन हुँदै छ । माओवादी केन्द्रले अघिल्लो स्थानीय तह निर्वाचनमा जितेका आठ स्थानमा पनि उपनिर्वाचन हुँदै छ । रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पद यसअघि माओवादी केन्द्रले जितेको थियो ।
यसैगरी, यसअघि माओवादी केन्द्रले जितेका महोत्तरीको रामगोपालपुर नगरपालिका-२, मकवानपुरको हेटौँडा उपमहानगरपालिका- १२, पुथा उत्तरगंगा गाउँपालिका-२, जाजरकोटको कुशे गाउँपालिका-७, कालिकोटको तिलागुफा नगरपालिका-४ र दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडाध्यक्ष पदमा पनि उपनिर्वाचन हुँदै छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालले जितेको गढीमाई नगरपालिका-८ को वडाध्यक्ष र स्वतन्त्र उम्मेदवारले जितेको कीर्तिपुर नगरपालिका-४ को वडाध्यक्ष पदका लागि पनि अहिले उपनिर्वाचन हुँदै छ ।
रास्वपाले खटायो सातै प्रदेशमा कमाण्डर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचनका लागि नेताहरूलाई प्रदेशगत जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो । कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिम विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । निर्वाचन परिचालन समितिले उम्मेदवार छनोटको कार्यतालिका पनि बनाइएको छ । स्थानीय तहमा हुने उपनिर्वाचन हुने स्थानमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकले बिहीबारदेखि नाम दर्ता सुरु गरिएको केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी दिनुभयो । उम्मेदवार हुन इच्छुकका लागि दर्ता अवधि २५ कात्तिक सम्मका लागि तय गरिएको छ । २५ कात्तिकको साँझ ८ बजे प्रारम्भिक उम्मेदवारहरूको नामावली प्रकाशन गरिने रास्वपाले जनाएको छ । प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोधको समय २६ कात्तिकका लागि तोकिएको छ । २७ कात्तिकमा उम्मेदवारसँग छलफल र अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । एकभन्दा बढी उम्मेदवार इच्छुक रहेका स्थानमा प्रारम्भिक निर्वाचन गर्न २८ कात्तिकको साँझ ७ बजेको समय तोकिएको छ । उम्मेदवारको नाम २९ कात्तिकमा प्रकाशित गरिने रास्वपाले जनाएको छ ।
राप्रपाले चुनावी तालमेल नगर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ । उपनिर्वाचनलाई केन्द्रित गरेर राप्रपाले पदाधिकारीहरूलाई पनि चुनावी कमाण्डर बनाएको छ । भक्ति सिटौला, प्रल्हाद साह, राजेन्द्र गुरुङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष सोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाही, प्रकाश रिमाल, उद्धव थापा, झनक प्याकुरेल, दीपकबहादुर सिंह, राजराज कोइराला, प्रदीप उदय, कुन्तीकुमारी शाही, दीपबहादुर शाही, शौरेन्द्रबहादुर शाह, अंगद बुढा, धवलशमशेर जबरा, प्रेम बलायर, धर्मराज जोशीलाई चुनावी कमाण्डर तोकिएको राप्रपाले जनाएको छ । यी नेताहरूलाई उपनिर्वाचन हुने नगरपालिका, गाउँपालिका र वडाहरूमा चुनावी कमाण्डर बनाइएको हो । केही नेताहरूलाई एकभन्दा धेरै ठाउँको चुनावी कमाण्डरको जिम्मेवारी पनि दिइएको राप्रपाले जनाएको छ । राप्रपाले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा ध्रुुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उपनिर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने राप्रपाले स्पष्ट पारेको छ ।
नेकपा एसलाई माओवादीकै भर
नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा सकेसम्म कसैसँग सहकार्य वा गठबन्धन नगरेरै चुनाव लड्ने तयारी गरेको छ । उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै नेकपा एसले निर्वाचनको आन्तरिक तयारी गरे पनि कुन कुन पदमा एकल उम्मेदवार उठाउने र कहाँकहाँ अरू पार्टीसँग सहकार्य गर्ने भन्नेबारे कुनै निर्णय गरिसकेको छैन । तर, पार्टीका नेताहरूले उपनिर्वाचनमा सकेसम्म एक्लै चुनाव लड्ने र त्यो अवस्था नभए विपक्षी दलहरूसँग मिलेर निर्वाचन लड्ने तयारी भए पनि अन्तिम निर्णय भइनसकेको बताएका छन् । पार्टीको निर्देशनअनुसार स्थानीय तह उपनिर्वाचनसम्बन्धी मातहतका कमिटीहरूले रिपोर्ट पेस गरिसकेको जानकारी दिँदै केन्द्रीय निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहेका पार्टी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले भन्नुभयो, ‘मातहतका कमिटीले रिपोर्ट पठाइसकेका छन् । त्यसको अध्ययन हुँदै छ । अध्ययनपछि कात्तिक २५ गते सम्ममा कहाँकहाँ उम्मेदवारी दिने र कहाँ–कहाँ अरू दलसँग सहकार्य गर्ने भन्ने टुंगो लाग्छ । सकेसम्म एक्लै लड्ने हो नभए केही स्थानमा माओवादी लगायतका दलहरूसँग सहकार्य पनि हुन सक्छ ।’ नेकपा एसले कांग्रेस–एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच