
काठमाडौं । विभागीय टोली एपिएफले एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । टिम अपराजित रहँदै च्याम्पियन बनेको हो । पहिलोपटक लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको महिला लिगको फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गर्दै च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपिएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गर्नुभयो । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।
लिगको पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको एपिएफ त्यसपछिका १८ खेलमा शतप्रतिशत जित निकाल्दै च्याम्पियन बनेको हो । पुलिसविरुद्ध एपिएफको यो लगातार तेस्रो जित रहृयो । सुपर स्टेजको नाम दिइएको दोस्रो चरणका दुवै लिगमा एपिएफले पुलिसलाई हराएको थियो । पहिलो लिगमा ६-० को हार बेहोरेको पुलिस दोस्रो लिगमा २-० ले पराजित भएको थियो ।
पहिलो हाफमा एपिएफले कुनै पनि राम्रो अवसर सिर्जना गर्न सकेन । दोस्रो हाफमा एकपछि अर्को आक्रमण बुनेको एपिएफले खेलको ६४औँ मिनेटमा डेढलक तोड्यो । सरु लिम्बूले राइट साइडबाट दिएको क्रसलाई सविताले वान टचमा गोल गर्नुभयो । पाँच मिनेटपछि सरुको गोलमार्फत् एपिएफले अग्रता दोब्बर बनायो । मिडफिल्डर रेनुका नगरकोटेको हेडर पोलमा लागेर फर्किएपछि प्राप्त रिबाउन्डको फाइदा सरुले उठाउनुभएको हो । सरुको प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।
निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा प्रीति राईको थ्रु पासमा सविताले अर्को गोल थप्नुभयो । सविताको लोअर प्रहारले पनि दोस्रो बारको जाली चुमेको थियो । इन्जुरी समयमा अनुले गोल गर्दै एपिएफलाई ४-० को सहज जित दिलाउनुभयो ।
सुपर लिगमा एपिएफले सबै आठ खेल जितेको थियो । शीर्ष स्थानमा रहेको एपिएफले क्वालिफायर वानमा आर्मीलाई हराएर सिधै फाइनलमा प्रवेश गरेको थियो । जसमा एपिएफले कुल ४५ गोल गर्दा जम्मा चार गोलमात्र बेहोरेको थियो ।
सविता सर्वोत्कृष्ट खेलाडी
विभागीय टोली नेपाल एपिएफ क्लबकी खेलाडी सविता राना मगर एन्फा महिला लिगको सर्वोत्कृष्ट खेलाडी हुनुभएको छ । लिगमा एपिएफलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएकी सविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुनुभएको हो । सविताले सवोत्कृष्ट खेलाडीको सम्मानमा नगद एक लाख नगद प्राप्त गर्नुभयो । च्याम्पियन एपिएफकै खेलाडी रश्मिकुमारी घिसिङ प्रतियोगिताको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहनुभयो । रश्मिले लिग भरमा ३९ गोल गर्नुभएको थियो । उहाँले सर्वाधिक गोलकर्ताको सम्मान स्वरुप नगद ५० हजार प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट गोल रक्षकका रुपमा एपिएफकी सावित्री किसान हुनुभयो । उहाँले नगद ५० हजार प्राप्त गर्नुभयो । प्रतियोगिताको फेयर प्ले अवार्ड विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । अवार्डका साथ आर्मीले नगद एक लाख ५० हजार प्राप्त गरेको छ । रेनुका नगरकोटे फाइनल खेलको प्लेयर अफ द म्याच हुनुभयो ।
अनुको सन्न्यास
नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्न्यास लिनुभएको छ । करिब ६ वर्षअगाडि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिनुभएकी ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल खेल्दै आउनुभएको थियो । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एन्फा राष्ट्रिय महिला लिगको फाइनललगत्तै उहाँले सन्न्यासको घोषणा गर्नुभयो । अनु खेलको ८७औँ मिनेटमा रेनुका नगरकोटेको स्थान लिँदै मैदान प्रवेश गर्नुभएको थियो । अनुको नाममा एक गोल रहृयो । फाइनलपछि उहाँलाई एपिएफका खेलाडीले ‘गार्ड अफ द अनर’ सम्मान प्रदान गरेका थिए । सन् २०१० मा राष्ट्रिय टोलीका लागि डेब्यु गर्नुभएकी अनुको नाममा ३५ अन्तर्राष्ट्रिय गोल छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच