कमलकुमार बस्नेत/रासस
काठमाडौं । गत अक्टोबर २७ तारिखको बिहान ८ बजे लुक्लाबाट हेलिकप्टरमार्फत गोरकसेपमा ओर्लँदै गर्दा खुसीले मन चङ्गा थियो । चहकिलो घाम, मज्जाले खुलेको मौसममा सगरमाथा, नुप्त्से, ल्होत्से, पुमोरीलगायतका हिमाल आँखैअगाडि छर्लङ्गै थिए । सगरमाथालगायतका हिमाललाई समीपैबाट धित मरुञ्जेल हेर्ने रहर पूरा हुँदै थियो ।
हाम्रो टोलीका आठ जनामध्ये आरोही मिङ्मातेञ्जी शेर्पा र कमल प्रसाईँ पहिलो उडानमा गोरकपेस पुगिसकेका थिए । दोस्रो उडानमा म र राजेन्द्र लुइँटेल पुगेका थियौँ । हामीलाई त्यहाँसम्म लैजाने सत्यकला तामाङ र फुर्बाग्याल्बो मोक्तान तथा लुक्लाका पर्यटन व्यवसायी नाम्गेल शेर्पा र नारायण अधिकारी हामीभन्दा पछिको उडानमा आउँदै थिए । ‘हाइ अल्टिच्युड’का कारण गोरकसेपसम्मको उडानमा हेलिकप्टरले दुई जनाभन्दा बढी यात्रु नबोक्ने भएकाले हामीलाई त्यहाँसम्म पुग्न चारवटा उडानको भर पर्नुपरेको थियो ।
सगरमाथा आरोही तथा आधार शिविरसम्म पुग्नेका लागि होटल पाउने अन्तिम स्थान गोरकसेप भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लै थियो । गोरकसेपको खोँचमा ढुङ्गैढुङ्गाले बनाएको गोलाकार थुम्को (हेलिप्याड)मा हेलिकप्टरबाट ओर्लँदै गर्दा ‘अल्टिच्युड सिकनेस’ले गम्भीर एक जनालाई स्ट्रेचरमा हेलिकप्टरतर्फ ल्याउँदै गरेको देख्दा मन भारी भयो । कतै हाम्रो अवस्था पनि यस्तै त हुने होइन भन्ने मनमा डर लाग्न थालिसकेको थियो ।
हेलिकप्टरबाट ओर्लनेबित्तिकै हामीलाई मोबाइलबाट तस्बिर लिनै हतार भइसकेको थियो । अघिल्लो उडानमा आएका मिङ्मा र प्रसाईँसँग भेट भयो । मिङ्माले मलाई हामी वरपरका सबै हिमाल एक–एक गर्दै चिनाइदिनुभयो । बाँकी साथी आउँदै गर्छन् हामी हाम्रो गन्तव्य कालापत्थरको उचाइतर्फ जाऔँ न त भन्ने भयो । यत्तिकैमा मेरो शरीर एक्कासी लुलो भएझैँ भयो । रिङ्गटा लागेजस्तै टाउको भारी भयो । एकैछिन अघिसम्म ऊर्जाले भरिएको शरीरबाट कसैले शक्ति खिँचेजस्तो गरी रित्तिएझैँ भयो । पछि थाहा भयो अरु साथिहरुलाई पनि मलाई जस्तै भएको रहेछ ।
दुई हजार आठ सय ६० मिटर उचाइको लुक्लाबाट १५ मिनेटमै पाँच हजार एक सय ८० मिटर उचाइको गोरकसेपमा पुगेका हामीले भोगेको समस्या मिङ्माले बुझिहाल्नुभयो । कैयौँपटक त्यही बाटो हुँदै सगरमाथाको टुप्पोसम्म पुग्नुभएका उहाँले हामीलाई विस्तारै होटलभित्र पुर्याउनुभयो । उहाँले सुरुमा तातोपानी दिनुभयो । त्यसपछिको चियापत्ती मात्र हालेको चिनीबिनाको चिया औषधिजस्तै भयो । उहाँले लसुन र टिमुर हालेको चाउचाउको झोल पनि ल्याउनुभयो । र जसरी पनि खानुपर्छ भन्दै उर्दी जारी गर्नुभयो । चाउचाउको झोलले शरीर तात्न थाल्यो । मेरो शरीरले अलिक बिसेक मान्यो ।
एकमनले त यहाँसम्म आइहालियो, अब कालापत्थर नचढौँ कि भन्ने पनि भयो । लेक लागेर (अक्सिजन अभाव) सिकिस्तै भएका पर्यटकलाई एकैछिन अघि हेलिकप्टरमार्फत उद्धार गरेको देखेकाले पनि होला आत्मबल घट्दो थियो । तर मिङ्मा र कमल प्रसाईँले यो सामान्य हो भन्दै सम्झाउनुभयो । उहाँहरुको परामर्शपछि अलिकति आत्मबल बढेझैँ भयो । तलमाथि भइहाल्यो भने उहाँहरु हुनुहुन्छ भन्ने सोचले हौसला मिल्यो । होटलभित्र झण्डै आधा घण्टा बिताएपछि हामी कालापत्थर आरोहणका लागि तयार भयौँ ।
गोरकसेप सगरमाथाको प्रवेशविन्दु हो । गोरकसेपको नाम चराबाट लिइएको रहेछ । शेर्पाहरू राभेन चरालाई गोरक भन्दा रहेछन् । कुनै शेर्पाले यस क्षेत्रमा मरेको गोरक देखेकाले यस ठाउँको नाम गोरकसेप रहन गएको भन्ने जनविश्वास रहेछ । सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेपछि यस क्षेत्रको लोकप्रियता र व्यापकता विश्वभर फैलिएको मानिन्छ । पर्यटकहरू गोरकसेपमा विश्राम गरेर कालापत्थर, सगरमाथा आधार शिविर हुँदै विश्वको सर्वोच्च शिखरसम्म पुग्छन् । लुक्लाबाट नाम्चे हुँदै गोरकसेप पुगेपछि चोला पास र गोक्योसम्म जाने पनि यही भेटिन्छन् ।
गोरकसेपबाट कालापत्थर र आधार शिविरतर्फ शेर्पाका साथमा लामबद्ध विदेशी पर्यटकले त्यतिबेलाको माहोल ‘गुल्जार’ बनाएको थियो । पिठ्यँुमा ब्यागप्याक र दुवै हातमा ट्रेकिङ पोलका साथमा विभिन्न गन्तव्यतर्फ पाइला चालिरहेका पर्यटकहरूको पङ्क्ति निकै लोभलाग्दो थियो । हाम्रो गन्तव्य भने कालापत्थरको चुचुरो थियो ।
कालापत्थरको चुचुरोबाट जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असरबारे पत्रकार सम्मेलनमार्फत विश्वको ध्यानाकर्षण गराउनु थियो । हेर्दा नजिकैजस्तो देखिए पनि गोरकसेपबाट त्यहाँ पुग्न करिब दुई घण्टा लाग्ने रहेछ । तर मिङ्माजस्ता आरोहीका लागि भने आधा घण्टा नै काफी हुने रहेछ । वरिपरि सेताम्मे हिमाल भएर पनि कालापत्थर मात्र भएकाले यसको नाम कालापत्थर रहन गएको हो । यद्यपि कालापत्थरको उचाइमा हिउँको केही अंश भने बाँकी नै थियो ।
कालापत्थरबाट देखिने सगरमाथाको दृश्य अविष्मरणीय थियो । किनभने यसअघि माउन्टेन फ्लाइटलगायतबाट सगरमाथाको शिरमात्र देखेका मेरा आँखाले झण्डै पूर्ण आकारको सगरमाथा देख्नु ‘बकेट लिस्ट’ कम गर्नु थियो ।
सगरमाथाको पश्चितर्फ उभिएको नुप्त्से (शेर्पा भाषामा पश्चिम चुचुरो) र दक्षिणतर्फको ल्होत्से हिमाल (शेर्पा भाषामा दक्षिण चुचुरो) तथा कालापत्थरसँगै शिरको पुमोरीलगायतका हिमालको पानारोमिक भ्यूमा हेर्न पाउनु जति रोमाञ्चक र सुन्दर छ त्यतिनै सङ्घर्ष त्यहाँसम्म पुग्नमा रहेछ । पुमोरीको अर्थ शेर्पा भाषामा अविवाहित छोरी भनिने रहेछ । कतिपयले यसलाई सगरमाथाको छोरीका रूपमा पनि अथ्र्याउने रहेछन् ।
कालापत्थर पुग्ने हाम्रो योजना दसैँ अगाडि नै बनिसकेको थियो । तर पर्यटकीययाम भएकाले विदेशी पर्यटकको बाक्लो उपस्थितिका कारण जहाजको टिकट र हेलिकप्टर पाउनै मुस्किल हुनेरहेछ । काठमाडौँ–लुक्लाका लागि विमानको टिकट नपाएपछि हामी काठमाडौँबाट गाडीमा रामेछाप पुग्यौँ ।
प्रतिकूल मौसमका कारण विमान मन्थली–लुक्ला–मन्थली विमान र हेलिकप्टर नचल्दा हामीभन्दा अगाडि नै करिब पन्ध्र सय पर्यटक मन्थलीमै रोकिएका रहेछन् । त्यति नै सङ्ख्यामा लुक्लाका होटलमा रहेछन् । मन्थलीमा तीन दिन कुर्दा पनि मौसम अनुकूल नभएपछि हामी काठमाडौँ फर्कन बाध्य भयौँ ।तर काठमाडौँ फर्केको एकाध दिनमा मौसम खुल्यो । मौसमसँगै हाम्रो मन पनि उज्यालियो ।
काठमाडौँबाट रामेछापसम्म गाडीमा र त्यहाँबाट विमान चढ्ने हाम्रो योजना बने पनि संयोगले काठमाडौँ–लुक्लाको उडानको टिकट मिल्यो । अक्टोबर २५ तारिखमा तीन जना र भोलिपल्ट दुई जना विमान तथा एक जना हेलिकप्टरमार्फत हामी लुक्ला पुग्यौँ । दुई जना भने पहिले नै लुक्ला पुगिसक्नुभएको थियो ।
हामी लुक्लामा छँदा त्यहाँका प्रायः सबै होटल पर्यटकले भरिएका थिए । पर्यटन व्यवसायीका लागि ‘पिकआवर’ थियो । प्रायः सबै खालको सुविधा प्राप्त हुने लुक्ला सगरमाथा क्षेत्रका लागि प्रवेशविन्दु हो । यहाँसम्म पुग्नका लागि हवाई उडान एकमात्र विकल्प हो ।
त्यसो त केही पर्यटक सल्लेरी हुँदै पदयात्रामार्फत पनि पुग्ने रहेछन् । यद्यपि अब लुक्लालाई मोटरेबल सडकको पहुँचले जोड्ने काम पनि भइरहेको रहेछ । विमानस्थल नजिकै बसपार्क निर्माणका लागि जग्गा पनि छुट्याइएको रहेछ । लुक्लासम्म सामान ढुवानीका लागि मानिसबाहेक विमान, हेलिकप्टरका साथै खच्चर र घोडा प्रयोग गरिन्छ भने त्यसभन्दा माथि हेलिकप्टर, खच्चर र घोडाले बोक्छन् । खच्चरलाई नाम्चेभन्दा माथि लैजान पाइँदैन ।
दुई दिन अगाडि नै लुक्ला पुगेका हामी तीन जनाले लुक्लाको गाउँ र बजार घुम्न पायौँ । स्थानीय पर्यटन व्यवसायी तथा समाजसेवी नाम्गेल शेर्पाले सुच्या र अमेरिकानोको स्वाद चखाउँदै पासाङल्याह्मु शेर्पाको सङ्ग्रहालयसहित लुक्ला बजार घुमाउनुभयो । स्थानीय जनप्रतिनिधि, व्यापारीलगायतसँग भलाकुसारीसहित गुम्बालगायतका ऐतिहासिक सम्पदा पुग्ने मौका पनि जुर्यो । कालापत्थर जानुभन्दा अघिल्लो दिन मेरापिक जाने बाटोतर्फ पदयात्राको छोटो–मीठो ‘रिहर्सल’ पनि गर्न पायौँ ।
गोरकसेप जानका लागि अक्टोबार २७ तारिखको बिहान साढे ६ बजे नै हेलिप्याड बोलाइएको थियो । हामी त्यहाँ पुग्दा हेलिकप्टर उडान र अवतरण भइरहेको थियो । विदेशीहरू आउने र जाने क्रम चलिरहेकै थियो । यत्तिकैमा हाम्रो पनि पालो आयो । लुक्लादेखि पाक्दिङ, नाम्चेबजार, पाङबोचे, दुक्ला हुँदै विभिन्न हिमशृङ्खला र हिमताल हेर्दै निमेषभरमै गोरकसेप पुगेको पत्तै भएन ।
गोरकसेपबाट कालापत्थरको उचाइसम्मको दूरी धेरै होइन । समथर भए १० मिनेट र पहाडमा भए करिब ३० मिनेट । तर उच्च उचाइको उक्त क्षेत्रमा पाइला अघि बढाउनै मुस्किल हुनेरहेछ । हामी त्यसै पनि दुई घण्टामा पाँच हजार एक सय ८० मिटरबाट पाँच हजार छ सय ५३ मिटरको उचाइमा पुग्दै थियौँ । पाइलैपिच्छे अल्टिच्युड बढ्ने भएकाले प्रत्येक पाइला चाल्दा मात्रै शरीरमा बोझ थपिएजस्तो हुनेरहेछ । हामी प्रत्येक १०–१५ पाइलापछि थकाइ मेट्थ्यौं ।
सबैभन्दा अगाडि मिङ्मा र पछाडिबाट नाम्गेल शेर्पाले टोलीलाई सम्हाल्दै अगाडि बढाइरहनुभएको थियो । फुर्बाले समयसमयमा चकलेटको टुक्रा र त्यसलाई निल्न तातोपानी दिँदै शरीरमा ऊर्जा थपिरहनुभएको थियो । कमल प्रसाईँ तस्बिर र श्रव्यदृश्य कैद गर्दै अगाडि बढ्नुभएको थियो ।
कालापत्थरको चुचुरोमा पुगेपछि मिङ्माले हिमालबारेको अनुभव साट्नुभयो । “तपाईँहरूले देखेको सगरमाथा, नुप्त्से र ल्होत्से पहिलेजस्ता छैनन्, १७ वर्षअघि मैले यस क्षेत्रमा काम गर्दा हिमालमा बाक्लो हिउँ हुन्थ्यो, तर अहिले कालापहाडजस्तै बनेका छन्, कतैकतै मात्रै बाक्लो हिउँ देखिन्छ अन्यत्र पातलो छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यो जलवायु परिवर्तनको असर हो । यही कारणले खुम्बु क्षेत्रकै थोमेमा केही समय अगाडि बाढीपहिरो गयो । दुईवटा हिमताल फुट्दा पर्यटकीय गाउँ थामेको पहिचान मेटिएको उहाँको बुझाइ छ ।
पर्यटन व्यवसायी नाम्गेलले पनि त्यस्तै अवस्था सुनाउनुभयो । सगरमाथाको पारिपट्टिको चीनमा भएका ठूला औद्योगिक क्षेत्रबाट उत्पन्न हुने कार्बन उत्सर्जनको असर हाम्रो हिमालमा देखिएको उहाँको बुझाइ थियो । त्यसो त गत वर्ष संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले खुम्बु क्षेत्रमै आएर जलवायु परिवर्तनले हिमालमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धतासमेत जनाउनुभएको थियो ।
जलवायुको असर
खुम्बु क्षेत्र हिमाल हेर्न रहर गर्नेका लागि जति रहरलाग्दो छ, त्योभन्दा बढी पीडा जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असरबाट यहाँका स्थानीय पीडित छन् । एसियाली विकास बैंकले केही दिनअघि प्रकाशित गरेको ‘द रुफ अफ द वर्ल्ड इज मेल्टिङ’ शीर्र्षकको लेखमा जलवायु परिवर्तनका कारणले एसियाका हिमनदी तीव्रगतिमा पग्लन थालेकाले यसले स्थानीयमा जोखिम बढाएको उल्लेख छ ।
हिमनदी पग्लन थालेपछि खानेपानीका लागि हिमनदीमा आश्रित एसियाका दुई अर्बभन्दा बढी व्यक्ति प्रभावित भएको समेत उल्लेख छ । त्यतिमात्र होइन, हिमालबाट बग्ने उक्त पानी खानका लागि मात्र नभई विद्युत् उत्पादन, सिँचाइ, पशुपक्षी तथा माछापालन र कृषिमा समेत महत्वपूर्ण मानिएकाले यसतर्फ ध्यान दिनुपर्ने उल्लेख छ ।
खुम्बुमात्र होइन, नेपालसहितका आठवटा देशमा फैलिएको विश्वको तेस्रो महत्वपूर्ण ‘वाटर टावर’ भनिने हिन्दुकुश हिमालय क्षेत्र पनि जलवायु परिवर्तनको असरबाट सबैभन्दा प्रभावित छ । हिन्दुकुश हिमालय क्षेत्रलाई अत्यधिक ‘आइस रिजर्भ’का कारण पनि पृथ्वीको तेस्रो पोल पनि भन्ने गरिन्छ । एसियाली विकास बैंकको अध्ययनअनुसार यस शताब्दीको अन्त्यसम्ममा यस क्षेत्रमा जलवायु परिवर्तनका कारण जम्मा भएको हिउँको ७५ प्रतिशत पग्लनेछ । यसले बाढीपहिरो बढाउनुका साथै खानेपानी, सिँचाइ, कृषि, जलविद्युत् लगायतका लागि खानेपानीको अभाव सुरु हुनेछ ।
कुल तीन हजार पाँच सय किलोमिटर हिमाली क्षेत्रमा फैलिएको यो क्षेत्र नेपालसहित अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, भारत, म्यानमार र पाकिस्तानसम्म फैलिएको छ । यो क्षेत्रबाट निस्कने प्रमुख नदीमा अमु दर्या, ब्रह्मपुत्र, गङ््गा, हिन्दुस, एरावती, मेकोङ, सलविन, तारिम, याङते र यल्लो नदी छन् । जसमा यस क्षेत्रको ठूलो जनसङ्ख्या आश्रित छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को अध्ययनअनुसार हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर विश्वकोे औसतको तुलनामा तीन गुणा बढी छ । इसिमोडका अनुसार उक्त क्षेत्रमा सन् २०११ देखि सन् २०२० को एक दशकमा त्यसअघिको तुलनामा हिमनदी पग्लने क्रम ६५ प्रतिशतले बढी छ । त्यसैले हिमालमात्र होइन, यससँग आश्रित तराईसम्मको पारिस्थितिक प्रणाली जोगाउनका लागि पनि जलवायु परिवर्तनले पारेको असरबारे गम्भीर हुनुपर्ने समय आइसकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच