नमागिएको सल्लाह :
केही समयदेखि नेपाली समाजमा केही भएन, बिग्रियो, मासियो, भासियो भन्ने निराशा व्याप्त छ भन्ने भाष्य बनेको छ । हरेक विज्ञ, विश्लेषक, युट्युबर सबैको भनाइ सुनियो भने लाग्दछ- हाम्रो समाज निराश जनताको हाँसो खोसिएको समाज हो ? के वास्तविकता त्यस्तै हो त ? नेपाली चलचित्र पूर्णबहादुरको सारंगीको अभूतपूर्व सफलताको पछाडिको कारण सामाजिक सञ्जालको अलावा एउटाले अर्कोलाई राम्रो छ भनेर भन्ने प्रक्रिया कानफुकी (हिृवस्परिंग) हो भनेर पनि विश्लेषण भएको छ । यसबाट पनि थाहा हुन्छ-कानफुकीले धेरै अर्थ राख्छ ।
पूर्णबहादुरको सारंगीको कानफुकीले त सकारात्मक नतिजा दिएको छ तर नेपाली समाजमा कानफुकी समेतका माध्यमबाट बढ्दै गएको केही भएन भन्ने निराशावादी भाष्य वास्तविकतामा आधारित छ वा अफवाहको रूपमा अगाडि बढिरहेको छ भन्ने विषय पनि मन्थनयोग्य छ ।
विश्वमा बढ्दै गएको अति दक्षिणपन्थी झुकाव, हालसालै संयुक्त राज्य अमेरिकामा भएको निर्वाचनमा दुवै संसद्मा बहुमतसहित राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको सानदार जित यस्तै निराशा, आक्रोश र अति व्यक्तिपरक सोचका कारण भएको हो भनेर चर्चा भइरहेको छ । के नेपाली समाजमा व्याप्त निराशावादी भाष्य पनि यस्तै वैश्विक प्रदूषणजन्य वायुकै प्रभावका रूपमा आएको हो कि ? मानिसले पाएको सूचनाको सुविधाका कारण जागेको महत्वाकांक्षा र त्यस्ता आकांक्षाको परिपूर्ति, विनासंघर्ष सजिलो गरी प्राप्ति होस् भन्ने चाहना त होइन ?
रवि लामिछानेको विषय अदालत गएका कारण यसको छिनोफानो पनि अदालतबाट नै हुने कुरामा लोकतन्त्र र संविधानवाद मान्नेहरूका लागि स्वीकार्य विषय हो । लामिछाने सरकार बाहिर रहेको पार्टीको नेता भएका कारण उनीमाथि राज्यका निकायको पेलाहा व्यवहार बन्नु हुँदैन भन्ने यस्तै सर्वस्वीकार्य मान्यता हो ।
जे जस्तो कारणले भए पनि समाजमा निराशा छ भन्ने विषयलाई त हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक लाग्ने गरेको लर्कोले नै देखाइरहेको छ । मुलुकमा आफ्नो उत्पादन छैन, लगानी गर्न नसकेर वाणिज्य बैंकहरूमा करिब पाँच खर्ब निक्षेप निष्क्रिय रूपमा बसिरहेको छ । निजी क्षेत्र आशावादी बन्न सकिरहेको छैन । जताततै दलीयकरणको बिगबिगी छ । पार्टीको झोले नभइकन कतै केही हुनेवाला छैन । सरकारी सेवा प्रवाहमा चिनेको र किनेको मानिस नभई काम नबन्ने अवस्थामा खासै सुधार भएको छैन । ठूला पार्टीहरूमा क्रोनिज हावी छन् । पार्टीभित्र न्याय हराएको छ । आन्तरिक लोकतन्त्र एकादेशको दन्त्य कथाजस्तो बनेको छ । माथि धेरै नकारात्मक विषयमा चर्चा गरिए तापनि हाम्रो समाजलाई अझै सुधार्न सकिने सम्भावना छ । हाम्रै समाजमा राम्रा काम पनि भएका छन् । साना जस्ता भए पनि त्यस्ता कामहरूको बारेमा चर्चा गरौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टीले निकट भविष्यमा गर्ने भनिएको सडक प्रदर्शनलाई स्थगित गरेर जनताका घरघरमा गएर कुरा बुझाउने र पार्टी संगठन निर्माण गर्ने निर्णय लिएको छ । रवि लामिछानेको नामबाट पार्टी बनेको र उनीबेगर पार्टीको अस्तित्व रहने सम्भावना छैन भन्ने त्यस पार्टीको चिन्तनमा सुधार भएको महसुस भएको छ । चितवन र तनहूँमा भएको उपनिर्वाचनमा जस्तै अदालत र राज्यका अन्य निकायले जे भने तापनि पेलेर लानुपर्छ भन्ने सोचमा आधारित भएर रास्वपाले रविमाथि प्रतिशोध साधियो भन्ने नारा लिएर सडक प्रदर्शनमा उत्रेको थियो । तर, एक महिनाभन्दा बढीको सडक आन्दोलनमा जनसहभागिता नभएर कार्यकर्ता सहभागितामात्र भयो ।
नेता कार्यकर्ताबीचमा पनि आन्तरिक रूपमा फरक मत रहेको थियो । पार्टीले सडक आन्दोलनको क्रमलाई निरान्तरता दिएको भए जनसहभागिता झन् घट्दै जाने सम्भावना थियो । आगामी साता हुने स्थानीय निकायको उपचुनावमा नराम्रो सन्देश जाने र उपचुनावको नतिजा पनि कमजोर हुने कारणले पार्टीलाई सडक आन्दोलनबाट सुरक्षित अवतरण गर्नुपर्ने बाध्यता पनि थियो । नेपालका काठमाडौं, पोखरा, भैरहवा, जनकपुरलगायतका मुख्य आर्थिक क्षेत्रहरूमा सहकारी खोल्ने, अन्धाधुन्ध रूपमा निक्षेप संकलन गर्ने, जनताबाट संकलन गरिएको निक्षेपविना धितो र प्रक्रिया पूरा नगरी जीवब राई भन्ने मानिसलाई मोहोरा बनाएर रवि लामिछानेको स्वामित्व र वर्चस्वमा रहेको सञ्चार संस्थामा लगानी गर्ने विषय सुनियोजित अपचलन हो भन्ने बुझ्न खासै ठूलो आयोगको आवश्यकता नै थिएन ।
विभिन्न शहरमा विभिन्न नामका सहकारी खोलेर संकलित निक्षेप मनमौजी ढंगले खर्च गर्नेहरूले जनताको निक्षेप फिर्ता गर्ने सवालमा कत्ति पनि चासो नराखेको पाइयो । नेपाल जस्तो देशमा कुनै सञ्चार संस्थामा लगानी गरेर त्यसको प्रतिफल आएपछि जनताको निक्षेप फिर्ता दिने सोच बनाइएको हो भने त्यो व्यावहारिक जीवनको नभएर काल्पनिक कुरामात्र थियो । यसरी रकम अपचलन भएको विषय समिति, आयोग बनेर ठूलै बहसको विषय बन्यो । बन्न आवश्यक यस कारणले थिएन कि यो विषय प्रथम दृष्टिमा नै अपचलन भएको विषय थियो ।
यो विषय बिस्तारै जनतासामु पुगेपछि जनताले पनि यो प्रतिशोध हो कि अपचलन हो भनेर स्वतन्त्र रूपमा मन्थन गरे । नेपाली समाजको चेतनाको स्तर माओवादी द्वन्द्वोत्तरकालमा निकै बढेको छ । यो बढेको चेतन मष्तिष्कले अपचलन भएको ठहर ग¥यो र रास्वपाले अपेक्षा गरेजस्तो जनसहभागिता हुनसकेन । यो समेत कारणबाट पार्टीले आन्दोलनको स्वरूप फेरेको छ । सडक प्रदर्शनका कारण जनतालाई पर्ने सास्तीलाई यस पार्टीका नेताले महसुस गरेकाले सडक प्रदर्शन रोकिनु प्रशंसनीय काम भएको छ । असल काम भएको छ । पार्टीको युवा नेतृत्वमा जनताको मनको कुरा बुझ्ने अवस्था बन्नु भोलिका लागि पनि शुभ संकेत हो ।
रवि लामिछानेको विषय अदालतको गएका कारण यसको छिनोफानो अदालतबाट नै हुने कुरामा लोकतन्त्र र संविधानवाद मान्नेहरूका लागि स्वीकार्य विषय हो । लामिछाने सरकार बाहिर रहेको पार्टीको नेता भएका कारण उनीमाथि राज्यका निकायको पेलाहा व्यवहार बन्नु हुँदैन भन्ने यस्तै सर्वस्वीकार्य मान्यता हो । साथै, उनी जस्तै गलत काम गर्ने अभियोग लागेका अरू पार्टीका नेता वा ठूलाबडा वा जो कोही पनि छन् भने उनीहरूमाथि पनि कानुन बमोजिम कारबाही गरिनुपर्छ भन्नेमा जिमति राख्न मिल्दैन । रवि लामिछानेकै परामर्शमा राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको वैचारिक परिवर्तन आशालाग्दो छ । यसलाई उदाहरणका रूपमा लिएर सत्ताको नेतृत्वमा रहेको एमालेले सडक प्रदर्शनलाई रोक्नु बुद्धिमानी कदम हुन सक्छ ।
आशालाग्दो विद्युत् व्यापार
‘एकश्चन्द्रस्तमो हन्ति’ भने जस्तै विद्युत् प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्पणको कारण नेपाल लोड सेडिङमुक्तमात्र भएको छैन नेपालले भारतको अलावा भारतको प्रसारण संरचना प्रयोग गरेर तेस्रो देश बंगलादेशमा चालीस मेगावाट विद्युत् बेच्न सुरु गरेको छ । अठार घण्टा लोडसेडिङ हुने कहालीलाग्दो अवस्थाबाट केही वर्षभित्रमै आन्तरिक आवश्यकता पूरा गरी तेस्रो देशमा समेत निर्यात गर्ने हैसियतमा पुग्नु, सही नेतृत्व भएमा असम्भव केही छैन भन्ने सन्देश पनि हो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा १२ अरब ७१ करोड ९४ लाख ५९ हजारको विद्युत् भारत निर्यात भएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय ऊर्जा एक्स्चेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र विहार राज्यमा बिक्री गरिरहेको छ । नेपालले निर्यातयोग्य सामान र सेवा उत्पादन गर्न नसकेर निर्यात व्यापार क्रमशः कमजोर भएको अवस्थामा विद्युत् जस्तो स्वच्छ ऊर्जामा निर्यात व्यापारको प्रचुर सम्भावना देखिनु निराशा चिर्ने गतिलो आधार हो । नेपालको वैदेशिक व्यापारमा धेरै माग हुने भारतीय मुद्रामा हुने व्यापारका कारण भारतीय मुद्राको सञ्चितिमा पनि सकारात्मक प्रभाव पर्नु अर्को राम्रो पक्ष हो ।
लामो समयदेखि सुचारू नरहेको भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु भएका छन् । भारतीय पक्षले सुविधाजनक रुट नदिएका कारण केही समस्या भए तापनि सम्बद्ध पक्षलाई अन्य आकर्षण देखाएर भए पनि यो विमानस्थललाई पूर्णक्षमतामा चलाउन आवश्यक छ ।
विश्वमा कार्बन उत्सर्जनको कारण वायुमण्डल बिग्रिरहेको छ । पृथ्वीमा सफा हावा पाउन कठिन भएको छ । अमेरिकामा ट्रम्पवाद हावी भएसँगै पेरिस सम्झौता पालना नभई जलवायुको मुद्दा अझ कमजोर बन्ने परिस्थितितर्फ संसार नजाला भन्न सकिँदैन । यस्तो अवस्थामा स्वच्छ ऊर्जालाई बढावा दिनु सबै जिम्मेवार निकायको कर्तव्य हो । यसमा व्यक्तिगत अहंतुष्टि र चाकडी चाप्लुसीले कुनै भूमिका खेल्नु हुँदैन । अनावश्यक विवादको पछि नलागी कामको मूल्यांकन गर्ने परिपाटी बन्ने हो भने विद्युत् क्षेत्र, सुखी नेपाली र समृद्ध नेपाल बनाउने सूत्र बन्न सक्दछ ।
अर्थतन्त्रको बाहृय क्षेत्रमा क्रमिक सुधार
रेमिट्यान्सकै कारण भए पनि अर्थतन्त्रको बाहृयक्षेत्रमा सुधार देखिएको छ । गएको सत्र महिना यता मासिक रूपमा निरन्तर एक खर्बभन्दा बढी विप्रेषण भित्रिएको थियो । राष्ट्र बैंकले दिएको जानकारी अनुसार असोज एक महिनामामात्र एक खर्व ४४ अर्व २० करोड रेमिट्यान्स भित्रिएको छ । यसले गर्दा मुलुकको विदेशीमुद्रा सञ्चिति बलियो भएको छ । मुलुकको आर्थिक अवस्था टाट पल्टिनबाट जोगिएको छ । गएको असोज महिनासम्म २२ खर्ब ३२ अर्बभन्दा बढी सञ्चिति भएको छ । शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ । यस्तो अवस्थालाई अवसर मानेर बैंकमा थुप्रिएको पुँजीलाई उत्पादक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने, राष्ट्रिय पुँजी निर्माण गरी अर्थतन्त्रको संरचनागत परिवर्तन गर्न सके यो एक दुर्लभ अवसर बन्न सक्दछ ।
दुई ठूला पार्टी मिलेर सरकार बनेका कारण सरकारको स्थायित्व छ । सडकमा खासै ठूलो आन्दोलन र अवरोध छैन । एकल अंकको ब्याजदरमा लगानीयोग्य पुँजी पर्याप्त छ, लगानीका लागि आवश्यक पर्ने सामग्री आयात गर्न विदेशी मुद्राको पर्याप्तता छ । यो अवसरलाई सदुपयोग गर्न निराशावादी भाष्य निर्माण गर्नेहरूसमेत तल्लीन बनेर लाग्नुपर्ने अवस्था छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको सुविधा र सुधार
लामो समयदेखि सुचारू नरहेको भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू सुरु भएका छन् । भारतीय पक्षले सुविधाजनक रुट नदिएका कारण केही समस्या भए तापनि सम्बद्ध पक्षलाई अन्य आकर्षण देखाएर भए पनि यो विमानस्थललाई पूर्णक्षमतामा चलाउन आवश्यक छ । अनावश्यक बखेडा झिकेर र अहंकार प्रदर्शन गरेर भारतलाई चिढ्याएर होइन राष्ट्रिय स्वार्थका अडानमा सर्वस्वीकार्यता स्थापना गरी भारतसँगको सम्बन्ध सुमधुर र स्थिर गर्न सकेमात्र नेपालको आर्थिक विकास सम्भव छ भन्नेमा सबैमा मतैक्यता रहनु अनिवार्य छ । जो आए पनि नेपालको दृष्टिकोणमा स्थायित्व रहने परराष्ट्र नीति निर्माण गर्न सके विदेशी स्वार्थ हावी हुन सक्नेछैन । विमानस्थलको विषय होस् वा विद्युत् निर्यात वा अन्य विषय ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको सुविधाजनक बनाउन निर्माण कार्य थालिनु सकारात्मक काम हो । उडानको समय घटाएको कारण यात्रुलाई केही असुविधा त भएको छ तर निर्माणको अनिवार्यता र आवश्यकतालाई मध्यनजर गरेर असुविधालाई व्यवस्थापन गर्ने विकल्पको खोजी गर्नु आवश्यक छ । विमानस्थलभित्र रहेको जोखिमयुक्त हवाई इन्धन ट्यांकी सार्ने कार्य हुनलागेको छ । पचास वर्षअघि बनेको र सुरक्षा मापदण्ड पूरा नभएको डिपो विमानस्थल क्षेत्रमा रहनु जोखिमपूर्ण त छँदै थियो, २०७१ फागुन २० मा भएको टर्किस एअर, २०७४ फागुन २८ मा भएको बंगला विमान, २०८१ साउन ९ मा भएको सौर्य एअरलाइन्सको जहाज विमानस्थल परिसरभित्र दुर्घटनाग्रस्त भएको विगतलाइ सम्झिँदा यो इन्धन डिपो कति जोखिमपूर्ण छ त्यसलाई सहजै महसुस गर्न सकिन्छ ।
त्यसलाई विमानस्थलको उत्तरतिरको गल्फ कोर्टतिर सार्ने काम हुनलागेको विषय सानो जस्तो भए पनि अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रलाई भरोसा दिलाउने काम हुनलागेको छ । प्रधानमन्त्रीले दिएको निर्देशनको पनि पालना भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षित र सुविधाजनक बन्नु भनेको पर्यटन उद्योगको विकासका लागि पनि अनुकूलन थपिनु हो । यस्तै साना-साना जस्ता देखिने कामहरूले नै समग्र नतिजा दिने भएकाले केही भएन भन्ने नकारात्मक र निराशावादी भाष्य तोडेर आशावादी भविष्यतर्फ अगाडि बढ्न आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच