
खान युनिस । गाजास्थित इस्लामिक लडाकू समूह (हमास)ले शनिबार थप तीनजना इजरायली बन्धकहरूलाई रिहा गर्दै रेडक्रसको जिम्मा लगाएका छन् । बदलामा शनिबारै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ ।
हमासका नकाबधारी लडाकुहरूले गाजाको दक्षिणी शहर खान युनिसको एक मञ्चमा बन्धकहरूलाई परेड गराएपछि उनीहरूलाई रेडक्रसलाई हस्तान्तरण गर्नुअघि भीडलाई सम्बोधन गर्न भनिएको थियो । आफ्ना अपहरणकारीले दिएको उपहारको झोला र आफ्नो कैदको अन्त्यको प्रमाणपत्र समातेर लडाकुहरूको साथमा रहेका तीनैजनाले युद्धविराम सम्झौताअन्तर्गत थप बन्धक आदानप्रदान पूरा गर्न आहृवान गरेका थिए ।
गत जनवरी १९ मा इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता भंग हुन लागेको आशंकापछि शुक्रबार दुवै पक्षले शनिबारको अदलाबदली अघि बढ्ने संकेत दिएका छन् । यो बन्धक तथा कैदी आदानप्रदानको छैटौँ समूह हो । हमास र इस्लामिक जिहादका स्रोतका अनुसार उक्त समूहले करिब २०० लडाकुलाई सुपुर्दगी समारोहका लागि तैनाथ गरेको थियो । तेल अभिवको ‘होस्टेज स्क्वायर’मा पनि भीड जम्मा भएको थियो र धेरैले इजरायली झण्डा र पोष्टर बोकेका थिए ।
यसअघि, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले कब्जामा लिएका अमेरिकी मूलका इजरायली सागुइ डेकेल-चेन, रूसी मूलका इजरायली साशा टुपानोभ र अर्जेन्टिनीमूलका इजरायली याइर होर्नलाई रिहा गर्न लागिएको बताएको थियो ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजाका लडाकुले उनीहरूलाई कब्जामा लिएका थिए । इजरायलले बदलामा ३६९ कैदीलाई रिहा गर्ने प्यालेस्टाइनी प्रिजनर्स क्लबको वकालत गर्ने एक समूहले जानकारी गराएको छ ।
सम्झौता असफल हुने संघारमा पुगेपछि हमासका एक अधिकारीले युद्धविरामको दोस्रो चरणको वार्ता अर्को हप्ताको सुरुमा हुने अपेक्षा गरिएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच