
मुगु । सामाजिक सञ्जाल फेसबुकमा एक कारुणिक दृश्य देखियो । जुन दृश्य मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका-४ माझचौर भन्ने स्थानको थियो । एउटा स्टेक्चरमा चार/पाँचजना अधबैँसे महिलाले बिरामी बोकेर माझचौरस्थित एक निजी क्लिनिकतर्फ लग्दै थिए । उनीहरू गाउँपालिकाकै वडा नम्बर-३ माथि खर्क गाउँका स्थानीय महिला थिए ।
खत्याड गाउँपालिका-३ माथिखर्क गाउँकी ७० वर्षीया पञ्चा टमटा दमले थला परेर गाउँमा उपचार सम्भव नभएपछि उहाँलाई गाउँकै चार/पाँचजना महिला मिली उपचारको लागि बोकेर क्लिनिक पुर्याएर उपचार गराएका थिए ।
खत्याड-४ माझचौरमा देखिएको यो दृश्य बिरामी बोकेकी नजिकैको खर्कगाउँकी महिलाको हो । करिब डेढ घण्टाको पैदल दूरीमा रहेको यस गाउँदेखि चार/पाँचजना महिलाले स्ट्रेचरमा बिरामी बोकी उपचार गराउन मेडिकल पुग्नु सम्भवतः जिल्लाको लागि पहिलो घटना हो । ‘उक्त दृश्य माझचौरमै स्टेसनरी पसल गर्दै आउनुभएका खत्याड-११ रातापानीका कमल कार्कीको आँखामा ठोकियो । उहाँले तस्बिर खिच्नुभयो अनि फेसबुकमा पोष्ट गर्दै लेख्नुहुन्छ, ‘देशको अवस्था यतिसम्म भइसकेछ जबकि गाउँमा कोही बुढापाका बिरामी हुँदा पनि बोकेर स्वास्थ्य चौकीसम्म लाने युवाहरू छैनन् । हुन त कसरी गाउँमा युवाहरू बसुन् रोजगारी छैन, श्रम गरेर खान पुग्दैन, काम गरे पनि एक/दुई वर्षसम्म ज्याला मिल्दैन, अनि कसरी गाउँमा बस्ने ? कसरी परिवार पाल्ने ? देशका ७५३ स्थानीय तहका वडादेखि केन्द्रसम्म भ्रष्टाचारी नेतालाई पालनपोषण गर्न सबै पार्टी लागिपर्ने, अनि कसरी देश अगाडि बढ्ला । अबको एक वर्षपछि गाउँमा युवा देखियो भने कि त्यो नेताको गुलाम हो, कि त अशक्त छ भनेर बुझ्दा हुन्छ । अनि बुढापाका घरभित्रै मरेर कुहिने अवस्था हुन्छ । के बिजोक देख्नु यी आँखाले !’
यस विषयमा बिरामी पञ्चाका छोरा चन्द्रबहादुर विकलाई फोन गरी बुझ्दा उहाँ भन्नुहुन्छ, ‘म माझचौरमा पसल गरेर बस्छु । घरमा आमा दमले थला परेको थाहा पाएपछि आमाको उपचारको लागि घर गएँ । गाउँमा युवाहरू कोही छैनन् । सबै रोजगारीको लागि भारततिर गएका छन् ।’ उहाँले दुःखेसो सुनाउनुभयो, ‘बिरामी आमालाई एक्लै बोक्न सम्भव नभएपछि गाउँकै महिला दिदी बहिनीहरूले बोकेर मेडिकलसम्म पु¥याउन सहयोग गर्नुभयो ।
यति मात्रै होइन आमाको उपचारपछि पुनः डेढघण्टा महिलाहरूले नै बोकेर घरमै पु¥याएको छोरा चन्द्रबहादुरले सुनाउनुभयो । ‘यो कुनै रहर नभएर बाध्यता हो ।’ उहाँले थप्नुभयो, ‘६० घरधुरी रहेको माथिखर्क गाउँमा दलित बस्ती यतिबेला युवाविहीन जस्तै छ ।’
खर्क गाउँ त एक नमुना मात्र हो दशैँ तिहार र कात्तिकको काम सकेर युवाहरू मजदुरीका लागि भारततिर पसेका छन् । मुगुका प्रायः गाउँहरू युवाविहीन छन् । गाउँमा कोही बिरामी परे, कसैको मृत्यु भए बोक्ने युवा शक्ति नहुँदा महिलाहरूले नै बोक्नुपर्ने अवस्था छ । आज गाउँमा यस्तै दर्दनाक अवस्था छ । राज्य कानमा तेल हालेर बसेको जस्तै महसुस स्थानीयले गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच