
काठमाडौं । अघिल्ला वर्षहरू झैँ वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीसम्बन्धी विषय चर्चित बने । वर्ष २०८१ भरि सरकार परिवर्तन सर्वाधिक चर्चामा रहृयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको बागडोर सम्हालिरहनु भएको थियो । कहिले कांग्रेस र कहिले एमालेलाई प्रयोग गरेर संसद्मा ३२ सिट मात्र भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगातार १८ महिनासम्म मुलुकको प्रधानमन्त्री बन्न सफल हुनुभयो । राजनीतिक घटनाक्रम तीव्र रूपले परिवर्तन हुने क्रममा गत असार १७ गते मुलुकका प्रमुख दुई ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारी सहितको सात बुँदे सहमति भयो । सोही सात बुँदे सहमतिको जगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असार ३१ गते नेपाली कांग्रेसको समर्थनमा चौथो कार्यकाल मुलुकको प्रधानमन्त्री बन्नुभयो ।
१० वर्षे जनयुद्ध शान्ति प्रक्रिया हुँदै २०६३ मंसिरबाट खुला राजनीतिमा आएको नेकपा माओवादी केन्द्रले पहिलोपटक सत्ताबाट हात धुनुप¥यो । खुला राजनीतिमा आएपछिको समय कुनै न कुनै रूपमा नेकपा माओवादी केन्द्र सरकारमै रहेको थियो । तीन पटकसम्म त अध्यक्ष प्रचण्डले नै मुलुकको बागडोर सम्हाले । पछिल्लोपटक कांग्रेस र एमाले मिलेर सरकार गठन गरेपछि नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म सत्ताबाट हात धुनुप¥यो । सत्ताबाहिर पुगेको भोलिपल्टदेखि नै प्रचण्डले ओली नेतृत्वको सरकार गिराउन सक्रिय देखिनुभयो । कांग्रेस–एमाले गठबन्धनमा विभाजन ल्याउन र सरकार ढलाउन प्रचण्डले विपक्षी दलहरू एकजुट गर्नेदेखि विभिन्न कार्ड प्रयोग गरे पनि अहिलेसम्म सफल भने हुनुभएको छैन ।
रवि लामिछानेको गृहमन्त्रीदेखि हिरासतसम्मको यात्रा
२०७९ सालको आमनिर्वाचनबाट उदाएको पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वर्षभरी नै चर्चामा रहृयो । पार्टी स्थापनाको छोटो समयमा नै रास्वपा सभापति रवि लामिछाने पहिलोपटक २०७९ पुष ११ गते देशको गृहमन्त्री बन्नुभएको थियो । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुनबमोजिम प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतले ठहर गरेपछि माघ १३ मै उहाँ पदमुक्त हुनुभयो । त्यसपछि पुनः चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी हासिल गर्दै संसद् प्रवेश गर्नुभएका लामिछाने दोस्रोपटक पनि गृहमन्त्री बन्न सफल हुनुभयो । तर, पछिल्लोपटक गत कात्तिक २ गते सहकारी ठगी अभियोगमा सभापति लामिछाने पक्राउ पर्नुभयो । सहकारी ठगी प्रकरणमा मुछिएपछि प्रहरीले लामिछानेलाई पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाटै पक्राउ गरेको थियो । लामिछानेलाई सूर्यदर्शन सहकारी प्रकरणमा कास्की, स्वर्णलक्ष्मी सहकारी काठमाडौं, सुप्रिम सहकारी रूपन्देही र सहारा सहकारी चितवनको सहकारी ठगी प्रकरणमा अनुसन्धान भयो । तर, पाँचै जिल्ला अदालतबाट धरौटीमा रिहा हुनुभयो । जिल्ला अदालतको आदेशविरुद्ध सरकार उच्च अदालत गएपछि सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीको आदेश बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो । लामिछाने अहिले रूपन्देही जिल्ला कारागारमा रहनुभएको छ । लामिछाने जोडिएको पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारी ठगी मुद्दा भने अगाडि बढेको छैन । लामिछाने पक्राउ परेपछि रास्वपाले आन्दोलनसमेत गरेको थियो ।
राजावादीको सक्रियता र तीनकुने घटना
२०८१ सालको उत्तरार्धमा राजावादीहरूको सक्रियता निकै बढ्यो । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पोखराबाट दिएको भिडियो सन्देशले राजावादीहरूमा एकाएक उत्साह थपियो । उत्साहकाबीच पूर्वराजा ज्ञानेन्द्र शाह फागुन २५ गते काठमाडौं फर्किनुभयो । पूर्वराजा फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाराजा शाहका समर्थक र राजावादी समर्थकहरूले विशाल स्वागत गरे । पूर्वराजाको स्वागतमा देखिएको मासले गणतन्त्रवादी दलहरू झस्किए । पूर्वराजाको समर्थनमा देखिएको संख्यापछि गणतन्त्र र वर्तमान व्यवस्थाप्रति अनेक विश्लेषण सुरु भए । फागुन २५ गतेको जनसमर्थनले उत्साही राजावादीहरूले चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शन आयोजना गरे । तर, प्रदर्शन प्रदर्शनमा मात्र सीमित भएन । प्रदर्शन निकै हिंसात्मक र अराजक बन्यो । हिंसात्मक प्रदर्शनको क्रममा एक पत्रकार र एक सर्वसाधारको ज्यान गयो । प्रदर्शनका क्रममा घाइते कतिपय अहिले पनि उपचार गरिरहेका छन् । करोडौंको सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुग्यो । प्रदर्शनका क्रममा लुटपाटसमेत मच्चियो । उक्त कार्यक्रमका कमाण्डर दुर्गा प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । हिंसात्मक प्रदर्शनमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसदसमेत रहनुभएका महामन्त्री धवलशमशेर राणासहित पक्राउ परेका ८२ जनामाथि प्रहरीको अनुसन्धान जारी छ । हिंसात्मक प्रदर्शन पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष निर्देशनमा भएको भन्दै तीनकुनेमा भएको हिंसात्मक घटनामा पूर्वराजा शाहलाई पनि जिम्मेवार बनाउनुपर्ने आवाज उठिरहेको छ । फागुन २७ गते एअरपोर्टबाट उत्साही बनेका राजावादी समर्थक तीनकुने घटनाले सेलाउन पुगेका छन् ।
छानविन समिति गठन माग गर्दै संसद् ठप्प
तत्कालीन प्रतिपक्ष दल नेपाली कांग्रेस सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका गर्न माग गर्दै संसद् अवरोध गर्दै आएको थियो । सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने (तत्कालीन गृहमन्त्री) माथि छानविन गर्न माग गर्दै संसद्मा अवरोध सिर्जना गर्दै आएको थियो । त्यसपछि गत जेठ १५ मा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा सात सदस्यीय सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति गठन गरियो । लामो समयको अध्ययनपछि समितिले गत भदौ ३१ गते संसद्लाई प्रतिवेदन बुझायो । सो प्रतिवेदनले रवि लामिछाने सहितको नाम नै किटान गरेर कारबाहीका लागि सरकारसमक्ष सिफारिश गरेको थियो । नेपाली कांग्रेसले छानविन समिति गठन नहुन्जेलसम्म संसद् अवरोध गर्दै आएको थियो ।
पाँच दशकसम्म पार्टीमा योगदान दिएका भीम रावल निष्किासित
यसवर्ष नेकपा एमालेका नेता भीम रावल पार्टीबाट निष्कासनमा पर्नुभयो । पाँच दशकसम्म पार्टीमा महत्वपूर्ण योगदान दिनुभएका रावललाई गत पुस १० गते बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले पार्टीको संगठित सदस्यताबाटै हटाएको हो । पार्टी हितविपरीतका अभिव्यक्ति दिँदै हिँडेपछि पार्टीबाट निकालिएको नेकपा एमालेले जनाएको थियो । रावल पार्टीमा रहँदा नेतृत्वको गतिविधिविरुद्ध आवाज उठाउँदै आउनुभएको थियो । पछिल्लो पटकको महाधिवेशनमा रावल केपी शर्मा ओलीसँग अध्यक्षमा चुनावसमेत लड्नुभएको थियो । सन् २०२४ मै संघीय र स्थानीय तहका दुईवटा निर्वाचन सम्पन्न भए । गत वैशाख १५ गते संघीय संसद्का लागि इलाममा उपनिर्वाचन भयो । नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएपछि यहाँ उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा नेम्वाङकै छोरा सुहाङ उम्मेदवार बनेर विजयी हासिल गर्नुभयो । वैशाख १७ गते नै बझाङ जिल्लाको प्रदेशसभा १ मा उपनिर्वाचन भयो । कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधनपछि भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी हुनुभयो । त्यसैगरी, गत मंसिर १६ गते देशभरका ४२ स्थानमा स्थानीय तह उपनिर्वाचन सम्पन्न भएको थियो ।
कूटनीतिक सम्बन्धमा कमजोर
वर्ष २०८१ कूटनीतिक सम्बन्धका दृष्टिकोणले कमजोर देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि कूटनीतिक सम्बन्ध कमजोर बनेको कूटनीतिक क्षेत्रका जानकारहरूको जिकिर छ । चौथो कार्यकाल मुलुकको प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री ओलीले आफ्नो पहिलो भ्रमण भारतबाट गर्ने चाहना राख्नुभएको थियो । तर, भारतबाट निम्तो नआएपछि पहिलो देश भ्रमण चीनबाट सुरु गर्नुभयो । सरकार गठन भएको नौ महिना पूरा हुँदा पनि दक्षिण छिमेकी भारतले नेपाललाई भ्रमणको निम्तो नदिएको घटनाले नेपालसँग भारत खुसी नभएको अर्थ लगाइएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणको लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा तीनपटक भारत भ्रमणमा जानुभएको थियो । यस्तै, प्रधानमन्त्री ओलीले अन्य सूत्रहरू समेत प्रयोग गरे पनि सार्थकता पाउन सकेको छैन । यद्यपि, प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गत असोजमा न्युयोर्क र यही चैतमा थाइल्याण्डको बैंककमा गरी दुईपटक भेट गरिसक्नु भएको छ । गत पुस ८ मा दार्चुलाको व्यास गाउँपालिकास्थित मानसरोवर जाने बाटो व्यापार विन्दु बनाउन बेइजिङमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चीनका परराष्ट्रमन्त्री वाङ वी सहभागी बैठकमा सम्झौता भएको थियो । नेपाललाई जानकारी नदिई भारत र चीनबीच नेपालको भूमि व्यापारिक केन्द्रका रूपमा भारत र चीनले सहमति गरेको उल्लेख गर्दै नेपालको कूटनीतिक सम्बन्धमाथि प्रश्न उठिरहेको छ । वर्षको सुरुमै वैशाख ११ गते कतारका अमिर शेख तमिम विन हमाद अल थानीले नेपालको राजकीय भ्रमण गर्नुभयो । जेठ २७ प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुनुभएको थियो । त्यस्तै, जेठ २९ गते राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक विदेश भ्रमणका क्रममा जेनेभा जानुभएको थियो । वर्ष २०८१ मा विद्युत् व्यापारमा उपलब्धिमूलक कार्य भएका छन् । नेपाल र बंगलादेशबीच ४० मेगावाट बिजुली बिक्रीसम्बिन्धी सम्झौता हस्ताक्षर भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच