रौतहट । रौतहटको गुजरा नगरपालिकाका राम एकबाल रामले करिब दश वर्षपछि आफ्नै आँखाले पुनः संसारलाई देख्न पाउँदा भावुक बने । गरुडा नगरपालिका ५ मा रहेको स्वास्थ्य केन्द्रमा चलेको निशुल्क आँखा शिविरमा पुग्दा उनका दुवै आँखाले केही ठम्याउन सकिरहेका थिएनन् ।
मंगलवारको बिहान सबैले मकर संक्रान्ति मनाइरहँदा डा. रीता गुरुङले रामका दुवै आँखाको पट्टी खोल्दा उनले आफ्नै आँखाले अगाडिको दृश्य देख्न पाउँदा भावुक बने । रामले करिब दश वर्ष पहिले नै आँखाको दृष्टि गुमाएका थिए ।
विपन्न भएकाले पैसा खर्च गरेर आँखामा रहेको मोतियाबिन्दुको अपरेसन गराउने सामथ्र्य थिएन । छोराछोरी पनि साना नै छन् । पत्नीको दैनिक ज्यालादारीको पारिश्रमिकमा मुस्किलले परिवारको दैनिकी धानिरहेका रामले करिब दश वर्षपछि पुनः संसारलाई देख्न पाएपछि भने :– अपरेसन गरिदिने र मलाई संसार देखाइदिने डाक्टरसाहेबलाई धन्यवाद ।
गरुडा नगरपालिका ८ जिंगडियाका शेख ठागा र निजकी पत्नी सहुदा खातुनको एकसाथ मोतियाबिन्दुको अपरेसन गरिएको छ । निकै मधुरो देख्ने वा कहिलेकाहीँ श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई पनि चिन्न अप्ठ्यारो भइसकेको अवस्थामा दम्पत्तिले एक साथ नयाँ दृष्टि पाएका छन् । दुवै जनाको आँखाको अपरेसन शिविरमै भएको छ । आँखाको अपरेसनपछि आँखाको पटिट् उघारेपछि दम्पत्तिले सबैभन्दा पहिले दर्शन गरे डा. रीता गुरुङकै । शेख ठागाले आभारको अभिव्यक्ति दिँदै आगामी इदको दावत दिए : ‘अपनेके इदके दावत देइछी ।’
गढीमाई नगरपालिका १ समनपुरका एक नवयुवकको पनि आँखाको अपरेसनपछि दृष्टि फर्केको छ । एउटा आँखामा मोतियाबिन्दु भएर देख्नै नदेख्ने भएको महतो थरका युवकले दुवै आँखाले समान रुपमा संसारलाई देख्न पाउँदा औधी खुसी भएको बताएका छन् । उनलाई कतिपयले एउटा आँखा मात्र देख्ने भनेर जिस्क्याउने गरेकामा अब दुवै आँखा पूर्ण स्वस्थ्य भएपछि आफ्नो लागि जीवनमा नयाँ दृष्टि नै आएको बताउँछन् ।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, नेपाली सेना तथा गरुडा नगरपालिकाको समन्वयमा चलेको आँखा शिविरमा ५८१ जनाको मोतियाबिन्दुको अपरेसन भएको छ । तिलगंगा आँखा प्रतिष्ठानको इतिहासमा कुनै शिविरमा गरिएको यो दोस्रो ठुलो हुन गएको छ । तिन दिनको आँखा शिविरमा ५८१ को अपरेसन गरिनु निकै ठुलो मानिएको छ । यसलाई सफल आयोजन मानिएको तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको प्रमुख संचालन अधिकृतका पिताम्बर अधिकारीले जानकारी गराउनु भएको छ ।
विभिन्न चरणमा गरी रौतहटको गरुडा, कटहरिया, गुजरा लगायतको नगरपालिकामा आँखा जाँच शिविर संचालन गरी मोतियाबिन्दुको रोगीको चयन गरिएको थियो । सबै रोगीलाई शिवनगरमा नै निशुल्क शल्यक्रिया गरिने जानकारी दिई सबैलाई निर्धारित मितिमा बोलाइएको थियो । आँखाको शल्यक्रिया गर्दा कसैसित कुनै किसिमको शुल्क नलिइएकोले सबैले धेरै राम्रो सुविधा पाएको कटहरियाका राजकरण यादवले जानकारी गराउनु भएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट चिकित्सक र कर्मचारी गरी ३५ जनाको टोलीले ११ दिनसम्म काम गरेको प्रतिष्ठानका हरि कार्कीले बताउनु भयो । प्रतिष्ठानको निजगढमा रहेको शाखाका प्रमुख दीपक सुवेदीले सबै शिविरमा रहेर कर्मचारीको व्यवस्थापन सहयोग गर्नुभएको थियो । कर्मचारीको तर्फबाट पनि व्यवस्थापनमा सबै पक्षले सहयोग गरेको सुवेदीले बताउनु भयो ।
यसै गरी गरुडा नगरपालिकाको स्वास्थ्य शाखाका विभिन्न कर्मचारीहरुले पनि अहोरात्र काम गरेको नगर प्रमुख कन्थमुनि प्रसाद कल्वारको भनाइ छ । गरुडा नगरपालिकाको तर्फबाट खाना र बासको व्यवस्था गरिनुका साथै अन्य व्यवस्थापनमा सहयोग गरिएको नगर प्रमुख कल्वारको भनाइ छ । कल्वारले भन्नुभयो : नगरपालिकाको पहलमा सयौँ मानिसले संसारलाई देख्न पाउनु आफ्नो लागि पनि खुसीको कुरो हो ।
नगर प्रमुख कल्वारको पहलमा नै शिवनगरमा आँखा शिविरको आयोजन भएको हो ।
नेपाली सेनाले आन्तरिक व्यवस्थापनमा निकै ठुलो महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख कल्वारको भनाइ छ ।
नेपाली सेनाको सहयोगप्रति नगर प्रमुख कल्वारले आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा सहयोगको अपेक्षा गर्नुभएको छ । आगामी दिनमा पनि नगरपालिकाले सामाजिक सेवाको कार्य गर्दै जाने नगर प्रमुख कल्वारको भनाइ छ ।
नेपाल, भुटान तथा किर्गिस्तानलगायतका देशका दक्ष चिकित्सकहरुको उत्कृष्ट सेवा घरदैलोमा पाएर सेवाग्राहीहरु सन्तुष्ट बनेका छन् । सेवाग्राहीलाई खाना, आवास, औषधि तथा चस्मासमेतको व्यवस्थाका साथै उत्कृष्ट सेवा प्राप्त भएकोमा सबै वर्ग र क्षेत्रका मानिस हर्षित भएको सेवाग्राही शेख ठागाको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच