
पाल्पा । पाल्पाका विभिन्न वन-जंगलमा डढेलो लाग्ने क्रम रोकिएको छैन । गत फागुन दोस्रो सातादेखि सुरु भएको डढेलोले हालसम्म ७११ हेक्टर वन-जंगल सखाप पारेको छ । डिभिजन वन कार्यालयका अनुसार हालसम्म ३६ सामुदायिक तथा सरकारी जंगलमा लागेको डढेलोले ७११ हेक्टर क्षेत्रफल सखाप पारेको हो । केही दिनयता जिल्लाका तिनाउ गाउँपालिका-३, झुम्साको खुलखुले सामुदायिक वन, झुम्साकै वसन्तपुर नजिक ओढारखोला, सरागखोला, कचलको काम्लेटटरी, मसिना, सिद्धचुहार, तरुले सामुदायिक वन, झिँगामारा, रिङ्सिंङ् वन, तिनाउ गाउँपालिका–२, को सुकेताल र खुर्साने नजिकैको जंगल, रम्भा गाउँपालिकाअन्तर्गत पर्ने रिमिघा डाँडा जंगल, रिब्दीकोट गाउँपालिकाको पालुङ सामुदायिक वन लगायतका जंगलमा डढेलो लागिरहेको छ । यस्तै, निस्दीको ज्यामिरेस्थित अरुणखोलास्थित जंगल, ज्यामिरेको वेभोके, बतासा, मठेखर्क, क्षेत्रीखर्क, माथागढीको रहवास, हात्तीलुङ लगायतका स्थानमा पनि डढेलो लागेको छ ।
यहाँका स्थानीयले बस्ती जोगाउन सफल भए पनि जंगल, केही घर, गोठ र मानवीय क्षति भने भएको छ । हालसम्म जंगलमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको र १६ वटा घर, गोठ जलेको डिभिजन वन पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताउनुुभयो । सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा लिन प्रयास गरे पनि आगो पूर्ण रूपमा नियन्त्रणमा नआउँदा हावाहुरीले पुनः सल्किने समस्या रहेको उहाँले बताउनुभयो । जिल्लाका तिनाउ, रिब्दीकोट, बगनासकाली, तानसेन र रैनादेवी छहरामा धेरै डढेलो लागेको उहाँले बताउनुभयो ।
यहाँका अधिकांश वन क्षेत्रका नयाँ विरुवा डढेर खरानी बनेका छन् । जंगलमा दिनदिनै बढेको डढेलोले दुई/तीन वर्षयताका नयाँ विरुवा डढाएर खरानी बनाएको छ । डढेलोले वयस्क र पुराना रूख पनि मारेको छ । चैत लागेसँगै बढेको डढेलोले वन क्षेत्र उजाड बनेको छ । अहिले रूख विरुवाले पालुवा फेर्न र झारेका पुराना पात सुकेकाले पनि वनमा लाग्ने डढेलोले आगो चाँडै फैलने गर्छ । वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रूख, विरुवा सखाप हुनुको साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा छन् । यसपालि हिउँदे वर्षा नभएको हुँदा डढेलो झन् फैलिएको स्थानीय बताउँछन् । हिउँदे वर्षाले रूख, विरुवाले झारेका पातपतिंगर भिजाउँदा आगो ढिलो फैलने विगत अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि हिउँदे वर्षा नहुँदा चैत मध्यभित्रै डढेलोले विकराल रूप लिएको बताउँछन् ।
विशेषगरी जंगल नजिकैका बस्तीका नागरिकहरू आगो लाग्न साथ चिन्तित हुने गर्दछन् । जंगलमा लागेको आगो घरमै आउने डरले उनीहरू रातदिन चिन्तामा हुन्छन् । वसन्त र ग्रीष्म ऋतु विशेषगरी डढेलो जोखिमको समय हो । डढेलोका कारण वर्षभरी भएको हरियाली वन क्षणभरमै सखाप भइदिन्छ । यसवर्ष पनि गर्मी मौसम सुरु हुनासाथ डढेलोेका घटनाहरू बढेका छन् ।
अधिकांश डढेलो लागेको जंगलनजिकै बस्ती रहेका छन् । ती बस्तीमा हावाहुरीले कुनै पनि समय डढेलो छिर्ने डरले स्थानीय रातभर सुत्न सकेका छैन । हरेक वर्ष लाग्ने आगोका कारण रातभर निदाउनै नसकिने रिब्दीकोटकी भीमा कार्की बताउनुहुन्छ । ‘अघिल्लो वर्ष नजिकैको जंगलमा लागेको आगो बस्तीमा पसेको थियो, आगोबाट बल्ल बल्ल बस्ती जोगाउन सफल भए पनि पटक-पटकको डढेलोले रातमा निद्रा नै लाग्दैन’ उहाँले भन्नुभयो । अहिले पनि यहाँ आगो लागेको थियो । ‘पहिले छिमेकीको घर जलेको थियो कतै आफ्नो जल्ने त होइन भन्ने पिरले अहिले पनि सताउँछ’ कार्की भन्नुहुन्छ, ‘के गर्नु विपत्तिको अगाडि कसैको केही लाग्दो रहेन छ ।’ घरमा एक्लै बस्दै आउनुभएकी कार्की डढेलोका कारण निकै पिरोलिनुभएको छ । दिनहुँ जस्तो भगवानलाई सम्झिँदै बस्नु परेको उहाँ बताउनुहुन्छ ।
डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले मातहतका कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ, सामुदायिक वन, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय निकायले दैनिकजसो नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेको छैनन् । सुक्खा मौसम तीव्र गतिमा चलेको हावाहुरी, चुरे तथा महाभारत क्षेत्रको भू-बनोटले गर्दा डढेलो नियन्त्रणबाहिर गएको डिभिजन वन कार्यालयले जनाएको छ । दमकलले बस्ती नजिकको आगो निभाए तापनि जंगलको आगो भने नियन्त्रण हुन सकेको छैन । पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ३९ वटा वडा वन डढेलोको उच्च जोखिममा छन् । २६ वडा मध्यम र १६ वडा न्यून जोखिममा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच