२४.५ प्रतिशतले घट्यो निर्यात

Read Time = 8 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को १० महिनामा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.५ प्रतिशतले घटेर १४ खर्ब ६६ अर्ब २२ करोडमा झरेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८.९ प्रतिशत र ९१.१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासीमा २४.५ प्रतिशतले घटेर एक खर्ब ३० अर्ब ९० करोड तथा कुल पैठारीमा १६.८ प्रतिशतले घटेर १३ खर्ब ३५ अर्ब ३२ करोडमा झरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ को प्रथम १० महिना अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः९.३ रहेकोमा २०७९/०८० को सोही अवधिमा सो अनुपात १ः१०.२ रहन आएको हो । सो अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, फलाम तथा फलामका उत्पादन, भटमास तेल, अलैंची, जुट तथा जुटका सामान, तयारी पोशाक, जुस, ऊनी फेल्टका उत्पादन, चिया, पश्मिना सल, कुकुर बिरालाका आहारा, कपडा, चाउचाउ, जडीबुटी, रोजिन एण्ड रेजिन एसिड, जुत्ताचप्पल र नेपाली हाते कागज प्रमुख रहेको केन्द्रले जनाएको छ ।

पामतेल निर्यात ५१.४ प्रतिशतले घटेर १८ अर्ब ४४ करोड, भटमास तेल निर्यात ८१.३ प्रतिशतले घटेर आठ अर्ब ४६ करोड र पोलिष्टर यार्न निर्यात ३.८ प्रतिशतले घटेर नौ अर्ब ९४ करोडमा झरेको छ ।

सो अवधिमा पामतेल निर्यात ५१.४ प्रतिशतले घटेर १८ अर्ब ४४ करोडमा झरेको छ भने भटमास तेल निर्यात पनि ८१.३ प्रतिशतले घटेर आठ अर्ब ४६ करोडमा सीमित भएको छ । पोलिष्टर यार्न निर्यात ३.८ प्रतिशतले घटेर नौ अर्ब ९४ करोडमा झरेको छ । तर, गलैंचा निर्यात भने २२.८ प्रतिशतले बढेर नौ अर्ब ४४ करोड पुगेको छ । फलाम तथा फलामजन्य उत्पादनको निर्यातमा २५०.० प्रतिशतले बढेर आठ अर्ब ८८ करोड पुगेको छ भने तयारी पोशाक निर्यात १४.१ प्रतिशतले बढेर पाँच अर्ब ९७ करोड पुगेको छ । जुट तथा जुटका उत्पादन निर्यात भने चार प्रतिशतले घटेर छ अर्ब ४५ करोडमा सीमित भएको छ । अर्को प्रमुख निर्यातजन्य वस्तु ऊनी फेल्ट निकासी ३.० प्रतिशतले बढेर चार अर्ब आठ करोड पुगेको छ ।

जुसको निकासी १५.१ प्रतिशतले बढेर पाँच अर्ब ३३ करोड पुगेको छ भने कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यात पनि ७२.५ प्रतिशतले बढेर सात अर्ब २८ करोड पुगेको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यात पनि २१.१ प्रतिशतले बढेर तीन अर्ब ३५ करोड पुगेको छ । पामतेल, भटमास तेल तथा सूर्यमुखी तेलको ६० अर्ब ३३ करोड बराबरको निर्यात घटेकाले कुल निर्यात उच्च अंकले घट्न गएको केन्द्रको भनाइ छ । तर पनि चालु आर्थिक वर्षको प्रथम १० महिनामा प्रशोधित खाद्य तेल(भटमास तेल, पामतेल, सूर्यमुखी तेल) को निर्यात नेपालको कुल निर्यातमा २०.८३ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रूपमा कायमै छ । सो अवधिमा उल्लेखित वस्तुको कुल २७ अर्ब २७ करोडको निर्यात भएको छ । प्रशोधित खाद्य तेलको निर्यातमध्ये पामतेल, भटमास तेल तथा सूर्यमुखी तेलको निर्यात हिस्सा नेपालको कुल निर्यातमा क्रमशः १४.१ प्रतिशत, ६.५ र ०.३ प्रतिशत रहेको छ ।

नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यात समीक्षा अवधिमा ३३.६ प्रतिशतले घटेर ९१ अर्ब १५ करोडमा झरेको छ । भारततर्फको निकासी घट्नुमा भारततर्फ हुने पाम, भटमास तथा सूर्यमुखी तेलमा ६० अर्ब ३३ करोड बराबरको ह्रास आउनु नै प्रमुख रहेको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७९.१३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा सो हिस्सा ६९.६३ प्रतिशतमा झरेको छ ।

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकमा अमेरिका, जर्मनी, युके, टर्की, क्यानडा, फ्रान्स, चीन, अष्ट्रेलिया, जापान, इटाली, नेदरल्याण्ड्स, डेनमार्क, र युएई प्रमुखरूपमा रहेका छन् । पैठारीतर्फ २०७९/०८० को प्रथम १० महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयात १.६ प्रतिशतले बढेर दुई खर्ब ५७ पाँच करोड पुगेको छ भने फलाम तथा स्टिलजन्यको आयात १४.४ प्रतिशतले घटेर एक खर्ब ३६ अर्ब ८६ करोड, मेसिनरी तथा पार्ट्स ३२.० प्रतिशतले घटेर ८३ अर्ब ८० करोडमा झरेको छ । सुन आयात पनि १०.९ प्रतिशतले घटेर ३९ अर्ब ९५ करोडमा झरेको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री ९.८ प्रतिशतले घटेर ५१ अर्ब ४७ करोडमा झरेको छ भने यातायात साधन र तिनका पार्टपूर्जा आयात ५२.२ प्रतिशतले घटेर ४१ अर्ब २७ करोडमा झरेको छ ।

कच्चा भटमास तेल आयात ३५.५ प्रतिशतले घटेर ३१ अर्ब ८९ करोड, खाद्यान्न आयात २६.९ प्रतिशतले घटेर ४७ अर्ब ३० करोडमा झरेको छ भने औषधि आयात पनि ३८.४ प्रतिशतले घटेर ३७ अर्ब ७४ करोडमा झरेको छ । दूरसञ्चारका सामग्री आयात ३६.८ प्रतिशतले घटेर ३० अर्ब ४२ करोडमा झरेको छ भने रासायनिक मल आयात भने १६३.८ प्रतिशतले बढेर ३७ अर्ब ७४ करोड पुगेको छ । पामतेलको आयात ३३.२ प्रतिशतले घटेर २३ अर्ब १९ करोडमा झरेको छ । नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकमा भारत, चीन, इण्डोनेसिया, युएई, अर्जेन्टिना, मलेसिया, अष्ट्रेलिया, अमेरिका, युक्रेन, कतार, बेल्जियम, थाइल्याण्ड, साउदी अरेबिया र ओमान प्रमुख रहेका छन् । चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम १० महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र पैठारी घट्दा व्यापार घाटा १५.९ प्रतिशतले घटेर १२ खर्ब चार अर्ब ४२ करोडमा झरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?