मेयर साहको अक्रोश

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह सरकारप्रति आक्रोशित बन्नुभएको छ । उहाँको आक्रोशका कारण आपूmले गर्न प्रयास गरेका कदममा सरकारले समर्थन गरेन भनेर हो । साह गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिको प्रमुखमा विजयी बन्नुभएको थियो । विजय उहाँ र उहाँका समर्थकका लागि प्रत्यासित भए पनि धेरैका लागि अप्रत्यासित बन्नपुगेको थियो । तराईमूलका बालेन काठमाडौंको रैथाने नेवारी बस्तीमा निर्वाचन लडेर विजयी बन्नुभएको थियो । त्यतिमात्र होइन उहाँको उम्मेदवारी स्वतन्त्र हैसियतमा थियो । नेपालको वर्तमान राज्यप्रणाली पार्टी प्रणाली हो । प्रत्येक राजनीतिक पदमा टिकट पाउनदेखि विजयी बन्नसम्म पार्टीको आशीर्वाद हुनुपर्छ ।

धरान उपमहानगरपालिकाबाट हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाबाट बालेनको विजय आममानिसका लागि अप्रत्यासित थियो । दुवै प्रमुखहरूले जनताको मन जित्ने गरी केही काम गर्ने प्रयास गर्नुभएको हो, तर पार्टी र सरकारको समर्थन नपाउँदा उहाँहरू विस्तारै हतोत्साहित बन्दै जानुभएको छ । स्वतन्त्र रूपमा विजयी बन्नुभएका, त्यसमा पनि कुनै पार्टीप्रति झुकाव नभएका राजनीतिमा आउनुभन्दापूर्व कुनै पार्टीको समर्थक भएर नदेखिनु भएका उहाँहरूलाई हालका दिनमा टिक्न अप्ठ्यारो भएको देखिइरहेको छ । थापाथलीको बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन जाँदा तनावपूर्ण वातावरणले ती सुकुम्बासीका रूपमा बसेका हुकुम्बासी रहेछन् भन्ने पुष्टि भएको थियो । कुनै राजनीतिक पार्टीका कार्यकर्ताका रूपमा तिनीहरू चिनिएका थिए भने अन्यत्रबाट प्रतिकारका लागि त्यहाँ मानिसहरू ल्याइएको थियो ।

त्यहाँ बस्ने मानिस अन्यत्र घरजग्गा भएका र उच्चस्तरको जीवनशैली अपनाइरहेको अवस्था पाइएको थियो । सरकारले सहयोग नगरेका कारण केही नगरप्रहरीहरू घाइते भएर त्यहाँबाट फर्किनुपरेको थियो । बालेन साहको उक्त, अभियान हाल पनि कायम छ । हालै सिनामंगल क्षेत्रमा बस्तै आएका बागमती नदी किनाराका सुकुम्बासीहरू हटाउने प्रयासमा बालेन साहलाई सरकारको सहयोग प्राप्त भएन । यसै कारण उहाँ रन्तरिनुभयो र यही रनाहामा चीनले र भारतले बनाइदिएको सरकारलाई म इज्जत गर्दिन भनेर आक्रोश पोख्नुभयो । वास्तवमा उहाँले बाटो मिचेर फुटपाथमा राखिएका व्यापारिक सामग्री हटाउने, कतिपय ठाउँका प्रहरी बिटहरूलाई समेत हटाउने र अवैध ढंगले निर्माण गरिएका संरचना भत्काउने काम गर्नुभएको छ ।

यस्ता कामबाट उहाँले जनताको स्यावासी पाउनुभएको छ । फोहोरमैला व्यवस्थापनमा पनि उहाँ सफल बन्दै आउनुभएको छ तर सुकुम्बासी बसोवास गरेका क्षेत्रहरू खाली गर्न भने सफल बन्न सक्नुभएको छैन । यसका लागि उहाँलाई सरकारको साथ प्र्राप्त भएन । त्यही कारण उहाँले सरकारलाई गाली तथा आक्रोश पोख्नुभएको हो । आक्रोश समाधानको माध्यम बन्न सक्दैन तर मेयर बालेनले सरकारलाई नै दुत्कार्नुभएको छ जुन उचित समाधानको माध्यम बन्न सक्दैन । मेयर साहले त नेताहरूलाई समेत फोहोरको संज्ञा दिँदै उहाँहरूलाई नै सिसडोलको डम्पिङ साइडमा डम्प गर्नुपर्ने भन्नेसम्मका अभिव्यक्ति दिनुभएको छ ।

यो उहाँको आफूले चाहेको सहयोग नपाउँदाको तातो आक्रोश हो तर एउटा जिम्मेवार पदमा रहेको व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु शोभनीय होइन । समास्याको समाधानका विभिन्नमाध्यम हुन सक्छन् र नेताहरूको आलोचना गर्ने शिष्ट उपायको अवलम्बन गर्न सकिएला तर जुन रूपमा उहाँले सरकारलाई विभिन्न आक्षेप लगाउनुभएको तथा गालीगलौजकै भाषा प्रयोग गरी सार्वजनिक रूपमै मैदानमा उत्रिनु भएको छ, त्यसलाई कसैले उचित मान्न सक्दैन । उहाँले सिंहदरबारको फोहोर नउठाउने धम्की पनि दिनुभएको छ । एकातिर यसले गर्दा सरकार र स्थानीय तहबीचको समन्वयको अभाव देखिन आएको छ भने मेयर साहलाई भने आफू स्वतन्त्र रूपमा जितेको व्यक्ति भएका कारण सहयोग नपाएको महसुस भएको छ । सिंहदरबारमा रहनेहरूले पनि यसतर्फ सोच्नै पर्दछ ।

संघ र स्थानीय तहबीच असझदारी रहँदा गर्नुपर्ने कामहरू हुन नसकी असरल्ल पर्दछन् भन्ने यस सन्दर्भबाट देखिन आएको छ । नेकपा एमालेका नेता शंकर पोखरेलले त साहको उक्त अभिव्यक्तिको प्रतिक्रियासमेत दिनुभएको छ । अरू नेताहरूले कुनै प्रतिक्रिया दिनुभएको छैन । यस्ता गालीगलौजका अभिव्यक्तिहरू समस्या समाधानका उपाय होइनन् । सुकुम्बासी बस्तीका बारेमा सरकारले निश्चित धारणा बनाउनु आवश्यक छ । हटाउने हो भने सबै मिलेर हटाउनुपर्छ, नहटाउने हो भने मेयर साहलाई त्यही प्रकारको निर्देशन दिनुपर्नेहुन्छ । देशकै सबैभन्दा ठूलो महानगरपालिकामा यस प्रकारको समस्या सधैं रहिरहृयो भने चौतर्फी नकारात्मक प्रभाव अझै देखिनेछन् । त्यसैले साझा धारणासहितको सहमति यथाशीघ्र गर्नु उचित हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?