मन्त्री फेर्ने समाजवादीको निर्णय : सत्तारूढ दलमा तरंग, दबाबमा नेतृत्व

हिमालय टाइम्स
Read Time = 7 mins

डिबी शर्मा/हिटा
काठमाडौं । सत्तासीन दलहरूभित्र मन्त्री फेरबदलको विषयले प्रवेश पाएको छ । नेकपा (एकीकृत समाजवादी)ले मन्त्री फेरबदलको निर्णय गरेसँगै सत्तासीन अन्य दलभित्र पनि यो विषयले प्रवेश पाएको हो । अहिले उक्त विषयले नेपाली कांग्रेस र नेकपा माओवादीमा पनि प्रवेश पाएको छ । जनता समाजवादी पार्टीभित्र पहिल्यैदेखि फेरबदलको चर्चा हुँदै आएको छ । एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेसँगै जसपाभित्र पनि पुरानो टिम फिर्ता गरी नयाँ टिम पठाउन अध्यक्ष उपेन्द्र यादवमाथि दबाब परेको छ ।

अहिले मन्त्री फेर्ने विषयले सत्तारूढ कांग्रेस र नेकपा माओवादीमा पनि प्रवेश पाएको छ । माओवादी नेताहरूले समेत मन्त्री हेरफेर गर्नुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन् । समाजवादीले आफ्नो पार्टीको तर्फबाट गएका मन्त्री फेर्न सिफारिस गरेपछि माओवादी अध्यक्ष प्रचण्डलाई पनि मन्त्री फेर्न दबाब छ । मंगलबार कांग्रेस महामन्त्री गगन थापाले पनि पार्टीका कतिपय नेताहरूले मन्त्री फेर्ने कुरा उठाएको बताउनुभएको थियो । मन्त्री फेर्ने कुरा उठे पनि पार्टीमा भने छलफल नभएको उहाँको भनाइ थियो ।

समाजवादीले मन्त्री फेरबदल गर्न गरेको निर्णय अन्तिम समयमा आएर रोकिएको थियो । हालै नेकपा एकीकृत समाजवादीले सरकारमा रहेकाहरूलाई फिर्ता बोलाएर अरू नेतालाई सरकारमा पठाउन प्रधानमन्त्रीसमक्ष नाम बुझाइसकेको छ । यद्यपि, सत्तारूढ गठबन्धनभित्र तत्काल मन्त्री नफेर्ने समझदारीअनुसार एकीकृत समाजवादीबाट मन्त्री भएकाहरू फिर्ता भएका छैनन् ।

मन्त्री फेर्न माओवादीमा पनि दबाब छ : वर्षमान पुन
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि पार्टीभित्र मन्त्री फेर्ने आवाज उठिरहेको बताउनुभएको छ । संसद् भवनमा बुधबार सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादभित्र पनि मन्त्री फेर्नुपर्ने आवाज उठिरहेको बताउनुभयो । ‘समाजवादीका साथीहरूले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । कांग्रेसमा पनि दबाब छ,’ उहाँले भन्नुभयो, ‘जसपामा दबाब छ । यो दबाबलाई नेताहरूले कति थेग्नुहुन्छ थाहा छैन । हाम्रोमा पनि अहिले फेर्नुपर्छ कि भन्ने खालका आवाज उठिरहेको छ ।’ तर, मन्त्री फेर्नेबारे पार्टीभित्र कुनै छलफल भने नभएको उहाँको भनाइ छ ।

पार्टीले निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ : मेटमणि चौधरी
मन्त्री फेर्ने नेकपा एकीकृत समाजवादीको निर्णय बजेटलगत्तै कार्यान्वयन हुने नेताहरू बताउँछन् । एकीकृत समाजवादीको तर्फबाट सहरी विकास मन्त्रीमा सिफारिस हुनुभएका सांसद मेटमणि चौधरी पार्टीले निर्णय गरिसकेपछि कार्यान्वयन हुने बताउनुहुन्छ । ‘पार्टीले निर्णय ग¥योे, निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ,’ उहाँले भन्नुभयो, ‘समय केहीदिन ढिला मात्रै भएको हो ।’

गठबन्धन दल जसपाले समय मागेपछि मन्त्री फेर्ने निर्णय केही समय रोकिएको उहाँको दाबी छ । ‘हामी पाँच दलीय गठबन्धन भित्रकै एउटा दल हो,’ उहाँले भन्नुभयो, ‘हामीले शपथग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दा जसपाका साथीहरूले पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि रोकिएको हो ।’ बिहीबारसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने उहाँको दाबी छ । उहाँका अनुसार अब केही दिनमा एकीकृत समाजवादीका तर्फबाट नयाँ मन्त्रीहरूले शपथ लिनेछन् ।

हामीले मन्त्री फेर्ने निर्णय गर्दा अरू पार्टीमा भुइँचालो गयो : अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मन्त्री फेर्ने निर्णय गरेसँगै अन्य पार्टीमा भुइँचालो गएको बताउनुभएको छ । अन्य पार्टीमा गएको भुइँचालोकै कारण आफूहरूको निर्णय कार्यान्वयन नभएको उहाँले संकेत गर्नुभयो । निर्णय किन लागू भइरहेको छैन ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘अर्को पार्टीमा पनि भुइँचालो गएकाले होला । उहाँहरूले केही दिन माग्नुभयो होला सबै दोष हाम्रो मन्त्रीहरूलाई नदिऔँ ।’

आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू ‘फेरबदल’ गर्ने निर्णयमा कुनै असन्तुष्टि नरहेको उहाँले बताउनुभयो । ‘हामीले मन्त्रीहरूको फेरबदल गर्ने निर्णय गरेका छौँ । अध्यक्ष नेपालले भन्नुभयो, ‘पार्टीको निर्णय मान्छौँ भनेका छन् । कुर्सीमा टाँस्सिएर बस्दैनौँ, भनेका छन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?