
काठमाडौं । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली युवा नेताहरूले नेपाली राजनीतिमा नयाँ बहस छेडेका छन् । पहिलो र दोस्रो ठूला दलबीच समीकरण गरेर सरकार सञ्चालन गरिरहेका दुई दलका युवा नेताहरूले अब लोकप्रिय मत पाउनेले पाँच वर्ष नै सत्ता सञ्चालन गर्न पाउनुपर्ने भन्दै नयाँ बहस छेडेका हुन् । राजनीतिक स्थायित्वको नारा दिएर गत असारमा दुई दलले आलोपालो सरकारको नेतृत्व गर्नेगरी समीकरण बनाएका थिए । अहिले दुवै दलका दोस्रो तहका प्रभावशाली नेताहरूले लोकप्रिय मत प्राप्त गर्ने दलले पाँच वर्षसम्म शासन गर्न पाउनुपर्ने अभिव्यक्ति दिएका हुन् । लोकतन्त्रमा सामान्यतः बहुमतको शासन र अल्पमतको प्रतिपक्षी परिकल्पना गरिन्छ । नेपालको वर्तमान संविधानले पनि यही व्यवस्था गरेको छ । संघीय संसद्मा बहुमत प्राप्त गर्ने एकल वा गठबन्धनले सत्ता सञ्चालन गर्ने र अल्पमत प्रतिपक्षीमा रहने व्यवस्था गरेको छ ।
तर, कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्तिले पाँच वर्ष शासन गर्न पाउनुपर्ने बताउनुभएको छ । थापा र शर्माकै बोलीमा एमाले महासचिव शंकर पोखरेलले पनि लोली मिलाउनु भएको छ । थापा र शर्माकै अभिव्यक्तिको विरोध भइरहेका बेला महासचिव पोखरेल पनि स्वर मिलाउन आइपुग्नुभएको हो । उहाँहरूले भने अनुसार सरकार सञ्चालन गर्न हालको संबैधानिक व्यवस्थाले दिँदैन । तर, उहाँहरूले संविधान संशोधन गरेरै लोकप्रिय मतले शासन गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।
कांग्रेस-एमाले समीकरण बन्दा नै संविधान संशोधन गर्ने सहमति गरेका थिए । सहमतिमा निर्वाचन प्रणालीलगायत विषय परिवर्तन गर्ने बाहिर आएको थियो । तर, समीकरण बनेको ६ महिना पुग्नै लाग्दा दुई दलका युवा नेताले नयाँ विषय प्रकाशमा ल्याएका हुन् । यो विषय सुरुमा कांग्रस महामन्त्री गगन थापाले उठाउनुभएको थियो । त्यसपछि थापाको बोलीमा अर्का महामन्त्री शर्माले लोली मिलाउनुभयो । जसमा कांग्रेसकै केही नेताले असहमति जनाएका थिए । तर, अहिले आएर एमाले महासचिव पोखरेलले पनि थापा र शर्माकै लाइनमा अभिव्यक्ति दिनुभएको हो ।
लोकप्रिय मत ल्याउनेले सरकार चलाउने व्यवस्था गर्नुपर्छ : थापा
यसअघि कांग्रेस महामन्त्री गगन थापाले सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने बताउनुभएको थियो । गत शनिबार गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब निर्वाचनमा लोकप्रिय मत जसले बढी ल्याउँछ, त्यसले सरकार चलाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको थियो । तर, संविधान संशोधन गर्दा गणतन्त्र, संघीयता, समावेशिता नचलाउने उहाँको भनाइ थियो । ‘अहिले पनि प्रधानमन्त्रीले हरेक १० दिनमा सरकार बदलिँदैन भन्नुपर्ने अवस्था छ । आज मन्त्री भइरहेकाले भोलि बिहान हुन्छु कि हुन्न भन्नेमा छ,’ उहाँले भन्नुभएको थियो, ‘त्यसैले अब निर्वाचनमा लोकप्रिय मत जसले बढी ल्याउँछ, त्यसले सरकार चलाउँछ । हामीलाई समावेशिता पनि चाहिएको छ । त्यसैले संविधान संशोधन गर्दा निर्वाचन प्रणालीमा काम गर्छौं ।’
पहिलो दल सत्ता र दोस्रो प्रतिपक्षमा हुने व्यवस्था संविधानमै हुनपर्छ : शर्मा
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरिनुपर्ने बताउनुभएको छ । कांग्रेस झापा क्षेत्र नं-१ ले मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा उहाँले कुनै पनि प्रधानमन्त्री लगातार पाँच वर्ष नटिक्ने अवस्था अन्त्य गर्न यस्तो व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । तर, नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था भने आवश्यक नरहेको तर्क गर्नुभयो । ‘राणा शासनपछि कुनै पनि प्रधानमन्त्री पाँच वर्षसम्म टिकेनन्, यो समस्या समाधानका लागि लोकप्रिय मत ल्याउने दलको नेतालाई काम गर्न दिनेगरी व्यवस्था गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘कतिपयले मुलुकको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचित हुने व्यवस्थाको कुरा पनि गरिरहेका छन्, तत्काल नेपालमा त्यसको आवश्यकता छैन ।
संविधान संशोधन गर्दा पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्थाका लागि प्रस्ताव गर्दैन ।’ प्रत्यक्ष निर्वाचित कार्यकारीको विकल्पमा लोकप्रिय र प्रत्यक्षतर्फ पहिलो हुने दलले छानेको नेतालाई पाँच वर्ष कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थाको सुनिश्चितता हुनेगरी संविधान संशोधन उपयुक्त हुने उहाँले बताउनुभयो । ‘लोकिप्रय मतमा पहिलो हुने दल सत्तामा र दोस्रो हुने दल प्रमुख प्रतिपक्षमा हुने भनेर संविधानमै उल्लेख हुनुपर्छ । सत्तामा पुग्ने नेता वा प्रधानमन्त्रीले दुई वर्षमा विश्वासको मत लिने व्यवस्था पनि गर्न सकिन्छ,’ उहाँले भन्नुभयो । कांग्रेस र एमाले संविधान संशोधन गर्न सहमत भएरै सत्ता समीकरण बनेको स्मरण गर्नुभयो ।
कमजोरले शासन गर्ने लोकतन्त्रबाट राष्ट्रको विकास र समृद्धि हुनसक्दैन : पोखरेल
एमाले महासचिव शंकर पोरखेलले चुनावमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष शासन गर्न पाउनुपर्ने बताउनुभएको छ । बिहीबार पार्टी कार्यालय च्यासलमा पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले त्यही प्रणाली स्थापित गर्न आफूहरू कांग्रेससँग मिलेको दाबी गर्नुभयो । कमजोरले शासन गर्ने लोकतन्त्रबाट राष्ट्रको विकास र समृद्धि हुनसक्दैन उहाँको भनाइ थियो । ‘कमजोरले शासन गर्ने लोकतन्त्रबाट राष्ट्रको विकास, समृद्धि हुनसक्दैन । त्यसअर्थमा हामी आउने चुनावका माध्यमबाट कांग्रेस वा एमाले जसले लोकप्रिय मत प्राप्त गर्दछ, त्यसैले पाँच वर्षसम्म शासन गर्न पाउनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘सानातिनाको भारी बोकेर मुलुकलाई अस्थिर बनाउने कुरा अब सोझै अन्त्य हुनुपर्दछ भन्ने मान्यताका आधारमा हामीले राजनीतिक स्थायित्वतर्फ अगाडि बढ्न मिलेका छौं ।’
पोखरेलले आगामी चुनावमा कांग्रेस र एमाले नमिल्ने तर, जनताले अस्वीकृत गरेका शक्तिले शासन गर्ने परिस्थिति निर्माण नहोस् भन्न एउटा प्रणाली विकास गर्न चाहेको बताउनुभयो । ‘अहिले हामीले कांग्रेस र एमाले मिलेर मुकुकलाई राजनीतिक स्थायित्वको दिशामा अगाडि बढाउने उद्देश्यका साथ जे काम गरेर अगाडि बढिरहेका छौं, त्यो फेरि हामी दुईटा पार्टी आउँदो चुनावमा मिलेर जाने भन्ने पनि होइन,’ उहाँले भन्नुभयो, ‘हामी यस्तो प्रकारको प्रणाली स्थापित गर्न चाहन्छौं, यस्तो प्रकारको संस्कृति निर्माण गर्न चाहन्छौं ताकी जनताले अस्वीकृत गरेका शक्तिहरूले शासन गर्ने परिस्थिति उत्पन्न नहोस् ।’
डा. रिजालको प्रश्न- अब व्यवस्थापिका नराख्ने भनेको हो ?
कांग्रेस नेता डा.मिनेन्द्र्र रिजालको मत भने फरक छ । उहाँले लोकप्रिय मत ल्याउनेले सरकारले चलाउने कुरा स्वाभाविक नहुने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले प्रत्यक्ष कार्यकारी र लोकप्रिय मत पाउनेले पाँच वर्ष सरकार चलाउनुपर्छ भन्नेले अब व्यवस्थापिका नराख्ने भनेको हो ? भनी प्रश्न गर्नुभयो । ‘सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने कुराले अब व्यवस्थापिका नराख्ने भन्ने कुरालाई जोड दिएको छ,’ उहाँले भन्नुभयो । यस्ता बहसले व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य हुने उहाँको भनाइ थियो । ‘मेरो पार्टीको महामन्त्रीले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउनुपर्छ भन्नुभयो । बाबुरामजीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि सबै चल्छ भन्नुभयो । त्यो भनेको मतलब अब व्यवस्थापिका नराख्ने भनेको हो ? व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य गर्ने भनेको हो ?’ उहाँले भन्नुभयो, ‘अर्को कसैले चुनाव हारेको दिन फेरि अर्को पटक जनतासँग गएर सत्ता बदल्न सक्छु भन्ने आत्मविश्वास भएमात्रै लोकतन्त्र बलियो हुन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच