पहिलो अंकको प्रकाशनमा के विषय थियो थाहा भएन । तर, ३० वर्षको यात्रामा नछुटेको विषय होला भ्रष्टाचार । यही हिमालय टाइम्स राष्ट्रिय दैनिक पत्रिकामा प्रवेश गरेको पनि यो स्तभकारको १६ वर्ष ११ महिना दुई दिन हुनेरहेछ यही १० पुमा । मलाई हिमालय टाइम्स पत्रिकामा प्रवेश गराउने र पत्रकारिता पेसामा लाग्न प्रेरित गर्ने कृष्णप्रसाद निरौला (दाइ) जो हाल वाल्मीकि क्याम्पसमा प्रशासन प्रमुख हुनुहुन्छ उहाँप्रति म हार्दिक कृतज्ञता ज्ञापन गर्छु । त्यस्तैगरी, हिटामा प्रवेशपछि मेरा अर्का प्रेरक आदरणीय व्यक्तित्व पूर्वसम्पादक गोविन्द लुइँटेल सर । यस विषयमा म पत्रकारिता नपढेको÷नबुझेको यही अबुझलाई बुझ बनाउने, पढेर गरेपछि जानिन्छ तर अध्ययन गर्नुपर्दछ, ‘को जन्मजात जानेर आएको हुन्छ र ?’ भनी हर विषयमा ज्ञान अनि हौसला प्रदान गर्ने लुइँटेल सरप्रति म सधैँ ऋणी रहिरहने छु । जसले मलाई पत्रकारिता क्षेत्रमा लाग्न प्रेरणा दिनुभयो । हौसला र मार्गदर्शन प्रदान गरिरहनु भयो । म प्रवेश गर्दाको त्यस समयमा थुप्रै अग्रज व्यक्तित्वहरूमा छविराम पन्थी, सिर्जना पाण्डे दिदी लगायतको साथ, सहयोग, प्रेरणा र हौसला मलाई थियो । आज हिमालय टाइम्स ३० वर्ष पुग्दा म त्यही हौसलाले १७ वर्ष नजिकको पथ अंगालिरहेको छु ।
कालो हिटा छ र ? भन्नेहरू अझै पनि हुनुहुन्छ । हिमालय टाइम्सको प्रतिष्ठा नै हिटा हो । हिजो जन्मँदा जुन ओज थियो, जुन उमंग थियो त्यो कतै विलय भएको छैन ।
तर, बीचका केही महिना वा कालखण्डमा म भौतारिएँ कतै कुनै सञ्चारमाध्यम गएकै थिएँ । अन्ततः फर्किएँ र यहीँ छु । फर्किने वातावरण बनाउने पूर्वसम्पादक लुइँटेल सर र मेरो असमझदारीलाई सहजै स्वीकार गर्ने हिमालय टाइम्सका पिता कार्यकारी निर्देशक उज्ज्वल शर्मा सरप्रति म आभारी छु । ती समयका दिन, हिमालय टाइम्सभित्र भएका प्राविधिक साधन तथा स्रोत र लोडसेडिङको चरमकालखण्ड नभोगे नखेपेको कहाँ हो र ? यतिसम्म थियो कि बत्ती आउँछ र समाचार पूरा हुन्छ भन्ने आश-आशमै ती रात पनि बितेका थिए । रात बित्यो, दिनको उज्यालो आयो, प्राधिकरणको बत्ती आएन तर पत्रिका पाठकको घरघर र हातहातमा हुन्थ्यो ।
सायद २९औँ वर्ष पूरा गर्दा यो सञ्चार माध्यमले के चाँहि भोगेन होला र ? मसान घाटको मुर्दा घरको लाशदेखि, माओवादीको १० वर्षे सशस्त्र युद्धको ज्वाला, सरकार पक्षको ज्यादति, प्रजातन्त्रका नाममा भएका आन्दोलन, राजदरबारको वंश विनाश, राजनीतिक दलहरूले प्रजातन्त्रका नाममा गरेको त्याग र त्यही त्यागका नामबाट बनेको उपलब्धिमा गरेको रजाइँ जनताका लागि अपमान भएको छ । ती विनाशपछिका उपलब्धि राजनीतिक दलका लागि मात्र भए जनताका कहिल्यै हुन सकेनन् । हिजो जेविरुद्ध समाचार बन्थे आज पनि त्यहीविरुद्ध समाचार बनिरहेका छन् । भ्रष्टाचारविरुद्ध हिटाले नियमित कलम चलाइरहेको छ ।
हिमालय टाइम्सका विषयमा बजारमा हल्ला हुन्छन् तर ती हल्ला सकारात्मक मात्रै सुनेको छु । नकारात्मक त मैले सुनेकै छैन । कालो हिटा छ र ? भन्नेहरू अझै पनि हुनुहुन्छ । हिमालय टाइम्सको प्रतिष्ठा नै हिटा हो । हिजो जन्मँदा जुन ओज थियो, जुन उमंग थियो त्यो कतै विलय भएको छैन । ३० वर्षमा बल्ल उमेर पुगेर परिपक्व भएको छ । बालकमा पनि बालक भएन, अल्लारेमा पनि अल्लारे भएन र सधैँ युवा बनिरहेको यो हिटा अब पनि जोस्, होस् र जाँगरले भरिपूर्ण उम्दो बन्ने दौडमा छ र चम्किरहेको अवस्था छ । उज्यालो त रातमा जुनकिरीले पनि दिन्छ तर पूर्ण उज्यालो हुँदैन । हिटा भनेको नेपाली पत्रकार क्षेत्रको एउटा एक्लो वृहस्पति हो । यसलाई साथ र सहयोग सबैको मन र वचनले होला तर कर्म भनेको हिटा पिताको मात्रै हो भन्ने अनुभव मैले गरेको छु । यो एक्लो वृहस्पतिबाट हजारौँ पत्रकार जन्माएका छन् । यस हिटाले जन्माएको पुत्र र पुत्री एक्लो वृहस्पति बनेका छैनन् सञ्चार क्षेत्रको नक्षत्र बनेका छन् ।
विनाशपछिका उपलब्धि राजनीतिक दलका लागि मात्र भए जनताका कहिल्यै हुन सकेनन् । हिजो जेविरुद्ध समाचार बन्थे आज पनि त्यहीविरुद्ध समाचार बनिरहेको छ । भ्रष्टाचारविरुद्ध हिटाले नियमित कलम चलाइरहेको छ ।
बिहानीको रिमरिमेमा हिटा छिर्ने र जेठ महिनाको मध्यघाम बनेर जानेहरूको अवस्था अर्कै छ । तर, यही क्षेत्रमा मात्र धरोहर बन्न खोज्नेहरू न घाम न पानी न त बादल न कुहिरो । कुहिरो, बादल, पानी र घाम कहाँ सधैैँ भइरहने हो, क्षणिक हराए जान्छ/आउँछ । न खोजी न नीति । दिन–रात फरक हुन्छ भनेझैँ हिटा पनि परिवर्तनशील रूपमा फरक भएको सर्वत्र चर्चा छ । चर्चा त हरेक विषयका हुन्छन् तर ती चर्चा कतिका त हीनताबोध पनि हुँदा रहेछन् । हिटाले पनि समयमा तलब दिन्छ र ? म भनिदिन्छु, दिन्छ । ‘सत्य’ दिएर नै दिएको भन्छु । यति भन्नेबित्तिकै हो र भन्नेहरू चैँ बजारमा धेरै हुनुहुन्छ । मैले काम गरेको आधारलाई तलबसँग तुलना गर्ने र समयलाई लिने भए मेरो समयको नै प्रतिफल हो । जहाँ भए नि काम त गर्नैपर्छ । परिश्रमको पारिश्रमिक यथोचित जसले पनि त लिएकै हुन्छ, राजी-खुशी । मैले पनि लिएकै छु ।
हाल प्रधानसम्पादक प्राध्यापक पुरुषोत्तम दाहाल लेखनमा (सर) सम्बन्धमा उहाँ मेरो मामा हुनुहुन्छ । उहाँसँग रहेर काम गर्ने अर्काे अवसर प्राप्त भयो मेरा लागि भाग्य हो भन्ने मैले ठानेको छु । कृति, प्रतिष्ठा र ओज भएको व्यक्तिको संगतले जिन्दगी अर्थपूर्ण बन्दो रहेछ । धमिरो लागेको र पानीमा भिजेको काठ पनि घाम पायो भने कतै घरको सरा त बन्दैन ? अवश्य बन्ने रहेछ त्यो धमिरोले खाएको र पानीले भिजेको सरोको प्रयोग कहाँ गर्ने ? र कसरी गर्ने ? भन्ने सिकर्मीलाई नै थाहा हुने रहेछ ।
हिटाको अब्बल धार नै सत्य समाचारको मूल मन्त्र बनेको छ । समाचारमा आएका कुनै शब्दलाई पनि तौलिएर र मनन गरेर रसयुक्त भाषामा प्रयोग गर्न निर्देशनात्मक आग्रह पाठ हो हाम्रा लागि । उहाँ प्रधानसम्पादक भएर हिटामा आएपछि विश्वव्यापी महामारीको फैलावटले अफिस कार्य घरबाटै हुन थाल्यो । कोभिडको महामारीको समय हो न उसले पर्खन्छ, न बन्धनमा राख्न सकिन्छ ? ताकि समयको गतिमा कोही भइँदैन तर हिमालय टाइम्स गति, मति र लयमै समयसँगै समुद्र बनेर चलिरहेको छ ।
मेरा यी माथि भनेका दिनले आजका दिनसम्म हिमालय टाइम्स प्रकाशन भएको दिनमा नछुटेको विषय नहुँदो हो त भ्रष्टाचार । यही विषय उठान गर्दा आरोप प्रत्यक्ष-अप्रत्यक्ष हुन्छ । तर, हिमालय टाइम्स यथार्थभन्दा बाहिर छैन । जे सवालका विषय हिमालय टाइम्सले उठाएको छ अबल, सबल छ र छन् । वर्ष वृद्धिसँगै हिमालय टाइम्सको शाख, प्रतिष्ठा आँच, भरोसा र पाठकको मनमा रहिरहोस् ३०औँ वर्ष प्रवेशको उज्ज्वल भविष्यको कामनासहित अपार शुभकामना । (लेखक कोइराला हिटाका भाषा सम्पादक हुनुहुन्छ ।)
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच