मध्यपुर महोत्सव २०८१ : सांस्कृतिक धरोहर र पर्यटनको प्रवर्द्धन गर्ने अवसर

-बाबुराम दाहाल 

भक्तपुर । सांस्कृतिक धरोहर र पर्यटन विकासको अद्वितीय उदाहरणका रूपमा यस वर्षको मध्यपुर महोत्सव-२०८१ थिमि नगरपालिकामा भव्य रूपमा आयोजना हुँदैछ । काठमाडाैं उपत्यकाको पूर्वी भागमा रहेको मध्यपुर थिमि भक्तपुर, चाँगुनारायण, धुलिखेल, र नगरकोट जस्ता ऐतिहासिक र पर्यटकीय गन्तव्यहरूलाई जोड्ने 'स्वागतद्वार' हो । मध्यपुर, लिच्छविकालीन कला, वास्तुकला, परम्परागत जीवनशैली र प्राकृतिक सौन्दर्यको मेलसँग सम्पन्न थलोका रूपमा परिचित छ । थिमीको समृद्ध सांस्कृतिक धरोहर र पर्यटकीय सम्भावनालाई उजागर गर्न आयोजित यस महोत्सवले पर्यटन प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

महोत्सवको आयोजना र मिति

महोत्सव आगामी पुष १२, १३ र १४ गते (२०२४ डिसेम्बर २७ देखि २९) सम्म आयोजना गरिनेछ। थिमि नगरपालिकाको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई उजागर गर्दै पर्यटनलाई दिगो बनाउनु महोत्सवको मुख्य उद्देश्य हो। यस महोत्सवको विशेषता भनेकै स्थानीय कला, परम्परा, संस्कार र जनजीवनलाई पर्यटनको साथमा जोड्दै नयाँ पर्यटकीय गन्तव्यको रूपमा थिमीलाई प्रवर्द्धन गर्नु हो।

महोत्सवको मुख्य आकर्षण 

यस वर्षको महोत्सव थिमीको शंखधर चोक देखि नगदेश, बोदे हुँदै टिगनिको नीलबाराही मन्दिर क्षेत्रमा करिब ५.५ किलोमिटर क्षेत्रफलमा फैलिनेछ । महोत्सवमा थिमीका बालकुमारी मन्दिर परिसर, लोकेश्वर मन्दिर, थिमी लायकू, नीलबाराही मन्दिर, इनायक्व सिद्धिकाली मन्दिर र पुरातात्विक महत्व बोकेका अन्य सम्पदा क्षेत्रहरू विशेष रूपमा सजाइने छन् । महोत्सवमा आउने पर्यटकहरूले यी ऐतिहासिक धरोहरहरूको अवलोकनसँगै विविध सांस्कृतिक कार्यक्रमहरू हेर्न पाउनेछन् ।

महोत्सवको सांस्कृतिक पक्षमा भैल नाच, महाकाली नाच, अष्टमातृका नाच, थिमी लाखे, पुलुकिसि र इन्द्र अप्सरालगायत परम्परागत नेवारी संस्कृतिहरू प्रस्तुत गरिनेछन् । यस महोत्सवमा यी जात्राहरू र परम्परागत सांस्कृतिक गतिविधिहरूको दृश्यले मध्यपुरलाई साँस्कृतिक धरोहरको 'जीवन्त संग्रहालय'को रूपमा पर्यटकहरूसमक्ष प्रस्तुत गर्नेछ।

स्थानीय परम्परा र खेलहरू

यस महोत्सवमा स्थानीय परम्परागत खेल र गतिविधिहरूको पनि विशेष प्रस्तुति गरिनेछ। लैलै, खिपः कासा, यकंधाला, गाडी ब्वाकेगु र मचाकथि लगायतका खेलहरूले थिमीको परम्परागत जीवनशैलीलाई झल्काउनेछन् ।

पर्यटकहरूले थिमीमा उत्पादन हुने माटोका भाँडाहरू, मुकुण्डो, चिउरा, धुप, र नेवारी परिकारको विशेष प्रस्तुति पनि अवलोकन गर्न सक्नेछन्। नेवारी परिकारका रूपमा सम्यः बजि, वः, चटामरि, योमरी र ध्वं जस्ता विशेष परिकारहरू महोत्सवमा चाख्न पाइनेछ । साथै, स्थानीय उत्पादनमा मध्यपुरको मिठो दही, तोरीको तेल, गेडागुडी र घरमाबुनेको कपडाहरूले व्यापारिक आकर्षण थप्नेछन्।

विशेष सांस्कृतिक प्रदर्शनीहरू

महोत्सवमा नेवारी भ्वय (भोज), चौरासी व्यञ्जनसहितका विशेष भ्वय र मध्यपुरका ऐतिहासिक जात्राहरूको प्रदर्शनी गरिनेछ। स्थानीय संस्कृतिसँग सम्बन्धित भेषभूषा, परम्परागत औजार, र जीवनशैलीको प्रदर्शनले स्थानीय र विदेशी आगन्तुकलाई थिमीको गहिरो सांस्कृतिक पक्षसँग परिचित गराउनेछ।

महोत्सवको व्यवस्थापन संरचना

महोत्सवलाई व्यवस्थितरूपमा सञ्चालन गर्नका लागि नगरप्रमुख सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा मध्यपुर महोत्सव मूल समारोह समिति गठन गरिएको छ। साथै, विभिन्न क्षेत्रगत समिति र उपसमितिहरूले महोत्सवलाई सम्पन्न गर्न भूमिका निर्वाह गर्नेछन्। बालकुमारी, दिव्यश्वरी, चपाचो, नगदेश, बोदे र टिगनी निकोशरा क्षेत्रमा छुट्टा-छुट्टै समितिहरूले महोत्सवका गतिविधिहरू संचालनमा सहयोग पुर्याउनेछन्।

यसै गरी, प्रचारप्रसार, प्रदर्शनी व्यवस्थापन, सुरक्षा, सरसफाइ, स्वास्थ्य र स्वयंसेवक व्यवस्थापनका लागि छुट्टै उपसमितिहरू गठन गरिएको छ। महोत्सवलाई व्यवस्थितरूपमा सफल बनाउनका लागि करिब २ करोड रुपैयाँको बजेटको अनुमान गरिएको छ, जसले महोत्सवलाई भव्य र आकर्षक बनाउनेछ।

महोत्सवको उद्देश्य र प्रभाव

मध्यपुर महोत्सव २०८१ को प्रमुख उद्देश्य थिमीलाई एक पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउँदै, नगरको सांस्कृतिक, ऐतिहासिक र परम्परागत महत्वलाई पर्यटनसँग जोड्नु हो। महोत्सवमा करिब ५ लाख स्वदेशी र विदेशी पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको छ । यस महोत्सवले पर्यटकहरूलाई थिमीको समृद्ध सांस्कृतिक सम्पदासँग परिचित गराउने मात्र नभई, स्थानीय कला, संस्कृति र जीवनशैलीलाई दीर्घकालसम्म संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

मध्यपुर महोत्सव २०८१ लाई सभ्य र भव्यरूपमा सम्पन्न गर्ने अपेक्षा गरिएको छ । यसले मध्यपुरलाई सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्दै स्थानीय अर्थतन्त्रलाई सबल बनाउनेछ । मध्यपुर महोत्सव: कला, संस्कृति, र पर्यटनको दिगो विकासमा ठुलो योगदान दिने एक महत्वपूर्ण पाइलाको रूपमा स्थापित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?