
काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित निकालेको छ । बिहीबार बागमती प्रदेशलाई ९३ रनले हराउँदै पुलिसले आफ्नो जितको झण्डा निरन्तर फहराएको हो । यो जितसहित पुलिस फाइनलनजिक पुगेको छ । पुलिसको जितमा कुशल भुर्तेलले अलराउण्ड प्रदर्शन गर्नुभएको थियो । ब्याटिङमा ८८ रन बनाउनुभएका उहाँले तीन विकेट पनि झार्नुभएको थियो । पुलिसले दिएको २९८ रनको बलियो लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २०४ रनमा अलआउट भएको थियो ।
बागमतीका लागि इशान पाण्डेले सर्वाधिक ७० रन जोड्नुभयो भने शुभ कंसाकारले ३६ तथा विपिन आचार्यले २० रन बनाउनुभएको थियो । पुलिसका लागि ललित राजवंशीले १० ओभरमा ३४ रन दिएर चार विकेट लिनुभएको थियो भने भुर्तेलले ७.२ ओभरमा ५१ रन दिएर तीन विकेट, करण केसीले दुई र गुलशन झाले एक विकेट लिनुभएको थियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा आठ विकेट गुमाएर २९७ रन बनाएको थियो ।
पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८८ रन बनाउनुभएको थियो भने कप्तान दिपेन्द्रसिंह ऐरीले ६० रन बनाउनुभएको थियो । यस्तै, अमित श्रेष्ठले ४८ तथा आरिफ शेखले ३८ रन बनाउनुभयो । ओपनर कुशल र अमितले पहिलो विकेटका लागि १२४ रनको शतकीय साझेदारी गर्नुभएको थियो ।
बागमतीका लागि प्रतिश जिसीले १० ओभरमा ४६ रन दिएर तीन विकेट लिनुभएको थियो । रिजन ढकाल, इशान पाण्डे, साकार गजुरेल र विपिन आचार्यले एक–एक विकेट लिनुभयो ।
अपराजित टिम पुलिसले सात खेल जित्दै १४ अंक जोडेको छ र फाइनल खेल्ने लगभग निश्चित भइसकेको छ । बागमतीले भने ६ खेलमा दुई जितमात्र निकालेको छ ।
लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित
कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । तेस्रो जित निकाल्ने क्रममा बिहीबार कर्णालीले लुम्बिनीलाई पाँच रनले हराएको हो । कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी तीन बलअगावै २०० रनमा समेटियो ।
प्रज्ज्वल थापाले अर्धशतक बनाए पनि त्यो पर्याप्त हुन सकेन । उहाँले ८४ रन बनाउनुभयो भने कप्तान देव खनालले ४० रन जोड्नुभएको थियो । आकाश त्रिपाठीले २१ र मनिष थापाले १६ रन बनाउनुभयो ।
कर्णालीका दिपेन्द्र रावतले १० ओभरमा ४१ रन दिएर तीन विकेट लिनुभएको थियो । दिनेश अधिकारीले पनि तीन विकेट लिँदा प्रकाश जैसीले दुई तथा दिवान पुन र सुनिल धमलाले एक–एक विकेट हात पार्नुभएको थियो ।
त्यसअघि सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४८.५ ओभरमा अलआउट हुँदै २०५ रन बनाएको थियो । कर्णालीका लागि दिपेन्द्रले सर्वाधिक ६६ रन बनाउनुभयो भने अर्जुन घर्तीले ५६ रन बनाउनुभएको थियो ।
५६ रनमा ६ विकेट गुमेपछि दबाबमा आएको कर्णालीका लागि दिपेन्द्र र अर्जुन मिलेर १०२ रनको साझेदारी गर्दै कमब्याक गराउनुभएको थियो ।
लुम्बिनीका लागि रमेश कुर्मीले १० ओभरमा ३७ रन दिएर तीन विकेट लिनुभएको । निर्मल गुरुङ, अजय चौहान र विप्राशन केसीले दुई–दुई तथा कप्तान देव खनालले एक विकेट लिनुभएको थियो । लुम्बिनीले सात खेल खेल्दा चारमा जित निकालेको छ भने कर्णालीले योसँगै ६ खेलमा तीन जित निकालेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच