उपमेयर डंगोलको पहिलो निर्णय : हिंसापीडित महिलाको संरक्षणमा ‘महिला सेल’ निर्माण

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर तथा न्यायिक समितिकी प्रमुख सुनिता डंगोलले पदबहाली गरेलगत्तै महिला संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने निर्णय गर्नुभएको छ । न्यायिक समिति प्रमुखको हैसियतमा यो उहाँको पहिलो निर्णय हो ।

महानगरपालिकाका सबै वडामा महिला सेल गठन गरिनेछ । यो सेलले हिंसामा परेका, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिम लगायतको व्यवस्थापन गर्नेछ । महिला सेलले महानगरको न्यायिक समितिसँग समन्वय गरी अन्यायमा परेका र पीडित महिलाहरूका लागि आवश्यक कार्य गर्नेछ ।

उहाँले चुनावी प्रतिबद्धताअनुसार काम गरेको बताउनुभएको छ । उहाँको चुनावी प्रतिबद्धता पत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ । ‘सभ्य र शान्त समाज निर्माणका लागि वुमन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखेको हो,’ उहाँले भन्नुभयो ।
त्यसैगरी, उहाँले पदबहालीपछि मेलमिलाप कर्तालाई आह्वान गर्न मेलमिलापको सूची अध्यावधिकका लागि सूचना प्रकाशन गर्ने पत्रमा पनि हस्ताक्षर गर्नुभएको छ । मेलमिलाप केन्द्र पनि प्रत्येक वडामा गठन गरी सानातिना विवादलाई वडा तहबाटै छिनोफानो गरिनेछ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा उल्लेखित विवादहरूको निरूपण गर्दा न्यायिक समितिले मेलमिलापलाई प्राथमिकता दिई गर्नुपर्ने मेलमिलाप गराउँदा उक्त ऐनको दफा ४९ को उपदफा (३) बमोजिम न्यायिक समितिले सूचीकृत गरेका मेलमिलापकर्ताबाट गराउनुपर्ने कानुनी व्यवस्था रहेकाले प्रक्रियाअनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।

उपमेयर डंगोलले महानगरको सोमबार बसेको पहिलो बैठकमा सहकार्य, सहअस्तित्व र सहमतिबाट मात्रै सफलता प्राप्त गर्न सकिने बताउनुभएको थियो । पद तथा गोपनीयताको शपथग्रहण भएकै दिन बसेको बैठकमा उहाँले फोहोरलाई सदुपयोग गरेर नै यसको सही व्यवस्थापन गर्न सकिने धारणा राख्नुभएको थियो । ‘फोहोरलाई मोहोर अब नारामा होइन, यथार्थमा बदल्नुपर्दछ’, उहाँले भन्नुभएको थियो ।
उपमेयर डंगोलले आगामी पाँच वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हक, हित, अधिकार र सहज जीवनयापनको लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले व्यक्तिको सफलता र असफलताको पछि भन्दा पनि संस्थालाई विकास गर्नेमा लक्ष्य राख्ने बताउनुभएको छ ।

काठमाडौं महानगरको कमाण्ड सम्हाल्न महानगरवासीले दुई युवा ३२ वर्षका मेयर बालेन साह र २९ वर्षकी उपमेयर सुनिता डंगोललाई आफ्नो अमूल्य मतदानमार्फत जिम्मा दिएका छन् । मतदाताले काठमाडौंको बागडोर यी दुई युवाको काँधमा सुम्पिएका हुन् । साह स्वतन्त्र उम्मेदवारका रूपमा महानगरको मेयर मा चुनिनुभएको हो भने डंगोल एमालेबाट चुनिनुभएको हो ।

सन् २०११ मा मिस नेवा हुनुभएकी डंगोल नेवारी भाषामा पोख्त हुनुहुन्छ । पछिल्लो समय काठमाडौं महानगरपालिकामै सहायक योजनाविज्ञका रूपमा कार्यरत रहनुभएकी उहाँ सामाजिक विज्ञानमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले नेपाल भाषाको रञ्जना लिपिमा समेत काम गर्नुभएको छ । डंगोलले महानगर विकासका लागि आफ्ना एजेण्डाहरूलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा वर्गीकरण गरेको बताउनुहुन्छ ।

यसअघि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएकी डंगोलले काठमाडौंको विकासका लागि फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, इञ्जिनियरिङ, पूर्वाधार विकास, डिजिटल काठमाडौं, खोज विकास तथा युवा सशक्तीकरण र सांस्कृतिक सम्पदा मोडल तयार गरिसकेको यसअघि बताउँदै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?