
काठमाडौं । सरकारबारे प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसकै शीर्ष नेतृत्व नै असन्तुष्ट देखिएको छ । सरकारका काम/कारबाहीबारे कांग्रेस सभापति शेरबहादुर देउवासहित महामन्त्री गगनकुमार थापा र नेता डा. शेखर कोइरालाले असन्तुष्टि जनाउनुभएको हो । कोइरालाले यसअघि पनि बारम्बार असन्तुष्टि जनाउँदै आउनुभएको थियो । तर, शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा कोइरालाको असन्तुष्टिमा देउवाले पनि सही थाप्नुभयो । नेता कोइरालाले सरकारको धेरै बद्नामी भइरहेको बताउनुभएको थियो । जसमा देउवाले सही थाप्नुभयो । देउवाले नेता शेखर कोइरालाले सरकारबारे उठाएको प्रश्नमा आफू सचेत रहेको बताउनुभयो । नेता कोइरालाले त बारम्बार सरकारले जनअपेक्षअनुसार काम गर्न नसकेको बताउँदै आउनुभएको छ । उहाँले शनिबार पनि कांग्रेस सत्तामा भए पनि सरकारमा भने नरहेको पुरानै कुरा दोहो¥याउनुभयो । यसैगरी, कांग्रेस महामन्त्री थापाले सरकारको आलोचना गर्नुभएको छ । थापाले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर सरकारले अनावश्यक निर्णय गरेको टिप्पणी गर्नुभयो । सरकारले कतिपय नचाहिने काम गरेको उहाँको भनाइ छ ।
सरकारको नाममा धेरै ठूलो बदनामी नहोस् भन्ने चाहन्छु : देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गरेको भन्ने भनाइको खण्डन गर्नुभएको छ । आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तर प्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताएको भनेको भन्दै उक्त भनाइको खण्डन गर्नुभएको हो । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दूतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताउनुभएको थियो । ‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा मैले भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोलेँ । उहाँ दिल्लीको दूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो,’ देउवाले भन्नुभयो, ‘हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो । उहाँ दूतावासमा आउनुभएको होइन ।’ देउवाले पार्टीका नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकारबारे उठाएको प्रश्नमा आफू सचेत रहेको बताउनुभयो । ‘शेखर कोइरालाले भनिसक्नुभयो । सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ । यो नहोस् भनिसक्नुभयो । यो नहोस् भन्न चाहन्छु,’ देउवाले भन्नुभयो । कोइरालाले देउवाभन्दा अगाडि बोल्दै कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको बताउनुभएको थियो ।
हामी सत्तामा छौँ तर, सरकारमा छैनौँ : डा. कोइराला
कांग्रेस नेता डा. शेखर कोइरालाले एमालेलाई नसच्याए कांग्रेस पनि अप्ठेरोमा पर्ने बताउनुभएको छ । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले कांग्रेस सत्तामा भए पनि सरकारमा भने नरहेको दोहो¥याउनुभयो । कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकाले सरकारलाई खबरदारी जारी राख्नुपर्ने उल्लेख गर्नुभयो । ‘पटक-पटक भन्ने गरको छु । हामी सत्तामा छौँ, सरकारमा छैनौँ है । किनभने प्रतिस्पर्धी एमाले नै हो,’ उहाँले भन्नुभयो, ‘एमालेसित सहकार्य गरेर अगाडि बढिराखेका छौँ । केही यो सरकारले गलत गरेको छ कि कमजोरी गरेको छ कि भनेर हामीले उहाँहरूलाई वार्न गर्नपर्छ । गरेनौँ भने अप्ठेरोमा पर्न सक्छौँ । हामीले खबरदारी गरेनौँ भने कांग्रेसलाई अफ्ठ््यारो पर्नसक्छ । त्यसैले हामी सत्तामा छौँ तर सरकारमा छैनौँ । सरकारमा हुने साथीहरूले सहकार्य गरेरै जानुपर्छ अर्को उपाय छैन ।’ उहाँले संविधान पुनरवलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुने बताउनुभयो । सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसके जनता अझै आक्रोशित हुने उहाँले बताउनुभयो । यस्तो अवस्थामा सरकारले विशेष ध्यान दिएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । सरकारका काम कारबाहीमा कांग्रेसले खबरदारी गर्नुपर्ने उहाँले बताउनुभयो ।
सरकारले नचाहिने काम गरेकाले जवाफ दिँदै हिँड्नुपरेको छ : थापा
कांग्रेस महामन्त्री गगन थापाले सरकारको आलोचना गर्नुभएको छ । शनिबार धनकुटा पुग्नुभएका महामन्त्री थापाले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर अनावश्यक निर्णय गरेको टिप्पणी गर्नुभयो । सरकारलाई सफल बनाउन आफूहरूले सक्दो प्रयास गरे पनि सरकारले चाहिने/नचाहिने काम गरेको उहाँले टिप्पणी गर्नुभयो । ‘यो सरकार सफल बनाउन हामीले काम गरिरहेका छौँ । मेहनत पनि गरिरहेका छौँ । परिणाम देऊ भनिरहेका छौँ । सरकारमा बसेका हाम्रा साथीहरूबाट देशभरि प्रशंसा गर्न पाऊँ भनिरहेका छौँ । कहिलेकाहीँ दुःख पनि लागिरहेको छ । चाहिने/नचाहिने काम गर्दिनाले देशभरिका साथीहरूको बीचमा अनावश्यक जवाफ दिँदै हिँड्नुपरेको छ,’ उहाँले भन्नुभयो । पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई नगर्नुपर्ने कामको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । ‘केही दिनअघि सरकारले एउटा कर्मचारीबारे एउटा निर्णय गर्यो । जुन गर्नै पर्दैनथ्यो, त्यो अनावश्यक निर्णय गरेको कारणले अहिले साथीहरूले उत्तर दिँदै हिँड्नुपरेको छ,’ उहाँले भन्नुभयो, ‘पार्टीका साथीहरूले सामाजिक सञ्जालमा, टोल-टोलमा हप्कीदप्की खानुपरेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच