काठमाडौं । नेपालमा सडक दुर्घटनको अवस्था भयावह छ । पुराना सवारी, क्षमताभन्दा बढी यात्रु बोक्नु, सडकको दुर्दशा र चालकको लापरबाही आदिका कारण हाम्रा सडक मृत्युमार्ग जस्तै बनेका छन् । बर्सेनि सडक दुर्घटनामा चार हजार जनाको हाराहारीमा सडक दुर्घटनामा ज्यान गुमाउने गरेको भयावह तथ्यांक देखिने गरेको छ । जसका कारण नागरिकहरू त्रासदीपूर्ण यात्रा गर्न विवश छन् । यसमा सरोकारवालाको गम्भीर नजर नपुग्दा दुर्घटनाको कहालीलाग्दो दुष्चक्र दोहोरिएको दोहोरियै छ । अझ चाडपर्वको मुखमा दुर्घटनाका दुःखद खबरहरू बढी मात्रामा देखिन्छन् । यस्तो विकट परिस्थितिलाई जिम्मेवार निकायले गम्भीर रूपमा नलिँदा नागरिकहरूले अकालमा ज्यान गुमाउनुपरेको छ ।
शुक्रबार पनि सुर्खेत र चितवनमा भएका दुई ठूला सवारी दुर्घटनामा नौ जनाले ज्यान गुमाएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ सत्र किलोमा शुक्रबार बिहान बस र माइक्रोबस ठोक्किँदा पाँच जनाले ज्यान गुमाएका हुन् । बिहान ३ बजे नारायणगढतर्फ गुडिरहेको विद्युतीय माइक्रोबस र मुग्लिनतर्फ गुडिरहेको बस ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा माइक्रो चालक चितवनको खैरहनी नगरपालिका-४ का अनोज अधिकारीसहित माइक्रोमै रहेका गोरखाको आरुघाट गाउँपालिका-५ का राजबहादुर गुरुङ, भारत घर भई पोखरा बस्ने राजकुमार साह, नवलपरासीको विनय त्रिवेणी गाउँपालिका-४ का सन्तोष भुसाल र सविना भुसाल रहनुभएको छ । मृतकका आफन्तहरूले अस्पताल पुगेर शव पहिचान गरेका हुन् । माइक्रोमा रहेका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ का सूर्य विक्रम विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
उता, दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका-१४, रातानांग्ला नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २५ जना घाइते भएका छन् । समाचार तयार पार्दासम्म दुर्घटनामा परी मृत्यु हुनेहरूको सनाखत हुन सकेको थिएन ।
शुक्रबार दिउँसो देउती नागरिकको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी सुर्खेत–दैलेख सीमास्थित रातानांग्ला नजिकै सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको थियो । घाइतेहरूलाई थप उपचार प्रादेशिक अस्पताल वीरेन्द्रनगरमा भइरहेको दैलेखका डिएसपी सुनिल ढकालले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच