
स्वयम्भू छाउनीमा एउटा कार्यक्रम आयोजना भएको थियो र म पनि त्यहाँ निम्त्याइएको थिएँ । निर्माण व्यवसायीहरूको संस्थाको निर्वाचनपछि बनेको कार्यसमितिलाई ताराबहादुर कुँवरले रात्रिभोजसहित बधाई कार्यक्रम आयोजना गर्नुभएको थियो । त्यस कार्यक्रमा एकजना व्यक्ति प्रमुख अतिथि हुनुहुन्थ्यो-प्राडा. राजेन्द्रप्रसाद अधिकारी । रातिको कार्यक्रम, सबैलाई कसरी आ–आफ्नो बासस्थानमा पुग्ने भन्ने चिन्ता हुनु स्वाभाविक थियो, उहाँभन्दा अलिक पर बसेकाले मेरो बोलचाल भएन । खानपानपछि अब कसरी फर्किने भन्ने सोचिरहेको थिएँ ।
पठाओबाट घर फर्किनु पर्ला भन्ने लागेको थियो । मेरो घर कपन, कार्यक्रम भएको स्वयम्भू । चिन्ता त हुने नै भयो तर कोही चाबहिलतिर आउने सवारीसाधन भएको मानिस हुनुहुन्छ कि भनेर सोधखोज गरेँ । त्यहाँ सबैजना ठेकेदार, व्यापारी र उच्चपदस्त व्यक्तिहरू हुनुहुन्थ्यो । राजेन्द्र अधिकारी गाडी भएको मानिस र फर्किनुपर्ने चण्डोल भएकाले मलाई चाबहिलसम्म म पु¥याइदिन्छु भन्नुभयो ।
हामी त्यसदिन कुरा गर्दै चाबहिल गोपीकृष्ण सिनेमा हल नजिकसम्म आयौं । म पुग्नुपर्ने कपनको पनि अलिकमाथि फैकामा, उहाँ पुर्याइदिन्छु भन्दैहुनुहुन्थ्यो तर त्यहाँसम्म दुःख दिन मन लागेन । छोरीलाई बोलाएर मोटरसाइकलमा गएँ । त्यसपछि उहाँले मैले काम गर्ने हिमालय टाइम्स राष्ट्रिय दैनमा एक-दुईवटा लेख पठाउनुभयो, मैले छापिदिएँ । भेटघाट धेरैपटक भएको होइन तर उहाँ र म फोनमा कुरा गर्दागर्दै घनिष्ट भयौँ । उहाँ रिटायर इन्जिनियर तर साहित्यमा पनि योगदान गरिरहनु भएको मानिस । २०३८ सालदेखि नै कवितासङ्ग्रह एकल र संयुक्त रूपमा प्रकाशित गर्दै आउनुभएको रहेछ । हिमालय टाइम्समा उहाँको पुस्तक ‘आयान कुर्दी’को समीक्षा मेरै प्रयासमा सुशीला घिमिरेको लेखनमा प्रकाशित भयो ।
त्यसपछि भने मैले उहाँसँग अन्तरसंवाद गर्ने विचार गरेँ । उहाँ २०१८ मंसिर ८ गते नुवाकोट जिल्लामा जन्मिनुभएको रहेछ । माता कला अधिकारी र पिता केदारप्रसाद अधिकारीका माइला छोरा हुनुहुन्छ । उहाँका पिताको निधन भइसकेको छ । उहाँका एक दाजु, एक भाइ र एक बहिनी हुनुहुन्छ । पेशाले उहाँ इन्जिनियर हुनुहुन्छ । प्राध्यापन (निर्माण व्यवस्थापन), परामर्शदाता (सार्वजनिक खरिद, करार प्रशासन, प्राविधिक शिक्षा), विवाद समाधानलगायत कार्यमा उहाँको संलग्नता छ ।
कर्मस्थल राजधानी काठमाडौँलाई बनाएर अहिले उहाँ कार्यरत हुनुहुन्छ । राजेन्द्र अधिकारीको विवाह २०४८ माघमा प्रभा प्याकुरेलसँग भयो । उहाँहरूका एकजना छोरा आसित अधिकारी हुनुहुन्छ, उहाँ इन्जिनियर नै हुनुहुन्छ । इन्जिनियर राजेन्द्र अधिकारीले स्वदेशका लगभग ६० जिल्लाको भ्रमण गर्नुभएको छ भने भारत, चीन, बंगलादेश, मालदिभ्स, थाइल्याण्ड, सिंगापुर, मलेशिया, जापान, युएई, जर्मनी, स्विडेन, क्यानडालगायतक देशहरूको भ्रमण गर्नुभएको छ ।
साहित्यमा पनि उहाँ सक्रिय हुनुहुन्छ । कविताहरू लेख्नुहुन्छ । ‘केही कथाहरू पनि लेखेको छु र कुनै समय नारी स्तम्भ (जनएकता साप्ताहिकमा)समेत लेखेको थिएँ अनि वेदना साहित्यिक त्रैमासिकको पनि कार्यकारी-सम्पादक भएको थिएँ, पञ्चायतकालीन अप्ठ्यारो समयमा’ उहाँ भन्नुहुन्छ ।
उहाँले प्राथमिक तह शान्ति शिक्षा मन्दिर ठँहिटी र माध्यामिक तह जुद्धोदय माध्यमिक विद्यालय क्षेत्रपाटीबाट पूरा गर्नुभयो । त्यसपछि उच्च शिक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, जनप्रशासन क्याम्पस, प्राइभेट विद्यार्थी (त्रिभुवन विश्वविद्यालय), दिल्ली प्रोडक्टिभिटी काउन्सिल (भारत)बाट हासिल गर्नुभयो । अधिकारीले प्रमाणपत्र तहमा इन्जिनियरिङ र तर्कशास्त्र, स्नातक तहमा कानुन, व्यवस्थापन, जनप्रशासन र दर्शनशास्त्र अनि स्नातकोत्तर तहमा निर्माण व्यवस्थापन (पोष्ट ग्रेजुएट डिप्लोमा), जनप्रशासन र राजनीतिशास्त्रको अध्ययन गर्नुभयो । उहाँले विद्यावारिधि निर्माण आयोजना व्यवस्थापन (व्यवस्थापन सङ्काय, त्रिभुवन विश्वविद्यालय)बाट गर्नुभयो ।
पढाइ पूरा गरेपछि तत्कालीन स्थानीय विकास विभागअन्तर्गत– जिल्ला पञ्चायत, सुर्खेतमा सार्वजनिक निर्माण शाखा, रसुवामा सार्वजनिक निर्माण शाखा, पुल्चोक क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थान, नेपाल इन्जिनियरिङ कलेज, भक्तपुर, नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी ललितपुर तथा परामर्शदाताको रूपमा अन्य निकाय र देशीविदेशी परामर्शदातृ संस्थामा रहेर उहाँले प्रशासनिक तथा अध्यापनका कार्य गर्नुभयो । उहाँले २०३५ साल माघमा नियुक्ति लिई सुरु गर्नुभएको सेवा राजीनामा गरी विनानिवृत्तिभरण (पेन्सन)मा छोडेर स्वतन्त्र बन्नुभयो ।
उहाँ आपूmलाई सामान्य मध्यम वर्गीय ब्राहृमण परिवारको सदस्य हुँ भन्नुहुन्छ । हाल पेशागत काम र आफू संलग्न संघसंस्थाको कामको साथै अध्ययन र लेखनमा व्यस्त बताउनुहुन्छ । उहाँले मूलतः प्राध्यापन (निर्माण आयोजना व्यवस्थापनसँग सम्बन्धित), परामर्शदाताको रूपमा, साहित्यिक लेखन र विभिन्न संघसंस्थामा रहेर काम गर्नुभयो । उहाँले सेवाका सुरुका दिनमा विभिन्न आयोजनाको सर्भे, डिजाइन, नक्सा, इस्टमेट तथा निर्माण सुपरभिजन गर्नुभयो । त्यसपछि इन्जिनियरिङका विद्यार्थीलाई पढाउनुभयो । पढाउने काममा अझैसम्म संलग्न हुनुहुन्छ ।
‘नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजीमा संस्थापक प्राचार्यका रूपमा १० वर्षभन्दा बढी काम गरियो, निर्माण आयोजना व्यवस्थापन (कन्सट्रक्सन मेनेजमेन्ट) र प्राकृतिक स्रोत व्यवस्थापन (नेचुरल रिसोर्स मेनेजमेन्ट) विषयमा नेपालमा पहिलोपटक स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्न काम गरियो, नेपालमा सार्वजनिक खरिदसम्बन्धी तालिमको सुरुवात गरियो’ उहाँ बताउनुहुन्छ । साहित्यमा पनि उहाँ सक्रिय हुनुहुन्छ । कविता लेख्नुहुन्छ । ‘केही कथा पनि लेखेको छु र कुनै समय नारी स्तम्भ (जनएकता साप्ताहिकमा) समेत लेखेको थिएँ । वेदना साहित्यिक त्रैमासिकको पनि कार्यकारी-सम्पादक भएको थिएँ, पञ्चायतकालीन अप्ठ्यारो समयमा’ उहाँ भन्नुहुन्छ । ‘तपाईंं त प्राविधिक क्षेत्रको मानिस कसरी साहित्यतर्फ आकर्षित हुनुभयो ?’ मेरो जिज्ञासा थियो यो । कुनै विशेष सन्दर्भ नभए पनि साहित्य, समाज र दर्शनमा भने पहिलेदेखि रुचि थियो भन्नुहुन्छ उहाँ ।
‘कोही प्रेरक व्यक्तित्व पनि छ ?’ मैले फेरि सोधेँ । साहित्य लेखनमै लाग्नका लागि प्रेरणाको स्रोतको रूपमा नहुन सक्छ । सायद घरको वातावरण हो कि ! उहाँ भन्नुहुन्छ । उहाँका पिताजी केदारप्रसाद अधिकारी गोरखापत्र संस्थानमा उप-सम्पादक हुनुहुन्थ्यो जसले गर्दा घरमा मधुपर्क र गोरखापत्र नियमित रूपमा आइरहन्थे र उहाँका पिता आफैँ लेख्ने गर्नुहुन्थ्यो । यसैले राजेन्द्रलाई लेखनमा रुचि जाग्रित भएको हुनसक्छ । आफूले त्यत्तिकै कविता लेख्न थालेको भए पनि लेख्न थालेपछि भने नेपालका स्थापित साहित्यकारसँग भेट्ने अवसर प्राप्त भएकाले लेखाइको निरन्तरतामा बल पुगेको भन्ने उहाँलाई लाग्छ ।
उहाँको २०३९/०४० सालतिरबाट चर्चित लेखिका पारिजातसँग भेट भयो, उहाँकोमा अधिकारी जाने-आउने गर्न थाल्नुभयो । यसले उहाँलाई लेखनमा अझै ऊर्जा थपियो । लेखन र जागिरका बीच सन्तुलन मिलाउन सजिलो छैन । यो ज्यादै अप्ठ्यारो काम हो । समयलाई किफायती ढङ्गले उपयोग गर्नुपर्ने हुन्छ र आपूmले रातिको समयलाई अलि बढी उपयोग गर्नेगरेको भन्नुहुन्छ उहाँ । ‘सामान्य रूपमा हिँडेर गरिने यात्रामा साहित्यिक कृति पढ्ने, साहित्यका विषय खोज्ने र सोच्ने गर्छु’ उहाँ भन्नुहुन्छ ।
साहित्य र सेवामध्ये दुवैलाई महत्व दिने गरेको भन्नुहुन्छ डा.अधिकारी । पेशागत कार्य कुनै निश्चित समयमा पूरा गरेर बुझाउनुपर्ने हुन्छ तर साहित्यिक विषयवस्तु पेलेर अगाडि आइदिन्छ र अरू काम गर्नै दिँदैन । धेरैपटक यस्तो अवस्थाबाट गुज्रने गरेको छु । त्यतिखेर साहित्यिक लेखनलाई प्राथमिकता दिँदा रमाइलै लागेको विचार व्यक्त गर्नुहुन्छ । प्राविधिक क्षेत्र पेशा र व्यवसाय होला साहित्य चाहिँ सौख हो ? भन्ने मेरो सोधाइ रहृयो । ‘प्राविधिक क्षेत्र पेशा र व्यवसाय हो नै, यसबाटै मेरो घरपरिवार र साहित्य लेखन चलिरहेको छ । मूलतः उहाँ कविता लेखिरहनु भएको छ । कथा पनि लेख्नुभएको छ तर थोरै । अन्य विविध विषयका लेख गर्नु भएको छ । आफ्नो पेशासम्बन्धी पुस्तक पनि लेख्नुभएको छ ।
समय र घटनाका अनुभूति साहित्यको रूपमा प्रकट हुने गर्छन् भन्ने उहाँलाई लाग्छ । ‘यस अर्थमा साहित्य आफू बाँचिरहेको समय र घटनाको दस्तावेज हो । साहित्य पढ्दा समकालीन समय र घटनाका प्रतिनिधिपात्र भेटिनुपर्छ । त्यसैले साहित्य मानिसले भोगेको, अनुभूत गरेको समय, घटनाको चित्रण हो’ उहाँ भन्नुहुन्छ । ‘साहित्य केका लागि रचना गरिन्छ ?’ समाजमा व्याप्त विसंगति औँल्याउन र त्यसविरुद्ध सचेत गराउने काम साहित्यले गर्छ । आवाजविहीनहरूको आवाज साहित्यले बोल्नुपर्छ । साहित्यले समाजलाई अगाडि बढाउन मद्दत गर्नुपर्दछ । साहित्य उद्देश्यपरक हुन्छ ।’ उहाँ विचार यसरी व्यक्त गर्नुहुन्छ ।
‘मानसिक सन्तुष्टिका लागि मात्र वा अन्य भौतिक आर्जनको उद्देश्य हुन्छन् साहित्य रचनामा ?’ ‘नेपालमा साहित्य रचनाको माध्यमबाट केही अपवादबाहेक भौतिक आर्जन हुने स्थिति छैन, बजारमुखी अर्थव्यवस्थाको कारण साहित्यिक रचनालाई वा लेखनलाई माध्यम बनाएर भौतिक आर्जन गर्ने हुन्छन् । कतिपयले बजारलाई प्रभाव पार्न सक्छन् र राम्रै कमाइ गर्छन् । यस अर्थमा बजारु-लेखन वा बजारु-रचना नजन्मने भन्ने होइन । त्यस्ता लेखन हुन्छन् र त्यस्ता लेखन चलेका पनि हुनसक्छन् तर समाज र समयलाई प्रभाव पार्ने रचना भने उद्देश्यपरक हुन्छ, त्यसले समाजको प्रगतिमा योगदान पु¥याउँछ । हामीले छुट्याउनुपर्ने हुन्छ बजारमा देखिने रचनालाई’ उहाँ भन्नुहुन्छ ।
मूलतः उहाँ कविता, कथामा समेत कलम चलाउँदै आउनुभएको छ अनि लेखहरू पनि लेख्नुहुन्छ । किन यिनै विधा उहाँको रोजाइमा परे त ? ‘मैले लेख्न कविताबाटै प्रारम्भ गरेको हुँ । शब्दहरूमा खेलेर कवितामा उन्दा-किफायती ढंगबाट धेरै कुरा भन्न सकिन्छ । बिम्ब र प्रतीकसँग खेल्नुको मजै अर्को हुन्छ । कवितामार्फत नै अभिव्यक्त गर्न खोज्छु । कतिपय पात्र, घटना वा विषयवस्तुहरूले वर्णन खोज्छन् र सीमित शब्दभित्र नअटाउने प्रकृतिका हुन्छन् । त्यस्तो अवस्थामा अन्य माध्यमबाट अभिव्यक्त गर्नुपर्ने हुन्छ, कथा वा निबन्धात्मक शैलीको सहारा लिनुपर्ने हुन्छ’ उहाँ विचार व्यक्त गर्नुहुन्छ ।
तपाईं किन लेख्नुहुन्छ ? मैले सोधेँ । सामाजिक घटना र व्यक्ति जसको आवाज दबिएको छ तर बोल्न सकिरहेका हुँदैनन् । त्यस्ताको आवाज भएर लेख्न मन लाग्छ । म दबेको, लुकेको वा बोल्न नसकेको समय, घटना र पात्रलाई आवाज दिनका निमित्त लेख्न चाहन्छु । लेख्ने क्रममा स्वाभाविक, स्वस्थ रूपमा प्रकृति र प्रेमका विषयलाई अभिव्यक्ति दिने गर्छु’ उहाँ भन्नुहुन्छ । अहिलेको नेपालको सन्दर्भमा, साहित्य लेखेर घर चलाउने स्थिति भने छैन भन्ने लाग्छ । त्यस्ता केही भाग्यमानी लेखक साहित्यकारहरू हुनुहुन्छ भने अपवाद मान्नुपर्छ भन्ने उहाँको धारणा छ ।
अहिले नेपालमा लेखेरै बाँच्ने अवस्था छैन । कतिपय कार्यक्रममा लेखकहरूले भनेको सुनिन्छ– लेखक होइन श्रोता खोज्नुपर्ने भएको छ । लेखकहरूको बाढी आइरहेको छ, यस्तोमा बजारले लेखकलाई बचाउन सक्छ कि सक्दैन ? यसर्थ साहित्यिक लेखनलाई स्तरीय बनाउँदै शुल्कसहितका कार्यक्रम गर्ने र लेखकलाई पारिश्रमिक प्रदान गर्ने अवधारणा ल्याउन जरुरी छ । यो नयाँ अवधारणा हुनसक्छ तर यस्ता कार्यक्रमले नयाँ सर्जकलाई के लेख्ने, कसरी लेख्नुपर्छ भन्ने बोध गराउँदै लेखनलाई जिम्मेवार बनाउँदै लैजान प्रेरित गर्नेछ ।’
‘कविता सुनाउनेतर्फ भने केही संस्थाले यस खालका प्रयास गरेका चाहिँ छन् तर व्यापक र दिगो हुनसकेका छैनन् । यस्तै कार्यक्रम अन्य विधामा गर्न सकिन्छ । सुरुवाती दिनमा आर्थिक रूपमा बलिया केही संस्थाले पहल गर्नुपर्ने हुन्छ । वास्तवमा यसो गर्नु पत्रपत्रिकाको धर्म हो । अहिले लेखक शोषणमा परेका छन्’ उहाँ भन्नुहुन्छ । आपूmले पेशागत विषय पढाएर र परामर्शदाताको रूपमा काम गरेर आर्थिक रूपमा आफ्नो जीवन सहज बनाउनका साथै साहित्यिक लेखनमा लाग्न आधार प्रदान गरेको हो भन्ने तर्क गर्नुहुन्छ । उहाँको यस भनाइबाट साहित्यबाट आर्जन होइन आफ्नो रुचि पूरा गर्न सकेको उहाँको धारणा देखिन्छ ।
उहाँ डिप्लोमा इन्जिनियर्स एसोसिएसनका (सल्लाहाकार, आजीवन सदस्य र पूर्वअध्यक्ष), नेपाल मध्यस्थता परिषद्का (आजीवन सदस्य र पूर्वसदस्य-सचिव), पारिजात स्मृति केन्द्रका (संस्थापक सदस्य-सचिव र हाल अध्यक्ष) रहनुभएको छ । उहाँलाई विसं.२०६३ को भानु जयन्तीमा इन्जिनियरिङ साहित्यिक समाजले सम्मान-पत्र प्रदान गरेको छ । विसं.२०७८ भदौ १२ मा साहित्य सन्ध्याले साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
साहित्यिक क्षेत्रमा राजनीतिमै जस्तो नातावाद कृपावाद छ भन्ने मेरो विचारमा उहाँ पनि सहमत हुनुभयो । ‘मलाई पनि त्यस्तै महसुस हुन्छ । राजनीति, पार्टी र गुटबन्दीभित्र कतै रुमल्लिएको महसुस हुन्छ तर कतिपय राम्रा र आशालाग्दा स्रष्टाहरू संघर्ष गरिरहेका देखिन्छन् । हालको यस्तो वातावरणले पुरस्कार, सम्मानको अवमूल्यन गरेको, नेपाली साहित्य लेखनको धार र विकासको मापन धमिलिएको छ, कहाँनिर छ नेपाली साहित्य भन्न गाह्रो पर्छ । मूल रूपमा सत्ता र शक्तिले साहित्यको मूल्यांकन गरिरहेको छ । बिस्तारै यो अवस्थामा सुधार आउनुपर्छ, आउँछ नै ।
साहित्य क्षेत्रका कनिष्ठ पुस्तालाई केही सुझाव दिन चाहनुहुन्छ ? भनेर सोध्दा उहाँ ‘सुझावै दिने हैसियत मेरो नहुनसक्छ तर लामो समयसम्मको निरन्तरताको अनुभवको आधारमा केही भन्नु पर्दा कुनै पनि सर्जकहरू र खासगरी नयाँ सर्जकले पुस्तक छपाउन हतार नगर्ने तर लेख्न नछोड्ने नीति अवलम्बन गर्नु उचित हुन्छ भन्ने लाग्छ । राम्रो लेखनका लागि अरूका सिर्जनाको अध्ययन गर्नु बढी उपयोगी ठहरिन सक्छ । कतै छापिएन वा कसैले चर्चा गरिदिएन भनेर हतोत्साही हुनुहुँदैन । आफ्नो सिर्जना हो त्यसको पालो आइहाल्छ । आफ्ना पालोमा निरन्तर लेखिरहनुपर्छ ।’
‘अहिले संख्यात्मक रूपमा हेर्ने हो भने लेखनको अवस्था राम्रो छ । गुणात्मक पाटोतर्फ जाने हो भने लेखनको गति सम्भवतः लेखिएको संख्यामा त्यति गतिलो छैन । दोस्रो कुरा, राजनीति, पार्टी र गुटबन्दीभित्र कतै साहित्य सिर्जना रुमल्लिएको अवस्थामा रहेको हुँदा राम्रा र मानक लेखन पहिचान गर्न अहिले कठिन भइरहेको छ । कुनै पुरस्कार, सम्मान वा चर्चा पाएकै भरमा रचना वा सिर्जना राम्रो भएको मान्न सकिने अवस्था छैन । मानक मूल्यांकनको आधारमा पुरस्कार दिने र सम्मान गरेको कारण बुझिने अवस्था यतिखेर छैन । यो दुःखलाग्दो अवस्था हो ।’
पाठक अल्मलिएको अवस्था छ भन्ने लाग्छ । संस्था खोल्ने र विभिन्न पदमा बस्ने प्रवृत्ति मौलाएको छ । एउटै व्यक्ति धेरैतिर पद ओगटेर बसेको देखिन्छ । अनि उसले समय दिनै भ्याउँदैन । हामी अनायासै उद्देश्य र कर्मबाट बाहिरिएका छौँ । एकै खालका धेरै कार्यक्रम गर्नुभन्दा साहित्यिक चिन्तन्, मनन् गर्ने र साहित्यसम्बन्धी गहन छलफल, अन्तक्र्रिया गर्ने कार्यलाई बढावा दिन जरुरी देख्छु’ भन्नुहुन्छ ।
सार्थक र उद्देश्यपरक कार्यक्रमभन्दा संख्यात्मक कार्यक्रम गर्ने, उपलब्धि भनेर देखाउने, हल्ला गर्ने औजारमा पहुँच भए हल्ला गर्ने बानी विकास भएको उहाँ भन्नुहुन्छ । ५÷१० हजार जोहो गर्ने र पुरस्कार र सम्मान स्थापना गर्ने अनि सीमित घेराभित्रबाट छान्यो र पुरस्कार दिने वा सम्मान गर्ने बाढीजस्तै आएको छ । अहिले त पुरस्कार र सम्मानको अर्थमा भेद हुन छोडिसकेको छ भन्नुहुन्छ ।
जुनसुकै धारलाई प्रतिनिधित्व गरेर लेखे पनि हामीले साहित्यिक कृतिको रूपमा ग्रहण गर्न सक्नुपर्छ भन्ने उहाँलाई लाग्छ । गुण र दोषको आधारमा रचनाले समाज रूपान्तरण गर्ने योगदानको आधारमा साहित्यिक रचनाहरूको मूल्यांकन गर्नु पर्दछ भन्नुहुन्छ प्राडा.अधिकारी ।
सबै सम्मान, पुराना र स्थापित लेखकलाई उही ५/१० हजार रुपैयाँको पुरस्कारलाई सम्मान शब्द जोडेर एउटा सस्तो दोसल्लासँगै ओढाइदिने प्रचलन बढेको छ । त्यसको अर्थ केही छैन भन्ने उहाँलाई लाग्छ । सरकारी संयन्त्रबाट आउने पुरस्कार, मान वा सम्मान सत्ता र शक्तिको दयामायाबाट आउने अवस्था छ । यस्तो दयामायामा कोही योग्य, उपयुक्त पात्र पनि पर्लान्, त्यो बेग्लै हो तर जति नै काविल भए पनि र जसले जति नै योगदान गरेको भए पनि मानक, मापदण्डको कारण नभई सत्ता, शक्तिको दयामायामा परेकाले मात्र पुरस्कार, मान, सम्मान पाउने अवस्था छ यतिखेर ।
सम्मानित वा पुरस्कृत व्यक्तिलाई आयोजकले नै नचिन्ने अवस्था छ । एकैपटक ३०÷३५ जनासम्मलाई पुरस्कार र सम्मान गरिएको पनि भेटिन्छ । अतिरिक्त बजारमा पुरस्कार र सम्मानको किनबेच वा सट्टापट्टाका कुरा चर्चामा आइरहेकै छन् । यी सबै विकृतिकै लक्षण हुन् । स्थापित भइसकेको सर्जकलाई, लामो समयको साधकलाई ५÷१० हजार रुपैयाँको पुरस्कारले के अर्थ राख्ला र ? डा.अधिकारी प्रश्न गर्नुहुन्छ ।
आयोजक र प्रमुख अतिथि गच्छे अनुसारको गाडीमा सरर्र फर्किन्छन् कार्यक्रम सकेर, उता निधारमा रातो टीका लगाएको पुरस्कृत वा सम्मानित व्यक्तित्व दोसल्ला बेरेर घाँटीमा, अड्मिल्दो आकारको पुरस्कार वा सम्मानपत्र च्यापेर हातमा, सडकपेटीमा बसको प्रतीक्षा गरिरहेको अवस्थाका साक्षी धेरैपटक भएको छु । यसलाई विडम्बनापूर्ण विकृति नभनेर के भन्ने ? अधिकारी भन्नुहुन्छ । पुरस्कार दिँदा लेखनमा देखिएका यथास्थितिवादी धार र प्रगतिवादी धार हेर्ने प्रचलन छ । तर, आफूले बोकेको दर्शन र विचारकै आधारमा पानी बाराबार गर्नुपर्छ, एकले अर्काको उछित्तो काड्नुपर्छ भन्ने मान्यतासँग म सहमत छैन । लेखन क्षेत्रको कित्ताकाटका बारेमा उहाँको विचार यस्तो पाइयो ।
जुनसुकै धारलाई प्रतिनिधित्व गरेर लेखे पनि साहित्यिक कृतिको रूपमा ग्रहण गर्न सक्नुपर्छ भन्ने उहाँलाई लाग्छ । गुण र दोषको आधारमा र रचनाहरूले समाज रूपान्तरण गर्ने योगदानको आधारमा साहित्यिक रचनाको मूल्यांकन गर्नुपर्दछ । यसो हुँदा वैचारिक रूपमा प्रतिबद्ध र स्पष्ट लेखक साहित्यकारबीच स्वस्थ प्रतिस्पर्धा हुन्छ, समग्र नेपाली साहित्यकै विकासमा टेवा पु¥याउँछ भन्नुहुन्छ डा.अधिकारी । समाज परिवर्तनका महत्वपूर्ण एवं ऐतिहासिक समय वा घटनालाई प्रतिनिधित्व गर्ने सवालमा आ–आफ्ना मूल्य र मान्यतामा अडिग रहने र त्यसप्रतिको पक्षधरता प्रदर्शन गर्नुलाई स्वाभाविकै मान्नुपर्छ, अहिले सुविधा र भागबण्डाको विषयमा चाहिँ कित्ताकाट गरेकै साहित्यकार एकै ठाउँमा उभिएको हामी देखिरहेका छौं । केही आवश्यक सहकार्य हुनसक्छ भने केही स्वार्थका सहकार्य होलान् ।
यतिखेर सच्चा, आफ्ना विचार एवं दृष्टिकोणप्रति प्रतिबद्ध लेखकका लागि भने आफूलाई बचाएर राख्ने र विचार एवं दृष्टिकोणबाट विचलित नहुने गरी सहकार्य गर्ने चुनौती खडा भएको छ भन्ने तर्क गर्नुहुन्छ उहाँ । सर्जकहरूले एकआपसमा घृणा होइन प्रेम गर्न र एकले अर्कोलाई आदर गर्न सक्नुपर्छ । विचारको लडाइँ त विचार र लेखनबाटै गर्ने हो । कलमको लडाइँ कलमले नै गर्नुपर्छ भन्नुहुन्छ डा.अधिकारी । देशका चर्चित साहित्यकार, सर्जक तथा चिन्तक जस्तै पारिजात, रमेश विकल, गोविन्द भट्ट, निनु चापागाईं, खगेन्द्र सङ्ग्रौला, शक्ति लम्साल, पद्मरत्न तुलाधर, रायन, डा.महेश मास्के आदिसँग नजिक हुनु र काम गर्न पाउनु जीवनको महत्वपूर्ण अवसरको रूपमा लिनुहुन्छ उहाँ जो साहित्यिक संलग्नताको कारणले नै आपूmले प्राप्त गरेको हो भन्ने उहाँलाई लाग्छ ।
मेरा लेखनका सुरुवाती चरणमा म हुलाकबाट रचना पठाउने गर्थें । ठूला पत्रकार र साहित्यकारको अगाडि पर्न ज्यादै धक लाग्थ्यो । २०३९ सालमा मैले त्यतिबेलाको प्रखर एवं अग्रणी पत्रिका समीक्षामा पनि हुलाकबाट एक कथा (हेर्दाहेर्दै) र एक कविता (नागरिकता हराएको मान्छे) पठाएको थिएँ । छापिन्छ भन्ने त लाग्दैनथ्यो तर मैले पठाएपछिको दोस्रो हप्तातिरै १८ भदौ २०३९ को समीक्षामा एकै पटक ‘राजेन्द्रप्रसाद अधिकारीका एक कथा र एक कविता’ शीर्षकमा पूरै पेजमा मेरा रचना छापिएको घटना स्मरणीय लाग्छ । अहिले त्यस्तो समय छ जस्तो लाग्दैन । यसरी उहाँ आफ्ना पुराना दिनहरूको सम्झना गर्नुहुन्छ । प्राडा.राजेन्द्रप्रसाद अधिकारीलाई जीवनमा अझै सफलता प्राप्त होस्, हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच