दैनिक उपभोग्य वस्तुलगायत हरेक क्षेत्रमा अचाक्ली मूल्यवृद्धि

Read Time = 4 mins

काठमाडौं । यतिखेर बजारमा वस्तु र सेवाको चरम मूल्यवृद्धि भइरहेको छ । उत्पादक, आयातकर्ता, थोक विक्रेता र खुद्रा व्यापारीले अस्वाभाविक र अनुचित रूपमा मूल्यवृद्धि गर्दा उपभोक्ता मारमा परिरहेका छन् ।

दैनिक उपभोग्य वस्तुहरू दाल, चामल, तेल, घिउ, चिनी, फलफूल, तरकारी पेट्रोलियम पदार्थलगायत सम्पूर्ण वस्तुमा अत्यधिक मूल्यवृद्धि भइरहेको छ । विशेषतः पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण प्रत्यक्ष-अप्रत्यक्ष अन्य दैनिक उपभोग्य वस्तुमा त्यसको असर नपर्ने कुरै भएन ।

कोभिड संक्रमण देखाएर व्यापारीले गरेको मूल्यवृद्धि नियन्त्रण गर्नु सट्टा सरकारले व्यापारी नै पोसिने गरी हरेक नीति नियम र वस्तुमा बढाएको करका कारण दैनिक उपभोग्य वस्तुको मूल्य ह्वातै बढेको छ । जसको मार आम गरिवदुखी जनताले भोग्नु परेको छ ।

यसैबीच, बजारमा निर्माण सामग्रीको मूल्य समेत बढेको छ । कोभिड देखाउँदै अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको देखाउँदै स्थानीय बजारमा मूल्य बढाएका थिए । फेरि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण बजार छोइनसक्नु भएको छ ।

हिमाली क्षेत्रमा मूल्यवृद्धिको मात्रा समेत बढेको पाइएको छ ।

हिमाली क्षेत्रपछि तराईमा पनि उल्लेख्य रुपमा मूल्यवृद्धिको चाप परेको एक विवरणमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको विवरण अनुसार हिमाली क्षेत्रमा ८.२१ प्रतिशतले मुद्रास्फिती भएको छ ।

केन्द्रीय बैंकका अनुसार तराई क्षेत्रमा मुद्रास्फिती ८.१५ प्रतिशत बराबर रहेको छ । काठमाडौं उपत्यकामा ७।३९ प्रतिशत, पहाडमा ७।८९ प्रतिशत बराबरको मुद्रास्फीति रहेको छ । विसं २०७८ वैशाखमा काठमाडौँ उपत्यकाको मुद्रास्फिती ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत बराबर थियो ।

केन्द्रीय बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको पाइएको छ । गत वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फिति ५.८४ प्रतिशत छ ।

विसं २०७८ वैशाख महिनाको तुलनामा गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलमा मात्रै २४।८६ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै, फलफूलमा १२.६१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डामा ११.३० प्रतिशत , दाल तथा गेडागुडीमा १०.५३ प्रतिशत र सुर्तीजन्य पदार्थमा ९.७० प्रतिशतले मूल्यवृद्धि भएको छ ।

साथै, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत यातायातमा २१.८१ प्रतिशत, शिक्षा र मनोरञ्जनमा ११.६४ प्रतिशत तथा संस्कृति उपसमूहमा ८.२१ प्रतिशतको मुद्रास्फीति भएको पाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?