जब्दीघाटमा पुल निर्माणको माग गर्दै सांसद गौतम आमरण अनशनमा

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

बर्दिया । नेपाली कांग्रेसका सांसद एवं प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतम आमरण अनशनमा बस्नुभएको छ । बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा रहेको जब्दीघाटको पुलमुनि गौतम आमरण अनशनमा बस्नुभएको हो । पुल भत्किएको ६ वर्ष बितिसक्दा पनि निर्माण कार्य नभएको भन्दै दबाब दिन आफू आमरण अनशनमा बसेको सांसद गौतमले बताउनुभयो । आफूले संसद्देखि सडकसम्म पटक-पटक भत्किएको जब्दीघाटको पुल पुनर्निर्माणका लागि आवाज उठाए पनि सुनुवाइ नभएको हुँदा बाध्य भएर आमरण अनशन बस्नुपरेको उहाँले हिमालय टाइम्सलाई बताउनुभयो ।

समस्या पुलको मात्र होइन बर्दियाका विभिन्न १५ सूत्रीय माग पनि आफूले अगाडि सारेको उहाँले बताउनुभयो । गुलरियावासी र बारबर्दिया नगरपालिकावासीका लागि मात्र नभएर अन्य क्षेत्रका वासिन्दाहरूका लागि जब्दीघाटको पुल निर्माण कार्य सम्पन्न भई हस्तान्तरण नहुँदै २०७४ सालमा आएको बाढीले पुलको केही भाग भत्काएपछि आवाजजावत रोकिएको थियो । सामान्य मोटरसाइकल तथा साइकल आवतजावत गर्न सक्ने भए पनि २०७९ सालको बाढीले पुल पूर्ण रूपमा बगाएपछि वारपार गर्नका लागि डुंगाको सहारा लिनुपर्ने बाध्यता रहेको छ ।

बबई नदी तटबन्ध र बबई सिँचाइ आयोजनामा बजेटको कटौतीले चुनौती थपिएको, पुलको स्पान हटाउनुपर्ने जब्दीघाटको पुल तत्काल निर्माण कार्य थालनी गर्नुपर्ने, गत वर्ष बेमौसमी वर्षाका कारण बालीनालीमा क्षति पुगेकोमा सरकारले घोषणा गरे अनुसारको राहत दिनुपर्ने, राजापुर सिँचाइ आयोजनाको दोस्रो चरणको कामको लागि बजेट विनियोजन गरिनुपर्ने साथै अव्यवस्थित र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्न, किसानलाई बिउ र मललगायत उपलब्ध गराउने र उचित बजार व्यवस्थापन गरिनुपर्ने साथै गुलरिया मुर्तिहा नाका तत्काल सुचारु गर्नुपर्ने, मध्यवर्ती क्षेत्रका बासिन्दालाई निःशुल्क बिमाको व्यवस्था गरिनुपर्ने लगायतका १५ सूत्रीय माग राखेर आमरण अनशन बस्नुभएका गौतमलाई प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी, बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारू लगायतले साथ दिइरहनु भएको छ । ‘पुल भासिएको ६ वर्ष भइसक्यो, अझैसम्म पनि निर्माण गर्नतर्फ सरकारले चासो दिएको छैन, पुल नहुँदा सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकाका झण्डै एक लाख स्थानीय प्रभावित भएका छन्,’ उहाँले भन्नुभयो । आफ्नो क्षेत्रको जनप्रतिनिधि भएकाले पुल निर्माणलगायत नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषय पूरा नभएसम्म अनशन जारी राख्ने उहाँले बताउनुभयो ।

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल २०७९ साल असोज २० गते आएको बाढीले थप भत्काउँदा पूर्वपश्चिम राजमार्ग जोड्ने गुलरिया रम्भापुर सडकखण्डमा सवारीसाधन आउजाउ रोकिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?