गणतन्त्र दिवसका अवसरमा रक्तदान, वजिमयले गरे ५२ औं पटक रक्तदान

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 5 mins

खोटाङ । खोटाङमा गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको व्यवस्थापनमा गणतन्त्र दिवस जिल्ला समारोह समितिले आईतबार दिक्तेलबजारको पूरानो बेसक्याममा रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा गणतन्त्र दिवस जिल्ला समारोह समिति संयोजक एवंम् जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, रेडक्रस मन्त्री छत्रकुमार वजिमय, सशस्त्र प्रहरी बल नेपाल नं.७ गुल्म खोटाङका गुल्मपति कृष्णबहादुर बम, राष्ट्रिय भूमि आयोग खोटाङका अध्यक्ष सुरेश राई लगायत १६ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र दिक्तेलका प्रमुख बोलराज आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार संकलन भएका रगत रक्तसञ्चार केन्द्रमा राखेर आवश्यक परेका विरामीलाई प्रदान गरिनेछ । गणतन्त्र दिवस जिल्ला समारोह समितिको १२ जेठमा बसेको वैठकले तीनदिन विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको थियो । निर्णय अनुसार पहिलो दिन रक्तदान कार्यक्रम गरेको समितिले जेठ १४, १५, १६ गते जिल्लाका सम्पूर्ण कार्यालय संघ/संस्थाहरु लगायत जिल्लाबासीहरुलाई तीनदिन राष्ट्रिय झण्डा फहराउन र साँझमा दिपावली गर्न आग्रह गरेको छ ।

समितिले जेठ १५ गते जिल्लास्थित सम्पूर्ण कार्यालयहरुले आ–आफ्नो कार्यालय परिसर सरसफाई गर्न र जेठ १६ गते ‘गणतन्त्र’ विषयमा अन्तर मावि वक्तृत्वकला जिससको हलमा प्रतियोगिता गर्दैछ । १५ जेठमा राष्ट्रिय गणतन्त्र दिवस मनाइँदै छ ।

५२ औैं पटक रक्तदान

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार वजिमयले ५२ औं पटक रक्तदान गर्नुभएको छ । राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा आईतबार दिक्तेलबजारको पूरानो बेसक्याममा रक्तदान गरेसँगै वजिमयले रक्तदानलाई ५२ औं पटक पु¥याउनु भएको हो ।

२०५९ सालबाट रक्तदान गर्दै आउनु भएका वजिमयले अत्याधिक रक्तश्रावदेखि प्रसुतीका क्रममा रगत आवश्वयक पर्ने बिरामीहरुलाई रक्तदान गर्दै आउनु भएको छ ।

दिक्तेलमा ब्लड बैंक नहुँदा (२०७५ चैत्र २५ अघिसम्म) जिल्ला अस्पतालमा रगत आवश्यक पर्ने बिरामीहरुलाई सबैभन्दा धेरै वजिमयले रक्तदान गर्नुभएको थियो । रक्तदान गर्ने तथा रगत लिने मानिसले कसलाई, कसको रगत लिए÷दिए भनेर थाहा हुन नहुने र यसले गर्दा दुबैैजना व्यक्ति जीवनभर अनुग्रही हुनुनपर्ने उहाँको भनाई छ ।

१२० दिनमा मानव शरीरमा नयाँ रगत बन्छ र त्यसपछि पूरानो रगत निष्क्रिय भएर दिशापिसाबको माध्यमबाट बाहिर जान्छ । रक्तदान गरेपछि रगत पनि शुद्ध हुन्छ । विभिन्न रोग भएरनभएको चेकजाँच हुन्छ । वजिमयले भन्नुभयो, ‘ह्याबी खाना पनि खानु पर्दैन । पहिला जे खाने गरेको छ त्यही खाँदा हुन्छ ।’

गणतन्त्र दिवसको अवसरमै रक्तदान गरेपछि जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईको रक्तदान चौथो पटक र प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाईको २३ औं पटक रक्तदान भएको छ । १८ वर्षदेखि ६० वर्षसम्म उमेर भएका तथा ४५ केजी तौल भएका व्यक्तिहरुले रक्तदान गर्न सक्ने रक्त सञ्चार केन्द्र दिक्तेलका प्रमुख बोलराज आचार्यले बताउनु भयो । एन्टीबाईटीक औषधी प्रयोग गरेको, रजस्वला भएको दश दिन नकटेको, बच्चालाई दुध चुसाउँदै गरेका महिला, प्रेसर हाई र लो भएकाहरुले रक्तदान गर्न नमिल्ने आचार्यको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?