सिंगो गाउँसहित विद्यालयमा खानेपानीको हाहाकार, स्थानीय गाउँ छाडेर जान बाध्य

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रे गाउँ । डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ । गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेकाहरु धेरै पटक सत्तामा पुगे । व्यवस्थाहरु फेरिए तर खानेपानीको समस्या भने सधै उस्तै रहिरह्यो । पानीको अभावले बारीमा लगाएका सागका पालुवा ओइलिएका छन् ।

विद्यालयका शौचालय ढुङडुङती गन्याउने भएका छन् । बागलुङ नगरपालिका–५ मा पर्ने उक्त गाउँमा सहज खानेपानीको पहुँच नहुँदा स्थानीयसँगै यहाँको कृष्ण आधारभूत विद्यालयका विद्यार्थीले धित मर्ने गरि पानी पिउन पाएका छैनन् । दशकौँ अगाडि निर्माण भएको योजनाबाटै स्थानीयले खानेपानी उपभोग गर्दै आएका छन् । विहान र बेलुका गरि दुई समय धारामा पानी आउँछ । थोरै समय आउने पानीले न स्थानीयको गाग्री नै भरिन्छ न विद्यालयको ड्रम ।

स्थानीयले यो समस्या सरोकारवाला निकायलाई नसुनाएका भने होइनन् । पटक–पटक खानेपानीको समस्या सम्बन्धित निकायलाई सुनाउँदा सुनाउँदै दिक्क भएका उनीहरु अहिले यो विषयमा बोल्नै चाहँदैनन् । खानेपानीको चरम अभावका कारण गाउँ छोडेर जानेको संख्यासमेत बढ्दै गएको स्थानीयको भनाई छ । विहान उठेदेखि राती नसुतुन्जेलसम्म अति आवश्यक पर्ने पानीको आपूर्ति नहुँदा दैनिकी कष्टकर बनेको स्थानीय पार्वती शर्माले बताउनुभयो ।

आफ्नो घर नजिक विद्यालय रहेको र विद्यार्थीहरु तिर्खाएर आउँदासमेत उनीहरुलाई पिलाउन नसक्दा दुःख लागेको बताउनुहुन्छ । “अरु ठाउँमा खानेपानीको समस्या छैन, यही हो बेस्सरी गाह्रो भएको, स्कुलका केटाकेटी काकाकुल भएर आउँछन्, दिउसो एक बज्यो भने तिर्खा लाग्यो भन्दै आउँछन्, यही आएर झुम्मिन्छन्, उनीहरु सबैलाई पानी खुवाउन सकिदैन, विहान भरेको एक गाग्री पानीले गाह्रो हुन्छ, पानीको दुःखका कारण गाउँनै रित्तिन थाल्यो” शर्माले भन्नुभयो ।

शर्माले खेतीयोग्य जमिन भए पनि पानीको अभावले तरकारी खेती र पशु चौपायालाई खुवाउनसमेत नसकिने अवस्था रहेको सुनाउनुभयो । मुहान नजिक नहुँदा र सरकारले यहाँ ध्यान नदिँदा खानेपानीको समस्या वर्षौँदेखि यथावत रहेको उहाँको भनाई छ । खानेपानीको सहज उपलब्धता हुने भए बसाइँसराइ रोकिन सक्ने शर्मा बताउनुहुन्छ ।

करिब चार दशक अगाडि धुरखोलाबाट ल्याएको पानी अहिलेसम्म व्यवस्थित गर्न नसक्दा खानेपानीको समस्या परि रहेको स्थानीय ७० वर्षीय प्रेम शर्मा सापकोटाले बताउनुभयो । उहाँ भन्नुहुन्छ– “गाउँमा यति ठूलो स्कुल छ, धेरै विद्यार्थी पढ्छन्, ३५ भन्दा धेरै घरका स्थानीयले खानेपानीको समस्या भोगेका छन्, म सानो हुँदा यो गाउँमा खानेपानीको समस्या यस्तै थियो, अहिले पनि उस्तै छ, गाउँमा पानी ल्याउन कसैको ध्यान गएन, हामीहरु धेरै पीडित छौँ ।”

धारामा साझ विहान दुई समय खानेपानी आए पनि विद्यार्थीका लागि पर्याप्त नहुने कृष्ण आधारभुत विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बताउनुभयो । उहाँले पानी भर्नका लागि विहान छिट्टै विद्यालय आउने र साझा अबेरसम्म बस्नु पर्ने भन्दै भरेको पानीले पिउन पनि नपुग्ने हुँदा सरसफाइमा धेरै समस्या परेको बताउनुभयो ।

उहाँले भन्नुभयो–“बर्खाको समयमा त खास्सै समस्या हुँदैन, हिउँदमा विद्यार्थीको तिर्खा मेटाउनै सकिदैन, विहान नौ बजे आएर हिलटेङ्क, गाग्रीमा भरेर राख्छौँ, दिउसभरी विद्यार्थीलाई खुवानै पुग्दैन, विहान बेलुका आउने पनि त्यही पनि नियमित आउँदैन, कहिले आउँछ कहिले आउँदैन, शौचालय फोहोर हुन्छन्, ग्राउण्डमा धुलो उड्छ, पानी भए पो सफा गर्नु निकै समस्या परि राखेको छ ।”

बागलुङ नगरपालिका–५ का वडा अध्यक्ष हरिप्रसाद शर्माले यहाँ खानेपानीको समस्या समाधानका लागि खानेपानी योजना अन्तिम चरणमा पुगेको बताउनुभयो । वि.सं. २०७२ सालदेखि ‘मालिका खानेपानी तथा सरसफाइ आयोजान संचालन भए पनि बजेट कम पर्दा योजना सम्पन्न हुन लामो समय लागेको बताउनुभयो । उपभोक्त समिति मार्फत ट्याङ्की निर्माण भएको छ र पाइलाइन खन्ने बाँकी रहेको अध्यक्ष शर्माको भनाई छ ।
उहाँ भन्नुहुन्छ– “लामो समयदेखिको खानेपानी समस्या समाधानका लागि सात वर्ष अगाडि सुरु भएको योजना अहिलेसम्म सम्पन्न भएको छैन, अब चाँडै यो योजना सम्पन्न गरेर खानेपानीको समस्या समाधान हुनेछ, पाइलाइनको काम गर्नु पर्ने छ, स्थानीयले सक्रियता देखाउनु भएन, तीव्र गतिमा काम भयो भने छिट्टै सबैको घर–घरमा पानी आउने छ ।”

बागलुङ नगरपालिका ‘बालमैत्री नगर’ घोषणा गर्ने अभियानमा जुटेको छ । लामो समयदेखि सिंगो गाउँसहित विद्यालयनै खानेपानीको समस्यामा परेको हुँदा यसको समाधान नभएसम्म ‘बालमैत्री नगर’ घोषणा गर्ने अभियान चुनौतीपूर्ण हुने स्थानीय बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?