आइएमईको २२औँ वार्षिकोत्सव, रेमिट्यान्सलाई उत्पादनमूलक बनाउनुपर्नेमा जोड

Read Time = 6 mins

कामठाडौं । अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताउनुभएको छ । आइएमई ग्रुपअन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको आइतबार आयोजित २२औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री शर्माले भन्नुभयो, ‘रेमिट्यान्सले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ । यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मद्दत मिलेको छ, विदेशमा रहेका नेपालीको कमाइ सुरक्षितरूपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनी बनिरहेका छन् ।’

रेमिट्यान्सको ठूलो रकम उपभोगमा खर्च भइरहेको भन्दै उहाँले आगामी दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको बताउनुभयो । आर्थिक वर्ष ०७९/०८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा भित्र्याउने धेरै विषयलाई सम्बोधन गरेको मन्त्री शर्माको भनाइ थियो । उहाँले भन्नुभयो, ‘बजेटले रेमिट्यान्सबाट आएको पैसामात्रै ल्याउने उद्देश्य राखेको छैन । अहिले सामान्य प्रणालीमा आइरहेको वैदेशिक मुद्रालाई एक कदम अघि बढेर विशेषरूपमा विदेशी मुद्रा भित्र्याउने भनिएको छ, यो भनेको हामीसँगको स्रोत, साधनको उत्पादन वृद्धि र प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने र विदेशी मुद्राको आर्जन गर्ने भन्ने हो ।’

उहाँले आर्थिक बर्ष ०७९/०८० को बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशितातर्फको प्रस्थान भएकाले मुलुकको वर्तमान आर्थिक अवस्थालाई विस्तारै समाधान गरी अघि बढ्ने विश्वास दिलाउनुभयो ।

अर्थसचिव मधुकुमार मरासिनीले आइएमई लिमिटेडले विदेशी मुद्रा भित्र्याउने संस्कृतिमा रूपान्तरण गरेको बताउनुभयो । गाँस, बास र कपासका लागि रेमिट्यान्स रकम बढी खपत भइरहेकोमा आगामी दिनमा पुँजी निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

सचिव मरासिनीले भन्नुभयो, ‘रेमिट्यान्सको पैसा व्यक्तिगत खपतमा बढी प्रयोग हुने गरेको देखिन्छ । पहिले त गाँस, बास र कपासको व्यवस्थापन नै गर्ने हो, आउँदा दिनमा भने रेमिट्यान्सको पैसा राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता छ ।’ नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष डा. राजेशकाजी श्रेष्ठले २२ वर्षअघि आइएमईको उद्घाटन कार्यक्रममा आफू जान आनाकानी गरेको सुनाउँदै आइएमईको फैलिँदै स्वरूप देखेर खुसी लागेको बताउनुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सन् १९९४ मा क्षेत्रपाटीमा एउटा सानो ग्रोसरी सञ्चालन गरेका व्यक्ति तीन दशक नपुग्दै यस्तो अवस्थामा आइपुग्नु उद्यमशीलताको विशिष्ट नमुना भएको बताउनुभयो ।

आइएमई ग्रुपका सहसंस्थापक एवं प्रबन्ध निर्देशक हेमराज ढकालले अवसरको खोजीमा नेपाली युवा विदेशिन थालेसँगै उनीहरूले रगत पसिना बगाएर आर्जन गरेको रकम सुरक्षित तवरले आफन्तको हातसम्म पुर्‍याउन एउटा माध्यम चाहिएकाले आइएमई जन्मिएको बताउनुभयो ।

आइएमई ग्रुपका संस्थापक चन्द्रप्रसाद ढकालले एउटा कोठाबाट सुरु भएको आइएमई ग्रुप ४० हजारलाई प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी दिने अवस्थामा पुगेको बताउनुभयो । हाल आइएमईले वार्षिकरूपमा झण्डै एक १ खर्ब नेपाली रुपैयाँ रेमिट्यान्समार्फत् भित्र्याउने गरेको पनि उहाँले जानकारी गराउनुभयो । ढकालले आइएमई ग्रुपले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग मिलेर चन्द्रागिरि केबलकार र २७ मेगावाटको हाइड्रोपावर निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अझै पनि धेरै काम गर्ने इच्छा छ, हामीले अहिले ४०/५० हजारलाई रोजगारी दिएका छौँ, मेरो विचारमा यो कुनै सानो कुरा होइन ।’ ढकालका अनुसार २२ वर्षअघि चारजना सँगै बस्नेखाने एउटा खाट भएको कोठालाई नै आइएमईको अफिस बनाएर मलेसियाबाट व्यवसायको सुरुवात गरिएको थियो ।

व्यवसायको दिगोपनामा विश्वास थिएन तर कम्पनीले त्यतिबेलै वार्षिकरूपमा २० लाख डलर मुलुक भित्र्याउन सक्ने घोषणा गरेको थियो । कम्पनी लिमिटेडमा रूपान्तरण भइसकेको आइएमईले अर्को वर्ष सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?